आशाका लागि कला- कला - कान्तिपुर समाचार

आशाका लागि कला

नेपाली कला र कलाकारलाई पर्यटनसँग जोड्दै अन्तर्राष्ट्रियस्तरसम्म प्रचार गर्न एकै थलोमा ३३ चित्रकार
सुशीला तामा‌ङ

काठमाडौँ — ठमेल सातघुम्तीस्थित काठमाडौं गेस्ट हाउस परिसरमा चित्रकारहरू क्यानभासमा रङ पोत्न व्यस्त थिए । स्वदेशी तथा विदेशी कलाप्रेमीहरू चित्रकारका कलाकृति नियाल्दै कलाभाव बुझ्न उत्तिकै आतुर देखिन्थे । चित्रकारले कलाकै विषयमा छलफल गरे र कला अवलोकन गर्न आउनेलाई आफ्ना सिर्जनाको भावार्थसमेत अर्थ्याए । अभिनेता राजेश हमालले समेत क्यानभासमा आकृति कोर्दा धेरैले एकाग्र भएर नियाले । 

कला, कलाकार र कलाप्रेमीलाई एकै थलोमा जमघट गराएर कला उत्सव बनाउने अवसर भने म्युजियम अफ नेपाली आर्ट (मोना) ले जुराएको हो । नेपाली कला र कलाकारलाई पर्यटनसँग जोड्दै अन्तर्राष्ट्रियस्तरसम्म यसको फैलावटका लागि मोनाले ३३ चित्रकारलाई एकै स्थानमा भेला गराएर बिहीबार प्रत्यक्ष कला कार्यशाला गरेको हो । ‘आशाका लागि कला’ शीर्षकमा सुरु गरिएको कार्यशालामा अग्रजदेखि युवा पुस्ताका चित्रकार सहभागी भए ।

अभिनेता हमालले क्यानभासमा आफ्नै आकृति झल्कने चित्र कोरेपछि कार्यशाला औपचारिक रूपमा प्रारम्भ गरिएको थियो । सहभागी चित्रकारले परम्परागत पौभा कला, मिथिला कला, समकालीन तथा आधुनिक कलामा धर्म, संस्कृति, समाज, प्रकृति, सम्पदा र मानवीय पक्षलाई प्रस्तुत गरे । ठमेल पर्यटकको रोजाइको गन्तव्य हो ।

मौलिक नेपाली हस्तकला, रात्रिकालीन सांगीतिक माहोल, विभिन्न देशबाट आउने पर्यटकको आवातजावत ठमेलको मुख्य विशेषता मानिन्छ । यो माहोललाई कला पनि मिसाएर अझ कलामय बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको मोनाका सञ्चालक राजन शाक्यले बताए । ‘हाम्रो पर्यटनसँग खोलानाला, पहाड, हिमाल, वनजंगल, संस्कृतिजस्ता पक्षलाई मात्र जोडिँदै आएको छ,’ उनले भने, ‘इतिहासमा कलाको हाम्रो आफ्नै इतिहास छ । हाम्रो कलालाई किन पर्यटनसँग नजोड्ने ?’

कार्यक्रममा पौभा कलालाई क्यानभासमा उतार्दै गरेका लोक चित्रकारले यसलाई एक उत्सवका रूपमा लिएको सुनाए । उनले भने, ‘हामीले आफ्नो कलामात्र नभएर अरूको पनि कला शैली बुझ्ने मौका पायौं । सबै कलाकारका कलाकृति हेर्ने, एकापसमा भलाकुसारी तथा कला विषयमा छलफल गर्ने अवसर मिल्यो ।’ चित्रकार किरण मानन्धरले यस्तो कार्यशालाले कला विस्तारका साथै चित्रकारबीच सम्बन्ध विस्तार गर्न सघाउने बताए । ‘हामीकहाँ अग्रज तथा नयाँ कलाकारबीच असाध्यै ग्याप छ । यस्ता खाले कार्यक्रम भएमा एकले अर्काको कलासँगै सम्बन्ध विस्तार हुन्छ । यसले हाम्रो कलाको फाँट नै फराकिलो हुन सक्छ ।’ मानन्धरको भनाइमा सहमत हुँदै कलाकार रवीन्द्र श्रेष्ठले कार्यशालालाई सिकाइको अवसरमा लिएको बताए ।

कार्यशालामा कार्टुनिस्ट अबिन श्रेष्ठले क्यानभासमै कार्टुन चित्र उतारे । तीन दशकभन्दा लामो आफ्नो कार्टुनकला यात्रामा क्यानभासमा पहिलोचोटि कार्टुन कोरेको उनले सुनाए । कलाकारबीच दूरी घटाउन र एकअर्काका विचार तथा शैली आदानप्रदान गर्न यसखाले कार्यशाला भइरहनुपर्नेमा चित्रकार प्रदीप बज्राचार्यले जोड दिए ।

