कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

१७ कलाकारका कृति एउटै ग्यालरीमा

राजनीतिक सिमानाले चितवनको भरतपुर र नवलपुरको गैंडाकोटलाई अलग बनाएको छ तर यस भेगका कलाकार/साहित्यकार एकै गोलोमा छन्
रमेशकुमार पौडेल

चितवन — दामोदर उर्फ डी बराल बुधबार मध्याह्न नवलपुर गैंडाकोटको सहज सहकारी परिसरमा भेटिए । यहाँको किसान आर्ट ग्यालरीमा सामूहिक चित्रकला प्रदर्शनी चलिरहेको छ । ‘आत्मदीपन’ शीर्षकको प्रदर्शनीमा बुद्ध र बुद्ध दर्शनसम्बन्धी चित्र राखिएका छन् । कलाकार बरालका बुद्धका चित्र पनि प्रदर्शनीमा छन् । उनको एउटै चित्रको मूल्य ६० हजार रुपैयाँसम्म छ । बराल चितवनका चित्रकार हुन् ।

१७ कलाकारका कृति एउटै ग्यालरीमा

गत शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदर्शनीको उद्घाटन गरेका हुन् । चितवनका अर्का पुराना र स्थापित चित्रकार प्रथा अर्थात् प्रकाश थापाले पनि बुद्धदर्शनलाई चित्रमा उतारेर प्रदर्शनमा राखेका छन् । १७ जना कलाकारका चित्र प्रदर्शनीमा राखिएको छ । जसमध्ये १२ जना चितवनकै हुन् । राजनीतिक सिमानाले चितवनको भरतपुर र नवलपुरको गैंडाकोटलाई अलग बनाएको छ । तर यो भेगका कलाकार/साहित्यकार एकै गोलोमा छन् ।

गोविन्दराज विनोदी पाका साहित्यकार मात्रै नभएर उम्दा चित्रकार पनि हुन् । उनको घर गैंडाकोट हो । तर नवलपुर र चितवनका हरेकजसो साहित्य र सिर्जनात्मक गतिविधिमा विनोदी सहभागी हुन्छन्, अतिथि पनि बन्छन् । ‘आत्मदीपन’ विनोदीले नै जुराएको शीर्षक हो । प्रदर्शनीमा दर्शनको उचाइलाई बुझाउने विनोदीको चित्र पनि समावेश छ ।

गैंडाकोटमा किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड छ । २०५२ सालमा स्थापना भएको यो सहकारीको नवलपुरमात्रै नभएर चितवनसहित तीन जिल्ला कार्य क्षेत्र हो । वर्षमा साढे तीन अर्ब रुपैयाँको कारोबार गर्ने किसान सहकारीको ७५ हजार सेयर सदस्य छन् । सहज परिसरको ग्यालरी किसान सहकारीले नै स्थापना गरेको हो ।

भीम शर्मा गैंडाकोटका स्थापित चित्रकार हुन् । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा उनका थुप्रै एकल र सामूहिक कला प्रदर्शनी भएका छन् । शर्मा किसान सहकारीका सेयर सदस्य र सल्लाहकार पनि हुन् । ‘सहकारीका सेयर सदस्यको सिर्जनशील क्षमतालाई प्रोत्साहित गर्ने नीतिअनुरूप गत वर्ष फागुन ४ मा हामीले यो ग्यालरी सञ्चालनमा ल्याएका हौं,’ शर्माले भने । गत वर्ष ‘संयोजन’ शीर्षकमा सामूहिक चित्रकला प्रदर्शनी भयो । ‘चितवन, नवलपुर र तनहुँ तथा हेटौंडासम्मका सर्जकको साझा प्लेटफर्म यो ग्यालरीलाई बनाउने उद्देश्य हो । चित्रकला मात्रै नभएर साहित्य सिर्जना र संगीतका कार्यक्रम पनि यहाँ आयोजना गरिनेछन् । कृषि तथा अन्य व्यावसायिक उत्पादनको प्रदर्शनी पनि गर्दै जाने योजना हाम्रो छ,’ शर्माले भने ।

‘आत्मदीपन’ सामूहिक चित्रकला प्रदर्शनी दसैंसम्म चल्नेछ । १७ चित्रकारका ५० चित्र प्रदर्शनीमा छन् । प्रदर्शनीमा राखिएका चित्र न्यूनतम १० हजारदेखि ६० हजार रुपैयाँसम्मका छन् । गैंडाकोट, भरतपुर र आसपासका क्षेत्रमा चित्रकारितामा सक्रिय कलाकार लगभग २५ जना छन् । ‘हामीले दुई महिनाको अन्तरालमा फरक विषयमा कला प्रदर्शनी राख्ने सोच बनाएका छौं । कोभिडले समस्या ल्याएर यो पटक ६ महिनाको अन्तरालमा भयो ।

प्रदर्शनी धेरै भए कलाकारहरू सिर्जनामा व्यस्त हुन्छन्, सक्रिय हुन्छन्,’ शर्माले भने । प्रदर्शनीले सर्वसाधारणलाई कलाका बारेमा बुझ्न मद्दत गर्ने र सिर्जना बिक्री हुने उनले बताए । राम्रो मूल्य पाए कला सिर्जनामा लागेकाहरू उत्प्रेरित हुने शर्माको बुझाइ छ । उपत्यकाबाहिर ग्यालरी राख्ने र सामूहिक चित्रकला प्रदर्शनी गर्ने प्रचलन खासै छैन । ‘हामी कलाकार हौं । यता उताको भन्ने भएन । हामीमा आत्मीयता हुन्छ,’ कलाकार बरालले भने, ‘सामूहिक चित्रकला प्रदर्शनीले हामीलाई एक–अर्काबाट सिक्न मद्दत गर्छ ।’

प्रकाशित : आश्विन १५, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?