बन्दी समयका संवेगहरू- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दी समयका संवेगहरू

आयातकार, वर्गाकारजस्ता ज्यामितीय आकारमा अमूर्त मानसिक संवेगलाई क्यानभासमा उतार्नु संगीको विशेषता
सुशीला तामा‌ङ

काठमाडौँ — कोरोना महामारीले मानिसको जीवनशैली नै बदल्यो । हरेकको मनमा रोगको भय व्याप्त भयो । व्यस्तताको दौडधूपमा एक्लाएक्लै भएकाहरू सँगै हुन पाए । एक–अर्कालाई बुझ्ने/चिन्ने मौका पाए । यस्तो बेला कसैले पुस्तक पढे । फिल्म हेरे । कसैले आफ्नो जीवनलाई आफैंले बोध गरे । चित्रकार संगी श्रेष्ठ भने यो बन्दी समयमा महामारीको असरले उत्पन्न गराएको आवेग–संवेगलाई रङमा मिसाउँदै थिइन् । जसमा आशा र भोलिको उज्यालो संकेतलाई छुटाइनन् ।

महामारीले पारेको प्रभावलाई उनले कलाकृतिमार्फत दस्तावेज बनाइन् । आशालाई मूलभावका रूपमा प्रस्तुत गरिएका श्रेष्ठका तिनै सिर्जना यतिबेला ललितपुरको पाटनढोका चाकुपाटस्थित ‘एम क्युब ग्यालरी’ मा प्रदर्शनमा छन् । ‘संवेग’ शीर्षकमा जारी प्रदर्शनीमा दुई दर्जनभन्दा बढी चित्र छन् । झन्डै १२ वर्षपछि भएको श्रेष्ठको यो दोस्रो एकल कला प्रदर्शनी हो । यसअघि उनले सन् २००९ मा बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘अव्यक्त अभिव्यक्तिहरू’ शीर्षकमा पहिलो कला प्रदर्शनी गरेकी थिइन् । एकल प्रदर्शनीतिर उनको सहभागिता त्यति नदेखिए पनि कला क्षेत्रमा उनी तीन दशकभन्दा बढी समयदेखि क्रियाशील छिन् । संयुक्त रूपमा हुने दुई सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमा उनले सहभागिता जनाइसकेकी छन् ।

आयातकार, वर्गाकारजस्ता ज्यामितीय आकारमा अमूर्त मानसिक संवेगलाई सिर्जनामा उतार्नु उनको अर्को विशेषता हो । ‘हाम्रा जीवनका अनेक आरोह–अवरोह, आशा तथा मनका आवेग सबैका समान छैनन् । हिँड्दाहिँड्दै कति बेला कसलाई के हुन्छ, मनका तिनै अनुभवलाई मैले कलामा उतारेको छु,’ उनले भनिन्, ‘मानिसका अनेक अनुभवमा आशाको संकेत पनि दिएको छु ।’ उनका सिर्जनाहरू अवलोकन गर्दै जाँदा देखिएका समानान्तर रेखा कतै टक्क अडिएको जस्तो भान हुन्छ । अडिएका रेखाले फेरि आफ्नै आकार लिएर अर्को बाटो तय गरेझैं देखिन्छ । प्रयुक्त रङ र तिनका संयोजनमा नै विविधता देखिन्छ । विविध रङको प्रयोगले अनेकौं मनका संवेगलाई प्रतिनिधित्व गर्छन् । ‘व्यक्तिपिच्छे फरक हुने हाम्रा आशारूपी संवेग इन्द्रेणीझैं रंगीन हुन्छन् । जिन्दगीका सोच्दै नसोचिएका मोडमा ती संवेगको उपस्थितिले जीवनलाई अझ गति तथा शक्ति दिएर गएझैं लाग्छ,’ श्रेष्ठ भन्छिन् ।

भगवान् गणेश, नेवारी लिपि तथा धार्मिक–सांस्कृतिक पक्षलाई समेत उनले कलामा समावेश गरेकी छन् । ‘कोरोनाको बेला आफू मात्र होइन अरू पनि बाँचून्, कसैलाई केही पनि नहोस् भन्ने भावना मनमा आइरह्यो,’ उनले अनुभव सुनाइन्, ‘विशेषगरी गणेश भगवान्लाई सम्झेँ ।

