जुर्मुराउँदै पोखराका रंगकर्मी

दीपक परियार

पोखरा — लामो समयको अन्तरालपछि पोखरा थिएटरको गन्धर्व नाटकघर पुगेका नाट्यप्रेमीको भीडले थिएटरसँगैको कला क्याफे सोमबार ठेलमठेल देखियो । पोखरा थिएटरको स्थापनासँगै औपचारिक रूपमा रंगमञ्च छिरेका कलाकार शरद भण्डारीलाई कोरोनाकाल झ्यालखानाजस्तै भयो ।थिएटरमा भेटिएका उनले रंगमञ्चमा फर्कन नपाउँदा उकुसमुकुस भएको अनुभव सुनाए ।

जुर्मुराउँदै पोखराका रंगकर्मी

‘अभिनयमा फर्कन नपाउँदा निस्सासिएजस्तो भयो, सासै फुस्केला जस्तो भयो,’ उनले भने, ‘अब रंगमञ्चमा फर्कनुपर्छ ।’ कोरोनाकालपछि रंगमञ्चमा पुनर्जागरण ल्याउन उनीजस्तै युवा नाट्यकर्मीको समूहले रेनेसा थिएटर गठन गरेका छन् । यही टिमले चर्चित भारतीय नाटक ‘चरणदास चोर’ मंसिर १ देखि १४ सम्म पोखरा थिएटरमै मञ्चन गर्दै छ ।

कोरोना महामारी कम भएसँगै पोखराका रंगकर्मीबीच नाटकलाई अघि बढाउने क्रममा गठन भयो रेनेसा थिएटर । रेनेसाको अर्थ नै पुनर्जागरण । रेनसामा आबद्ध स्वतन्त्र रंगकर्मीकै प्रयासमा ‘चरणदास चोर’ पोखराका दर्शकले हेर्न पाउने भएका छन् । विजयदान देथाको लोककथा चरणदास चोरलाई भारतका प्रख्यात नाट्य निर्देशक एवं कलाकार हविव तनवीरले सन् १९७५ मा नाट्य रूपान्तरण गरेका थिए । यसको नेपाली अनुवाद रंगकर्मी आशान्त शर्माले गरेका हुन् । नेपालसहित दक्षिण एसिया र युरोपमा समेत यो नाटक थुप्रै पटक मञ्चन भइसकेको छ ।

पोखरामा भने निश्चल विमलले यसको निर्देशन गर्दै छन् । सहनिर्देशक शरद भण्डारी हुन् । नाटकमा शरदसहित ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्ज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमिल्सिना, मनोज सुनार, एमडी काफ्ले, नौर क्षत्री, सुशील बराल, अदिल भुजेल, विवेक मन, एलिसा विक र सुविना श्रेष्ठको अभिनय छ ।

निर्देशक विमलले नेपालको परिवेशमा ढालेर नाटक तयार पारिएको बताए । ‘यो पूर्ण रूपमा हाँस्यचेतसँगै मानवीय संवेदनाले भरिएको नाटक हो,’ उनले भने, ‘कोरोनाको दुःखलाई बिर्साउन पनि पहिलो नाटक हाँस्यरसकै नाटक रोज्यौं ।’ रेनेसा थिएटरले वर्षमा कम्तीमा एउटा नाटक मञ्चन गर्ने लक्ष्य लिएको छ । मञ्च व्यवस्थापकसमेत रहेकी कलाकार एलिसाले महामारी कम भइनसकेको अवस्थामा ठूलै चुनौती मोलेर नाटक मञ्चन गर्ने तयारी गरेको बताइन् । ‘सबैजना नयाँ छौं । खाजा खर्च जोगाएर नाटकमा लगाएका छौं,’ उनले भनिन्, ‘धेरै हिसाबले चुनौतीपूर्ण भए पनि अब यत्तिकै बस्नुहुँदैन भनेर यो नाटक तयार पार्‍यौं ।’

पोखरा थिएटरमा गण्डकी प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला शुक्रबारबाट भइरहेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले थिएटरसँगको सहकार्यमा आयोजना गरेको कार्यशालामा प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेक ९ जिल्लाका २२ जना सहभागी छन् । कार्यशालाले गण्डकी प्रदेशमा नाटकप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ बताउँछन् । कार्यशालामा १५ जना प्रशिक्षकले प्रशिक्षार्थीलाई प्रशिक्षण गराउने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । कार्यशाला कात्तिक १५ गतेसम्म चल्नेछ ।

प्रकाशित : कार्तिक ९, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?