'स्टप किस' : लैगिंक हिंसाविरुद्धको आवाज- कला - कान्तिपुर समाचार

'स्टप किस' : लैगिंक हिंसाविरुद्धको आवाज

शीर्ष नेता र 'सोसल इन्फ्लुएन्सर'ले नै यौनिक तथा अल्पसख्यंकका विषयलाई गलत तरिकाले लिएकै कारण यो समुदायप्रति आम मानिसले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन ।
रीना मोक्तान

काठमाडौँ — 'के देख्नु परेको होला। सबै चटक नेपालमै' 
'हग्नेलाई भन्दा देख्नेलाई लाज' 
दुइटै 'हिजडा' हुन् कि के हो ?
'यो त हदै भयो यार कुन रोगबाट यो हालतमा पुग्दा रहेछन् मानिसहरू । तिमीहरुले जति नै बहस गरे पनि यो कसैले सदर मान्दैन'

समलिंगी जोडी धिरज बस्नेत र आर्थिकजंग बस्नेतले बिहेपछि दिएको युट्युब अन्तर्वार्तामा आएका कमेन्ट हुन् यी । कमेन्टमा उनी दुईलाई धेरैले अपशब्द प्रयोग गरेर गालीगलौच गरेका छन् । उनीहरूविरुद्ध 'केटा-केटा'ले बिहे गरेर समाज भाँडेको भन्दै आपत्तिजनक शब्दहरुको प्रयोग गरिएका छन् । परिवार र समाजसँग लड्दै आफ्नो यौनिकताबारे खुलेको यो जोडीले अन्तर्वार्ताको प्रतिक्रियामै दुर्व्यवहार सहनु परेको छ ।

धीरज र आर्थिक प्रतिनिधि पात्र हुन् । यौनिक तथा अल्पसंख्यक समुदायका मानिसहरुले दिनहुँ समाजमै मात्र होइन सामाजिक सञ्जालका कमेन्टमै विभेदको सामना गर्नुपर्छ । टिकटक, फेसबुकका कमेन्टमै उनीहरुलाई 'डिजिटल बुलिङ' गरिएको पाइन्छ ।

अहिले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । केही दिनअघि मात्रै काठमाडौंमा करिब ६ जना 'ट्रान्सम्यान' यौनकर्मीलाई रातको समयमा एक पुरुषले ढुंगाले प्रहार गरेर भाग्न खोजे । ती यौनकर्मीहरुले उक्त व्यक्तिलाई समातेर कालिमाटी प्रहरी चौकी पुर्‍याए । मेलमिलापपछि उक्त व्यक्तिलाई छोडिएको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङ बताउँछिन् । उनका अनुसार उक्त व्यक्तिले यौनकर्मीका पैसासमेत चोरेका थिए । लैंगिक हिंसाविरुद्धको अभियानकै क्रममा लैंगिक हिंसा सहनुपरेको यो एउटा मात्र मुद्दा होइन ।

अभियान चलिरहँदै म्याग्दीमा एक'ट्रान्सम्यान'लाई परिवारले आफ्नो यौनिक पहिचान लुकाउन दबाब दिइरह्यो । छोरी पुरुष बनेर हिँड्न थालेपछि परिवारले उनको जबरजस्ती बिहे गरिदिने तयारी गरेका छन् । नागरिकता पनि बनाइदिएका छैनन् । पतिकै नामबाट नागरिकता बनाइदिने सोचमा छन् परिवार । फरक लिंग पहिचानकै कारण उनलाई घरबाट बाहिर जान पनि रोक लगाइएको छ । आफ्नो यौनिक पहिचानमा उनी खुम्चिएका छन् ।

०००

प्रहरीको ठीकअगाडिको कुर्सीमा बसेकी छन् क्याली । निरास र 'नर्भस' देखिन्छिन् ।

प्रहरीले सोध्छ,'घटनाको रात बारबाट निस्किएपछि सेरा र तिमी पार्कक्षेत्रतिर केही गरिरहेका थियौ ?

