बिनायोले मन मेरो रमायो...- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनायोले मन मेरो रमायो...

‘प्याटेन्ट राइट’का निम्ति विश्वव्यापी कोङकोङमा (बिनायो) वादन प्रतियोगिता गरिँदै
गणेश राई

काठमाडौँ — किरात समुदायको मौलिक लोकबाजा ‘कोङकोङमा’ (बिनायो) को अग्राधिकार (प्याटेन्ट राइट) कायम गर्न पहल थालिएको छ । किरात राई सांस्कृतिक कलाकार संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा पारेर विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिताको घोषणा गर्दै प्रक्रिया अघि बढाएको हो ।

एक समारोहमा कोङकोङमा बजाउँदै ७२ वर्षीया लीला राई । तस्बिर सौजन्य : किरात राई सांस्कृतिक कलाकार संघ

संस्कृतिविद्ले कोङकोङमालाई किरात सभ्यताको प्रतीकका रूपमा परिभाषित गरेका छन् । यो मालिङ्गो बाँसबाट बनाइने लोकबाजा हो । बाँसको कप्टेरोलाई खुकुरी र नहर्नी हतियारले चिरेर सानो आकारमा खिपेर बनाइन्छ । अन्तिममा दुईतिर सानो धागोको जुइना लगाइन्छ । त्यही जुइना औंलामा बेरेर मुख, दाँत, जिब्रोको सहारा र स्वास फेर्दै जुइना झट्कार्दै सुमधुर आवाज निकालिन्छ । किरात समुदायमा कोङकोङमालाई ‘बैंसको मायावी बाजा’ पनि भनिन्छ ।

कलाकार तथा संस्कृतिकर्मी जितेन राईको शब्दमा कोङकोङमा प्राचीन कला तथा वाद्ययन्त्र हो । ‘कोङकोङमा ज्ञान, सीप, मनोभावना अभिव्यक्त गर्ने, माइतीले चेलीलाई, प्रियले प्रियसीलाई दिने उपहार हो,’ घाँसदाउरा मेलापातमा थकाई मार्दा बजाइने बाजाबारे चर्चा गर्दै राई भन्छन्, ‘छोरीचेलीले चोलीको देब्रे तुनामा बाबरी फूलसँगै झुन्ड्याउने चलन अहिले पनि छ । छोराको सीप बिनायो हो भने छोरीको सीपको रूपमा कपडा तानबुन्ने, पिरा बुन्ने, सुनाखरीको झुम्का बुन्ने हो ।’ संगीतकर्मी राईले ‘बिनायो’ नामक चलचित्रसमेत निर्माण गरेका छन् ।

मुन्दुम मिथकमा कोङकोङमा

किरात धर्मको अलिखित शास्त्र मुन्दुमसम्बन्धी मिथकमा पृथ्वी, जल, वायु, प्राणी, वनस्पतिको हरेक आयामहरू उत्पत्तिका चरणहरू उल्लेख पाइन्छ । किरात राई जातिको आदिम पुर्खाका दुई छोरी तायामा र खियामा तथा एक छोरा खाक्चिलिपा (रैछाकुले) थिए । मुन्दुम मिथकमा यी तीन सन्तानलाई कृषि युगको प्रवर्तकका रूपमा लिइन्छ । बाबु–आमाको असामयिक मृत्युपछि तीन सन्तान बिचल्लीमा पर्छन् । दुई दिदीले भाइलाई अनेकन दु:ख झेलेर हुर्काउँछन् । समयको घरीपला वर्षहरू बित्दै जान्छ । दुई दिदी उमेरले परिपक्व हुन्छन् । अन्तत: माइतीलाई छाडेर टाढा जाने मत गर्छन् । भाइलाई त्यो कुरो सुनाउँछन् । अन्तत: बिछोडिने बेलामा भाइले दुई दिदीलाई आफ्नो हातको सीप उपहारका रूपमा दिन्छन् । त्यो उपहार कोङकोङमा नै रहेको किंवदन्ती छ । त्यतिखेर भाइले मेरो सम्झना आउँदा यही कोङकोङमा बजाउनू भनेका थिए ।

