‘तिमी मेटाउँदै जाऊ, म बनाउँदै जान्छु’- कला - कान्तिपुर समाचार

‘तिमी मेटाउँदै जाऊ, म बनाउँदै जान्छु’

सिर्जना भइसकेको कलालाई मेटाइदिनु कलाप्रतिको अपमान भएको कलाकारहरूको ठहर
सुशीला तामा‌ङ

काठमाडौँ — एउटा डिजिटल चित्रसँगै शुक्रबार चित्रकार किशोर ज्योतिले सामाजिक सञ्जालमा लेखे– ‘तिमी मेटाउँदै जाऊ, म बनाउँदै जान्छु । हेरौं पहिला मेरा सिर्जना सकिनेछन् या तिम्रो सेतो रङ ।’ उनले तयार गरेको चित्रमा ‘कलाकार’ लेखिएको एक हातमा रातो रङले पोतिरहेको कुचीसँगै उडिरहेका चराहरू देखिन्छ भने ‘सरकार’ लेखिएको अर्को हातले सेतो रङमार्फत मेटाउने कोसिस गरेको देख्न सकिन्छ ।

कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका (फ्रन्टलाइनर) हरूको सम्मानमा केही कलाकारले स्वत:स्फूर्त रूपमा रत्नपार्कस्थित आकाशे पुलको भित्तामा बनाएको मुरललाई महानगरले बुधबार मेटाइदिएको थियो । कलाप्रतिको महानगरको उक्त चेतलाई ध्यानाकर्षण गर्न ज्योतिले यस्तो कला सिर्जना गरी पटाक्षेप गर्न खोजेका हुन् । ‘महानगरले चित्र मेट्नु भनेको कला र कलाकारप्रतिको अपहेलना हो,’ उनले भने, ‘कला सिर्जना मेटाउनु भनेको अर्काे जन्माउनु हो । मेटाउनेको रङ सकिए पनि हाम्रो सिर्जना सकिँदैन ।’

दुजांग शेर्पाको परिकल्पनामा सांगे थिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठलगायत चार कलाकार र तीन जना स्वयंसेवक भएर केही साताअघि मात्र उक्त मुरल बनाएका थिए । तर महानगरले मेटाइदिएपछि सर्वत्र आलोचना भइरहेको छ । कलालाई स्वतन्त्र सिर्जना र सौन्दर्यका रूपमा नचिनेको राज्यलाई यतिबेला सबै कलाकारहरू एकजुट भएर चिनाउनुपर्ने ज्योतिको बुझाइ छ । उनले प्रश्न गरे, ‘महानगरका सडकका भित्ताभरि विभिन्न राजनीतिक नारा, विज्ञापनका होर्डिङ बोर्ड र पोलभरि प्रधानमन्त्रीका फोटो राख्न हुन्छ भने चित्रकला बनाउँदा केचाहिँ नराम्रो भयो र ?’

प्रत्येक संस्कृति र परम्परामा रङका आ–आफ्नै महिमा रहेको बताउँदै ज्योतिले रङका माध्यमबाट नै कला र कलाकार सशक्त रूपमा जागरुक बन्नुपर्ने सुझाए । कलामार्फत आवाज बुलन्द गर्न समूहगत रूपमै आउने योजना बनाएको उनले बताए । त्यसो त यो नै महानगरले मेटाएको पहिलो भित्तेचित्र भने होइन । चित्रकार लक्ष्मण श्रेष्ठले केही वर्षअघि वीर अस्पतालसँगैको सडकका भित्तामा कोरिएका ‘नालायक म’, ‘डेड सरकार’ लगायत शृंखलाबद्ध चित्रहरू मेटाइएको थियो । महानगरले कलाको अर्थ र प्रतीकात्मक कुरालाई बुझ्न नसकेको उतिबेलै श्रेष्ठले आरोप लागाएका थिए ।

चित्रकला आफैंमा सौन्दर्य रहेको कलाकार एवं कला समीक्षक रमेश खनाल बताउँछन् । कलालाई कुन र कस्तो ठाउँमा सिर्जना गर्ने, कुन प्रयोजनका लागि बनाउने भन्ने कलाकारमा चेत हुनुपर्ने खनालको धारणा छ । ‘सिर्जना भइसकेको कलालाई मेटाइदिनु वा बिगारिदिनु भनेकोचाहिँ कलाप्रतिको अपमान नै हो । फ्रन्टलाइनरहरूको सम्मानका लागि बनाइएको चित्र समसामयिक पनि थियो । केही नराम्रो जस्तो त लागेको थिएन,’ उनले भने ।

