१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सुन्दरीको झोलुंगे पुल

सुशीला तामा‌ङ

काठमाडौँ — सुन्दरी प्रतियोगिता रूपको मात्रै प्रतिस्पर्धा होइन । सहभागीहरूले आफ्नो रुचि र क्षमताअनुसार विभिन्न क्षेत्रमा योगदान दिन सक्छन् । भीडलाई उछिनेर जो–जो अघि आउँछन्, अधिकांशले भन्छन्, ‘म समाजसेवा गर्छु ।’ भनेजसरी मिस नेपालका विजेताहरूमा सिर्जनशील काम गर्ने सिलसिला अघि बढेको छ ।

सुन्दरीको झोलुंगे पुल

यसमा इँटा थपेकी छन् मिस नेपाल वर्ल्ड २०२० कि विजेता नम्रता श्रेष्ठले । उनको अगुवाइमा धादिङको नीलकण्ठ–२ थोपल खोलामा बनेको झोलुंगे पुल सञ्चालनमा आएको छ ।

पुलबाट वारिपारि गर्न पाउँदा सोर घर, बसाहा, भण्डारी गाउँ, आँपसरा, बटुवा, स्याउली, धोबेनीलगायत गाउँका बासिन्दालाई राहत भएको छ । मिस वर्ल्ड २०२१ ब्युटी विथ पर्पोज सामाजिक परियोजनाअन्तर्गत श्रेष्ठको सक्रियतामा स्थानीयको श्रमदान तथा विभिन्न संस्थाहरूको सहायतामा पुल बनाइएको हो । उनीसहित नगर प्रमुख भीमप्रसाद ढुंगाना, हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले गत सोमबार पुलको संयुक्त रूपमा उद्घाटन गरे । झन्डै ५० लाख रुपैयाँ लागतमा निर्मित ७५ मिटर लम्बाइको पुलले नीलकण्ठ नगरका २ र १२ नम्बर वडालाई जोडेको छ ।

स्थानीय उपभोक्ता समितिका अध्यक्ष विष्णु थापामगरले भने ‘वर्षामा खोला तर्न सकिँदैनथ्यो । पुलले हामीलाई वारिपारि गर्न सजिलो भयो ।’ खोलामा पुल नहुँदा पारि गाउँतिर जान दुई/तीन घण्टा पैदल हिँडेको स्थानीय ७७ वर्षीया मैया मगरले सुनाइन् । ‘मर्ने बेलामा पुल देख्न पाइयो । अब सबैलाई सजिलो हुने भो,’ उनले निकै खुसी हुँदै भनिन् ।

मिस नेपालको ताज पहिरिएर सामाजिक कार्यअन्तर्गत यति ठूलो परियोजना पूरा गर्न सफल भएकोमा श्रेष्ठले निकै गर्व महसुस भएको सुनाइन् । ‘पुल मैले होइन, हामीले बनाएका हौं र यो हाम्रा लागि हो,’ उनले भनिन्, ‘कोभिडको समयमा सुरु भएको करिब एक वर्षको हाम्रो परियोजना चार महिनामै सकिएको छ । यो निकै ठूलो उपलब्धि हो ।’ सहायता गर्ने संस्था र समुदायप्रति उनले आभार व्यक्त गरिन् ।

श्रेष्ठका अनुसार ‘मिस वर्ल्ड २०२१’ का लागि धादिङमा परियोजना छनोट गर्न उनले स्थानीय तथा वन जोगाऔं अभियानका अभियानकर्मी भूमिरमण नेपालसँग सहायता लिएकी थिइन् । ‘कोभिडले गर्दा सबैतिर आर्थिक रूपमा गाह्रै थियो । पुल बनाउन पुग्ने पैसा नउठ्ला कि भन्ने डर थियो,’ उनले भनिन् । परियोजना पूरा गर्न हिडन ट्रेजर, स्थानीय प्रशासन तथा अन्य संस्थाहरूले गरेको सहायताले काम गर्ने वातावरण बनेको उनले सुनाइन् ।

मिस नेपालको सामाजिक परियोजनाको काम सही र आवश्यक ठाउँमा भएको सुनाउँदै नगर प्रमुख ढुंगानाले पुल स्थानीयवासीको अहिलेको आवश्यकता मात्र नभएर धादिङकै पहिचानका रूपमा खडा भएको धारणा राखे ।

सौन्दर्य प्रतियोगिताले सहभागीलाई सामाजिक क्षेत्रमा काम गर्ने बाटो खोल्ने हिडन ट्रेजर अध्यक्ष कर्णिकारले बताए । ‘हाम्रो उद्देश्य प्रतिभा उजागर गरेर देश र समाजका लागि योगदान दिने प्रतिभालाई अघि ल्याउनु नै हो ।’

प्रकाशित : कार्तिक २५, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?