कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ढल्यो आधुनिक कलाको स्तम्भ

नेपाली ललितकलामा आधुनिक शैली भित्र्याउनेमा अग्रणी उत्तम नेपाली क्यानभासमा मात्रै सीमित भएनन्, अभिनय गरे, कविता पनि कोरे 
सुशीला तामा‌ङ

काठमाडौँ — ललितकलाका आधुनिक प्रयोगवादी कलाकार उत्तम नेपालीको निधन भएको छ । ८५ वर्षीय नेपालीको त्रिवि शिक्षण अस्पतालमा बुधबार निधन भएको हो । केही वर्षदेखि मुटुको रोगसँग लडिरहेका उनलाई श्वासप्रश्वासमा पनि समस्या थियो ।

ढल्यो आधुनिक कलाको स्तम्भ

ज्वाइँ सुनील रञ्जितका अनुसार गत महिना बिरामी परेपछि चिरायु, गंगालाल, मनमोहन कार्डियोभास्कुलर सेन्टर हुँदै उनलाई गत मंगलबार मात्र शिक्षण अस्पतालमा सारिएको थियो । पछिल्लो समय उनको स्मरण शक्तिसमेत कम भएको थियो । काठमाडौं किलागलको कर्माचार्य परिवारमा जन्मिएका उत्तम नेपालीले अमूर्त (एबस्ट्र्याक्ट) कलामा निकै ख्याति आर्जेका थिए । अमेरिका आउजाउ गरिरहेका उनी शरीर शिथिल बन्दै गएपछि तीन महिनाअघि मात्र नेपाल फर्केका थिए ।

राणाकालीन समयमा हजुरबुबा कृष्णप्रसाद कर्माचार्य भारतमा निर्वासित जीवन बिताउन बाध्य भएकाले परिवारसँगै नेपालीको बाल्यकाल लखनउमा बितेको थियो । उनले उतै विद्यालय र कला शिक्षा हासिल गरेका थिए । परिवार व्यवसायमा संलग्न भए पनि बाल्यकालदेखि उनलाई कलामा रुचि थियो । सन् १९५९ मा लखनउको कलेज अफ आर्ट एन्ड क्राफ्टबाट कलामा स्नातक गरेका उनले नेपालमा आधुनिक चित्रकलाको शैलीलाई विधागत र प्रयोगात्मक रूपमा नै नौलो आयामतिर ढल्काएको कला समीक्षक मुकेश मल्लले बताए । नेपालीको सक्रियतासँगै चित्रकलाको प्रदर्शनी, प्रचार, बुझाइ र सिर्जनामा व्यापक परिवर्तन सहज भएको थियो ।

‘आधुनिक चित्रकलामा उत्तम नेपाली एक स्तम्भ बिन्दु मान्नुपर्छ,’ मल्लले भने, ‘उहाँभन्दा पहिला कलाकारहरू लैनसिंह वाङ्देल, उर्मिला उपाध्याय लगायतले आधुनिक चित्रकलाको आयामलाई अगाडि बढाएको भए पनि विशेषगरी सन् १९६२ मा भएको उत्तम नेपालीको पहिलो चित्रकला प्रदर्शनीपछि कलाकारहरूमा कला प्रदर्शनीको लहर चलेको थियो ।’ त्यसबेला प्रदर्शनीको उद्घाटन तत्कालीन राजा महेन्द्रले गरेका थिए ।

नेपालीले हुलाक सेवा र सूचना विभागमा गरी झन्डै दुई दशक काम गरे । टिकट डिजाइनरका रूपमा उनले काम गरेका थिए । नेपालीको कला यात्रालाई ‘उत्तम नेपाली : नेपाली आधुनिक कलाको बलियो स्तम्भ’ पुस्तकमा उतारेका मल्ल भन्छन्, ‘उहाँ हुलाक सेवा विभागमा आएपछि नेपालको रंगीन टिकट छापिन थालेको थियो । पहिलो टिकट थियो राजा महेन्द्र घोडा चढेको दृश्य भएको, त्यसको डिजाइन उहाँले गर्नुभएको थियो ।’ कलाकारका रूपमा हुलाकमा नेपालीको प्रवेशअघि सरकारले कलाकार नै भर्ना गरेर टिकट डिजाइन गर्न लगाई छपाउने चलन थिएन ।

नेपालीले सुरुवाती चरणमा यथार्थवादी विषयमा चित्रहरू बनाएका थिए । केही पछिदेखि भने उनका अधिकांश सिर्जनामा नौलो प्रयोग हुँदै गएको देख्न सकिने समीक्षक रमेश खनालले बताए । ‘हामीले अमूर्त कला सिर्जना र यसको मूल्यका बारेमा उहाँबाट सिको गरेका छौं । उहाँलाई नेपाली अमूर्त सिर्जनामा प्रवर्तकका रूपमा लिन सकिन्छ,’ उनी भन्छन् ।

वि.सं. २०२६ मा भएको ‘इरोटिक सिरिज’ प्रदर्शनीमा उनले टुँडालका कलाबाट उत्प्रेरित भएर कामोत्तेजना र धर्मलाई सम्मिश्रण गरेर आधुनिक झल्को दिए । तिनताक रङकै माध्यममा उनले परम्परा, मानवीय संवेदना र कलाको पाटोलाई नियाल्ने जमर्को गरे ।

नेपाली कवि तथा अभिनेता पनि थिए । नेपालको पहिलो चलचित्र ‘आमा’ र ‘हिजो आज भोलि’ मा उनले अभिनय पनि गरेका छन् । उनको ‘उत्तम नेपालीका कविताहरू’ नामक संग्रह पनि प्रकाशित छ । २०३२ सालमा उनले गरेको एकल चित्रकला प्रदर्शनीमा २८ जना कविहरूका कवितामा ३२ वटा चित्रहरू तयार गरेका थिए । २०५५ मा ‘कला र साहित्य’ शीर्षकमा गरिएको प्रदर्शनीमा केदारमान व्यथित, तारानाथ शर्मा, वासुदेव त्रिपाठीलगायत २१ जना साहित्यकारको व्यक्तिचित्र र महत्त्वपूर्ण कृतिलाई अक्षरमा देखाएका थिए । आधुनिक कलाको विकासमा उत्तम नेपालीको बलियो पक्ष देखिएको प्राध्यापक अभि सुवेदी बताउँछन् । ‘कलामा अमूर्त प्रयोग त छँदै थियो त्यसमा उहाँले साहित्यलाई नजिक ल्याएर झन् आधुनिकता थप्नुभयो,’ उनले भने, ‘उहाँ कलालाई कविताको नजिक ल्याउन खोज्नुहुन्थ्यो । कलाको बिम्ब, रङ, आकारलाई कन्सेप्टमा लगेर छोड्नुभयो ।’

नेपालीले एक दर्जनभन्दा बढी एकल प्रदर्शनी गरे भने सामूहिक प्रदर्शनीमा पनि धेरै पटक सहभागी भए । भारत, जापान, दक्षिण कोरियालगायतमा समेत प्रदर्शनी गरेका थिए । ‘उहाँ आफ्ना सिर्जनामा मात्रै सीमित हुनुभएन, नेपालमा ललितकला संस्थाको गठनदेखि स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नुभएको हो,’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले भन्छन् । थुप्रै सम्मान र पुरस्कार पाएका नेपालीलाई सम्झँदा ललितकलाको विधामा काम गरिरहेकाहरू श्रद्धापूर्वक नाम लिन्छन् । नेपालीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित : श्रावण ७, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?