कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चुपचाप साधना

चल्तीका अधिकांशले पेलालाई चिन्दैनन्, उनी पनि अरुबारे त्यति सरोकार राख्दैनन । कुनै शब्दले छोए त्यसमै धुन भर्छन्, गुन्गुनाउँछन् । 
सुशीला तामा‌ङ

काठमाडौँ — सर्जकले शब्द, धुन हुँदै गायकीसम्म ल्याएर पूरा गरेको सांगीतिक सिर्जना कसका लागि हुन् ? ती सिर्जनालाई कसले मूल्यांकन गर्छ र तिनको स्थान कसले निर्धारण गर्न सक्छ ? चलनचल्तीकै भाषामा भन्ने हो भने उत्तर आउँला दर्शक/स्रोता र बजारको जिम्मा । तर, गायक तथा संगीतकार तिलकसिंह पेला यी सबै पक्षभन्दा अलग छन् । 

चुपचाप साधना

अढाई दशकदेखि संगीतमा अनवरत लागिरहेका पेला राजधानीभित्र चुपचाप साधनामा तल्लीन छन् । दर्शक/स्रोताको वाहवाही, इज्जत, सम्मान तथा बजारिया संगीत प्रतिस्पर्धाबाट उनी टाढा छन् । संगीत सिर्जनाको उनको पहिलो प्राथमिकता आफैं हो । ‘संगीत हृदयको भाषा हो,’ उनी भन्छन्, ‘मेरो सिर्जनाले मलाई छुँदैन र म आफैंलाई सन्तुष्ट दिन सक्दैन भने त्यसको महत्त्व हुन्न ।’

सिर्जनालाई संख्यात्मकभन्दा गुणात्मकतिर लैजानुपर्ने धारणा राख्ने पेला लगभग सांगीतिक जमातसँगको हेलमेल छैनन् । ‘भाइरल’, ‘ट्रेन्डिङ’ जस्ता सांगीतिक बजारदेखि उनी झनै दूर छन् । बितेका २५ वर्षमा कोको बजारमा आए, कोको गए, अहिले को कसरी छाउँदै छन् भन्नेतिर पनि उनी चासो राख्दैनन् । एकै लयमा संगीत साधनामा रहेका पेलासँग अहिले बजारमा स्थापित भनेर चिनिएकाहरू पनि सम्भवतः परिचित छैनन् । वर्षौंदेखि उनी निरन्तर रूपमा शास्त्रीय संगीत सिक्ने सिकाउनेतिर मात्र तल्लीन रहे ।

२०५३ सालमा बैतडीबाट पहिलो आधुनिक गायकका रूपमा उदाएका पेलाले पहिलो सांगीतिक कोसेलीबाट नै निकै चर्चा कमाएका थिए । २०५३ मा काठमाडौं आई रेडियो नेपालमा स्वर परीक्षण पास गरेका उनले ‘आँसु’ एल्बम ल्याए । तीनताक उनले गाएको ‘लुकाउन खोज्दा पनि’ बोलको गीत निकै चर्चित थियो । बजारमा आँसु एल्बमले व्यापकता पायो । त्यतिबेला चलेका म्युजिक कम्पनीहरूले हजारौं क्यासेट उत्पादन गरेर आर्थिक उपार्जन गरे । गीत रेकर्ड गरेर पुनः महेन्द्रनगर फर्किर्एका पेलाले आफ्नो सिर्जनाको आर्थिक लाभ लिन पाएनन् । अहिले आएर उनलाई आफ्नो सिर्जनामाथि अनधिकृत रूपमा कसैले दुरुपयोग गरेको रहेछ भन्ने महसुस भएको छ । भन्छन्, ‘मेरो गीत बजारमा जताततै आइसकेको रहेछ । मलाई थाहा नै थिएन । बजारमा ल्याउने म्युजिक कम्पनीहरूले मसँग कुनै सम्झौता गरेका थिएनन् । प्रतिलिपि अधिकार, रोयल्टी भन्ने कुरा मलाई थाहा नै थिएन । तर अहिले पनि कोही कसैसँग केही गुनासो छैन । मेरो सिर्जनाले सबैको मनमा छोयो त्यही मेरा लागि ठूलो हो ।’

