कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रूखका कथा

खाँचो काठका लागि मात्रै नभई मान्छेको जीवनसँग अभिन्न रुखहरुले भूगोलअनुसार कथा बोकेका छन् 
सुशीला तामा‌ङ

काठमाडौँ — उचाइ, पात, हाँगाबिँगा, काठ, पानीको स्रोतको संरक्षण, भूक्षय नियन्त्रण र अक्सिजन आदि रूखसँग जोडिएर आउँछन् । मानिसका लागि आदिमकालदेखि नभई नहुनेमध्येको रूखबारे कति किंवदन्तीहरू होलान् । रूखसँग जोडिएका कथा खोतल्न क्रियसन नेपालले ‘ट्री अफ द इयर नेपाल’ अन्तर्गत कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

रूखका कथा

कार्यक्रमअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित टुरिजम बोर्डमा ‘ट्री अफ द इयर नेपाल–२०२१’ शीर्षकमा फोटो प्रदर्शनी गरियो । नेपालका विभिन्न भागका ऐतिहासिक महत्त्व बोकेका डेढ दर्जनभन्दा बढी रूखका कथाहरू तस्बिरसँगै राखिए । ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेका तीनवटा रूखहरूका तस्बिरलाई प्रदर्शनीमा उत्कृष्ट ठहर गरियो । धनुषाबाट विवेक श्रेष्ठले खिचेको, मनाङबाट तृप्ति तामाङको र सुनसरीबाट विप्लव रेग्मीको तस्बिर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । विजेताहरूले कदरपत्रसहित क्रमशः ५० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे । आयोजकका अनुसार प्रतियोगिताका लागि देशभरबाट करिब ३ सयवटा तस्बिरहरू प्राप्त भएका थिए ।

धनुषाबाट विवेकले धनुषाधाम मन्दिर नजिकैको पीपल रूखको सामाजिक, सांस्कृतिक तथा धार्मिक पक्षलाई उजागर गरेका छन् । उनले प्रस्तुत गरेको रूखको छहारीमा मानिसहरू वर्षौंदेखि भेला भइरहेका छन् र त्यसको छायामा मानिस मात्र होइन जनावरहरूसमेत बस्छन् । उनका अनुसार उक्त रूखलाई मानिसले एकआपसमा भेला हुने चौतारी र यसको शीतलता प्रदान गरेको छ । यसलाई मानिसहरूले पुज्दै आएको कथालाई विवेकले प्रस्तुत गरे ।

त्यस्तै तृप्तिले मनाङमा धार्मिक तथा सांस्कृतिक रूपमा उभिएको एक (सुक्पा) रूखको कथालाई जोडेकी छन् । जुन रूखका पात तथा स–साना काठहरू तामाङ समुदायमा भगवानका लागि दैनिक रूपमा प्रयोग गरिन्छ । मनाङको हिउँसँगै एक्लो उभिएको रूखले त्यहाँको भौगोलिक इतिहासलाई समेत बोलेको उनले खुलाएकी छन् । सुनसरीका विप्लव भने आफूले बाल्यकालदेखि देख्दै आएको खेतको बीचमा उभिएको रूखको स्मरणलाई तस्बिरसहित चित्रण गरेका छन् । उनका अनुसार उक्त रूखले आठ दशकको इतिहास बोकेको छ ।

रूखको पहिचानसँगै संरक्षण गर्ने उद्देश्य संस्थाले दिएको अध्यक्ष आनन्द मिश्रले बताए । ‘हामी सबै र हाम्रा सन्ततिका लागि रूख चाहिन्छ,’ उनले भने, ‘विकासँग रूखहरू मासिँदै छन् । सरकारले रूखको महत्त्व बुझाउने यस्ता अभियान अब महोत्सवका रूपमा अगाडि बढाउनुपर्छ ।’ संस्थाले उत्कृष्ट कथासहितको रूखलाई ‘एसियन ‘ट्री अफ द इएर’ मा समेत सहभागी गराउँदै आएको छ ।

जुन कार्यक्रम नेपालसहित सिंगापुर, श्रीलंका, मलेसिया र भारत गरी पाँचवटा देशहरूको सहभागितामा चल्दै आएको छ । विगतका प्रस्तुतिहरूमा नेपालले लगातार ३ पटक ‘एसियन ‘ट्री अफ द इएर’ को उपाधि जितिसकेको मिश्रले सुनाए । मिश्रका अनुसार रूखसँगै मानिसको मन छुने कथाहरू संकलन गरेको ‘ट्री अफ द इयर नेपाल’ कार्यक्रमको यो पाँचौं संस्करण हो’ ।

प्रकाशित : मंसिर ६, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?