पर्दा उघार्दै रंगकर्मी

महामारीको भोगाइले रंगमञ्च क्षेत्र अब नयाँ सोच र प्रयोगसँगै माथि उठ्ने आशा
सुशीला तामा‌ङ

काठमाडौँ — जनजीवन सामान्य बन्दै गएसँगै रंगकर्मीले नाटकघरको ढोका खोलेर रंगमञ्चको पर्दा उघार्न थालेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएपछि रंगकर्मीको सक्रियता सुरु भएको हो । टेकुस्थित कौसी थिएटरले आगामी शुक्रबारदेखि ‘हरेक बबाल कुरा’ मञ्चन गर्दै छ । एक साता मञ्चन गरिने उक्त नाटकलाई रंगकर्मी आकांक्षा कार्कीले निर्देशन गरेकी हुन् । 

पर्दा उघार्दै रंगकर्मी

महामारीको जोखिमलाई ख्याल गर्दै सीमित दर्शक र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाटक मञ्चन गरिने रंगकर्मी सुदाम सिकेले बताए । उनका अनुसार रंगमञ्चलाई पुनः गति दिन २०/२५ दिनभित्रमै नाटक तयार गरिँदै छ । ‘हामी रहरले लागिपरेको रंगमञ्चलाई अरूले केही गरिदेला भन्ने कुनै आशा छैन,’ उनले भने, ‘त्यसैले १ सय २० जना क्षमता भएको हलमा ३० जना दर्शक राखेर भए पनि नाटक मञ्चन गर्दै छौं ।’

कोरोनाको दोस्रो लहरसँगै त्रासले बन्द भएका फिल्म हल खुलिसकेकाले अब रंगमञ्चतिर चहलपहल बढ्ने अर्का रंगकर्मी सुलक्षण भारती बताउँछन् । लामो समयको विश्रामपछि भारती नाटकघरमा नयाँ विषय लिएर नाटकप्रेमीसमक्ष जाँदै छन् । सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा नाटक ‘म’ मञ्चनसँगै असोज १ मा नयाँ नाटकघरलाई औपचारिक रूपमा सुरु गर्न लागेको उनले सुनाए । नाटकको लेखन तथा निर्देशन उनी आफैंले गरेका छन् । उनका अनुसार गत वर्ष वैशाखमा नाटक मञ्चनसँगै थिएटर सञ्चालन गर्ने तयारी पूरा भए पनि पहिलो चरणको लकडाउनले स्थगन भएको थियो ।

‘हामीले नाटकका लागि तीन महिना रिहर्सल नै गरेका थियौं । मञ्चनका लागि सोच बनाउँदा बनाउँदै निरन्तर बन्द भयो,’ उनले भने, ‘अब त सहज होला भन्ने आशाले नाटक मञ्चनको मिति पनि तोकिसकेका छौं ।’ अप्ठ्यारो परिस्थिति हुँदाहुँदै पनि समयलाई अनुकूल बनाउने जमर्को जारी राखेको उनले सुनाए ।

लामो समय गतिविधि ठप्प रहँदा रंगकर्मीलाई सामान्य अवस्थामा फर्कन निकै कठिन रहेको रंगकर्मी भरत गुरागार्इं बर्बरिक दुखेसो गर्छन् । उनी भन्छन्, ‘कोरोनाको त्रास अझै छ । मान्छे सामान्य अवस्थामा फर्कने कोसिसमा छन् ।’ उनी आबद्ध मोरङस्थित झोराहाट नाट्य समूहको नाटक ‘योगमाया’ को देशव्यापी मञ्चनको काम त्यतिकै थाती छ । बर्बरिकको लेखन तथा प्रदीप सर्दारको निर्देशनमा तयार भएको नाटकलाई झोराहटमा मञ्चन लगत्तै योगमायाको जन्मभूमि भोजपुरलगायतका देशका अन्य स्थानमा लैजाने नाट्य समूहको योजना थियो । अब नाटक ‘योगमाया’ को अपूरो योजनालाई पूरा गर्ने तरखरतिर लाग्ने उनले सुनाए ।

