अमेरिका र युरोपका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘सहायक श्रीमान’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको बहुपति प्रथाका बारे निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनोट भएको छ । युरोपको जर्मनीस्थित १८ औं ‘टेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल’ र स्लोभाकियाको २९ औं ‘इन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराड’ मा फिल्म छनोट भएको निर्देशक गणेश पाण्डेले जानकारी दिए ।

अमेरिका र युरोपका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘सहायक श्रीमान’

अक्टोबर १३ देखि १७ तारिखसम्म हुने चलचित्र महोत्सवमा ‘सहायक श्रीमान’ अक्टोबर १५ तारिखका दिन दुवै देशमा प्रदर्शन हुँदैछ । निर्देशक पाण्डेका अनुसार अक्टोबर १ देखि सुरु भई २४ तारिखसम्म अमेरिकाको वासिङटन राज्यस्थित शियाटल सञ्चालन हुने ‘तस्बिर साउथ एसियन फिल्म फेस्टिबल’ मा पनि यस फिल्म प्रदर्शन हुँदैछ । ‘नेपालको डकुमेन्ट्री फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट हुनु हाम्रो टिमका लागि मात्र होइन्, नेपाल र नेपालीका लागि पनि गर्वको कुरा हो,’ निर्देशक पाण्डेले भने ।

विश्वका विभिन्‍न देशमा छनोट भइरहेको यस फिल्मले गत वर्ष रसियामा आयोजित १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ जितेको थियो भने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट फिल्म अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।

‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत चर्चा कमाएका पाण्डेको ‘सहायक श्रीमान’ नयाँ वृत्तचित्र फिल्म हो । ३५ मिनेट लामो यो डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । करिब ४ वर्षको छायांकन र अनुसन्धानबाट सहायक श्रीमान् निर्माण गरिएको पाण्डेले सुनाए ।

प्रकाशित : आश्विन २०, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?