दसैंतिहार आइसक्यो, झल्को लाइसक्यो

सुशीला तामा‌ङ

काठमाडौँ — खल्तीमा खर्च जोहो भएको भए पोखराका केशव गुरुङ यतिबेला घर पुगिसकेका हुन्थे । बुबाआमा तथा उनका अन्य परिवार उतै छन् । हाल कपन बस्ने दृष्टिविहीन उनी बाटो खर्च जोहो गर्नकै लागि रत्नपार्कको सडकमा बसेर गीत गाउँदै गरेका देखिन्छन् । ‘दसैं आइसक्यो, घर जानलाई खर्च छैन,’ उनले भने, ‘दुई/चार पैसा होला कि भनेर यता बसेको छु । खर्च पुगे फूलपातीको दिन हिँड्नुपर्ला ।’ 

दसैंतिहार आइसक्यो, झल्को लाइसक्यो

उनी राजधानीका दोहोरी साँझहरूमा गाउने र मादल बजाउने गर्थे । कोरोना महामारीका कारण रोजगारी गुमेपछि उनी सडकमा आइपुगेका हुन् । सडकमा गीत गाउँदा दिनमा ५/७ सय रुपैयाँ हुन्छ । ‘काठमाडौंमा बस्न साह्रै गाह्रो भएपछि सडकमा आएको हुँ । यसैले अलिकति भरथेग भएको छ,’ उनले भने । दसैं सुरु भइसक्दा काठमाडौं छाडेर आफ्नो पुरानो थलो जानेहरू दिनदिनै थुप्रै छन् । तर गुरुङजस्ता बिखर्चीहरू भने फर्किने जोहो गरिरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता सञ्जीव शर्मा दासका अनुसार दसैं सुरु भएयता आइतबारसम्ममा सडकमार्गबाट ५ लाख ६० हजार जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौंमा बिहान, बेलुकाको छाक टार्न धौधौ परेकाहरू धेरै जना अहिले खर्च जुटाउन सडकमा हात फैलाउँदै गरेका भेटिन्छन् । दसैंको चहलपहलले व्यस्त असन, इन्द्रचोक, न्युरोडका बजारमा दैनिकी टार्न सहयोग मागिरहेका थुप्र्रै भेटिन्छन् । असन बजारकै एक कुनामा बसेर किनमेल गरिरहेका जमातलाई हेर्दै टोलाइरहेकी थिइन्, दोलखाकी ६५ वर्षीया बुनु पाण्डे । उनी दसैंको किनमेल गर्न होइन बेलुकाको खानाको जोहो गर्न त्यता आइपुगेकी थिइन् ।

भोटाहिटी पुलछेउमा एक मनकारी बेलुकी ४ बजे खाना खुवाउन आउँछन् भन्ने सूचना पाएर त्यतै हिँड्न लागेको उनले सुनाइन् । सबैतिर दसैंको रौनक छ, तर उनको मनमा भर्खरै छोरा गुमाएको पीडा छ । ‘परिवार र पैसा हुनेका लागि दसैं आयो । आफ्नो त खाना र बस्नको पनि टुंगो छैन,’ उनले भनिन्, ‘२२ वर्ष भयो श्रीमान् बितेको । जेठो छोरो भूकम्पमा बित्यो, कान्छो पनि जन्डिस बिग्रेर दुई महिनाअगाडि वीर अस्पतालमा उपचार गर्दागर्दै गयो ।’

धेरथोर भएको सम्पत्ति पनि छोराकै उपचारमै सिध्याएको उनले सुनाइन् । त्यसपछि उनको काठमाडौंतिरै बास भयो । एउटी छोरी काठमाडौंमै एउटा घरमा काम गरेर त्यतै बस्छिन् । हनुमानढोकामा एक चिनजानकै कोठामा बास दिए पनि बुनुले बिहान, बेलुकाको खानाको जोहो उनी आफैंले गर्नुपर्छ । किनमेल गर्न आउने मानिसका भीडलाई संकेत गर्दै उनले भनिन्, ‘सास राख्न एक गाँस खोज्न हिँडेको छु, हामीलाई त के दसैं आउँछ र खै ।’ दसैंमा सडक सुनसान हुने भएकाले भोकै परिन्छ कि भन्ने चिन्ताले उनलाई सताएको छ ।

रोल्पाकी ४५ वर्षीया माया लामा पनि खाना र दसैं खर्च जोहो गर्न वसन्तपुरदेखि असन, इन्द्रचोक तथा भोटाहिटीका पसलहरू चहार्दैछिन् । उनी दुईदेखि ३ सय रुपैयाँसम्म संकलन गरेर दैनिकी चलाउँछिन् । ठमेल ठैटीस्थित गाउँकै दिदी नाता पर्नेको डेरामा बस्दै गरेकी उनी दसैंमा घर नजाने सुरमा छिन् । ‘काम गर्न नपाएको कति महिना भइसक्यो । मागेर खाँदै छु । खै के दसैं मान्न घर जानु र’ उनले भनिन् । उनका अनुसार लकडाउनअघि उनी पार्टी प्यालेसको काममा जान्थिन् । महामारीपछि कामविहीन भइन् । खानाका लागि पनि धौधौ भएको उनलाई दसैं पर्वबारे कुनै चासो छैन । तीन महिनादेखि खानाको समस्या भएपछि उनी सडकमा आउन बाध्य भएको सुनाइन् । उनले भनिन्, ‘आज खाएर भोलि के खाने भन्ने पीर छ । यत्रो चाड पनि त्यत्तिकै जाने भो । भाँडा माझ्ने काम पाए पनि गर्न हुन्थ्यो, त्यो पनि पाएको छैन ।’ दसैंमा सबै घर जाने भएकाले अहिले नै मागेर जोहो गर्न पाए भोकै परिँदैन कि भनेर माग्न हिँडेको उनले सुनाइन् ।

प्रकाशित : आश्विन २५, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?