बन्दी समयका संवेगहरू- कला - कान्तिपुर समाचार

बन्दी समयका संवेगहरू

आयातकार, वर्गाकारजस्ता ज्यामितीय आकारमा अमूर्त मानसिक संवेगलाई क्यानभासमा उतार्नु संगीको विशेषता
सुशीला तामा‌ङ

काठमाडौँ — कोरोना महामारीले मानिसको जीवनशैली नै बदल्यो । हरेकको मनमा रोगको भय व्याप्त भयो । व्यस्तताको दौडधूपमा एक्लाएक्लै भएकाहरू सँगै हुन पाए । एक–अर्कालाई बुझ्ने/चिन्ने मौका पाए । यस्तो बेला कसैले पुस्तक पढे । फिल्म हेरे । कसैले आफ्नो जीवनलाई आफैंले बोध गरे । चित्रकार संगी श्रेष्ठ भने यो बन्दी समयमा महामारीको असरले उत्पन्न गराएको आवेग–संवेगलाई रङमा मिसाउँदै थिइन् । जसमा आशा र भोलिको उज्यालो संकेतलाई छुटाइनन् ।

महामारीले पारेको प्रभावलाई उनले कलाकृतिमार्फत दस्तावेज बनाइन् । आशालाई मूलभावका रूपमा प्रस्तुत गरिएका श्रेष्ठका तिनै सिर्जना यतिबेला ललितपुरको पाटनढोका चाकुपाटस्थित ‘एम क्युब ग्यालरी’ मा प्रदर्शनमा छन् । ‘संवेग’ शीर्षकमा जारी प्रदर्शनीमा दुई दर्जनभन्दा बढी चित्र छन् । झन्डै १२ वर्षपछि भएको श्रेष्ठको यो दोस्रो एकल कला प्रदर्शनी हो । यसअघि उनले सन् २००९ मा बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘अव्यक्त अभिव्यक्तिहरू’ शीर्षकमा पहिलो कला प्रदर्शनी गरेकी थिइन् । एकल प्रदर्शनीतिर उनको सहभागिता त्यति नदेखिए पनि कला क्षेत्रमा उनी तीन दशकभन्दा बढी समयदेखि क्रियाशील छिन् । संयुक्त रूपमा हुने दुई सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमा उनले सहभागिता जनाइसकेकी छन् ।

आयातकार, वर्गाकारजस्ता ज्यामितीय आकारमा अमूर्त मानसिक संवेगलाई सिर्जनामा उतार्नु उनको अर्को विशेषता हो । ‘हाम्रा जीवनका अनेक आरोह–अवरोह, आशा तथा मनका आवेग सबैका समान छैनन् । हिँड्दाहिँड्दै कति बेला कसलाई के हुन्छ, मनका तिनै अनुभवलाई मैले कलामा उतारेको छु,’ उनले भनिन्, ‘मानिसका अनेक अनुभवमा आशाको संकेत पनि दिएको छु ।’ उनका सिर्जनाहरू अवलोकन गर्दै जाँदा देखिएका समानान्तर रेखा कतै टक्क अडिएको जस्तो भान हुन्छ । अडिएका रेखाले फेरि आफ्नै आकार लिएर अर्को बाटो तय गरेझैं देखिन्छ । प्रयुक्त रङ र तिनका संयोजनमा नै विविधता देखिन्छ । विविध रङको प्रयोगले अनेकौं मनका संवेगलाई प्रतिनिधित्व गर्छन् । ‘व्यक्तिपिच्छे फरक हुने हाम्रा आशारूपी संवेग इन्द्रेणीझैं रंगीन हुन्छन् । जिन्दगीका सोच्दै नसोचिएका मोडमा ती संवेगको उपस्थितिले जीवनलाई अझ गति तथा शक्ति दिएर गएझैं लाग्छ,’ श्रेष्ठ भन्छिन् ।

भगवान् गणेश, नेवारी लिपि तथा धार्मिक–सांस्कृतिक पक्षलाई समेत उनले कलामा समावेश गरेकी छन् । ‘कोरोनाको बेला आफू मात्र होइन अरू पनि बाँचून्, कसैलाई केही पनि नहोस् भन्ने भावना मनमा आइरह्यो,’ उनले अनुभव सुनाइन्, ‘विशेषगरी गणेश भगवान्लाई सम्झेँ ।

