पत्रकार तामाङको वृत्तचित्रलाई अवार्ड- कला - कान्तिपुर समाचार

पत्रकार तामाङको वृत्तचित्रलाई अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारीबाट आफैं संक्रमित भएको कथा समेटेको पत्रकार मानछिरिङ तामाङको वृत्तचित्र ‘इन्फेक्टेट एब्रोड २०१९’ जापानमा पुरस्कृत भएको छ । टोकियो फिल्म अवार्ड महोत्सवमा छोटा उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको हो ।

२०१९ मार्च तेस्रो साता घातक कोरोना भाइरस न्युयोर्कमा व्यापक रूपमा फैलिरहेको थियो । उनी पनि संक्रमित भए । परिवारबाट टाढा रहँदा नेपाली युवा कसरी बस्छन्, केले बाँच्ने आस बढाउँछ भन्ने कथाले चित्रण गरेको छ ।

तामाङकी श्रीमती लिलीमाया र छोराछोरी काठमाडौंको थानकोटमा बस्छन् । न्युयोर्कमा एक्लै जीवनमरणको लडाइँमा रहेका उनलाई नेपालमा परिवारसँग बिताएका क्षणहरूको याद आउँछ । धेरै रात जागेर, रोएर बित्छ । जीवन रहेसम्म आशा छ, जसले घरपरिवारबाट टाढा हुनुको पीडामा मन बुझाउन मद्दत गर्छ । परिवारको माया र समर्थनले कठिन समयमा मानिसहरूको मनोबल बढाउन भूमिका खेल्छ भन्ने वृत्तचित्रमा देखाइएको छ ।

मुख्य पात्र तथा निर्देशक तामाङलाई संसारका विभिन्न ठाउँ घुम्न मन लाग्छ । वृत्तचित्रले कोभिड महामारीबाट प्रभावित परिवारको मनोवृत्ति केलाएको छ । कोरोनाको लडाइँ जितेर तामाङ परिवारलाई भेट्न नेपाल पुगे, शब्दले व्यक्त गर्न नसकिने गरी खुसी भए । ‘दुःखपीडाको समयमा परिवारको महत्त्व सबैका लागि उदाहरण बन्न सक्छ भन्ने वृत्तचित्रमा छ,’ उनी भन्छन्, ‘आप्रवासी युवाहरू, जो परिवारबाट टाढा छन्, उनीहरूको कथालाई समेटिएको छ ।’ यसअघि तामाङले भेडा गोठालोसम्बन्धी वृत्तचित्र बनाएका थिए । त्यसले पनि अमेरिकाका विभिन्न राज्यहरूका महोत्सवमा अवार्डहरू जितेका थिए ।

प्रकाशित : मंसिर १६, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

हस्तकला इतिहास पुस्तकमा

कान्तिपुर संवाददाता

काठमाडौँ — कलाकार धर्मराज शाक्यले  नेपाली हस्तकलाको इतिहास समेटेर पुस्तक प्रकाशित गरेका छन् । नेपाली हस्तकलाको विकासक्रमलाई अनुसन्धानसहित उनले पुस्तकमा समेटेका छन् ।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कुलपति केके कर्माचार्यले ‘हस्तकलाको ऐतिहासिक पक्ष’ विमोचन गर्दै पुस्तक अनुसन्धानात्मक तथ्य प्रष्ट्याउन सफल रहेको बताए । ‘समाजमा हस्तकलाको महत्त्व विशिष्ट छ,’ उनले भने, ‘पुस्तकले नेपालको हस्तकलाको इतिहासदेखि वर्तमानसम्म चलेका र बनेका विषयको समेत यथेष्ट जानकारी दिएको छ ।’

नेपाली हस्तकलाको इतिहास समृद्ध रहेको सुनाउँदै लेखक शाक्यले परम्परादेखि आधुनिक पक्षका बारेमा पुस्तकमा चर्चा गरिएको खुलाए । संस्कृतिविद् गोविन्द टण्डनले नेपाली संस्कृति र कलाको संरक्षण तथा सम्वर्द्धनका लागि निरन्तर खोज अनुसन्धान हुनुपर्नेमा जोड दिए । लेखक आफै कुशल शिल्पी, कला र संस्कृतिका अध्येता भएकाले निकै गहन ढंगले खोज–अनुसन्धान गरी पुस्तक तयार पारेको पाइएको उनले सुनाए ।

टण्डनले हस्तकलाको विकासमा प्रतिष्ठान, नेपाल हस्तकला महासंघ तथा राज्यले गहन ढंगले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा समालोचक तेजविलास अधिकारी, प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरे, उपकुलपति गोपाल चित्रकारलगायतले पुस्तकले नेपाली हस्तकलाको इतिहासदेखि वर्तमानसम्मको चित्रलाई केलाएको विचार राखे ।

प्रकाशित : मंसिर १६, २०७८ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×