२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

४२ वर्षपछि चित्रकला

चित्र कोर्न, कुची खेलाउन रहर लाग्थ्यो, बीचका वर्षमा निर्धक्क भन्न सकेकी थिइनन् 
सुशीला तामा‌ङ

काठमाडौँ — लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा यतिबेला ‘माई आर्ट जर्नी–२०७८’ शीर्षकमा चित्रकला प्रदर्शनी भइरहेको छ । यो प्रदर्शनीमा पुग्नेहरूले नौलो कुरा थाहा पाउँछन् । त्यो के हो भने कला साधकहरू रहरलाई कुण्ठा बनाएर बस्न सक्दैनन् । यसको पुष्टि चार दशकपछि रीता खनालले गरेको यो प्रदर्शनीले गरेको छ । 

४२ वर्षपछि चित्रकला

२०३६ मा धरानको मोती भवनमा उनको पहिलो एकल प्रदर्शनी मूर्तिकलाको भएको थियो । त्यतिबेला उनी २२ वर्षकी थिइन् । बिहे भयो । पारिवारिक बन्धनमा बाँधिएपछि उनले सिर्जनाकर्ममा फर्कने समय नै पाइनन् । कलायात्राको छुटेको क्रमलाई जोडेको यो उनको दोस्रो एकल प्रदर्शनी ४२ वर्षपछि हो । प्रदर्शित दुई दर्जनभन्दा बढी कलाकृतिमा उनको कलाप्रतिको लगाव झल्केको छ । ‘कला सिर्जना बाल्यकालदेखिकै रहर हो । छोटो समयमा सिकेकै भरमा एकल मूर्तिकला प्रदर्शनी गरेकी थिएँ,’ ६४ वर्षीया खनालले भनिन्, ‘बिहेपछि घरधन्दा र सन्तान स्याहार्दै समय बित्यो । यो उमेरमा फेरि कला सिर्जना गरेर प्रदर्शनी गर्न सक्छुजस्तो लागेको थिएन ।’

हुन त उनको परिवार नै कलाकर्मीको हो । श्रीमान् रमेश खनाल चित्रकार तथा कला समीक्षक हुन् । जेठी छोरी रुरु, कान्छी रुमिना दुवै चित्रकार हुन् । रुरु हाल बेलायत र रुमिनाले अस्ट्रेलियामा अध्ययनसँगै कला सिर्जनालाई निरन्तरता दिइरहेका छन् । छोरा राजिम हाल अमेरिकामा वैज्ञानिकका रूपमा छन् । छोराले औपचारिक प्रदर्शनी नगरे पनि चित्र बनाउने खनालले बताइन् । ‘श्रीमान् र छोरीहरूको कला प्रदर्शनी हुँदा मलाई पनि केही गरौं भन्ने छटपटी हुन्थ्यो,’ उनी भन्छिन्, ‘परिवारकै प्रदर्शनी गर्न पाए हुन्थ्यो भन्ने मनमा लाग्थ्यो । घर कसले हेर्ने भन्ने कुराले उहाँलाई भन्नै सकिनँ ।’ आफ्नो रहर मर्न नदिन स्केच कोरेर चित्त बुझाउने गरेका दिन उनले स्मरण गरिन् । ‘मैले केही गरेँ भने छोराछोरीलाई इम्प्रेसन पर्छ भन्ने लाग्थ्यो, सिकाउथेँ । आफू पनि कोरिरहन्थेँ,’ उनले भनिन्, ‘अहिले सबै कलाकार भएर आ–आफ्नै ठाउँमा सेटल्ड छन् । बल्ल मलाई फुर्सद मिलेको छ, बल्ल चित्र कोर्दै छु ।’

प्रदर्शनीमा राखिएका चित्रहरू पछिल्ला चार महिनाभित्रका सिर्जना भएको उनले सुनाइन् । भोटाहिटीस्थित ललितकला क्याम्पसमा ६ महिना चित्रकला/मूर्तिकला विषय लिएर औपचारिक अध्ययन गरेकी खनालले थप कलासम्बन्धी अध्ययन गर्न पाइनन् । अहिले श्रीमान्लाई नै उनले गुरु बनाएकी छन् । ग्यालरीमा क्यानभासमा रङ भर्न सिकिरहेकी छन् ।

प्रकाशित : भाद्र ७, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?