आफ्नो सांस्कृतिक परम्परा तथा पुराना कुरा पनि यही बेला मनमा आयो । ती सबैलाई आर्टमा उतार्दै गएँ ।’ नेवारी लिपिका अंकहरू देखिएको उनको घडीको चित्रमा सुइलाई भने देखाइएको छैन । जहाँ उनले अहिलेको अनिश्चित समयलाई संकेत गरेकी छन् । छुट्टिन खोज्दाखोज्दै पनि सँगै देखिएका वर्गाकार आकारलाई उनले प्रविधि तथा आधुनिकताले विकेन्द्रीकरण बन्दै गएको संसारमा महामारीले केही समय भए पनि एक हुने अवसर दिएको प्रसंगलाई जोडेकी छन् । विभिन्न रङमा देखिएका सुन्तला, सेतोलगायत रङमा उनले सूर्यलाई विम्बित गरेकी छन् । जसलाई उनले जीवनका अनेक समय र त्यसको प्रभावका रूपमा अर्थ्याएकी छन् ।

अधिकांश कलामा अभिव्यक्त भावलाई कलाप्रेमीले प्रत्यक्ष देखेरभन्दा मनको अनुभूतिले बुझ्न सक्ने उनको भनाइ छ । आकृतिहरूमा प्रत्येकका बिम्ब तथा प्रतीकात्मक अर्थ छन् । जहाँ अव्यक्त मानव अभिव्यक्तिलाई उनले सिर्जनाको आकार दिएकी छन् । अनेक मानसिक संवेगलाई एकै भावको लयमा विश्वास, आशा, शान्ति, दीर्घायू, जित, प्रेम, सम्पत्ति, प्राप्तिलगायत जीवनका आशाका बाटो देखाइएको श्रेष्ठको भनाइ छ । उनका कलाकृतिले जीवनको सकारात्मक यात्रालाई अनुकूल बनाउन कामना गर्ने प्रदर्शनीका क्युरेटर तथा कलाकार मनीषलाल श्रेष्ठ बताउँछन् । कला प्रदर्शनी असोज २२ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : आश्विन १५, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

पुर्खाका कला जोगाउँदै

अग्रज कलाकारका सन्ततिहरु आफ्नै बलबुताले कला संरक्षणमा लागिरहँदा नक्सालस्थित प्रतिष्ठानमा भने ३ सयभन्दा बढी कलाकृति एउटा कोठामा थन्किएका छन् । यहाँको आर्ट ग्यालरी पनि खाली छ ।
सुशीला तामा‌ङ

काठमाडौँ — आजभन्दा १ सय ३ वर्षअघि कलाकार तथा फोटोग्राफर दीर्घमान चित्रकार पैदलै मुक्तिनाथको यात्रामा निस्के । विभिन्न स्थानका २ सयभन्दा बढी तस्बिर खिचे, जहाँ नेपाल बुझाउन पर्याप्त ठाउँ समेटिएका छन् । चन्द्रशमशेरसँग सन् १९०८ सालमा बेलायत भ्रमणमा गएका दीर्घमानले युरोपेली कलालाई समेत नेपाल भित्र्याए । दरबार र तत्कालीन समयलाई कैयौं फोटोमा उनले कैद गरे । सिंगो नेपालको तत्कालीन समाजको इतिहास बुझाउने कृति यतिबेला भीमसेनथानस्थित घरमा पुरानो एल्बमभित्र सीमित छन् ।

यी तस्बिर मात्र होइन, एक शताब्दीभन्दा धेरै इतिहास बोकेका पुर्खाका कलाकृति सम्हाल्न अहिले नाति किरणमान चित्रकारलाई हम्मेहम्मे छ । हजुरबुबा दीर्घमान र बुबा गणेशमानका कलाकृति मात्र होइन, आफ्ना दसौं पुस्तासम्मका कलाकृतिलाई उनी जोगाउने प्रयास गर्दै छन् । दीर्घमानदेखि उनका पनि बुबा मोहनलालले सिर्जना गरेका कैयौं मुहारचित्र किरणमानसँग सुरक्षित छन् । जंगबहादुर राणा र उनकी पुतली महारानी, माथवरसिं थापालगायतका मुहारचित्रहरू उनको संग्रहमा पाइन्छन् । ती कलाकृतिलाई किरणमानले घरैमा ‘दीर्घमान र गणेशमान चित्रकार आर्ट फाउन्डेसन’ मार्फत ग्यालरीमा सजाएका छन् ।

कोरोना महामारीले हाल ग्यालरी बन्द छ । २०४२ सालमा बुबा गणेशमानको निधनपछि पुर्खाको कृति सम्हाल्नतिर आफू अग्रसर भएको उनले सुनाए । तीन दकशभन्दा बढी फोटोग्राफीको अनुभव उनीसँग छ । मक्किएको फ्रेम तथा मेटिँदै गएको राणा प्रधानमन्त्री चन्द्रशमशेर र उनकी रानीको फोटो देखाउँदै उनले भने, ‘प्रिन्टहरू यसरी बिग्रेर जाँदै छन् । यस्ता प्रिन्ट मसँग धेरै छन् तर अब कता राख्नु । मिलाएर जोगाउन सानोतिनो रकम र स्थानले पुग्दैन । हाम्रो इतिहास बोकेको यस्ता कलाकृति नास हुँदै गएको देखेर साह्रै पीर परेको छ ।’ राज्यले साथ दिए दसपुस्ते कलाकृतिलाई आम समुदायमा पुर्‍याउन भव्य कला संग्रहालय बनाउने उनको लक्ष्य छ । यसका लागि लामो समयदेखि उनी मात्र होइन, छोरी क्रिस्टिना र छोरा स्वराज पनि प्रयासरत छन् ।


