कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मौलिक दसैंमा आकर्षण

डीआर पन्त

डडेलधुरा — नवरात्र सुरु भएसँगै पहाडका डाँडाखोलामा बिगुल र भोक्कर घन्किएका छन् । गाउँका अधिकांश मन्दिरहरूमा सामूहिक नवरात्र बस्नेको ओइरो लागेको छ ।

मौलिक दसैंमा आकर्षण

यसपटक नवरात्रअघि नै गाउँका अधिकांश मठमन्दिर सिंगारिएका थिए । कोरोना महामारीका कारण बितेका दुई दसैंमा पूजापाठ गर्न नपाएका कारण यस पटक पहाडी जिल्लामा सोह्रश्राद्ध नसकिँदै थातथलो फर्कने क्रम सुरु भएको थियो । कोरोना महामारीले गत वर्षदेखि तराई र अन्य सहरमा बसोबास गर्नेहरूले पुर्ख्यौली थलोमा फर्केर दसैं मनाउन पाएका थिएनन् ।

कोरोना संक्रमण केही घटे पछि यस पटक पूजाआजालगायतका लागि पुर्ख्यौली थलो फर्कने क्रम बढेको छ । सुदूरपश्चिम पहाडका बासिन्दा सबैजसो गाउँबाट तराईमा पनि दोहोरो बसोबास छ । यहाँ वर्षमा एक पटक भए पनि सकेसम्म नवरात्रिका बेला थातथलोमा पूजापाठका लागि आउने चलन छ । अघिल्ला वर्षभन्दा यसपालि गाउँ फर्कनेमा युवाको संख्या पनि बढेको छ ।

तराईदेखि पहाडी जिल्लाका लागि आउने यातायातका साधनसँगै जिल्ला सदरमुकामदेखि गाउँ पुग्ने साधनमा पनि दसैं मनाउन घर फर्कनेको भीड लागेको छ । प्रायः हरेक गाउँ सडक सञ्जालले जोडिएका कारण पनि तराई र अन्य सहरबाट पुर्ख्यौली थालोमा पुगेर दसैं मनाउनेको घुइँचो बढेको हो । डडेलधुराको रुपाल महाकाली छेउको जाखका हरि ठकुराठी यातायातका साधन गाउँ पुगेपछि तराईमै जन्मे/हुर्केको पछिल्लो पुस्ता पनि आफ्नो मौलिक परम्पराको दसैं मान्न पुर्खाको थाततलोमा फर्कने क्रम बढेको बताउँछन् । ठकुराठी भन्छन्, ‘कहिलेकाहीं मात्र जन्मभूमिमा फर्कनेहरू यातायातको पहुँचका कारण दसैं मान्न पहाड आउने क्रम बढेकाले चहलपहल बढेको हो ।’

देशका अन्य भागमा मनाइनेभन्दा भिन्न शैली र वैदिक परम्पराअनुसार मनाइने गरेको सुदूरको दसैंले आफ्नै मौलिकता बोकेको छ । पछिल्लो पुस्ताले परम्परागत दसैंका विषयमा चासो राख्न सुरु गरेका कारण यस क्षेत्रको संस्कृतिप्रति चासो राख्नेहरू पनि हर्षित भएका छन् । पितृ विसर्जन नसकिँदै मठमन्दिरको सरसफाइ, सामूहिक रूपमा नवरात्र बस्नेका लागि आवश्यक प्रबन्ध, दैनिक पूजाआजाका लागि सामग्री जुटाउने काम यस पटक पछिल्लो पुस्ताले गरेको स्थानीय सांस्कृतिक अभियन्ता पण्डित दयाकृष्ण जोशी बताउँछन् ।

‘पुराना मान्यता र असल परम्पराको सट्टा यस क्षेत्रमा पनि दसैंमा विकृति निम्तिन थालेको थियो,’ सांस्कृतिक अनुसन्धानकर्ता मोहन भट्टले भने, ‘संस्कृतिले समाज र सभ्यतालाई जोगाएर राख्छ भन्ने कुरा विस्तारै युवा पुस्ताले बुझ्न थालेको छ ।’ मुलुकका अन्य भागमा भन्दा यहाँ दसैं मनाउने चलनमा केही भिन्नता रहेको अर्का संस्कृतिविद् आचार्य गोविन्दराज पन्त बताउँछन् । ‘सुदूरपश्चिममा मनाइने दसैं पूजा प्रधान हो,’ पन्त भन्छन्, ‘घटस्थापनादेखि वैदिक विधिअनुरूप देवीको दैनिक पूजाअर्चना, अष्टमीका दिन कुभिण्डोको बलि र महाष्टमी पूजा, नवमीका दिन हवन यज्ञ र दशमीका दिन कुल देवताको पूजा गर्ने परम्परा हो ।’ यहाँ मनाइने र देशका अन्य भागमा मनाइने दसैंमा केही भिन्नता रहेको आचार्य पन्तले बताए ।

‘मीठो खानपिन, नयाँ लुगा, इष्ट मित्रकहाँ जाने, घुमफिर र रमाइलो गर्ने परम्परा यस क्षेत्रमा थिएन,’ उनले भने, ‘नौ दिनसम्म एक छाक शुद्ध खाना खाने, सामूहिक रूपमा मन्दिरमा बस्ने, नवमीका दिन हवन यज्ञ गरेर मात्र घर जाने यस क्षेत्रको मौलिक परम्परा हो ।’ युवाले आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानसमेत सुरु गरेका कारण सुदूर पहाडको दसैंले पुनः रौनक ल्याउन थालेको उनले बताए । ५० नाघेको पुस्तामात्र दसैंमा थातथलोमा फर्केर मठमन्दिरमा परम्परागत रूपमा दसैं मनाउने गरेकोमा यस पटक युवाहरू ठूलो संख्यामा फर्किएका छन् । दसैंमा मात्र होइन श्रावण पूर्णिमादेखि सुरु हुने सुदूरका जात मेलाजात्रामा पनि युवापुस्ताको ठूलो सहभागिता हुन थालेको छ । स्थानीय गोविन्द पुरी माविका प्राचार्य लक्ष्मीदत्त चटौतले भने, ‘युवापुस्तामा आएको यो जागरणले सुदूरको मौलिक संस्कृतिको जर्गेनामा सबै आशावादी भएका छन् ।’

प्रकाशित : आश्विन २४, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?