२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

क्यानभासमा नग्न सौन्दर्य

‘मानिसको नग्न शरीर हाम्रो यथार्थ रुप हो, बाहिर ढाकिएका वस्तुहरु पछि जोडिएका पक्ष हुन्, न्युड आर्टले शरीरको महत्त्व बुझाउँछ’
सुशीला तामा‌ङ

काठमाडौँ — विश्वलाई आफ्नो मुठीमा राख्न सक्ने मानिसले आफ्नै शरीरलाई कसरी लिएका छन् ? के मानिसले शरीरको सौन्दर्यलाई बुझेका छन् ? सामाजिक रीतिरिवाजमा बाँधिएर हामीले शरीरलाई कति निषेधित बनाएका छौं त ? यिनै प्रश्नहरूको एकमुष्ट जवाफ पाटनढोका चाकुपाटस्थित एम क्युब ग्यालरीमा जारी ‘न्युड आर्ट सो’ ले दिएको छ ।

क्यानभासमा नग्न सौन्दर्य

कलाकारद्वय कपिलमणि दीक्षित र मनीषलाल श्रेष्ठको संयोजनमा भदौ १८ देखि जारी प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी न्युड (नग्न) कलाकृति राखिएको छ । किरण मानन्धर, एरिना ताम्राकार, विनोद प्रधान, इसान परियार, विशाल महर्जन, रोशन प्रधानलगायत २३ जना कलाकारले आफ्ना कलाकृतिमा शरीरलाई प्रकृति, जीवनको सौन्दर्यका रूपमा लिँदै प्रदर्शनीलाई उत्सवमय बनाएका छन् ।

न्युड आर्ट पश्चिमा तथा युरोपेली मुलुकबाट विकसित हुँदै एसियाली मुलुकमा प्रवेश गरेको हो । महिला शरीरलाई केन्द्रमा राखेर सुरु भएको यो कलामा अहिले पुरुषलाई पनि उत्तिकै प्रस्तुत गरिएको छ । सुरुमा धार्मिक विषयवस्तुमा केन्द्रित रहे पनि समकालीन कलामा आइपुग्दा यसले मानव शरीरको अस्तित्वलाई मूलधारमा ल्याएको छ । न्युड आर्टको आफ्नै ऐतिहासिक केन्द्र र महत्त्व भएकाले यसलाई नेपाली रूपान्तरमा अरू नाम दिइरहनुनपर्ने विगत लामो समयदेखि यही कला सिर्जनामा आबद्ध दीक्षितले बताए ।


‘यसलाई विश्वमा कला क्षेत्रले न्युड आर्टकै रूपमा चिनेको छ, हामीले वस्त्रविहीन कला भनेर नाम दिइरहनुपर्ला जस्तो लाग्दैन,’ उनले भने, ‘यो आर्ट फर्म शरीर र यसको महत्त्वलाई बुझाउने महत्त्वपूर्ण माध्यम हो ।’ नेपालमा विभिन्न कालखण्डमा बनेका उपत्यकाका मन्दिरका टुँडालहरूमा यौनका पक्षसँग जोडिएका कलाकृति देख्न सकिन्छ । त्यस्तै परम्परागत कलाका रूपमा लिइने पौभा तथा थांका चित्रहरूमा ‘न्युड आर्ट’ प्रयोग भएको पाइन्छ । ‘धर्म तथा भगवान्लाई न्युड बनाउँदा पचाउने समाजले मानिसको शरीरलाई भल्गर र लाजको विषयका रूपमा देखेको छ,’ दीक्षितले भने ।

अमेरिकामा यसै विषयमा अध्ययन तथा थुप्रै प्रदर्शनी गरेर नेपाल फर्केका उनले नेपालमा पनि एकल तथा संयुक्त रूपमा ‘न्युड आर्ट’ प्रदर्शनी गरिसकेका छन् । नेपालमा उनले सन् २००९ मा ‘न्युड आर्ट’ प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा विशाल महर्जनले लिच्छविकालमा मन्दिरका टुँडालमा कुँदिएका यौन आसनयुक्त आकृतिलाई चित्रमा उतारेका छन् । तत्कालीन समयमा यौन शिक्षा दिने पुर्खाको परम्परनगत माध्यमलाई चित्रमा उतारेर नयाँ पुस्तालाई देखाउने जमर्को गरिएको महर्जनले बताए ।

त्यस्तै साजल सिवाकोटीले ‘अ साइलेन्स भ्वाइस शीर्षक’ मा नग्न महिलाको शरीरको मूर्तिकला बनाएकी छन् । चित्रकारहरू ताम्राकार र प्रधानले मानव शरीरलाई भगवान्को सिर्जनाका रूपमा लिँदै महिला शरीरलाई पृथ्वी तथा सिंगो प्रकृतिका रूपमा तुलना गरेका छन् । उनीहरूले आफ्नो कलामार्फत महिलाको भित्री तथा बाहिरी सौन्दर्य र शक्तिलाई ‘न्युड आर्ट’ मार्फत अभिव्यक्त गरेका छन् ।

प्रदर्शनीमा नेपाली कलाकारसँगै फान्सका चित्रकार भिनसेन्ट ग्रेबी सहभागी छन् । महिला शरीरको वास्तविक रूपलाई चित्रमा ढालेका ग्रेबी ‘न्युड आर्ट’ मानवीय जगत्लाई वास्तविकतातिर लैजाने गतिलो साधनका रूपमा परिभाषित गर्छन् । ‘मानिसको नग्न शरीर हाम्रो यथार्थ रूप हो, बाहिर ढाकिएका वस्तुहरू पछि जोडिएका पक्ष हुन्,’ उनले भने । नेपालमा पनि ‘न्युड आर्ट’ प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता देखेर खुसी लागेको उनले सुनाए ।

‘न्युड आर्ट’ लाई प्रकृतिका रहेका रूखबिरुवा र अन्य जीवसँग तुलना गर्दै ग्रहण गर्ने हो भने यसमा कुनै संकोच मान्नुपर्ने विषय नरहेको कलाकार तथा प्रदर्शनीका क्युरेटर श्रेष्ठले बताए । प्रदर्शनीमा कलाकृतिहरू अवलोकन गर्दा किताबी ज्ञान र समाजबाट थाहा पाइएका भन्दा बढी यौनका कुरा बुझ्ने मौका पाएको झापा घर भएका हाल राजधानीमा स्नातक अध्ययरत स्मृति अधिकारी र प्रजिता घिमिरेले बताए ।

‘न्युड आर्टलाई खुलेरै अवलोकन र सोधीखोजी गर्ने दर्शकले पक्कै यौन शिक्षालाई सहजै लिन सक्छन्,’ दीक्षित भन्छन्, ‘यसले ज्ञानसँगै आफ्नो शरीरको महत्त्व बुझाउन सघाउ पुर्‍याउँछ भन्ने आशा छ ।’

प्रकाशित : भाद्र २९, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?