तेजबहादुरले २०२० सालमा बनाएको सामाजिक जीवन झल्काउने चित्र ।

यस्तो छटपटी किरणमानलाई मात्र होइन । अग्रज कलाकारका सिर्जनामा राज्यले बेवास्ता गरेपछि तिनका सन्तति आफ्नै बलबुतामा कला संरक्षणमा लागिपरेका छन् । कलाकार तथा कला लेखक मदन चित्रकार अहिले बुबा तेजबहादुर चित्रकारको सिर्जना जोगाउन ब्यस्त छन् । पुस्तकका रूपमा बुबा र कला इतिहासलाई संरक्षण गर्न लागको उनले बताए । पहिलोपटक कलकत्तामा औपचारिक कला शिक्षा अध्ययन गरेर नेपालमा पश्चिमा वस्तुवादी, यथार्थपरक कला भित्र्याउने श्रेय चन्द्रमानसिंह मास्के र तेजबहादुरलाई जान्छ । उनीहरूले नै परम्परागत धारमा चलेको कलालाई नयाँ युगतिर अघि बढाएका थिए । असन तेउडास्थित घरमा मदनले तेजबहादुरका एक सयभन्दा धेरै चित्र संग्रह गरेका छन् । सात दशकभन्दा अघिको असन क्षेत्र, त्रिशूली नदीको ल्यान्डस्केप, काठमाडौंबाहिरको सामाजिक जीवन, उपत्यकाको काष्ठकलाका कलाकार तथा संस्कृति देखाउने चित्रलाई उनले एउटा कोठामा थन्क्याएर राखेका छन् । ग्यालरी नै बनाएर कलाकृति सजाउने उनको मन नभएको होइन तर उनी आफैंले गर्न सक्ने सामर्थ्य छैन ।

‘यो अँध्यारो कोठामा रहेका बुबाका चित्र चाङ लगाएर राख्दा मन पोल्छ,’ उनले दुःखेसो पोखे, ‘झुन्डाएर राख्न घरमा ठाउँ छैन । प्लास्टिकले बेरेर भए पनि संरक्षण गरिरहेको छु ।’ उनी आफैं पनि कला सिर्जना र लेखनमा अग्रसर रहेकाले बुबाको कलाकृति संरक्षण गर्नुपर्छ भन्ने चेत उनमा छ । बुबाका सबै चित्रलाई क्रमबद्ध पुस्तकाकार रूपमा सार्वजनिक गर्ने उनले बताए । बुबाको मात्र होइन, देशको इतिहास बोकेका कलाकृति संवर्द्धन गरिरहेको उनको भनाइ छ । छोरा कला क्षेत्रमा आबद्ध नरहेकाले अब बुबा र उनका कलाकृतिको हालत के होला भन्ने चिन्ताले उनलाई सताएको छ । भन्छन्, ‘मेरो शेखपछि छोराले मेरो मात्र होइन मेरो बुबाको पनि कला संरक्षण गर्ने जिम्मेवारी लिनुपर्ने हुन्छ । होइन भने हामी दुवैको कला सिर्जना लथालिंग भएर हराएर जान्छ ।’

एक शताब्दीअघिको टुँडिखेल ।तस्बिर दीर्घमान चित्रकारले खिचेका हुन् ।

कलाप्रति सम्बन्धित निकायको बेवास्ता देखिएपछि अर्का अग्रज कलाकार केशव दुवाडीका परिवारले त आफ्नै घरमा कला संग्रहालय स्थापना गरेको छ । २०७१ सालमा ‘केशव दुवाडी स्मृति प्रतिष्ठान नेपाल’ र २०७४ मा गौरीघाटस्थित घरमा ‘केशव दुवाडी कला संग्रहालय’ सुरु भएको हो । कला तथा कलाकारको संरक्षणका लागि स्थापित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अग्रज कलाकारप्रति गरेको बेवास्ताले परिवारकै पहलमा संग्रहालय खोलेको उनका छोरा प्रदीपले सुनाए । केशवको जीवनी, कलाकृति तथा कामलाई समेटेर पुस्तक सार्वजनिक हुँदै छ । ‘सुरुमा ललितकला प्रतिष्ठानले प्रकाशन गर्ने कुरा भएको थियो । पछि नगर्ने भएपछि आफैंले प्रकाशन गर्दै छौं,’ प्रदीपले भने ।

