कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

२० वर्षदेखि छ्वाली कला सिर्जनामा

क्यानभास, रङ, कुची तथा अन्य प्रविधिको पहुँचभन्दा टाढा रहेकालाई छ्वाली कला वैकल्पिक सिर्जनाको आधार
सुशीला तामा‌ङ

काठमाडौँ — गहुँबाली भित्र्याएपछि गाईबस्तुका लागि जोहो गरी राखिने छ्वालीबाट कलाकार प्रकाश मिजारले विभिन्न कलाकृति बनाएका छन् । काठमाडौं ब्रह्मखेलस्थित घरका भित्ताहरूमा उनले धर्म, प्रकृति, समाज र आममानिसको दैनिकी झल्काउने छ्वाली कलाकृति सजाएका छन् । 

२० वर्षदेखि छ्वाली कला सिर्जनामा

आफ्नै घर वरपर खेतबारीमा पाइने छ्वालीबाट दुई दशकदेखि मिजारले कलाकृति सिर्जना गर्दै आइरहेका छन् । कला सिर्जनाको सुरुवाती चरणमा औपचारिक रूपमा उनले रङ र कुची चलाएका थिए । केही नौलो सिर्जना गर्ने हुटहुटीले छ्वाली कलातिर आकर्षित भएको उनले सुनाए । ‘सानैदेखि चित्र कोर्थें, पछि ललितकलामा क्यानभासमा नै सिर्जना गर्न थालें,’ उनले भने, ‘२०५७ सालतिर इन्टरनेसनल एक्स्पो कला प्रदर्शनीमा छ्वाली आर्ट देखेर निकै प्रभावित भएँ ।’

ग्रामीण भेगमा सजिलै उपलब्ध हुने छ्वालीलाई कलामा उतार्ने अठोटका साथ उनले निरन्तर लागिरहे । तिनताक छ्वाली कला सिर्जना गर्ने कलाकार र कलाकृति एकदम कम भएको उनले बताए । अहिले पनि छ्वालीका माध्यममा मात्र कला सिर्जना गर्ने थोरै छन् । ‘हाम्रोमा चित्रकला भन्नाले क्यानभास, रङ र कुची मात्र ठान्ने जमात ठूलो छ, छ्वाली चित्रकलालाई अहिले पनि हस्तकलाअन्तर्गत नै राखिन्छ,’ उनले भने, ‘यसकारण यतातिर कलाकारको आकर्षण छैन भन्दा पनि हुन्छ ।’

क्यानभास, रङ, कुची तथा अन्य प्रविधिको पहुँचभन्दा टाढा रहेकालाई छ्वाली कला वैकल्पिक सिर्जनाको आधार बन्न सक्ने उनको बुझाइ छ । उनले थपे, ‘कलाकृति बजारमा गएर त्यसैबाट सिर्जनालाई निरन्तरता दिन्छु भन्ने अझै वातावरण बनिसकेको छैन । कला प्यासन हुनेका लागि छ्वालीले सिर्जनात्मक काममा धेरै सघाउ पुर्‍याउन सक्छ ।’ छ्वाली, कागज, सामान्य कपडा र टाँस्ने गमको सहायताले पनि उत्कृष्ट कलाकृतिहरू बनाउन सकिने उनले सुनाए ।

ललितकला क्याम्पसमा आईएफएसम्मको अध्ययन गरेका मिजारले औपचारिक कला शिक्षालाई त्यहीं बिट मारे पनि सिर्जना यात्रालाई नौलो रूपमा अगाडि बढाउँदै गए । २० वर्षको दौरानमा उनले सयौं छ्वाली चित्रकला बनाए । घरको आर्थिक अवस्थालाई धान्न कलायात्रासँगै उनले बाबुबाजेको जुत्ता बनाउने पेसा अपनाए, रोजगारीका निम्ति ३ वर्ष देशबाहिर पनि बसे । देश छोड्दा पनि उनले कलासिर्जना छोडेनन् । आफूसँगै रङ, कुची तथा छ्वाली लिएर गए । देशबाहिर रहेर उनले सिर्जना गरेका क्यानभास तथा छ्वाली सिर्जनालाई सँगै लिएर आए ।

डेढदेखि दुई दशक पुराना छ्वाली कलाकृतिलाई उनले सकेसम्म घरभित्रै सजाउने कोसिस गरेका छन् । कतिपय सिर्जना घरका कोठामा चाङ लगाएर संग्रह गरेका छन् । ललितकला प्रज्ञा प्रतिष्ठानले वार्षिक रूपमा गर्ने राष्ट्रिय कला प्रदर्शनी तथा संघसंस्थाले गर्ने केही हस्तकला प्रदर्शनीका बेला मात्र उनका कलाकृतिमा आममानिसको आँखा पर्छ । २० वर्षको यात्रामा उनले एकल कला प्रदर्शनी गर्ने आँट गरेका छैनन् । देशमा भएको सीमित आर्ट ग्यालरीहरूमा पनि प्रदर्शनीको भाडा आमकलाकारको आर्थिक हैसियतभन्दा माथि छ । यही कारण उनले एकल प्रदर्शनी गर्न सकेका छैनन् । ‘एक पटक भए पनि एकल प्रदर्शनी गर्ने इच्छा छ तर खर्चको व्यवस्थापन गर्न सकिरहेको छैन,’ उनले भने ।

देशभित्रका ललितकला र कलाकर्मीको विकासका लागि स्थापित ‘ललितकला प्रज्ञा प्रतिष्ठान’ उनको बस्तीबाट नजिकै छ । तर, उनीजस्ता थुप्रै सर्जकहरूको सिर्जनामा प्रतिष्ठानको ध्यान पुग्न सकेको छैन । छ्वाली कलालाई हस्तकलाअन्तर्गत मात्र राखेर चित्रकला फाँटतिर नसमेट्नु उनका लागि अर्को चित्त दुखाइको कुरा हो । यसलाई छुट्टै रूपमा स्थापित गरेर छ्वाली कलाकृति सिर्जना गर्ने कलाकारहरूलाई एकत्रित गर्न सकेमा नेपालमा पनि यसको विस्तार हुन सक्ने उनले सुनाए । प्रतिष्ठानका कुलपति केके कर्माचार्यका अनुसार कलाकृति सिर्जना गरेर प्रदर्शनी गर्न नसकेका कलाकारका लागि हालसम्म प्रतिष्ठानले सहायता गर्ने कुनै कार्ययोजना बनाएको छैन । त्यस्ता प्रस्ताव पनि नआएको उनले बताए । उनले भने, ‘प्रतिष्ठानले प्रदर्शनीका निम्ति कलाकारलाई सहायता गर्ने गरेको छैन । अहिलेसम्म सहायता गर्नुपर्ने प्रस्ताव पनि आएको छैन । विद्यार्थीहरूका लागि भने हामीले केही सहुलियत सहायता गर्ने गरेका छौं ।’

परम्परागत कलाका रूपमा लिइने थाङ्का तथा पौभा शैलीका कलाकृति उनले सिर्जना गरेका छन् तर ती घरभित्रै थन्किएका छन् । निकै मिहिनेतले बनाएका उनका एकाध कलाकृति मुस्किलले १५ देखि २० हजारमा बिक्री हुन्छन् । अन्य कलाकृति ३/४ हजार रुपैयाँमा बिक्री हुने गरेका छन् । प्रतिष्ठान र बजारको ध्यान नपुगे पनि आफ्नो कलायात्रालाई निरन्तरता दिइरहने उनले बताए ।

प्रकाशित : कार्तिक ५, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?