इतिहास र पहिचानको ‘काइतेन’- कला - कान्तिपुर समाचार

इतिहास र पहिचानको ‘काइतेन’

गाई र तामाङ जातिको सम्बन्ध अनि सत्ताको विभेदपूर्ण नीतिलाई पनि उनले कलामार्फत देखाएका छन्
सुशीला तामा‌ङ

काठमाडौँ — १९८९ भदौ ६ गते राजा त्रिभुवन र राणा प्रधानमन्त्री भीमशमशेरको शासन सत्तामा सरदार बहादुर सुबेदार मेजर जंगवीर लामाको अग्रसरतामा ‘तामाङ’ लेख्न पाउने सहमति बन्यो । सत्ताको आदेशसँगै लामा, भोटे, मुर्मीलगायतको ठाउँमा ‘तामाङ’ पहिचान लेख्न थालियो । यही दिनलाई आज पनि तामाङ जातिले पहिचान दिवसका रूपमा लिँदै आएका छन् । 

यी त लिखित रूपमा सतहमा देखिएका तामाङ जातिका ऐतिहासिक दस्ताबेज हुन् । नेपालको आदिम मूलवासी मान्ने तामाङहरूले इतिहासको लामो कालखण्डमा पहिचानकै लागि संघर्ष गरे । जुन आज पनि जारी छ । प्राचीन समयदेखि काठमाडौंलाई मूल थलोका रूपमा आवादी बनाएका उनीहरू कसरी काठमाडौंभन्दा टाढा र छेउछाउतिर धकेलिए ? पृथ्वीनारायण शाहदेखि राणाकालसम्म उनीहरूले राज्यका निम्ति बगाएको रगत, पसिनाको कसरी अवमूल्यन गरियो ? प्रजातन्त्र, पञ्चायत, बहुदलीय राज्य सत्ता र गणतन्त्र स्थापना हुँदासम्म पनि तिरष्कृत, उपेक्षित भइरहनुपर्ने अलिखित इतिहासलाई भने चित्रकार सुवास तामाङले कलामार्फत उजागर गरेका छन् ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुक्रबारदेखि जारी ‘काइतेन’ शीर्षकका दुई दर्जनभन्दा बढी कलाकृतिमा तामाङ जातिको संस्कृति, इतिहास, स्मृति र पहिचान चित्रण गरिएको छ । लामो समयको खोज, अनुसन्धान तथा अध्ययनबाट निष्कर्षमा आएका तथ्यलाई कलामार्फत दस्तावेजीकरण गरिएको तामाङले बताए । ‘नेपालमा लामो समयदेखि जाति तथा पहिचानका नाममा राजनीतिक परिवर्तन भइरहेका छन्,’ उनले भने, ‘मैले तामाङ समुदायका बारेमा लिखित रूपमा रहेका इतिहास कतै भेटाइनँ । चित्रमार्फत नै भिजुअल्ली रूपमा प्रमाण जस्तो होस् भनेर काम गरेँ ।’

प्रिन्ट मेकिङ चित्रकला विधा पृष्ठभूमिबाट उदाएका तामाङले प्रदर्शनीका अधिकांश कलाकृति यसै विधाबाट सिर्जना गरेका छन् । शासक र राज्य सत्ताबाट सदिऔंदेखि लेख्न छुटेका तामाङ जातिको वीरता, सभ्यता, संस्कृति, राज्य निर्माणमा उनीहरूको योगदानबारे यी कलाकृतिले बुझाउने उनको भनाइ छ ।

मोरङको अमरदहमा जन्मेका उनले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमबाट आफ्नो समुदायबारे बुझ्ने मौका उनले कहिल्यै पाएनन् । नेपालका बहुजाति, बहुभाषी समुदायलाई समेट्ने गरी पाठ्यक्रम निर्माण हुन नसकेको गुनासो अझै छ । ‘एक जातीय, एकपक्षीय तथा एक भाषाका विषयवस्तुको बाहुल्य छ,’ उनले भने, ‘त्यसलाई मैले ‘महेन्द्र माला’ सिरिज दिएर नेपालको शिक्षा नीतिलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छु ।’ प्रिन्ट मेकिङमा स्नातकोत्तर गरेका उनी विस्तारै तामाङ समुदायका अध्येता, अभियन्ता र विद्वान्सँग घुलमिल हुन थाले । आफ्नो समुदायबारे खोजी र अध्ययनमा जुटे । ‘मेरो पहिचान के हो, मेरो समुदाय कुन हो भन्ने कुरा थाहा नभएकाले झन् मलाई जान्ने उत्सुकता बढ्यो,’ भन्छन्, ‘बुझ्दै गएपछि ती सबैलाई आर्ट फर्ममा ल्याएँ ।’