चित्र मेटाइएकोबारे सर्वत्र विरोध भइरहँदा अधिकांश कलाकार मौन नै देखिन्छन् । सडकमा सार्वजनिक रूपमा बनाइने ‘स्ट्रिट आर्ट’ भएकै कारण कलाकारहरू मौन रहेको कलाकार तथा कला लेखक तीर्थ निरौलाको अनुमान छ । उनले भने, ‘स्ट्रिट आर्टका लागि महानगरको आफ्नै नीति र नियमहरू होलान् । त्यो कलाकारहरूले पालना गर्नुपर्छ । तर बनाएको कलालाई मेटाइदिनु भनेको गलत नै हो ।’ कलाकारहरू सिर्जनामा मात्र केन्द्रित भएकाले कलासम्बन्धी आउने यस्ता विषयहरूमा प्राय: मौन देखिने उनले सुनाए ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यसमेत रहेका खनालले महानगरसँग संवाद गर्न प्रतिष्ठानमा छलफल गर्ने बताए । महानगरले मेटाएको पहिलो भित्तेचित्रबारे कलाकारहरूले प्रतिष्ठानसँग समन्वय नगरेकाले यस विषयमा कुनै जानकारी नभएको कुलपति केके कर्माचार्यले बताए । ‘भित्तेचित्र पनि ललित कला विधा नै हो र चित्र सजाउनु पनि राम्रो पक्ष हो । तर एकेडेमीसँग यसबारे पूर्वछलफल र जानकारी नभएकाले हामीले यसबारे बोलेका छैनौं । चित्र किन, कसरी र केका लागि बनाएको हो एकेडेमीलाई थाहा छैन,’ उनले भने ।

महानगरको बजेटमा उक्त स्थानमा अर्काे चित्र बनाउने बताइए पनि यसबारे बोल्न महानगरका जनप्रतिनिधिहरू सम्पर्कमा आएनन् । महानगरले किन चित्र मेट्यो भन्ने विषयमा चित्र बनाउन स्वीकृति दिएका काठमाडौं–२८ का अध्यक्ष भाइराम खड्गी नै आश्चर्यमा छन् । ‘चित्र मेट्नुभन्दा अघि मलाई जानकारी दिएको भए पनि हुने थियो । भाइहरूको मिहिनेत त्यत्तिकै खेर गयो,’ उनले भने, ‘काठमाडौंका भित्ताहरूमा चित्र र पोस्टर लगाएको कहाँ छैन र ? महामारीमा खटिरहनुभएकाहरूको चित्र निकै राम्रो र सबैले मन पराउनुभएको थियो । आखिर चित्र किन मेटाइयो त्यो बुझ्न सकिएको छैन ।’

महानगर प्रमुख विद्यासुन्दर शाक्यसँग यसबारे कुरा गर्न खोजे पनि सम्भव नभएको खड्गीले बताए । ‘पब्लिकमा मेरो अनुमति नै गलतजस्तो देखिएको छ । सकेसम्म म भोलि (आइतबार) मेयर साबसँग कुरा गर्न जान्छु,’ उनले भने । उनका अनुसार भद्रकालीको पुलमा समेत त्यस्तै प्रकारको कला बनाउने योजना रहे पनि अहिले रोकिएको छ ।

कलाप्रति महानगरले देखाएको गतिविधिप्रति शेर्पा र कलाकार सुमिना श्रेष्ठले दु:ख व्यक्त गरे । शेर्पाले भने, ‘हाम्रो कलामा महानगरले गरेको अपमान अब कला क्षेत्रले भोग्नु नपरोस् । हामी पनि महानगरसँग कुरा गर्न निरन्तर प्रयासमा छौं ।’

प्रकाशित : असार २०, २०७८ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्

हचुवाका योजनाले बजेट खर्च भएन

१६ योजनामध्ये ६ वटा असम्भवजस्तै
कान्तिपुर संवाददाता

(बागलुङ) — यहाँको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले १ सय ५० मिटर उचाइसम्मको लिफ्ट सिँचाइ आयोजना निर्माण गर्दै आएको छ ।

बागलुङको काठेखोला-६ स्थित सिँचाइ कुलो।

त्योभन्दा माथिको लिफ्ट आयोजना सञ्चालन गर्न जिल्ला तहमा संरचना, उपकरण र प्रविधि छैन । ठेक्का लगाएर काम गर्नुपर्ने अवस्था हो । ठेक्का लगाउन १ करोडभन्दा माथिको लागत स्टिमेट चाहिन्छ । तर राजनीतिक नेतृत्वले हचुवाको भरमा राखिदिएका आधादर्जन योजना प्रविधि अभावमा निर्माण नभई अलपत्र परेका छन् ।

