पचली भैरवको प्रेमकथा

नाटकको भाषा, संगीत, नृत्य र वेशभूषाले नेवारी समुदायको मौलिक संस्कृतिलाई उजागर गरेको छ
सुशीला तामा‌ङ

काठमाडौँ — उपत्यकामा नेवार समुदायले प्रत्येक वर्ष घटस्थापनादेखि पञ्चमीसम्म पचली भैरव जात्रा मनाउने गर्छ । टेकुस्थित पचली भैरव उपत्यकाको प्रमुख आकर्षक सम्पदास्थलका रूपमा पनि चिनिन्छ । त्यतिमात्र होइन प्रत्येक १२ वर्षमा काष्ठमण्डप अगाडि पचली भैरवको खड्गजात्रासमेत हुँदै आएको छ । नेवार समुदायले निकै ठूलो पर्वका रूपमा मनाउँदै आएको यही पचली भैरव जात्राभित्र लुकेको पचलीको प्रेमकथालाई रंगमञ्चमा उतारिएको छ ।

पचली भैरवको प्रेमकथा

बिहीबारदेखि वज्र कला कुञ्जले टेकुस्थित कौसी थिएटरमा ‘पचली भैरव’ को कथालाई सांस्कृतिक नाटकका रूपमा मञ्चन सुरु गरेको हो । नेपाल मण्डलको उत्पत्तिसँगै यहाँ अत्यन्तै लोकप्रिय धार्मिक तथा सांस्कृतिक मिथक जोडिएका छन् । किंवदन्तीअनुसार नेपाल मण्डल उत्पत्ति भएपछि दक्षिण भेगको रक्षा गर्ने जिम्मा पचली भैरवलाई दिइएको थियो ।

सबै भैरवको प्रमुख मानिने पचली भैरव पञ्चलिंगेश्वरको अपभ्रंश भएर पचली भएको मानिन्छ । किराँती राजा पलम्बर नै पचली भैरव थिए भन्ने विभिन्न किंवदन्तीले बुझाउँछ । किराँती राजा कसरी पचली भैरवका रूपमा उदाए, अजिमा अर्थात् रुक्मिणीबीचको अगाध प्रेमकथाले कसरी उनी हालको टेकु पचलीमा सिद्ध भए भन्ने पौराणिक लिखित र मौखिक कथनलाई नाटकले बुनेको छ ।

नाटकको कथाअनुसार राजा पलम्बर राज्यको कामकाज सकेर भेष बदली वाग्मती र विष्णुमतीको दोभानमा साँझपख थकान मेट्न आउँथे । जुन ठाउँलाई पञ्चलिंगेश्वरको उत्पत्ति स्थलका रूपमा लिइन्छ । त्यही समयमा नेवार समुदायकी सुन्दरी अजिमा अर्थात् रुक्मिणीसँग उनको भेट हुन्छ । दुवैबीच अगाध प्रेम बढ्छ, रुक्मिणी गर्भवती हुन्छिन् ।

आफू गर्भवती भएको कुराले निकै चिन्तित बनेकी उनले पचली भैरवको वास्तविक परिचय थाहा नपाएको आमालाई सुनाउँछिन् । आमाले प्रेमीको परिचय थाहा पाउने सबै उपाय बताएपछि अजिमा आफू आमा बन्न लागेको सुनाउँदै वास्तविक पहिचान खुलाउन भैरवलाई अनुरोध गर्छिन् । आफ्नो वास्तविक रूप बदलेर आएका भैरवले भन्छन्, ‘प्रिय, कतिपय कुरा रहस्यमै रहेको उत्तम हुन्छ । यसलाई रहस्यमा नै रहन देऊ ।’

रुक्मिणीले जिद्दी गरेपछि एउटा वाचा गर्दै भैरवले आफू राजा भएको र वाचासहित वास्तविक रूप देखाउने बताउँछन् । वाचाअनुसार रुक्मिणीले भैरवको तन्त्रमन्त्रसहित फुकेको अक्षताले छर्केपछि उनको रूप देखिने र पुनः पूर्वरूपमै फर्कन फेरि अक्षता छर्कनुपर्ने हुन्छ । अक्षताले छर्केपछि भैरवको रौद्र रूप देखेर आत्तिएकी रुक्मिणी डराएर भाग्छिन् । भैरव रुक्मिणीको पछिपछि अक्षताका लागि भाग्दाभाग्दै उज्यालो हुन्छ ।

आफ्नो वास्तविक रूपमा फर्कन नपाएपछि उनी घाम तथा उज्यालोबाट लुक्न हालको पचली क्षेत्रमा एउटा मान्द्रो ओढेर लुक्छन् । मान्द्रोले उनको कम्मरभन्दा माथिको शरीरको भाग छोपिन्छ । उदाउँदो घामसँगै उनी त्यही सिद्ध हुन्छन् । स्थानीयले पचली भैरव सिद्ध भएको थाहा पाएर त्यसैलाई भगवान्का रूपमा पुज्छन् ।

आफ्नै गल्तीले रुक्मिणी र भैरवको वियोगान्त प्रेमकथा यात्रा सुरु हुन्छ । रुक्मिणीले छोरा जन्माउँछिन् । तिनै छोरालाई नै मुसुका गणेश अर्थात् रुद्रविनायकका रूपमा लिइन्छ । समाजको अनेक लाञ्छना सहेर उनले छोरालाई हुर्काउँछिन् । पछि समाज र छोराले नै बाबुको खोजी गरेपछि उनले पचली भैरवलाई दर्शनका लागि पुकार्छिन् ।

भैरवलाई उनले प्रत्यक्ष दर्शन गरी आफ्नो सबै पीडा फुकाउँछिन् । आमाछोरालाई भैरवले स्वीकारे पनि उनको दरबारभित्र नस्वीकारेपछि रुक्मिणी छोरा लिएर छुटै घरसंसार बसाउँछिन् । १२ वर्षपछि पुनः दर्शनमा आमाछोरालाई सँगै बस्न भैरवले आग्रह गरे पनि रुक्मिणी र छोरा प्र्रत्येक १२ वर्षमा भेट्न आउने वाचा गर्दै छुटिन्छन् । नाटकले बाह्रवर्षे पचली भैरव जात्राको यही किंवदन्तीलाई देखाएको छ ।

नाटकमा प्रयुक्त भाषा, संगीत, नृत्य र वेशभूषाले नेवारी समुदायको मौलिक संस्कृतिलाई उजागर गरेको छ । मिथक र सांस्कृतिक बिम्बमार्फत समाजमा नारीको अवस्थालाई चित्रण गर्नु नाटकको बलियो पाटो रहेको छ । भैरवले भने आफ्नी प्रेमिकालाई महान नारीको संज्ञा दिन्छन् । चन्द्रमान मुनिकारको कथा, परिकल्पना तथा निर्देशन रहेको नाटकमा नाट्य रूपान्तरण तथा सहनिर्देशन इँगिहोपो कोइच सुनुवारले गरेका छन् ।

सुदनमान मुनिकार, सृष्टिना मुनिकार, अनिशा श्रेष्ठ, नानुमैया महर्जन, संगीता थापा, पवित्रा राई, सिर्जना शर्मा, युवहाङ राई, रोशनी चौधरी र करिना सुनुवारको अभिनय रहेको नाटक मंसिर ४ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : कार्तिक २६, २०७८ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?