कोको म्हेन्दो (टोटलाको फूल), ‘मासिन्याको गीत’, ‘हामी आफैं आफ्नो पहिचान लेख्छौं’ लगायत कलाकृतिमा उनले लामो समयसम्म तामाङ जातिको उत्पीडनको कथा, पीडा, कोको म्हेन्दोसँग जोडिएको संस्कृति, सौन्दर्य र आफ्नो पहिचानका लागि लड्ने योद्धाको वेदनालाई दर्साएका छन् । पृथ्वीनारायण शाहदेखि राणाकालसम्म तामाङहरूलाई राज्यले दिएको ‘भरिया’, ‘कुल्ली’, ‘पीपा’ नामलाई उनले ‘पीपा’ सिरिजमा देखाएका छन् ।

राणा प्रधानमन्त्री जंगबहादुर राणाले ल्याएको मुलुकी ऐनले तामाङ जातिलाई मासिन्या मतवालीको दर्जा दियो । ऐनमा यस जातिको जीउ मास्ने या मारिए कुनै कानुन नलाग्ने व्यवस्था गरियो । यसलाई तामाङले ‘मासिन्या मतवाली’ शीर्षकमा प्रस्तुत गरेका छन् । बिनाज्याला राज्यका लागि श्रम गर्ने तामाङ जातिहरू आफू भने आर्थिक अभावमा पिल्सिँदै जाँदा क्रमशः विस्थापित बन्दै गए । यिनै दुखान्त इतिहासलाई उनले ‘कागजी रकम’, ‘बेगनी रकम’, सिरिजका कलाकृतिमा चित्रण गरेका छन् । गाई र तामाङ जातिको सम्बन्ध अनि सत्ताको विभेदपूर्ण नीतिलाई पनि उनले कलामा देखाएका छन् ।

तामाङ समुदायमा बोन परम्परा र प्रकृतिमा यसको ऐतिहासिक महत्त्वलाई ‘असिने लामा’ कलामार्फत देख्न सकिन्छ । २००७ सालको प्रजातन्त्र स्थापनाका लागि लडेका योद्धा गोले काइँलाको गुमनाम इतिहासलाई पनि उनले चित्रकलामा समेटेका छन् । लोक्ता कागज, आँपको दानासहितको फूलले मुहार छोपेको चित्रमा उनले तामाङ जातिको हराएको पहिचानलाई प्रतीकात्मक रूपमा झल्काएका छन् ।

‘राणाहरूका लागि लोक्ता कागज र आँपको बगैँचाको रखवाली गर्ने, भारी बोक्ने तामाङहरूले आफ्ना लागि केही गर्न पाएनन् । यसैलाई चित्रमा देखाउने प्रयास गरेको हुँ,’ उनले भने । डम्फू, तामाङ सेलो भिडियो, कविताजस्ता माध्यममा अझ उनले समुदायको सांस्कृतिक विम्ब र सौन्दर्यबाई कलामा संयुक्त रूपमा पस्केका छन् । प्रदर्शनी आउँदो १२ गते सकिँदै छ ।

तामाङको कला सामाजिक, राजनीतिक उत्पीडन, शोषणविरुद्धको ऐतिहासिक पाटोको वरिपरि रहेको मानवशास्त्री डा. मुक्तसिंह तामाङ बताउँछन् । मासिन्या मतवालीमा वर्गीकरण गरी तामाङ जातिमाथि राज्यले गरेको अत्याचारको प्रसंग उठाउँदै उनले भने, ‘तामाङ जातिलाई लामो समयसम्म राज्यले कागज तथा फलफूल उत्पादन, आपूर्तिजस्ता निःशुल्क श्रम सेवामा लाग्न बाध्य बनाइएको थियो । यसले उनीहरूलाई आर्थिक रूपमा चरम गरिबीतिर धकेलिदियो ।’