कलाकार रामानान्द जोशीका परिवार भने ‘आरएन जोशी कला संग्रहालय’ बनाउन लागिपरेको छ । दुई वर्षदेखि संग्रहालय बनाउने क्रममा रहेको रामानन्दका छोरा नवीनले बताए । निर्माणाधीन संग्रहालयमा अहिले रामानन्दका युरोपियन शैली, सामाजिक जीवन तथा परम्परागत तथा सांस्कृतिक तन्त्रसँग सम्बन्धित ६ दर्जनभन्दा बढी कलाकृति छन् । लक्ष्मण श्रेष्ठ, शशी शाहलगायतका चित्र पनि यहाँ समेटिएका छन् । दुई वर्षभित्र पुस्तकालय, क्याफेसहितको संग्रहालय सुरु गर्ने जोशी परिवारको लक्ष्य छ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेर । तस्बिर दीर्घमान चित्रकारले खिचेका हुन् ।

पञ्चायतकालमा नेपालमा आधुनिक कलाको विकास, तथा कला प्रदर्शनीको लहर ल्याउन रामानन्दको ठूलो देन छ । ललिलकला प्रतिष्ठान स्थापनाका लागि पनि उनले योगदान पुर्‍याए । सन् १९७० मा ‘पार्क ग्यालरी’ सञ्चालनमा ल्याएर कला शिक्षालाई आम मानिससम्म पुर्‍याए । सन् १९७७ मा उनले ग्यालरीलाई पुलचोकस्थित आफ्नै घरमा सञ्चालनमा ल्याएर प्रदर्शनीको थालनी गरे । ‘अग्रजका कलाकृतिमाथि राज्यको नजर परेन भनेर त्यतिकै लथालिंग छाड्नुभन्दा सक्नेले व्यक्तिगत तहबाटै कलाको संरक्षण गरौं भन्ने उत्प्रेरणा दिन पनि संग्रहालय खोल्न लागेका हौं,’ नवीनले भने ।

कलाकारका सन्ततिहरू आफ्नै बलबुतामा कलाकृति संरक्षणमा लागिरहँदा नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा भने ३ सयभन्दा बढी कलाकृति एउटा कोठामा थन्किएका छन् । सीता भवन २०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि ‘कला संग्रहालयका लागि भवन नै छैन’ भन्ने प्रतिष्ठानलाई बहाना भएको छ । भवनको ‘वीरेन्द्र आर्ट ग्यालरीमा रहेका दिवंगत कलाकारका कृति अस्थायी टहराको कोठामा छन् । ‘भूकम्पपछि निकालिएका चित्र हामीले चलाएका छैनौं,’ प्रतिष्ठानका कुलपति केके कर्माचार्य भन्छन्, ‘प्रदर्शनीमा राख्ने भवन नबनेसम्म चित्रहरू चलाउने हेर्ने कुरा भएन । फेरि बिग्रने सम्भावना धेरै हुन्छ ।’

पाँच दशकअघि रामानान्द जोशीले बनाएको वाग्मतीको चित्र ।

प्रतिष्ठान परिसरमै हालसालै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा बनेको आर्ट ग्यालरी त्यतिकै खाली छ । त्यतातिर कलाकृति राख्ने प्रतिष्ठानको कुनै योजना छैन । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रतिष्ठानलाई ५ करोड ४२ लाख ९१ हजार रुपैयाँ बजेट दिएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा भने बजेट बढेर ५ करोड २३ लाख रुपैयाँ पुगेको छ । सरकारले हरेक वर्ष तलबभत्ता र कार्यालय सञ्चालन खर्चबाहेक चित्रकला, मूर्तिकला, लोककला, परम्परागत कलाको संरक्षणका लागि पनि बजेट विनियोजन गर्छ ।

रामानान्द जोशीले बनाएका अन्य कलाकृति देखाउँदै छोरा नवीन । यी कलाकृति पुल्चोकस्थित निर्माणाधीन आरएन जोशी संग्रहालयमा राखिएका छन् ।

अग्रजका कला संरक्षणमा प्रतिष्ठानले किन काम गर्न नसकेको त ?

कुलपति कर्माचार्य भन्छन्, ‘ललितकलाको विकासका लागि हामीसँग योजना र खाका छन्, बजेट र ठाउँको अभाव रहेकाले काम अगाडि बढ्न सकिरहेको छैन ।’

प्रकाशित : आश्विन १४, २०७८ १४:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×