क्याली :एकजना मान्छे आयो अनि हामीलाई पार्टी गर्ने हो भनेर सोध्यो ।

प्रहरी : तिमीले के जवाफ दियौ त ?

क्याली : मैले केही भनिनँ ।

प्रहरी : सेराले पक्कै उक्साउने कुरा गर्‍यो होला, नत्र उक्त व्यक्तिले किन कुट्थ्यो सेरालाई। पक्कै केही भनेकै हुनुपर्छ ।

क्याली : हामी किस गरिरहेका थियौं (प्रहरीको प्रश्नहरुबाट वाक्क भएकी उनले झट्ट बोल्छिन्)। त्यो हाम्रो पहिलो किस थियो । हामी दुईलाई त्यो व्यक्ति त्यहाँ छ भन्ने पनि थाहा थिएन(सुँकसुकाउँदै)।त्यो मानिसले अपशब्दहरु प्रयोग गरे । सेराको हात समातेर म अगाडि बढ्न खोजें । तर त्यसले सेरालाई पछाडिबाट प्रहार गर्योस । मैले गुहार मागेँ, चिच्च्याएँ । तर उसले सेरालाई भित्तामा ठोक्काउन थाल्यो । मैले उसको कपाल समातेँ, तर उसले मेरो पेटमा हान्यो…।

लुनिभा तुलाधर निर्देशित नाटक 'स्टप किस'को दृश्य हो यो । 'वन वर्ल्ड थियटर'को प्रस्तुतिमा तयार भएको नाटक शिल्पी थियटरमा मञ्चन भइरहेको छ । अमेरिकन नाटककार डायना सनद्वारा लिखित यस नाटकमा दुई समलिंगी महिलाको प्रेमकथा, फरक लिंग पहिचानकै कारण उनीहरुले भोगेको हिंसा र दुर्व्यवहार समेटिएको छ । क्याली र सेरालाई चुम्बन गरिरहेको अवस्थामा भेटेपछि अन्जान व्यक्तिले उनीहरुलाई आक्रमण गर्छ । सेरा कोमामै पुग्छिन् । उक्त घटनाअघिको समय र सेरा कोमामा पुगिसकेपछिको कथा'स्टप किस'मा कलात्मक ढंगले देखाइएको छ ।

समलिंगीको प्रेमलाई स्वीकार गर्न नसक्ने समाजमा उनी दुईले आफ्नो यौनिकता कसरी पहिचान गर्छन्, त्यतिबेलाको समाजले यौन तथा अल्पसख्यंकलाई कस्तो नजरले हेर्थ्यो भन्ने कुरालाई नाटकमा देखाइएको छ । अंग्रेजी भाषामा तयार भएको यो नाटकले लैंगिक हिंसाको विरुद्धमा आवाज उठाउन, समाजसँग लड्न हौसला दिन्छ ।

सन् १९९८ तिर लेखिएको यस नाटकलाई हुबहु मञ्चमा उतार्दा 'स्टप किस'मा यौनिक तथा अल्पसख्यंक समुदायका वर्तमान समस्याहरु(नयाँ मुद्दा) त समेटिएका छैनन् । तर, उनीहरुका पीडा, दुख र संघर्षलाई भने मिहीन ढंगले केलाइएको छ । नाटकले यौनिक तथा अल्पसख्यंक मात्रै होइन लिंगकै आधारमा गरिने दुर्व्यवहार, विभेदमाथि फेरि बहसको बाटो खोलिदिएको छ । २ दशकअघिको यो नाटकले वर्तमान समाजको वास्तविकता देखाइदिन्छ । धीरज र आर्थिकलाई सामाजिक सञ्जालमा 'बुलिङ' गर्ने, 'ट्रान्सम्यान'लाई ढुंगा हान्ने, अनि यौनिक पहिचानमा बाँच्न नदिने म्याग्दीका 'ट्रान्सम्यान'का परिवारलाई एकपटकयो नाटकले सोच्न बाध्य गराउँछ ।

