‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक

काठमाडौँ — कलाकार तथा लेखक धर्मराज शाक्यद्वारा लिखित पुस्तक ‘हस्तकलाको ऐतिहासिक पक्ष’ विमोचन भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भएको कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तक विमोचन गरेका हुन् ।

‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक

पुस्तकमा हस्तकलाको ऐतिहासिक महत्त्वलाई उजागर गर्न लेखक सफल भएको कर्माचार्यले बताए । ‘समाजमा हस्तकलाको महत्त्व विशिष्ट छ,’ उनले भने, ‘पुस्तकले नेपालको हस्तकलाको इतिहासदेखि वर्तमानसम्म चलेका र बनेका विषयको समेत यथेष्ट जानकारी दिएको छ ।’

नेपाली हस्तकलाको इतिहास समृद्ध रहेको सुनाउँदै लेखक शाक्यले परम्परादेखि आधुनिक पक्षका बारेमा पुस्तकमा चर्चा गरिएको खुलाए । संस्कृतिविद् गोविन्द टण्डनले नेपाली संस्कृति र कलाको संरक्षण तथा संवद्र्धनका लागि निरन्तर खोज अनुसन्धान हुनुपर्नेमा जोड दिए । लेखक आफै कुशल शिल्पी, कला र संस्कृतिका अध्येता भएकाले निकै गहन ढंगले खोज–अनुसन्धान गरी पुस्तक तयार पारेको पाइएको उनले सुनाए । टण्डनले हस्तकलाको विकासमा प्रतिष्ठान, नेपाल हस्तकला महासंघ तथा राज्यले गहन ढंगले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा समालोचक तेजविलास अधिकारी, प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरे, उपकुलपति गोपाल चित्रकार लगायतले पुस्तकले नेपाली हस्तकलाको इतिहासदेखि वर्तमानसम्मको चित्रलाई केलाएको विचार राखे ।

प्रकाशित : मंसिर १५, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?