तीन सय मिटरभन्दा उचाइमा पानी ल्याउने प्रकारका योजना उपभोक्ता तहले गर्न नसकेपछि अलपत्र परेका हुन् । उपभोक्ताले थाहै नपाई केन्द्रबाट सूचीकृत गरिएका बागलुङका ६ वटा सिँचाइ योजना सुरु नभई रकमसमेत फिर्ता हुने क्रममा पुगेका छन् ।

जैमिनी नगरपालिकाको रितिपफेदी राउदी सिँचाइ आयोजना र बागलुङ नगरपालिकाको नारायणस्थान लिफ्ट सिँचाइ आयोजना असम्भव भएपछि कामै सुरु नभएका हुन् । संघीय सरकारको अनुदानमा निर्माण गर्न लागिएका १६ योजनामध्ये ६ वटा असम्भव जस्तै देखिएको कार्यालयका इन्जिनियर शंकर बुढाथोकीले बताए । चालु वर्षका लागि नारयणस्थान लिफ्ट सिँचाइ आयोजनाका लागि ५० लाख र रितिपफेदी राउदीका लागि ४० लाख बजेट थियो । त्यस्तै चालु वर्षकै लागि प्याङखोलामा ६० लाख र बलगास लिफ्ट आयोजनामा ५० लाख बजेट विनियोजन छ ।

सम्भव भएर काम थालिएका पनि ४० प्रतिशत मात्रै प्रगति हुने उनले बताए । ‘उपभोक्ताको माग नआएका, राजनीतिक नेतृत्वले छनोट गरेर केन्द्रीय कार्यक्रममा राखिएका योजना निर्माणमा कठिनाइ भएको हो,’ बुढाथोकीले भने, ‘अधिकांशको सम्भाव्यता अध्ययन नभएकाले समस्या भयो ।’ उपभोक्ताको लागत सहभागिता नभएमा पनि योजना सम्पन्न नहुने कानुनी प्रावधान छ । तीमध्ये नारायणस्थान र रितिपफेदी राउदी सिँचाइ योजनामा भने ३ सय मिटरभन्दा अग्ला भएकाले निर्माण हुन नसकेका हुन् । ‘जिल्लाभित्र कार्यान्वयन भएका योजनामा १ सय ५० मिटर उचाइका मात्रै छन्,’ बुढाथोकीले भने, ‘त्योभन्दा माथिको योजना कार्यान्वयन गर्न हामीसँग प्रविधि र उपकरणसमेत छैनन् ।’ प्रविधि अभावमा ती दुई योजना बनाउनै नसकिने उनले बताए ।

उपभोक्ताको प्राथमिकतामा नपरेका योजना नबन्दा करोडौं रकम फिर्ता गएको हो । ‘सम्भव नहुने स्थानमा बजेट पारिदिँदा कार्यालयको प्रगतिसमेत शून्य देखिन्छ,’ डिभिजन प्रमुख सुरेन्द्र पौडेलले भने, ‘उपभोक्ताबाट छनोट भएका योजनामा भने राम्रो प्रगति देखिन्छ ।’ कोरोना संक्रमण र निषेधाज्ञामा कामदार नपाएर चालु वर्षका योजना भने ६० देखि ७० प्रतिशतमात्रै सम्पन्न हुने उनले बताए । सिँचाइतर्फ उपभोक्ताको तहबाट माग आएका योजनामा १ करोड भन्दा कम लागत मूल्य भएमा ठेक्कामा नजाने प्रक्रिया छ । उपभोक्ताले लिफ्ट योजनाको प्रविधि जान्दैनन् । ठेक्का नलाग्ने र उपभोक्ता मार्फत काम गर्नुपर्दा ती आयोजना निर्माण थालनी समेत हुन नसकेको हो । क्रमागत बजेट पारेर थोरै देखिँदा डिभिजनले ठेक्का समेत लगाउन नसकेको हो ।

‘स्टिमेट संशोधन गरेर करोड बढी लागत लाग्ने योजना निर्माण भएमा ठेक्का लगाउन सकियो भने मात्रै ती लिफ्ट योजना बनाउन सकिन्छ,’ बुढाथोकीले भने, ‘त्यसका लागि कानुनी जटिलता हट्नुपर्छ ।’ सर्भे नभई योजनामा रकम वनियोजन गर्ने प्रक्रिया समेत हटाउनुपर्ने उनले सुझाव दिए । ‘राजनीतिक नेतृत्वको दबाबमा मन्त्रालयले बजेट राख्दा खर्च गर्न नसकेर कार्यालयको बदनामी भएको छ’ उनले भने ।

प्रकाशित : असार २०, २०७८ १४:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×