अझै पनि नेपाली समाज क्याली र सेराहरूका लागि उदार बनिसकेको छैन । आम मानिसले यौनिक तथा अल्पसख्यंकलाई हेर्ने दृष्टिकोण नाटकको त्यो अन्जान मानिसभन्दा फरक छैन । भव्य सेटमा तयार भएको नाटकले न्युयोर्कको २ समलिंगी महिलाको कथा भने उनीहरुका भोगाई र पीडाले हाम्रै समाजका पात्रहरुको संघर्ष बोलिदिए झैं लाग्छ । क्यालीको भूमिका देखिएकी रन्जना भट्टराई र सेराको अभिनय गरेकी समापिका गौतमको अभिनयले पनि कथालाई सशक्त बनाएको छ ।

अझै हुन्छ दुर्व्यवहार

पछिल्लो समय यौनिक तथा अल्पसख्यंक समुदाका मानिसहरु खुल्न थालेका छन् । २० वर्षअघिको समाज र वर्तमान समाजमा यौनिक तथा अल्पसख्यंकहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आए पनि यो समुदायले परिवार, समाज र साथीभाइबाट हिंसा र दुर्व्यवहार सहनु परेको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङ बताउँछिन् । उनी अन्यको दाँजोमा यौनिक तथा अल्पसख्यंकका हिंसाका मुद्दा कमै उठ्ने गरेको बताउँछिन् ।

'घरबाट बाहिर निस्केदेखि समाज, परिवारभित्रै हाम्रो समुदायले दुर्व्यवहार र हिंसा सहनुपरेको छ,' गुरुङले बताइन्, 'परिवारभित्र दबिएर बसेका छन् । तेस्रोलिंगी महिलाहरुलाई फरक लिंग पहिचान भएका हुनाले आफ्नै साथी, समाज र परिवारबाट विभेद, लाञ्छना लगाइन्छ । उनीहरुलाई शिक्षा स्वास्थ्य रोजगारीबाट वञ्चित हुनुपरेको अवस्था छ । यौनिक तथा अल्पसख्यंक समुदायका मानिस विद्यालयमा बुलिङ हुन्छन् ।'

फरक लिंग पहिचानकै आधारमा यौनिक तथा अल्पसख्यंकले यौन दुर्व्यवहारको सामना गर्नुपरेको उनको भनाइ छ । 'बालक अवस्थामै कति यौन दुर्व्यवहारमा परेका हुन्छन् । आफ्नै जोडीले हिंसा र दुर्व्यवहार गरिरहेको । साथीभाइ इष्टमित्रबाट हिंसा भोग्नु परेको छ । हिंसा र दुर्व्यवहारका कुरा त धेरै बाहिर पनि आइरहेको हुँदैन,'उनले भनिन्,'फरक लैंगिक पहिचान र यौनिक अल्पसंख्यक भएकै कारणले विभेद भइरहेको छ । महिला हिंसाको मुद्दालाई आम मानिसले बलियो रुपमा आवाज उठाइरहेका हुन्छन् । तर हाम्रो समुदायको त आवाज नै उठ्दैन ।'

यौनिक तथा अल्पसख्यंकका मुद्दालाई समाजीकरण र राजनीतिकरण गर्नुपर्ने उनी बताउँछिन् । '२० वर्षअघिको समाज हेर्दा त अहिले त परिवर्तन भएको देख्छु । तर हाम्रो मुद्दालाई समाजिक रुपमा उठाउनु पर्योा । तीन वर्षअगाडि अनिता भुजेललाई बलात्कारपछि मारियो । तर त्यसका विरुद्ध आम मानिसले त्यति आवाज उठाएनन्,'उनले भनिन् ।

