३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘तिमी मेटाउँदै जाऊ, म बनाउँदै जान्छु’

सिर्जना भइसकेको कलालाई मेटाइदिनु कलाप्रतिको अपमान भएको कलाकारहरूको ठहर
सुशीला तामा‌ङ

काठमाडौँ — एउटा डिजिटल चित्रसँगै शुक्रबार चित्रकार किशोर ज्योतिले सामाजिक सञ्जालमा लेखे– ‘तिमी मेटाउँदै जाऊ, म बनाउँदै जान्छु । हेरौं पहिला मेरा सिर्जना सकिनेछन् या तिम्रो सेतो रङ ।’ उनले तयार गरेको चित्रमा ‘कलाकार’ लेखिएको एक हातमा रातो रङले पोतिरहेको कुचीसँगै उडिरहेका चराहरू देखिन्छ भने ‘सरकार’ लेखिएको अर्को हातले सेतो रङमार्फत मेटाउने कोसिस गरेको देख्न सकिन्छ ।

‘तिमी मेटाउँदै जाऊ, म बनाउँदै जान्छु’

कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका (फ्रन्टलाइनर) हरूको सम्मानमा केही कलाकारले स्वत:स्फूर्त रूपमा रत्नपार्कस्थित आकाशे पुलको भित्तामा बनाएको मुरललाई महानगरले बुधबार मेटाइदिएको थियो । कलाप्रतिको महानगरको उक्त चेतलाई ध्यानाकर्षण गर्न ज्योतिले यस्तो कला सिर्जना गरी पटाक्षेप गर्न खोजेका हुन् । ‘महानगरले चित्र मेट्नु भनेको कला र कलाकारप्रतिको अपहेलना हो,’ उनले भने, ‘कला सिर्जना मेटाउनु भनेको अर्काे जन्माउनु हो । मेटाउनेको रङ सकिए पनि हाम्रो सिर्जना सकिँदैन ।’

दुजांग शेर्पाको परिकल्पनामा सांगे थिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठलगायत चार कलाकार र तीन जना स्वयंसेवक भएर केही साताअघि मात्र उक्त मुरल बनाएका थिए । तर महानगरले मेटाइदिएपछि सर्वत्र आलोचना भइरहेको छ । कलालाई स्वतन्त्र सिर्जना र सौन्दर्यका रूपमा नचिनेको राज्यलाई यतिबेला सबै कलाकारहरू एकजुट भएर चिनाउनुपर्ने ज्योतिको बुझाइ छ । उनले प्रश्न गरे, ‘महानगरका सडकका भित्ताभरि विभिन्न राजनीतिक नारा, विज्ञापनका होर्डिङ बोर्ड र पोलभरि प्रधानमन्त्रीका फोटो राख्न हुन्छ भने चित्रकला बनाउँदा केचाहिँ नराम्रो भयो र ?’

प्रत्येक संस्कृति र परम्परामा रङका आ–आफ्नै महिमा रहेको बताउँदै ज्योतिले रङका माध्यमबाट नै कला र कलाकार सशक्त रूपमा जागरुक बन्नुपर्ने सुझाए । कलामार्फत आवाज बुलन्द गर्न समूहगत रूपमै आउने योजना बनाएको उनले बताए । त्यसो त यो नै महानगरले मेटाएको पहिलो भित्तेचित्र भने होइन । चित्रकार लक्ष्मण श्रेष्ठले केही वर्षअघि वीर अस्पतालसँगैको सडकका भित्तामा कोरिएका ‘नालायक म’, ‘डेड सरकार’ लगायत शृंखलाबद्ध चित्रहरू मेटाइएको थियो । महानगरले कलाको अर्थ र प्रतीकात्मक कुरालाई बुझ्न नसकेको उतिबेलै श्रेष्ठले आरोप लागाएका थिए ।