संस्कृतिविद् तीर्थराज मुकारुङ राईका अनुसार ‘कोङकोङमा’ लाई कसैले ‘कुकुङमा’ पनि भन्छन् । ‘यसको आवाजलाई लिएर नामकरण भएको हो,’ कुनै ठाउँ वा वस्तुको नामकरण त्यसको रूप, क्षमता, विशेषताअनुसार गर्ने गरिएको उल्लेख गर्दै मुकारुङ भन्छन्, ‘हामी सर्वप्राचीन जाति भएको हुनाले बाजागाजा, भूमिलगायत धेरै नामको पछाडि ‘मा’ जोडिन्छ भने पुरुषको पछाडि पछाडि ‘पा’ जोडिएको पाइन्छ ।’

मुकारुङका अनुसार कोङकोङमा धेरै पुरानो बाजा हो । यसलाई प्राकृतिक वनस्पति प्रयोग गरेर बनाइन्छ । पहिले त्यसको रूप केही फरक थियो । उसबखत डोरीविना हिर्काएर बजाइन्थ्यो । मुखमा राख्ने बाँसको चोइटाको जिब्री निकालेर हिर्काइन्थ्यो । पछि डोरीले झड्काएर बजाउने चलन आएको हो । ‘कोङकोङमाको भाका झ्याउँकिरी कराएको आवाज हो, जुन प्रहर प्रहरमा जंगलै थर्काएर बास्छन्,’ झाउँकिरीलाई समयसूचक किराका रूपमा लिइने उल्लेख गर्दै संस्कृतिविद् मुकारुङ भन्छन्, ‘बिहान मेलो हिड्ने बेला, खाजा खाने बेला, खाना खाने बेला, मेला छोड्ने समय तिनै झ्याउँकिरी बासेपछि संकेत मिल्छ । त्यसरी समय दिने प्राणीको आवाजको नक्कल गर्दै कोङकोङ्मा बजाएको हो भन्ने लाग्छ । धेरैवटा कोङकोङमा बज्दा झ्याउँकिरीझैं सुनिन्छ ।’ किरात राई समुदायमा दुईवटा जिब्रो भएको बिनायो हुन्थ्यो । अहिले एकजिब्रे बिनायोमात्र प्रचलनमा छ ।

गीतका शब्दहरूमा ‘बिनायो’ धेरै चर्चित छ । वरिष्ठ लोकसंस्कृतिविद् एलपी जोशीका अनुसार किराती समुदायमा बिनायो बजाउने चलन छ । छोरी चेलीले गहनाकै रूपमा चौबन्दीको तुनामा बाँधेर बोक्छन् । उनैले गाएको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ चर्चित छ । उनले यो गीत धनकुटाको आठपहरिया राईको क्षेत्रबाट संकलन गरी गाएका थिए । यसैगरी हिजोआज कृष्णभक्त राई र सुनिता थेगिमले गाएको ‘बिनायो कङकङ, ए कान्छी घुम्ज जाउँm लैलै मलाया हङकङ’ खुबै चर्चामा छ ।

परम्परादेखि गाउँघरमा बजाइँदै आएको लोकबाजाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र यसको प्याटेन्ट राइट कायम गर्न पहल गरिने संघका अध्यक्ष रामकर राईले बताएका छन् । पहिलो पटकको प्रतियोगितामा नयाँ पुस्ताभन्दा ज्येष्ठ महिला र पुरुषलाई सहभागिताका निम्ति प्राथमिकता दिइनेछ । ‘गाउँघरमा जेजसरी मौलिक पाराले कोङकोङमा बजाइन्छ, त्यसैगरी भिडियोसहितको आवाजलाई समेट्नेछौं,’ अध्यक्ष राई भने, ‘यो बाजाले सामान्य ग्रामीण जनजीवनको प्रतिनिधित्व गर्छ । किरातीले मात्रै बजाउँछन् भन्ने छैन । त्यसैले ससारभरि जो जसले बजाउँछन् उहाँहरू प्रतियोगितामा भाग लिन सक्नु हुनेछ ।’