शीर्ष नेता, 'सोसल इन्फ्लुएन्सर'ले नै यौनिक तथा अल्पसख्यंकका विषयलाई गलत तरिकाले लिएकै कारण यो समुदायप्रति आम मानिसले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको उनी बताउँछिन् । 'पछिल्लो समय डाक्टर सुरेन्द्र केसी, लिलामणि पोखरेलले मलाई 'हिजडा' भन्नुभयो, वास्तवमा 'उहाँ नै हिजडा हुनुहुन्छ' भन्ने खालको कुरा गर्नुभयो । उहाँजस्तो व्यक्तिले यस्ता खालका शब्दको प्रयोग गर्दा त्यसले कस्तो प्रभाव र सन्देश जान्छ भन्ने खालको कुरामा उनीहरु गम्भीर भइदिएनन्,'उनले सुनाइन्,' हामीकहाँ जनचेतनाको काम पनि कम भएको छ । अर्को त समुदायस्तरले यस्तो हिंसा र दुर्व्यवहारविरुद्ध आवाज उठाउनुपर्‍यो । विभेद र हिंसाको मुद्दा बाहिर आउँद जीवन कष्टकर हुँदा वास्तविक मुद्दा दबिएका छन् । शिक्षित परिवारले पनि आफ्नो छोराछोरीलाई स्विकार्दा पनि समाजमा खुलेर आउन दिइरहेका हुँदैनन् । शिक्षित र प्रतिष्ठित व्यक्तिबाटै यो मुद्दालाई नजरअन्दाज गर्ने र उनीहरुको स्वतन्त्रतामा अंकुश लगाएको देखिन्छ ।'

प्रकाशित : मंसिर १८, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्

'एउटा गीत गाउनै बाँकी छ, विधिको शासन ल्याउनै बाँकी छ'

जर्ज अरवेल लिखित 'एनिमल फार्म' नाटकको रुपमा मञ्‍चन हुँदै
रीना मोक्तान

काठमाडौँ — 'म तपाईंहरूसँग झुटो बोल्दिनँ । जनावरको जीवन दु:ख र गुलामीमै बित्छ । हामी जन्मन्छौं, हामीलाई जीवित राख्नका लागि मात्र खाना दिइन्छ । नमरुञ्जेल बलजफ्ती अरुको सेवामा खटाइन्छ । आँखा झिमिक्क गर्न नपाउँदै मारिन्छ । के यो प्रकृतिको आदेश हो ? प्रकृतिले त यस्तो भेदभाव गर्दैन । त्यसोभए हामी किन यो दयनीय अवस्थामा बाँचिरहेका छौँ त ? यसको जवाफ हो- मानिस ।'

एकदिन फार्ममा भएका अन्य जनावर साथीहरूलाई बुढो मेजर (सुँगुर)ले 'मानिस नै जनावरको दुश्मन' रहेको बताउँदै क्रान्ति गर्न हौसाउँछ । मानिसको तानाशाही व्यवस्थाबाट स्वतन्त्र हुँदा आत्मसम्मान, अधिकार र सुखको जीवन पाउने सोचमा फार्मका जनावर विद्रोह गर्न तयार हुन्छन् । एकजुट भएर फार्मका मालिकलाई निकालिदिन्छन् ।

त्यसपछि सुँगुर कमरेडहरू एसबी र केपोलियनले जनावरको नेतृत्व गर्छन् । जनावरमैत्री नियमहरू बनाइन्छ । एसबी र केपोलियनको नेतृत्वमा जनावहरूले क्रान्तिको वास्तविक उपलब्धि उपभोग गर्न पाउलान् ? मानिसलाई फार्मबाट मिल्काइदिएसँगै हेपिएको, दबिएको, भोकमरीको जीवनबाट जनावरहरूको जीवन उकासिएला ? जर्ज अरवेल लिखित उपन्यास 'एनिमल फार्म'ले विद्रोही जनावरहरूको संघर्षको कथामार्फत शक्तिमा पुगेका नेतृत्वहरूको अहम, भ्रष्टता र शक्तिहीनहरूको कमजोरी बोल्छ ।