शाक्यका अनुसार कार्यशालामा बनेका कलाकृतिको बिक्री मूल्यको ५० प्रतिशत रकम कान्तिबाल अस्पतालको क्यान्सरपीडित बालबालिकाका लागि, ३५ प्रतिशत चित्रकार तथा १५ प्रतिशत कार्यक्रममा हुने खर्चमा बेहोरिनेछ । बिहीबार अधुरा रहेका छोडेका चित्रहरूका लागि शुक्रबारसमेत कार्यशाला हुनेछन् ।

कार्यशालामा जीवन राजोपाध्याय, समुन्द्रमान सिंह श्रेष्ठ, रवि श्रेष्ठ, आशा डंगोल, संगी श्रेष्ठ, रोशन डंगोल, प्रमिला वज्राचार्य, सुशीला सिंह, सागर मानन्धर, गोपाल कलाप्रेमी श्रेष्ठ, मुना भँडेल, एरिना ताम्राकार, विनोद प्रधान, मुकेश श्रेष्ठलगायतका चित्रकार सहभागी थिए । मोनाले महामारीको अवधिमा दिवंगत तथा जीवित कलाकारका कलाकृतिको संग्रहालय नै स्थापना गरिसकेको छ ।

प्रकाशित : आश्विन २२, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

शक्तिपीठमा पूजा सुरु

कान्तिपुर संवाददाता

सुनसरी —  दसैं सुरु भएसँगै बिहीबारदेखि शक्तिपीठ मानिएको धरान–१४ विजयपुरस्थित दन्तकाली मन्दिरमा पूजा गर्ने र दर्शन गर्नेको भीड लाग्न थालेको छ । बडादसैंको पहिलो दिन घटस्थापनाको अवसरमा दन्तकाली मन्दिरसहित आसपासमा रहेका पिण्डेश्वर बाबाधाम, बूढासुब्बामा दर्शनार्थीको घुइँचो लागेको हो ।

गत वर्षको बडादसैं कोरोना महामारीको कारण खल्लो भएको थियो । धरानका सबै मठमन्दिर पूर्ण रूपमा बन्द गरिएका थिए । मन्दिर प्रवेश गर्न र भीडभाड गरेर पूजाअर्चना गर्न बन्देज लगाइएको थियो ।

यसपालि कोरोना संक्रमणको दर केही कम भएकाले दर्शनार्थीको संख्या बढेको पुजारी विश्वराज खनालले बताए । उनका अनुसार दसैं अवधिभर हरेक दिन दुर्गा भवानीको ९ वटा रूपको विशेष पूजा आराधना गरिन्छ । उनले भने, ‘दन्तकाली मन्दिर ऐतिहासिक भएकाले बडादसैंमा शक्तिपीठको रूपमा मानिन्छ ।’ उनका अनुसार घटस्थापनादेखि देवीका ९ वटा नामको रूपमा पूजा गरिने भएकाले अन्य दिनमा जस्तै भक्तजनलाई मन्दिरको मुख्य स्थलभित्र प्रवेश गर्न दिइँदैन ।

दशमीको बिहान विशेष पूजा सकिएपछि मात्र सर्वसाधारण भक्तजनको लागि मन्दिरको मुख्य स्थलसम्म खुला रहने खनालले बताए । हिन्दु धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले आराध्यदेव शिवजीसँग प्रेम विवाह गर्छिन् । तर शिवजी र सतीदेवी बीचको प्रेम विवाहप्रति दक्ष प्रजापति बेखुसी हुन्छन् । उनले भव्य यज्ञको आयोजना गरेका बेला आफ्नी छोरी ज्वाइँ (शिवजी र सतीदेवी) लाई निम्तासम्म नदिएपछि सतीदेवीले आफू र आफ्ना पति शिवको अनादर गरेको ठहर गर्न पुग्छिन् ।

माइतीबाट भएको अनादर सहन नसकी सतीदेवीले चलिरहेको यज्ञको अग्निमा आत्मदाह गरेपछि शिवजीले रिसले ताण्डव मचाउँछन् । उनले वीरभद्रमार्फत दक्ष प्रजापतिको टाउको छिनाइदिन्छन् । पछि ब्रह्माजीले बोकाको टाउको जोडिदिएर यज्ञ विधि पूरा गर्छन् ।

शिवजी भने यज्ञमा आत्मदाह गरेकी सतीदेवीको मृत शरीर बोकेर घुम्नेक्रममा विभिन्न ठाउँमा सतीदेवीको अंग खस्छन् । विजयपुरमा आइपुग्दा दन्तकाली मन्दिर भएको स्थानमा सतीदेवीको माथिल्लो दाँत खसेको स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख छ ।

प्रकाशित : आश्विन २२, २०७८ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×