जतिबेला नाम चलेका गायकगायिकाको भीडमा उनको खोजी हुन थाल्यो, त्यतिबेला नै उनी संगीत साधनातिर गुप्तबास बसे । विभिन्न सांगीतिक कार्यक्रम, पुरस्कार तथा सम्मान गर्ने माहोलतिर लागेनन् । यसरी बिस्तारै पेला र सांगीतिक बजार एकअर्कामा विपरीत ध्रुवतिर गतिशील भए । अहिले पनि त्यो क्रम यथावत् नै छ ।

‘मैले औपचारिक रूपमा संगीत ज्ञान नलिइकन गीत रेकर्ड गराएको थिएँ । सांगीतिक बजारको चहलपहल तथा गीतको चर्चापछि संगीत सिक्नुपर्छ जस्तो लागेर म बजारतिर भन्दा सिक्नतिर लागेँ,’ उनी सुनाउँछन् । सांगीतिक माहोलको सार्वजनिक गतिविधिहरूबाट किन अलग रहे त भन्ने प्रश्नमा उनी भन्छन्, ‘संगीतप्रति मेरो बेग्लै प्यास छ । अरूलाई भन्दा पनि मेरो सिर्जनाले मलाई पहिले आनन्द दिनुपर्छ । सिर्जनाले बजार खोज्नेभन्दा बजारले खोज्ने खालका सिर्जना ल्याउनु संगीतको मूल धर्म र अनुशासन हो ।’

गाउँघरमा हुने शास्त्रीय संगीतको माहोल, हार्मोनियमको धुनसँगै पेलाको संगीतप्रति लगाब बढ्यो । संगीतप्रेमी दाजु गीतकार कृष्णसिंह पेलाको संगतमा सिर्जनासमेत गर्न थालेका उनी गीत रेकर्ड गर्न काठमाडौंसम्म आइपुगेका थिए ।

२०६१ सालदेखि नै उनले ‘श्री कृष्ण गुरुकुल संगीत पाठशाला’ मार्फत शास्त्रीय संगीत ज्ञान दिँदै आएका छन् । हाल काठमाडौं सानो भर्‍याङस्थित रहेको पाठशालामा संगीतको धुनसँगै दर्जनभन्दा बढी प्रशिक्षार्थीहरूसँग उनको दिनको शुभारम्भ र अन्त्य हुन्छ । ११/१२ देखि ५०/६० वर्षसम्मका उनका संगीत विद्यार्थीहरू छन् ।

२५ वर्षको अवधिमा उनले ‘आँसु’ एल्बमलाई भाग ३ सम्म बजारमा ल्याए । ‘निर्जन किनार आँसु भाग ३’ उनको पछिल्लो गीतिसंग्रह हो । जुन संग्रहलाई उनले आँसुको पहिलो संग्रह ल्याएको २३ वर्षपछि सार्वजनिक गरे । आफैंले संगीत ज्ञान दिएका प्रशिक्षार्थीहरू बजारमा छाइसक्दा समेत ‘तिलकसिंह पेला किन गुमनाम भए’ भन्ने संगीतप्रेमी र शुभचिन्तकका लागि भए पनि गीतिसंग्रहका रूपमा आफू अगाडि आएको उनले सुनाए । उनले प्रशिक्षण दिएकाहरू शास्त्रीय संगीतमा स्थापित भएका छन् । ‘थुप्रै विद्यार्थी छन् । उनीहरूमार्फत नै म सबैतिर पुगेको छु । मलाई यसैमा गर्व लाग्छ,’ उनी भन्छन् ।

प्रकाशित : आश्विन २०, २०७८ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?