कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिटिक्क तिलौराकोट

पुरातात्त्विक संरचनाको संरक्षणपछि पर्यटकका लागि हेर्ने र ध्यान गर्ने ठाउँ तयार
मनोज पौडेल

कपिलवस्तु — बुद्धभूमि तिलौराकोटको मध्यभागमा रहेका तीन ऐतिहासिक तथा पुरातात्त्विक संरचनाको संरक्षण गरिएको छ । पुरातात्त्विक मान्यताअनुसार संरक्षण गरिएपछि संरचना आकर्षक देखिएका छन् । युनेस्कोको समन्वयमा जापनिज फन्ड इन ट्रस्टको सहयोगमा तिलौराकोट अध्ययन, अन्वेषण परियोजनाको तेस्रो चरणअन्तर्गत संरक्षणको काम गरिएको हो । 

चिटिक्क तिलौराकोट

संरक्षणसँगै अहिले तिलौराकोट दर्शनार्थीले अवलोकन र ध्यान गर्ने ठाउँ बनेको छ । मध्यभागको सेन्ट्रल वाल कम्प्लेक्स (सीडब्लूसी) को दक्षिणतर्फको भित्री सुरक्षा पर्खाल संरक्षण गरिएको छ । २५ मिटर लामो र डेढ मिटर चौडा भग्नावशेषमाथि इँटा जोडिएको छ । पर्खालको बीचमा सुरक्षाका लागि बनाइएको चारकुने टावरको पनि संरक्षण गरिएको छ । भग्नावशेष उत्खनन गरी नयाँ इँटा जोडेर जमिनभन्दा करिब १ मिटर माथि उठाइएको छ । जमिनमुनिको भग्नावशेषमा इँटा थपिएको छ ।

पर्खालको लम्बाइ ९ मिटर र चौडाइ डेढ मिटर छ । त्यहाँ एउटा पोस्ट होल (काठबाँसको) खाँबो गाडिएको ठाउँको पनि संरक्षण गरिएको छ । उत्खननका क्षेत्रमा पोस्ट होल निकै महत्त्वपूर्ण मानिन्छ । पहिले–पहिले घर बनाउन इँटा प्रयोग गर्नुअघि काठबाँसको प्रयोग गरिन्थ्यो । त्यही भएर पनि यसले प्राचीन सम्पदाको प्रमाण दिन्छ । उत्खननका क्रममा पाइएका इँटा मौर्यकालीन इसापूर्व तेस्रो शताब्दीका भएको लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । ‘कोरोना संक्रमणको जोखिमका कारण यसपटक उत्खनन अन्वेषणको काम महिना दिन मात्र भयो,’ उनले भने, ‘त्यही बेला संरक्षणको काम पनि गरिएको हो ।’ हाललाई परियोजनाको काम पूरा भएको उनले बताए ।

त्यस्तै, तिलौराकोटको उत्तरतर्फ रहेको समयमाई मन्दिरको पनि संरक्षण गरिएको छ । मन्दिरलाई पुराना र नयाँ इँटासमेत प्रयोग गरी संरक्षण गरिएको हो । ‘मन्दिरमा सातौं शताब्दीको बुट्टेदार इँटा प्रयोग भएकाले १३ सय वर्ष पुरानो भएको त यसै थाहा हुन्छ,’ अधिकृत उप्रेतीले भने ।

रानी मायादेवीको धेरै वर्षसम्म सन्तान नभएपछि त्यही मन्दिरमा पूजाआजा गरेको पौराणिक कथन छ । त्यसकारण यसलाई मायादेवीले पूजाआजा गरेको मन्दिर भनेर पनि यहाँ चिनिन्छ । मन्दिरको सुर्खी र चुनाले इँटा जोडेर संरक्षण गरिएको छ । एक भाग चुना र दुई भाग सुर्खी राखेर जोडिएको र यो जोडाइ लामो समयसम्म टिक्ने र इँटाजस्तै देखिन्छ । रङरोगन गर्न पर्दैन ।

पछिल्लोपटक यहाँ सन् २०१३ देखि उत्खनन र अन्वेषण भइरहेको थियो । स्थानीयको आग्रहपछि तिलौराकोटलाई दर्शनीय बनाउन पहिलोपटक सन् २०१७ मा संरक्षणको काम गरिएको हो । उत्खनन र अन्वेषण परियोजनाअन्तर्गत ५ ठाउँका संरचना संरक्षण गरिएको छ । यसअघि तिलौराकोटका पूर्वी र पश्चिमी द्वार, राजदरबारको भग्नावशेष र बाहिरी सुरक्षा किल्ला पर्खाल मात्र संरक्षण गरिएको थियो । तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा गौतम बुद्धले २९ वर्षसम्मको युवा अवस्था बिताएको ठाउँ हो ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?