गलत नेतृत्व चयनले निम्त्याउने दु:ख र भीडको पछाडि दौडनेहरूको कथा बोल्ने 'एनिमल फार्म' नाटक कौसी थियटरमा मञ्चन हुनु र नेतृत्व चयन(एमाले र कांग्रेसको महाधिवेशन)को चरण सुरु हुन संयोग मात्र हो ।

मञ्चनको अन्तिम तयारीमा रहेको नाटकले शक्तिमा रहेकाहरूले शक्तिको दुरुपयोग गरेर शक्तिहीनहरूलाई दबाउन खोज्ने अहिलेको राजनैतिक माहोलमाथि कटाक्ष बोल्छ । पढ्न सक्ने क्षमता देखाउँदै सुँगुरहरूले नेतृत्वको घोषणा गर्छन् । फार्मका अन्य जनावर आँखा चिम्लेर उनीहरूकै पछि लाग्छन् । न उनीहरू असहमति जनाउँछन् सक्छन् न त प्रश्न गर्न नै । असहमति जनाउने आवाजलाई पनि त्यहाँ दबाइन्छ ।

शक्तिको आडमा केपोलियनले एसबीलाई फार्मबाट हटाउँदा फार्मका जनावरहरू सत्यता देख्न सक्दैनन् । देख्नेहरूले पनि बोल्न सक्दैनन् । अझ शक्तिशाली समूहले नै उनीहरूका सपना निर्धारण गरिदिन्छन् ।

'एनिमल फार्म' जनावरहरूको कथा हो । यो कथाका पात्रहरू पनि जनावर नै हुन् । तर, मञ्चमा जनावरको भूमिका मानिसले निर्वाह गर्दैछन् । यसले समग्र समाज, शक्ति संरचना र उत्पीडनमा परेकाहरूको प्रतिबिम्व गर्छ । फार्मका हरेक जनावरमा हाम्रै समाजका प्रतिनिधि पात्र देख्न सकिन्छ । भक्त घोडा नामजस्तै भक्त भएरै केपोलियनलाई महान् सम्झन्छन् । भेडा पात्र छन् जो प्रश्न गर्न खोज्छन् तर अर्धज्ञानकै कारण चुप रहन बाध्य छन् । मालती घोडिनी, गाई, कुखरा, हाँस, मुसा, कागलगायतका पात्रहरू त हामी समाजमै देख्न सक्छौं । कमरेड चाप्लुस् सुँगुरजस्तै पात्रसँग कुनै न कुनै बेला ठोक्किएकै हुन्छौं । आफूलाई ठूला वर्णका ठान्ने अनि साना ठान्ने पात्रहरूकै कारण जनावरहरूको कथामा हामी मानव संसार भेट्टाउँछौं ।

यो नाटकले शक्तिको पछि दौडिरहने केपोलियन र भीडको पछाडि दौडिनेहरूलाई व्यंग्य गर्छ । अरवेलले सन् १९४३ तिर लेखेको एनिमल फार्मको उपन्यासलाई प्रशान्त नायरले नाट्य रूपान्तरण गरेका हुन् । निर्देशक आकांक्षा कार्कीले नाटकलाई अहिलेको समयसँग जोडेकी छन् ।

कोभिड महामारीले फार्म अछुतो रहँदैन । जनावरहरूलाई आइसोलेसनका लागि ठाउँको अभाव हुन्छ । मानिसले बनाइदिएको अस्पताल जानु फार्मको नियमविपरीत छ । जनावरहरू स्वंय रोगसँग लड्न बाध्य छन् । आफूलाई ठूला र शिक्षित ठान्ने नेता केपोलियन उनीहरूलाई 'हाच्छयुँ' गरेरै रोगसँग लड्न सल्लाह दिन्छन् । महामारीका दौरान जनताप्रति राज्य कति लापरबाही र असंवेदनशील बन्यो भन्ने कुरालाई पनि एकपटक नाटकले सम्झाउनेछ ।