धेरै रंगकर्मीले आफ्नै सक्रियतामा ठाउँ–ठाउँमा नाटकघर खोलेका छन् । विभिन्न विधामा नाटक मञ्चन मात्र होइन उनीहरूले रंगमञ्चमा नयाँ पुस्तालाई समेत जन्माइरहेका छन् । रंगमञ्चले समुदायमा भर्खरै नाटकको लय बसाउँदै फड्को मारेकै अवस्थामा महामारीले लामो विश्राममा राखिदियो । तथापि भर्चॅअल तथा विभिन्न माध्यम, विधा हुँदै रंगमञ्चमा दर्शकलाई जोडिराख्न रंगकर्मीहरू निरन्तर प्रयासरत रहे । पछिल्लो समय घर बसाइमा रंगमञ्चलाई अझ नजिकबाट नियाल्ने मौका पाएको रंगकर्मी सिर्जना

अधिकारी सुनाउँछिन् । सशक्त रूपमा रंगमञ्चमा फर्कने तयारीमा रहेको सुनाउँदै उनी भन्छिन्, ‘यो समयमा सबैभन्दा मिस गरेको नाटक र थिएटरलाई हो । रंगमञ्च बिस्तारै आफ्नो लयमा फर्कने आशा छ ।’

उसो त कला, साहित्य, संस्कृतिजस्ता पक्षलाई राज्य र सत्ताले चिन्तनको विषय नबनाउनु अर्को विडम्बना छ । रंगकर्मी आफैंले पनि लामो समयको यात्रामा यसलाई व्यवसायतिर लैजान नसकेको बर्बरिकको बुझाइ छ । उनले भने, ‘हामीले गर्ने यति लामो यात्रा र संघर्षमा गर्ने मूल्याङ्कन छैन । राज्य र सत्ताले हाम्रो उत्थान गरिदेला भन्ने त कुनै आशा नै छैन । जे गरिरहेका छौं, हाम्रा आफ्नै प्रयास जारी छन् ।’

रंगमञ्चप्रतिको लगावकै प्रतिकूल परिस्थितिका बीच पनि रंगकर्मीहरू निराशा नभएकोे अर्का रंगकर्मी केदार श्रेष्ठ सुनाउँछन् । ‘समय र अवस्था कठिन छ तर हामी निराश पक्कै छैनौं । हामीमा अझै नाटक गर्ने आँट छ,’ उनले भने, ‘साथीहरूले प्रयास जारी राख्नुभएको छ । निकै खुसी लागेको छ ।’ यस्तो अवस्थामा तत्काल रहरले रंगमञ्चलाई सुरु गर्ने अवस्था भने नरहेको उनको तर्क छ । कीर्तिपुरस्थित ‘थिएटर मल कीर्तिपुर रंगमञ्चलाई बिस्तारै सञ्चालनमा ल्याउनुपर्छ भन्ने उनले सोचेका छन् ।

महामारीले सबैजसो रंगकर्मीलाई काम गर्न कठिन थियो । कुनै थियटरसँग आबद्ध नभई नाट्यकर्ममा सक्रियहरूका लागि भनै सकसपूर्ण रह्यो । यस्तै कठिनाइको भुक्तभोगी भइन् रंगकर्मी निशा पाख्रिन । ‘यतिबेला कहाँ गएर समस्या सुनाउने, कताबाट फेरि सुरुआत गर्ने भन्ने नै टुंगो छैन,’ उनले भनिन्, ‘फ्रिलान्सर भएर सबैतिर नाटक खेल्ने हामीजस्ता रंगकर्मी अहिले अभिभावकविहीन सन्तानजस्तै भएका छौं ।’ दिगो रंगमञ्च र संकटको साहराका लागि अब रंगकर्मीहरूबीच नै आपसी सहकार्य हुनुपर्ने उनको मत छ ।

रंगमञ्च मात्र नभएर फिल्मी क्षेत्रमा समेत उमेर ढल्कँदै जाँदा कलाकार कालान्तरसम्म पेसामा निरन्तरता दिने नभएका उदाहरणहरू अर्की रंगकर्मी सौभाग्य सिंहले देखेकी छन् । रंगमञ्चसँगै उनले जागिरे जीवन र आर्थिक उपार्जन हुने अन्य कार्यमा समेत हात हालेकी छन् ।

रंगमञ्चको लगावलाई निरन्तर गर्दै दैनिकीलाई सहज बनाउन अन्य पेसालाई पनि अँगाल्नुपर्ने महामारीले सिकाएको उनको अनुभवले बताउँछ । ‘हामी आफैं वैकल्पिक बाटोमा लागे अवस्था जस्तोसुकै भए पनि गाह्रो हुँदैन,’ उनले भनिन् । महामारीको भोगाइले रंगमञ्च क्षेत्र अब नयाँ सोच र प्रयोगसँगै माथि उठ्नेछ भन्नेमा उनी आशावादी छिन् ।

प्रकाशित : भाद्र २०, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?