प्रदर्शनीमा ४९६ कलाकृति- कला - कान्तिपुर समाचार

प्रदर्शनीमा ४९६ कलाकृति

सुगमदेखि दुर्गम क्षेत्रसम्मका कलाकारहरु आ–आफ्ना कलाकृतिसँगै सहभागी
सुशीला तामा‌ङ

काठमाडौँ — प्रवेशद्वारबाट सोझै हेर्दा देखिन्छ कलाकृतिका लहर । वरिपरि आ–आफ्नै सुरमा अवलोकन गर्दै मन्त्रमुग्ध सहभागी । कलाकै सेरोफेरोमा रहेर छलफलमा व्यस्त रहेका कलाकारहरू अर्को खेमामा छन् । यतिबेला राजधानीको नक्सालस्थित रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कलामय बनेको छ । 

गत बिहीबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ मा देशभरबाट ४ सय ४४ जना कलाकारका ४ सय ९६ कलाकृति समावेश छन् । विधागत रूपमा नै गठित मूल्यांकन छनोट समितिद्वारा चयन गरिएका कलाकृतिहरू मात्र प्रदर्शनीमा छन् । हस्तकला, शिल्पकला, परम्परागत तथा आधुनिक मूर्तिकला, चित्रकला, लोककला, कार्टुनकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाकृतिहरू प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ । मुलुकभरका कलाकार तथा कलाप्रेमीहरूका लागि प्रदर्शनी राष्ट्रिय कला महोत्सवका रूपमा रहेको चित्रकार सञ्जय बान्तवाले बताए । ‘देशका सुगमदेखि दुर्गम क्षेत्रसम्मका कलाकारहरू आ–आफ्ना कलाकृतिहरूमार्फत सहभागी हुनुभएको छ,’ उनले भने, ‘यो प्रदर्शनी हामी कलाकारहरूको कामको मूल्यांकन गर्न महत्त्वपूर्ण अवसर हो ।’ राष्ट्रिय तथा क्षेत्रीयस्तरमा नै सम्मान र पुरस्कारसमेत वितरण हुने भएकाले कलाकारका लागि विशेष हुने उनको भनाइ छ ।

प्रतिष्ठान परिसरमा नै नवनिर्मित अरनिको प्रदर्शनी कक्ष अझ विशेष छ । प्रतिष्ठानले यसै वर्षदेखि आफ्नै भवनमा प्रदर्शनी सुरु गरिएको चित्रकार तथा चित्रकला विभागका प्रमुख सुष्मा राजभण्डारीले बताइन् । उक्त कक्षमा प्रवेश गर्नेबित्तिकै परफर्मेन्स आर्ट, प्रतिस्थापन कला, मूर्तिकला, कार्टुन, समकालीन तथा आधुनिक चित्रकलाहरू प्रदर्शनमा छन् । जहाँ अग्रजदेखि युवा कलाकारहरूका कलाकृतिहरू अवलोकन गर्न सकिन्छ । कलाकृतिहरूमा प्रकृति, धर्म, समाज, मानव र राजनीतिसम्मका विषयवस्तुहरू इंगित छन् । पछिल्लो समय विश्वलाई नै आतंकित बनाइरहेको कोरोना महामारीलाई समेत कलाकृतिहरूमा देखिन्छ ।

प्रदर्शनीमा परम्परागत तथा लोककलाको दाँजोमा समकालीन तथा आधुनिक कलाहरूको नै प्रभुत्व देख्न सकिन्छ । यसमा पनि वास्तुकला तथा मूर्तिकलाभन्दा चित्रकला नै बढी हावी छ । कार्टुनकलामा भने पछिल्लो राजनीतिक घटनाक्रमलाई चोटिलो व्यंग्य गरेको पाइन्छ ।

केही वर्षदेखि प्रदर्शनीहरूमा समकालीन तथा आधुनिक चित्रकलाहरू अधिकतम सिर्जना भइरहेको चित्रकार बान्तवाले आफ्नो कलाकृतितर्फ इसारा गर्दै सुनाए । उनले घोडालाई शक्ति र संघर्षको प्रमुख बिम्ब बनाई चित्रमा उतारेका छन् । जसमा महिलाको आकृतिलाई केन्द्रित गर्दै उनले सपना र स्वतन्त्रतालाई क्यानभासमा नै तीव्र वेगमा उडिरहेको र दौडिरहेको चित्रण गरेका छन् ।