नेतृत्वमा पुगेकाहरूले शक्तिको मोहमा क्रान्तिलाई कसरी बिर्सिए भन्नेतर्फ पनि नाटकले प्रश्न छेडेको छ । देशमा १० वर्षे जनयुद्ध भयो । हजारौं सहिद भए । क्रान्तिकै बुई चढेर सत्तामा पुगेकाहरूले जनताका लागि के गरे त ? क्रान्तिमा होमिएका सर्वाहारा वर्गको अवस्था सुध्रियो ? यसमाथि पनि नाटकले आवाज उठाउँछ । पात्रहरू गाउँछन् -

'नाकाको नथि फ्याँकेर, आँखाको पट्टी उघारेर

निरंकुशताको यो पहाडलाई उखेलि अब फ्याँक्नुछ

एउटा गीत गाउनै बाँकी छ, विधिको शासन ल्याउनै बाँकी छ ।'

नाटकमा आफूलाई उच्च समूहका ठान्नेहरूले कसरी होचा वर्ग, वर्ण, जातलाई थिचोमिचोमा पारेर फाइदा उठाउँछन् भन्ने पनि देखाइएको छ ।

अरवेलकै कथामा अनुवादित नाटक 'एनिमल फार्म'ले लेखकै पितृसतात्मक सोचमाथि पनि प्रहार गरेको छ । अरवेलले कथामा नेतृत्वसम्म पुगेकी एसबीलाई केपोलियनले षड्यन्त्र गरेर फार्मबाट लखेटिएको देखाइएको छ । त्यसपछि दोहोरिएर उनी मञ्चमा देख्दिनन् । महिला पात्र भेडालाई प्रश्न गर्न खोज्ने तर दबाइएको पात्रको रुपमा प्रस्तुत गरिएको छ । महिलाहरूलाई कमजोर, निर्बल देख्ने अनि लेखनमा त्यही झल्काउने जर्जजस्ता संकुचित विचारधारालाई पनि व्यंग्य गर्छ नाटकले ।

'अरबेलको लागि केवल म कमजोर प्रतिनिधि पात्र हुँ । उहाँले भए जति विवेक प्रयोग गरे पनि अन्तिममा माथिल्लो वर्गको खोक्रो पात्रको प्रतिनिधि गर्न किन म महिला नै छनोट गर्नु पर्‍यो । जसको दिमाग छैन, नैतिकता छैन, विचार छैन । किनभने त्यतिबेला पनि उहाँले के सोच्नुभयो भने गञ्जागोल अवस्थामा प्राय महिला भने घाँडो मात्र हो,' अरवेलले महिलालाई हेर्ने दृष्टिकोणप्रति सिर्जनात्मक चालखी अपनाउँदै एक घोडीमार्फत आक्रोश पोखिएको छ ।

भक्त घोडालाई गाडीमा लगिँदै गरेको दृश्यलाई निकै रोचक अनि मनछुने तरिकाले देखाइएको छ । जनावरका भेषमा पात्रहरूले जनावरकै आवाज नक्कल गर्दा वास्तविक फार्ममै पुगेझैं लाग्छ । युद्धको समयमा लेखिएको अरवेलको कथा अहिले पनि नेपाली समाज, राजनीतिअघि सान्दर्भिक लाग्छ ।

शक्तिशाली समूहले गरिरहेको अत्याचारी शासनविरुद्ध आवाज उठाउन प्रेरित गर्ने यो नाटक मंसिर १४ देखि पुस ३ सम्म कौसी थियटरमा मञ्चनमा हुँदैछ । नाटकका थुप्रै कलाकारले अभिनय गरेका छन् । प्रयोग गरिएका प्रप्स कलात्मक देखिन्छन् । कथालाई न्यारेट गरिरहेझैं लाग्ने संगीत यो नाटकको बलियो पक्ष हो ।

प्रकाशित : मंसिर १३, २०७८ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×