लखनऊमा नेपाली कला- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लखनऊमा नेपाली कला

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको लखनऊमा नेपाली कलाकारहरुको कला प्रदर्शनी सुरु भएको छ । मंगलबारदेखि लखनऊको अलिगञ्जस्थित ‘माउन्टेन स्याडो’ शीर्षकमा कला स्रोत आर्ट ग्यालरीमा ८ जना नेपाली कलाकारका कलाकृतिहरुको प्रदर्शनी सुरु गरिएको हो ।

नेपालबाट नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष एवं कलाकार केशवराज खनाल तथा भारततर्फ भारतीय कलाकार अमित कुमारको संयोजनमा गरिएको प्रदर्शनीमा नेपाली प्रकृति, संस्कृति तथा सामाजिक जनजीवन झल्किने करिब चार दर्जन कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन् ।

सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे, लगायतका हिमाल तथा काठमाडौं उपत्यकाका परम्परागत ढुंगेधारा, चैत्य, बुद्ध मूर्ति, सांस्कृतिक सम्पदा, दृश्यचित्र, नेवार संस्कृति, पुरातात्विक सम्पदा, दैनिक जनजीवन झल्किने कलाकृतिहरुले नेपालको चिनारी दिने खनालले दाबी गरे ।

खनालका अनुसार महामारीपछि नेपाली कलाकारहरुले पहिलो पटक भारतमा सामूहिक कला प्रदर्शनी गरेका हुन् । नेपाल र भारतबीचको सम्बन्धलाई कलाले जोडेको बताउँदै खनालले भने, ‘कोरोना कहरपछि सुस्ताएको नेपालको पर्यटनलाई यो कला प्रदर्शनीले सहयोग गर्ने आशा राखेका छौं ।’


प्रदर्शनीमा सहभागी भारतका प्रसिद्ध कलाकार प्रा.जयकृष्ण अग्रवालले नेपाली कलामा मौलिक परम्परासँगै सामाजिक, सांस्कृतिक विषय रहेको बताए । ‘कलाकृतिले नेपालको सांस्कृतिक पहिचान तथा प्रकृतिलाई चिनाउन मद्दत गरेको छ,’ उनले भने ।

प्रदर्शनीमा नेपालका कलाकार खनालसँगै, देवेन्द्र थुम्केली, कृष्णगोपाल श्रेष्ठ, चन्द्रश्याम डंगोल, रवीन्द्र मानन्धर, रवी मिश्र, मनोज तामाङ योञ्जन र रिक गुरुङका कलाकृतिहरु रहेका छन् ।

प्रदर्शनी चार दिनसम्म चल्नेछ ।

प्रकाशित : कार्तिक २५, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्

एन्फा र कान्तिपुर टेलिभिजनबीच सम्झौता

कान्तिपुरले एन्फासँग एक वर्षका लागि प्रसारण अधिकार लिएको छ
कान्तिपुर संवाददाता

काठमाडौँ — कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । कान्तिपुरले एन्फासँग एक वर्षका लागि प्रसारण अधिकार लिएको हो ।

बिहीबार भएको सम्झौता पत्रमा एन्फाकातर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजिनकातर्फबाट मार्केटिङ म्यानेजर गौरी दाहालले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कान्तिपुरका सुरज सिंह ठकुरीको पनि उपस्थिति रहेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको ए डिभिजन लिग विभिन्न चारवटा मैदानमा गर्ने तयारी गरिएको छ । कान्तिपुर टेलिभिजनबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलहरु प्रत्यक्ष प्रसारण हुने छन् ।

ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदै छन् । लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब आमने सामने हुने छन् ।

१४ टिमको सहभागीता रहने ए डिभिजन लिगमा १३ राउण्डको ९१ खेलबाट लिगको विजेता टुंगो लाग्ने छ ।

प्रकाशित : कार्तिक २५, २०७८ १३:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×