प्रतिष्ठान परिसरमा प्रवेश गर्दा दायाँतर्फको एक कक्षमा भने सुन्दर परम्परागत पौभा तथा थांका कलाहरू प्रदर्शन गरिएका छन् । जेनेन्द्र राई शाक्य, जुजुकाजी महर्जन, चन्द्र लामालगायतले हिन्दु तथा बौद्ध धर्मशास्त्रका अनेक पक्षहरूलाई कलाकृतिहरू उतारेका छन् । प्रदर्शनीले छायामा परेका कलाकारहरूलाई हौसला तथा कला सिर्जनामा प्रोत्साहन दिने थांका चित्रकार लामाले बताए । साढे दुई दशकभन्दा लामो उनको कला यात्रामा उनले प्रतिष्ठानको राष्ट्रिय प्रदर्शनीमा उनले सहभागिता जनाएको यो दोस्रो पटक हो । औपचारिक कला शिक्षा र ज्ञान नभएकाले सिर्जनामा मात्र तल्लीन रहेको उनले सुनाए । उनले भने, ‘हामी थांका चित्र बनाउन र बेच्नमा नै व्यस्त हुँदै आएका छौं । कलाका रूपमा प्रचार र प्रदर्शनी गर्नुपर्छ नै, खासै थाहा नै छैन ।’ प्रदर्शनीले उनी जस्ता समग्र कलाकारहरूलाई समेटिनुपर्ने लामाको आग्रह छ ।

परिसरकै एक कक्षमा भने लोककला प्रदर्शनीमा छ । मिथिला क्षेत्रको लोकजीवन, धर्म, परम्परा, सौन्दर्य तथा आधुनिकतातिर लम्किरहेको मिथिलावासी, स्वतन्त्रतातिर उन्मुख मिथिलाका नारीहरूलाई मिथिला चित्रकलाहरूमा प्रस्तुत गरिएका छन् । समुदायमा नै प्राप्त गर्न सकिने विभिन्न वस्तुहरूबाट निर्मित हस्तकलाका सामग्रीहरूले प्रदर्शनीको शोभा बढाइएको छ । मिथिला चित्रकलामा पनि परम्परागतसँगै आधुनिकताको प्रवेश भएको चित्रकार तथा लोककला विभागका प्रमुख मिथिलादेवी यादवको मत छ । सप्तरीकी रुविकुमारी कर्णले महामारीबाट जोगिन मास्क लगाउने, साबुनपानीले हात धुने सामाजिक दूरी कायम गर्नेलगायतका सचेतनालार्ई मिथिला चित्रमार्फत प्रस्तुत गरेकी छन् । यादवले भने मैथिल समाजमा पतिको सुस्वास्थ्यका लागि महिलाहरूले मानिने वट् सावित्री व्रत तथा पूजालाई चित्रमा उतारेकी छन् ।

प्रदर्शनीमा नेवारी लोककलालाई समेट्न नसकेकामा राजभण्डारीले दुःख व्यक्त गरिन् । ‘हामी आफ्नो मौलिक कला बिर्सेर आधुनिक कलाका नाममा अरूको सिर्जनालाई सिको गरिरहेका छौं । यो कला विकासमा राम्रो पक्ष हुँदै होइन ।’ देशमा परम्परागत कला सिर्जनामा रहेका थुप्रै कलाकारहरू छायामा परिरहेकाले प्रतिष्ठानले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने उनको धारणा छ । उनले भनिन्, ‘कलाकार र कलालाई पहिचान गरी यसलाई अब सिर्जना मात्र होइन, कला उद्योगका रूपमा व्यवसाय बनाउन जरुरी छ ।’

प्रकाशित : वैशाख ८, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

म्यान्मारका दिवंगत सम्झेर

डुंगामा सजाइएका विभिन्न रङका गुलाफका फूलहरुमाथि कालो र सेतो दुइटा औंठाछापमा लेखिएको थियो, ‘ह्युम्यानिटी, वी आर अल कनेक्टेड ।’
सुशीला तामा‌ङ

काठमाडौँ — कलाले निश्चित भाषा बोल्दैन । यसको खास भूगोल छैन । यसले अनेक रङ, रूप, भाषा, धर्म, संस्कृति र देशबारे एउटै लय बोल्छ । त्यही लयलाई पछ्याउँदै हिँड्छन् कलाकार । कलाको फरक भाषा र भूगोल हुँदो हो त म्यान्मारमा प्रजातन्त्र पुनः बहालीका लागि अनाहकमा ज्यान गुमाएका सयौं मानिसप्रति नेपालका कलाकार रवीन्द्र श्रेष्ठको मनमा सहानुभूति पलाउने थिएन ।

तस्बिर : दीपक केसी

म्यान्मारमा गरिएको सैनिक ‘कु’ पछि ज्यान गुमाएकाहरूको स्मृतिमा रवीन्द्रले आइतबार माइतीघरमा कलामार्फत नै श्रद्धाञ्जली अर्पण गरे । डुंगामा देखाइएको प्रतिस्थापन कलामार्फत उनले मानवता र विश्वलाई जोड्ने प्रयास गरेका हुन् । डुंगामा सजाइएका विभिन्न रङका गुलाफका फूलहरूमाथि कालो र सेतो दुइटा औंठाछापमा लेखिएको थियो, ‘ह्युम्यानिटी, वी आर अल कनेक्टेड ।’ डुंगाको अग्रभागमा मृतकहरूप्रति सहभागी दर्शकले पनि श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो भावना अक्षरमा पोखे ।