आफ्नो सांस्कृतिक परम्परा तथा पुराना कुरा पनि यही बेला मनमा आयो । ती सबैलाई आर्टमा उतार्दै गएँ ।’ नेवारी लिपिका अंकहरू देखिएको उनको घडीको चित्रमा सुइलाई भने देखाइएको छैन । जहाँ उनले अहिलेको अनिश्चित समयलाई संकेत गरेकी छन् । छुट्टिन खोज्दाखोज्दै पनि सँगै देखिएका वर्गाकार आकारलाई उनले प्रविधि तथा आधुनिकताले विकेन्द्रीकरण बन्दै गएको संसारमा महामारीले केही समय भए पनि एक हुने अवसर दिएको प्रसंगलाई जोडेकी छन् । विभिन्न रङमा देखिएका सुन्तला, सेतोलगायत रङमा उनले सूर्यलाई विम्बित गरेकी छन् । जसलाई उनले जीवनका अनेक समय र त्यसको प्रभावका रूपमा अर्थ्याएकी छन् ।

अधिकांश कलामा अभिव्यक्त भावलाई कलाप्रेमीले प्रत्यक्ष देखेरभन्दा मनको अनुभूतिले बुझ्न सक्ने उनको भनाइ छ । आकृतिहरूमा प्रत्येकका बिम्ब तथा प्रतीकात्मक अर्थ छन् । जहाँ अव्यक्त मानव अभिव्यक्तिलाई उनले सिर्जनाको आकार दिएकी छन् । अनेक मानसिक संवेगलाई एकै भावको लयमा विश्वास, आशा, शान्ति, दीर्घायू, जित, प्रेम, सम्पत्ति, प्राप्तिलगायत जीवनका आशाका बाटो देखाइएको श्रेष्ठको भनाइ छ । उनका कलाकृतिले जीवनको सकारात्मक यात्रालाई अनुकूल बनाउन कामना गर्ने प्रदर्शनीका क्युरेटर तथा कलाकार मनीषलाल श्रेष्ठ बताउँछन् । कला प्रदर्शनी असोज २२ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : आश्विन १५, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

घारखोला जलविद्युत् सुरुङको ब्रेकथ्रु

कोभिडका कारण लक्ष्यभन्दा एक वर्ष पछि धेकेलिएको आयोजनाको लागत बढ्यो
घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाले तीन हजार मिटर लामो टनेलको ‘ब्रेक थ्रु’ गरेको छ ।

तीन मिटर डायग्रामको टनेलको अडिट बिनाइनलेटबाट १६ सय ५ मिटर र आउटलेटबाट १४ सय मिटर लामो टनेल निर्माण गरिएको नेपालको पहिलो भएको आयोजनाको दाबी छ ।

म्याग्दी हाइड्रोपावर प्रालिले २०७४ चैत ६ बाट निर्माण सुरु थालेको आयोजनाले २०७९ असारभित्र काम सक्ने लक्ष्य छ । तर कोभिडका कारण लक्ष्यभन्दा आयोजना झन्डै एक वर्ष पछि धेकेलिएको छ । यसले लागत पनि बढेको आयोजनाले जनाएको छ । ‘सुरुङमार्ग छेडिएसँगै आयोजनाको सबैभन्दा चुनौतीपूर्ण काम सकिएको छ ।

कमजोर भूधरातल भएको ठाउँमा अडिटबिना लामो दूरीको सानो सुरुङ निर्माण नेपालकै सम्भवतः पहिलो प्रयास हो,’ आयोजनाका मुख्य इन्जिनियर जोसेफ बज्राचार्यले भने, ‘सुरुङ छेड्ने काम सकिए पनि त्यहाँभित्र कंक्रिटिङ, टनेलभित्र जमिन बिस्तारै साँघुरिने समस्या देखिएकाले त्यसको रोकथामको काम पनि अब सुरु हुन्छ ।’

आयोजनाको सिभिलतर्फ ६८, हाइड्रो मेकानिकलतर्फ ५६, इलेक्ट्रो मेकानिकलतर्फ ५० र ट्रान्समिसन लाइततर्फ २० र समग्रमा ६२ प्रतिशत निर्माण सकिएको छ । कमजोर भूधरातलका कारण सुरुङ खुम्चिने र माथिबाट माटो खस्ने समस्या चुनौतीपूर्ण रहेको आयोजनाको सिभिलतर्फको काम गरिरहेको साउथ एसिया इन्फ्रास्ट्रक्चरका आयोजना व्यवस्थापक ध्रुव मिश्रले बताए । आयोजनाबाट उत्पादित बिजुली आठ मिटर लामो ३३ केभीए डबल सर्किट हाइटेन्सन लाइनबाट अन्नपूर्ण–३ दानास्थित २२० केभीए सबस्टेसनमा जोडिनेछ ।

आयोजनामा २ अर्ब ४१ करोड लागत अनुमान छ । ८.३ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता गरेको आयोजनाले बाँध निर्माणस्थललाई ३ किमिमाथि कुरिला खर्कमा सार्दा ५.७ मेगावाट थपिएको हो ।

प्रकाशित : आश्विन १५, २०७८ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×