प्रकाशित : आश्विन ८, २०७८ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

१० दिनमै भाडा वृद्धि

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाभित्र चल्ने साना सवारी साधन (जिप) को भाडादर १० दिनमै फेरि बढाइएको छ । भदौ २८ गते मात्रै जिल्ला प्रशासन कार्यालयले साविकको भाडादरमा २५ प्रतिशत बृद्धि गर्दै नयाँ दर सार्वजनिक गरेको थियो । प्रशासनले जारी गरेको भाडादर यातायात व्यवसायीले कार्यान्वयन गर्न नमानेपछि बुधबार बसेको सर्वपक्षीय बैठकले पुनः भाडादर बढाएको हो । 

प्रशासनले साविकको भाडादरमा २५ प्रतिशतले वृद्धि गरी पिच सडकमा चल्ने जिपको हकमा प्रतिकिलोमिटर ६ रुपैया २५ पैसा कायम गरेकोमा सर्वपक्षीय बैठकले थप एक रुपैयाँ बढाएर ७ रुपैयाँ कायम गरेको छ । कच्ची सडकको हकमा प्रतिकिलोमिटर १० रुपैयाँ कायम गरिएकोमा बढाएर १२ रुपैयाँ पुर्‍याइएको छ । सर्वपक्षीय बैठकले पक्की सडकको हकमा साविकको दरमा ४० प्रतिशत र कच्ची सडकको हकमा ६० प्रतिशत हो ।

यातायात व्यवसायीहरूले भाडा कम भएको भन्दै विरोध गरेपछि जिल्ला समन्वय समितिका संयोजक खडगबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यातायात व्यवसायीहरूको सहमतीमा भाडा वृद्धि गरेको हो । बैठकमा विभिन्न पालिका प्रमुखहरू, यातायात व्यवसायीका प्रतिनिधि र सरोकारवालाको उपस्थिती थियो । बैठकले तीनदिनभित्र तोकिएको भाडादर लागु गर्नुपर्ने र सबै सार्वजनिक यातायातका साधनहरूमा अनिवार्य भाडाको दररेट यात्रुहरूले देख्ने गरी टाँस्नु पर्ने निर्णय गरेको छ ।

यस्तै सबै सवारी साधनले यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए । ‘यातायात व्यवसायीहरूको गुनासो पनि सम्बोधन हुने गरेर सर्वपक्षीय बैठकबाट भाडा बृद्धी गर्ने निर्णय गरेका छौ,’ सिडिओ अधिकारीले भने ‘अब कसैले पनि तोकिएको मापदण्ड पालना नगरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिने छ ।’ उनले जिल्ला प्रशासन कार्यालयले भाडादर र सवारी मापदण्ड पालना भए नभएको बारे नियमित अनुगमन गरिने र कसैले मनपरी गरेको पाइएमा ठाउँको ठाउँ कारबाही गरिने बताए ।

यता स्थानीयले भने यातायात व्यवसायीको दादागिरीको अगाडि नियमरी निकाय निरीह भएको र उनीहरूलाई पक्षपोषणगर्ने गरी भाडा वृद्धि गरेको भन्दै यसको विरोध गरेका छन । नेपाल सरकारले तोकेको मापदण्डभन्दा धेरै बढी हुने गरेर बझाङमा छुट्टै भाडादर कायम गरिनु सर्वसाधारणको हितविपरीत भएको नागरिक समाजका अगुवा धर्म जंङबहादुर सिंहले बताए । ‘यातायात व्यवस्थापन समितिले तोकेको भाडादर लागु भए नभएको अनुगमन गर्नुको साटो सरकारी कर्मचारी र जनप्रतिनिधिले व्यवसायीलाई काखमा च्यापेर जनतालाई मर्कामा पार्ने काम भएको छ’ उनले भने ‘नेपाल सरकारको मापदण्डलाई अस्वाभाविक हिसाबले नाघ्ने गरी बझाङमा भाडादर तोक्ने काम हुनु दःुखद हो ।’

उनले व्यवसायीहरूको मनपरीले स्थानीय दिनहुँ लुटिरहँदा पनि सीमित व्यवसायीको हितमा जनप्रतिनिधि र प्रशासनले निर्णय गर्नु राज्यविहीनताको द्योतक भएको आरोप लगाए । सिडिओ अधिकारीले भने बझाङका सडक न्यून गुणस्तरका, जिल्लामा पेट्रोल पम्प नभएको र गाडी विग्रीएमा मर्मत गर्ने व्यवस्था नभएकोले नेपाल सरकारले तोकेको मापदण्ड यहाँको हकमा उपयुक्त नहुने देखिएकोले भाडा वृद्धि गरिएको बताए ।

प्रकाशित : आश्विन ८, २०७८ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×