मानिस जुन भूगोल र परिवेशको भए पनि मानवता जोडिने रवीन्द्र बताउँछन् । ‘म्यान्मारको मानव नरसंहारले मेरो मन छोयो,’ उनले भने, ‘कलामार्फत केही गर्नैपर्छ भनेर म कति रात विचलित भएँ ! त्यही मेरो छटपटीमा यो कला सिर्जना भयो ।’ दिमागमा प्रतिस्थापन कलाका लागि अवधारणा आएपछि उनी डुंगाको खोजीमा लागे । यसमा उनलाई साथ दिए करिमा जोशी र दीपेश लिम्बूले ।

अन्ततः उनले नागदहमा पानीमा आधा डुबिरहेको बेवारिस डुंगालाई बबरमहलस्थित आर्ट काउन्सिलमा ल्याए र एक साताभन्दा बढी लगाएर रङरोगन र साजसज्जा गरे । उनको कामलाई अझै प्रभावकारी र ऐतिहासिक दस्ताबेजका रूपमा राख्न रवीन्द्रसँगै करिमा र दीपेश पनि अहोरात्र खटे । करिमाले रवीन्द्रको हरेक कामलाई तस्बिरमा कैद गरेर राखेकी छन् भने दीपेशले डकुमेन्ट्री फिल्म नै बनाउने योजना बनाएका छन् । उक्त डुंगालाई १७ वर्षअघि कृष्ण मालीले पोखराबाट ल्याएका थिए । डुंगालाई उद्धार र कनेक्सनको प्रतीकका रूपमा लिन्छन् रवीन्द्र । उनी भने, ‘डुंगाले मानिसलाई यात्रामा उद्धार त गर्छ नै, पानी र जमिनलाई पनि जोड्छ । यो मानव सभ्यता र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ । डुंगाले जसरी मानवलाई उद्धार गर्छ, त्यसरी नै म्यान्मारको संकटलाई हामी सबैको प्रार्थना र प्रयासले टार्न सकोस् ।’

डुंगालाई प्रतीकात्मक रूपमा देखाएर ‘पब्लिक आर्ट’ मार्फत सबैको मनलाई जोड्ने काम गरेको उनले बताए । ‘मेरो कलालाई सबै दर्शकले अवलोकन मात्र गरेनन्, म्यान्मारको घटनाप्रति सहानुभूति पनि देखाए,’ उनले भने, ‘कलाले समसामयिक कुरा उठाएर पब्लिकलाई देखाउन सक्नुपर्छ । पब्लिकसँगको सम्पर्कमा आएर उनीहरूको धारणा तथा भावना आफ्नो कलामा मिसाउन पाउँदा बेग्लै आनन्द प्राप्त हुन्छ ।’

खासमा रवीन्द्र दृष्टान्त र अवधारणागत कलाकृति सिर्जनामा रुचि राख्छन् । उनी बन्द कोठा र ग्यालरीमा मात्र होइनन्, दुनियाँको गतिविधिलाई पनि नियालिरहेका हुन्छन् । चाहे राजनीतिक होस् वा सामाजिक जुनसुकै विषयमा उनी कला सिर्जना गरेर सार्वजनिक हुन्छन् । मुलुकको १० वर्षे सशस्त्र द्वन्द्व, भूकम्प, स्वास्थ्य क्षेत्रमा सुशासन स्थापना गर्ने डा. गोविन्द केसी, अमेरिका र नेपालमा रङ र जातका आधारमा गरिएका विभेद, कोरोना महामारीलगायत विषयलाई पनि कलामा उतारेर नागरिकलाई देखाए । जीवनसँग जोड्ने लाइन वर्क, औंठाछाप, ब्ल्याक लाइफ म्याटर्स, दलित लाइभ म्याटर्स, नयाँ युगको बिक्रीजस्ता काममा उनले कलामार्फत खबरदारी गरेका छन् ।

बृहत् नागरिक आन्दोलनलाई समर्थन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युग घोषणा गरेको तस्बिर छापिएको पत्रिकालाई हस्ताक्षर गरेर प्रज्ञाप्रतिष्ठानको डबलीमा बिक्रीसमेत गरेका थिए । उनले गत माघ २३ गते ओलीको आमसभामा ‘नयाँ युगको बिक्री’ सहितको पत्रिका प्रहरीको भीडमा प्रस्तुत गरेका थिए । प्रत्येक क्षेत्रबाट जनताले सरकारको कामकाजको खबरदारी गर्नुपर्ने औंल्याउँदै उनी कला क्षेत्र पनि सक्रिय हुनुपर्ने धारणा राख्छन् । ‘कलाले समाजको कुरा बोलेपछि त्यसलाई पब्लिकमा ल्याउन सक्नुपर्छ र आम मानिसका लागि आवाजको काम गर्नुपर्छ,’ उनले भने, ‘कला र कलाकार समयक्रमसँगै अपडेट र परिवर्तन हुनु आजको आवश्यकता हो ।’

प्रकाशित : वैशाख ६, २०७८ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×