पावेलको रेखाचित्रमा नेपाल

सुशीला तामा‌ङ

काठमाडौँ — सन् १९८० मा नेपाल आउँदा रोबर्ट पावेलमा वास्तुकलाको अध्ययन तथा त्यसलाई सिर्जनामा उतार्ने युवा जोस थियो । स्वयम्भू नजिकै छाउनीमा घर भाडामा लिई उनले नेपाली वास्तुकलामा सिर्जना यात्रा थालनी गरे ।

पावेलको रेखाचित्रमा नेपाल

अस्ट्रेलियाको सिड्नीमा जन्मेका उनले अंग्रेजी साहित्य, मनोविज्ञान र वास्तुकलाको अध्ययन गरेका थिए । आफ्नो सिर्जना यात्राका लागि उपयुक्त स्थानको खोजीमा रहेका उनका लागि नेपाल उपयुक्त बन्यो । सन् १९८१ पछि पावेलले भक्तपुर, ललितपुर, काठमाडौं उपत्यकाका प्राचीन सम्पदालाई आफ्नो सिर्जनामा उतारे । बौद्धस्थित तारागाउँ कला संग्रहालयमा राखिएका पावेलका कलाकृतिबारे बोल्दै जर्मन वास्तुविद् निल्स गुत्सोले भने, ‘दुर्भाग्यवश रोबर्ट हामीमाझ छैनन् । तर, उनी कलाकृतिसँगै आफ्नो घर आएका छन् ।’

उपत्यकामा रहेका लिच्छविकालीन वास्तु तथा चैत्य, गुम्बा तथा मठमन्दिरका टुँडाल, झ्याल, ढोकामा कुँदिएका शिल्पकलाको अध्ययन तथा स्केचमा पावेलसँग सहकार्य गरेको उनले स्मरण गरे । चित्रकारका रूपमा आफ्नो बलियो छाप छोडे । चार दशकभन्दा लामो यात्रामा पावेलले कोरेका भक्तपुर र पाटनका प्राचीन सम्पदाका रेखाचित्र, मुस्ताङ तथा हिमालय संस्कृति, भौतिक संरचनाजस्ता मौलिकता झल्काउने वास्तुकलामा आफू नजिकै रहेर अवलोकन गरेको गुत्सोले सुनाए ।

पावेल नेपाल आउँदा अस्ट्रियाका वास्तुविद् गोट्ज ह्यागमुलर प्रमुख रहेको जर्मन सरकारको अनुदान सहयोगमा भक्तपुरको परम्परागत सहरको पुनःस्थापना र संरक्षण चलिरहेको थियो । ह्यागमुलरले नै उनलाई परियोजनामा सामेल गराए । केही समयपछि उनी पाटन विकास परियोजना, मुस्ताङ वास्तुकला दस्तावेजीकरण परियोजनामा आबद्ध भए । गुत्सो भने अध्येता र वास्तुविद्का रूपमा परियोजनासँग जोडिए । त्यहीबेला पावेलले कोरेका लिच्छविकालीन चैत्य तथा उपत्यकाका प्राचीनता झल्काउने दुई दर्जन चित्र संग्रहालयमा प्रदर्शनरत छन् । १९९४ देखि २००० सम्ममा पावेलले उतारेका मुस्ताङ स्केचमा आफ्नो पनि सहभागिता रहेको गुत्सोले सुनाए । पावेलले भक्तपुरहुँदै साँखु, काठमाडौं, गोकर्ण, पशुपतिनाथ र पनौतीलगायत स्थानका सम्पदालाई आफ्नो सिर्जनामा उतारेका छन् । सन् १९८३ देखि ८८ सम्म मगर समुदायका संस्कारबारे गरिएका सांस्कृतिक डकुमेन्टेसनलाई समेत रेखाचित्रमा उतारेका छन् । कार्यक्रममा सहभागी लेखक तथा पत्रकार कनकमणि दीक्षितले पावेल, गुत्सोजस्ता वास्तुविद् तथा कलाकारले नेपालको संस्कृति, समाज र नेपाली पुर्खाको अध्ययन गरी बाहिर ल्याउन अग्रणी काम गरेको बताए ।

प्रदर्शनीमा गोट्जले संग्रह गरेका सक्कली र कपि गरी पावेलका १३ वटा सिर्जना प्रदर्शनीमा राखिएको संग्रहालयका निर्देशक रोशन मिश्रले बताए । सर्राफ फाउन्डेसन फर हिमालय ट्रेडिसन एन्ड कल्चरअन्तर्गत रहेको नेपाल आर्किटेक्चर आर्काइभमा विदेशीले नेपाल बसेर गरेका कामहरू संग्रह गरेर राखिएका छन् । संग्रहीत हजारौं चित्रसँगै पाण्डुलिपि, डिजिटल फोटो, भिडियोमध्येबाट छनोट गरी तारागाउँ संग्रहालयमा प्रदर्शन गरिँदै आएको मिश्रले जनाए । प्रदर्शनीपछि गोट्जको संग्रहमा रहेका पावेलका चित्रहरू उनैलाई फिर्ता गरी अन्य संग्रहालयमा नै राखिने मिश्रको भनाइ छ ।

प्रकाशित : कार्तिक ९, २०७८ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?