संघका उपाध्यक्ष तथा कोङकोङमा प्रतियोगिताका संयोजक रोशन चाम्लिङ राई खुल्ला कोङकोङमा (बिनायो) प्रतियोगितामा देश–विदेशबाट जुनसुकै जातिले भाग लिन पाउने छन् । कम्तिमा २ मिनेटको बिनायो बाजाको भिडियो समावेश गरिने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई नगद पुरस्कार प्रदान गरिनेछ ।


प्रकाशित : जेष्ठ २५, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्

यूएनमा पहिलो पटक ‘अल वुमन ब्यूरो अफ सेकेन्ड कमिटी’  

जगदीश्वर पाण्डे

काठमाडौँ — संयुक्त राष्ट्र संघ (यूएन) को इतिहासमै पहिलो दोस्रो समितिको सम्पूर्ण ब्यूरोमा महिलामात्र हुने भएका छन् । यूएनलाई सञ्चालन गर्नको लागि आवश्यक ६ समितिमध्ये दोस्रो समिति ‘आर्थिक र वित्तिय समिति’ मा पहिलो पटक ‘अल वुमन ब्यूरो अफ सेकेन्ड कमिटी’ बनेको हो । 

उक्त ‘आर्थिक र वित्तिय समिति’ ले अगामी सेप्टेम्बरमा हुने ७६ औं यूएनको महासभापछि आफ्नो कामको थालनी गर्नेछ । समितिले अर्थतन्त्र, विकास, दिगो विकास, मानव पुर्नवास, खाद्य, कुपोषण, विश्वव्यापीकरण, गरिबीलगायत क्षेत्रमा काम गर्नेछ ।

अहिले भइरहेको निर्वाचनमा उक्त समितिको अध्यक्षमा यूएनको लागि माल्टाकी आवासीय राजदूत निर्वाचित भएकी छन् । यस्तै, डोमिनिक गणतन्त्र, इरिट्रिया र पोल्यान्ड उक्त समितिमा छन् । तीनै मुलुकबाट यसपटक महिला प्रतिनिधि हुने न्यूर्योकस्थित यूएनका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

उक्त समितिमा नेपालले भने रापोटरको भूमिका पाएको छ । यूएनको लागि नेपालको स्थानीय नियोग न्यूर्योकमा रहेकी प्रथमा उप्रेतीले उक्त जिम्मेवारी पाएकी हुन् । उप्रेतीले एसिया–प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्न लागेकी हुन् ।

यूएनको ७५ औं महासभा यता यूएनका लागि नेपालका आवासीय राजदूत अमृतकुमार राईले उक्त समितिको नेतृत्व गरिरहेका छन् । हरेक एक वर्षमा समितिमा परिवर्तन हुन्छ । अब त्यहि समितिमा सबै सदस्यहरु र रापोटर गरी महिला हुनेछन् ।

‘यो यूएनकै इतिहासमा पहिलो पटक भएको हो,’ परराष्ट्र मन्त्रालयको यूएन, अन्तर्राष्ट्रिय संस्थाहरु तथा अन्तर्राष्ट्रिय कानुन महाशाखाकी प्रमुख तथा प्रवक्ता शेवा लम्सालले भनिन्,‘यसअघि दोस्रो तहका समितिहरुमा महिलाको सहभागिता भए पनि यसरी सबै महिना सदस्य भने भएका थिएनन् ।’

यस्तै, आगामी नोभेम्बरमा हुने यूएनको ७६ औं महासभाको अध्यक्षमा माल्दिभ्सका विदेशमन्त्री अब्दुल साहिद निर्वाचित भएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य समेत रहेको माल्दिभ्सको विदेश मन्त्रीलाई जिताउनको लागि नेपालले पनि सहयोग गरेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

प्रकाशित : जेष्ठ २५, २०७८ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×