जसलाई ४६ वर्षपछि सम्झियो फ्रान्सले

अश्वेत महिला कलाकर्मी जोजोफिन बेकरलाई उच्च सम्मान
एजेन्सीहरू

पेरिस — मंगलबारको रात सञ्चारमाध्यमहरूमा जोजोफिन बेकरको फोटोसहितका समाचार आए, जो बितेको ४६ वर्ष भइसकेको छ । उनका तस्बिर पेरिसको भव्य समारोहमा राखिएका दृश्य देखिएपछि सर्च इन्जिनहरूमा खोजी भयो ।

जसलाई ४६ वर्षपछि सम्झियो फ्रान्सले

अमेरिकामा जन्मिएकी कलाकार, नागरिक अधिकारकर्मी तथा गुप्तचर बेकरलाई फ्रान्सको उच्च सम्मान दिएको समारोहको अवसरले उनलाई फेरि सम्झाएको हो ।

सन् १९२० र ३० को दशकमा युरोपमा निकै ख्याति कमाएकी उनी फ्रान्सको ‘राष्ट्रिय हिरो’ बन्ने पहिलो अश्वेत नागरिक भएकी छन् । पेरिसमा मंगलबार राति आयोजित विशेष समारोहमा उनलाई फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले ‘पान्थियान’ सम्मान प्रदान गर्दा विश्लेषकहरूले विभिन्न कोणले हेरेका छन् ।

विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने फ्रान्सेली नागरिकको स्मारक राखिने पान्थियानमा लेखक भिक्टर ह्युगो, दार्शनिक भोल्तेयर र जाँ ज्याक रुसो, वैज्ञानिक मेरी क्युरीलगायतलाई समावेश गरिएको छ । यसअघि उक्त सम्मान ५ जना महिलाले मात्र पाएका छन् । ६८ वर्षको उमेरमा निधन भएकी बेकरले कुनै दिन फ्रान्सको राष्ट्रिय सम्मान पाउनेछिन् भन्ने अड्कल पनि धेरैलाई थिएन ।

‘उनले पहिले मानवको प्रतिरक्षा गरिन् । अनि अमेरिकी र फ्रान्सेलीको,’ राष्ट्रपति म्याक्रोंले बेकरलाई युद्धनायक, लडाकु, नर्तकी तथा गायिकाको संज्ञा दिँदै भने, ‘बेकर पान्थियानमा प्रवेश गरिन् किनकि

उनले फ्रान्सेली जनताको हृदय जितिन् । अमेरिकामा जन्मिएर पनि उनी जत्तिको फ्रान्सेली कोही छैन् ।’ बेकरले स्वतन्त्रताका पक्षमा विभिन्न युद्धहरू सफलतापूर्वक लडेकी म्याक्रोंले बताए ।

सन् १९०६ मा अमेरिकाको मिसोरीमा जन्मिएकी बेकरले १५ वर्षको उमेरमा स्टेज कार्यक्रम सुरु गरेकी थिइन् । १९ वर्षको उमेरमा उनी फ्रान्स पसेपछि भने उनको लोकप्रियता चुलियो । त्यसपछि उनी नर्तकीका रूपमा निकै चर्चित बनिन् । लगत्तै बेकर युरोपकै सबैभन्दा महँगो कलाकारका रूपमा आफूलाई उभ्याउन सफल भइन् ।

सन् १९३० देखि गायनमा जमेकी उनी त्यसताकाका चर्चित फ्रान्सेली चलचित्रमा जोउ–जोउ र प्रिन्सेस टाम–टाममा गायिकका रूपमा देखा परिन् । दोस्रो विश्वयुद्धताका नाजीहरूले गरेको अतिक्रमणविरुद्ध आवाज उठाएकी बेकरले सन् १९५० र ६० को दशकमा अमेरिकामा जारी पृथकतावाद र रंगभेदविरुद्धको अभियानमा आफूलाई

समर्पित गरिन् । दोस्रो विश्वयुद्धताका गुप्तचरका रूपमा सक्रिय बेकरले केही समय फ्रान्सेली नौसेनामा अधिकृतको समय नोकरी गरेकी थिइन् ।

उनी सन् १९६३ मा अमेरिकाको वासिङ्टनमा भएको नागरिक अधिकारसम्बन्धी आन्दोलनमा एक मात्र महिला वक्ता थिइन् । त्यस्तै, १९६८ मा मार्टिन लुथर किङको हत्यापछिको आन्दोलनमा पनि उनले नेतृत्वदायी भूमिका खेलेकी थिइन् । सन् १९७५ को अप्रिल १२ मा ज्यान गुमाएकी उनको सैनिक सम्मानसहित अन्तिम संस्कार गरिएको थियो ।

प्रकाशित : मंसिर १६, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?