चित्रकला आफैंमा सौन्दर्य रहेको कलाकार एवं कला समीक्षक रमेश खनाल बताउँछन् । कलालाई कुन र कस्तो ठाउँमा सिर्जना गर्ने, कुन प्रयोजनका लागि बनाउने भन्ने कलाकारमा चेत हुनुपर्ने खनालको धारणा छ । ‘सिर्जना भइसकेको कलालाई मेटाइदिनु वा बिगारिदिनु भनेकोचाहिँ कलाप्रतिको अपमान नै हो । फ्रन्टलाइनरहरूको सम्मानका लागि बनाइएको चित्र समसामयिक पनि थियो । केही नराम्रो जस्तो त लागेको थिएन,’ उनले भने ।

चित्र मेटाइएकोबारे सर्वत्र विरोध भइरहँदा अधिकांश कलाकार मौन नै देखिन्छन् । सडकमा सार्वजनिक रूपमा बनाइने ‘स्ट्रिट आर्ट’ भएकै कारण कलाकारहरू मौन रहेको कलाकार तथा कला लेखक तीर्थ निरौलाको अनुमान छ । उनले भने, ‘स्ट्रिट आर्टका लागि महानगरको आफ्नै नीति र नियमहरू होलान् । त्यो कलाकारहरूले पालना गर्नुपर्छ । तर बनाएको कलालाई मेटाइदिनु भनेको गलत नै हो ।’ कलाकारहरू सिर्जनामा मात्र केन्द्रित भएकाले कलासम्बन्धी आउने यस्ता विषयहरूमा प्राय: मौन देखिने उनले सुनाए ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यसमेत रहेका खनालले महानगरसँग संवाद गर्न प्रतिष्ठानमा छलफल गर्ने बताए । महानगरले मेटाएको पहिलो भित्तेचित्रबारे कलाकारहरूले प्रतिष्ठानसँग समन्वय नगरेकाले यस विषयमा कुनै जानकारी नभएको कुलपति केके कर्माचार्यले बताए । ‘भित्तेचित्र पनि ललित कला विधा नै हो र चित्र सजाउनु पनि राम्रो पक्ष हो । तर एकेडेमीसँग यसबारे पूर्वछलफल र जानकारी नभएकाले हामीले यसबारे बोलेका छैनौं । चित्र किन, कसरी र केका लागि बनाएको हो एकेडेमीलाई थाहा छैन,’ उनले भने ।

महानगरको बजेटमा उक्त स्थानमा अर्काे चित्र बनाउने बताइए पनि यसबारे बोल्न महानगरका जनप्रतिनिधिहरू सम्पर्कमा आएनन् । महानगरले किन चित्र मेट्यो भन्ने विषयमा चित्र बनाउन स्वीकृति दिएका काठमाडौं–२८ का अध्यक्ष भाइराम खड्गी नै आश्चर्यमा छन् । ‘चित्र मेट्नुभन्दा अघि मलाई जानकारी दिएको भए पनि हुने थियो । भाइहरूको मिहिनेत त्यत्तिकै खेर गयो,’ उनले भने, ‘काठमाडौंका भित्ताहरूमा चित्र र पोस्टर लगाएको कहाँ छैन र ? महामारीमा खटिरहनुभएकाहरूको चित्र निकै राम्रो र सबैले मन पराउनुभएको थियो । आखिर चित्र किन मेटाइयो त्यो बुझ्न सकिएको छैन ।’

महानगर प्रमुख विद्यासुन्दर शाक्यसँग यसबारे कुरा गर्न खोजे पनि सम्भव नभएको खड्गीले बताए । ‘पब्लिकमा मेरो अनुमति नै गलतजस्तो देखिएको छ । सकेसम्म म भोलि (आइतबार) मेयर साबसँग कुरा गर्न जान्छु,’ उनले भने । उनका अनुसार भद्रकालीको पुलमा समेत त्यस्तै प्रकारको कला बनाउने योजना रहे पनि अहिले रोकिएको छ ।

कलाप्रति महानगरले देखाएको गतिविधिप्रति शेर्पा र कलाकार सुमिना श्रेष्ठले दु:ख व्यक्त गरे । शेर्पाले भने, ‘हाम्रो कलामा महानगरले गरेको अपमान अब कला क्षेत्रले भोग्नु नपरोस् । हामी पनि महानगरसँग कुरा गर्न निरन्तर प्रयासमा छौं ।’

प्रकाशित : असार २०, २०७८ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?