जो नाच्छन् अरूका लागि- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो नाच्छन् अरूका लागि

पीडामा परेकाहरुलाई आफ्नो कलाकारितामार्फत सहायता जुटाएर दिने सोख भएका उनलाई आफ्नो अनुहार भने सार्वजनिक गर्न रहर छैन
सुशीला तामा‌ङ

काठमाडौँ — कर्मले उनी केही भिन्न छन् । समाजको हितका लागि समर्पणको शैली अलि अनौठो छ । सिल्भर रङको पोसाक, टोपी र मास्कभित्र लुकेको छ उनको मानवता । सामाजिक सञ्जालमा उनको नाम छ ‘सिल्भर रोबोपस ।’ उनको यो वास्तविक नाम त होइन नै, सामाजिक सञ्जालको प्रोफाइल तस्बिरमा समेत उनले अनुहार लुकाएका छन् । 

काठमाडौंको वसन्तपुरमा नाच्दै किसन रोका । तस्बिर : सुशीला/कान्तिपुर

अनुहार लुकाएर नै समाजसेवाको बाटोमा आफूलाई दौडाउने यात्रा तय गरेका उनी हुन् चन्द्रागिरि–९ मच्छेगाउँका २३ वर्षीय किसन रोका । रोबोट डान्स र अक्टोपस जस्तै शरीरको चाललाई परिवर्तन गर्दै नाच्छन् । उनले छद्म नाममा समाजसेवाको आफ्नो ध्याउन्तीलाई दैनिक अपडेट गर्दै आएका छन् ।

जो सडकमा मुकुन्डो लगाएर नृत्य गर्छन् र जम्मा भएको रकम समाजसेवामा लगाउँछन् । दिनेले दिएपछि लिनेको हात कसैको अगाडि नआओस् भन्ने चाहन्छन् किसन । भन्छन्, ‘समाजमा मेरो नाम र अनुहारभन्दा पहिले काम अगाडि आओस् । मेरो कामलाई प्रोत्साहन गर्नेहरूले पक्कै पनि नाम र अनुहार त पछि त्यत्तिकै थाहा पाइहाल्नु हुन्छ नि ।’ आगोले पोलेर हाल कीर्तिपुर अस्पतालमा उपचारत जोरपाटीकी पूजा कार्कीलाई सहयोगार्थ किसनले हालै मात्र वसन्तपुरमा दुई दिन नृत्य प्रस्तुत गरे । दुई दिनमा संकलन भएको १५ हजार रुपैयाँ हाराहारी रकम उनले पूजालाई अस्पताल गएर हस्तान्तरण गरे । त्यस्तै काम गर्ने क्रममा दुई तलाबाट खसी घाइते भएका हेटौंडाका सुजन रानामगरको सहयोगार्थ उनले स्वयम्भूमा दुई दिन नृत्य गरी झन्डै ८ हजार रुपैयाँ जुटाए ।

उनी सार्वजनिक स्थानहरूमा संगीतका लागि चाहिने सामग्री जोरजाम गर्छन् र उही सिल्भर रङको पहिरनमा देखा परेर रोबोट डान्स गर्न सुरु गर्छन् । दर्शकको भीड लाग्छ तर उनको वास्तविक अनुहार भने हेर्न पाइँदैन । उनी दुई घण्टा जति निरन्तर नृत्य गर्छन् र दर्शकसँग मास्क लगाएर नै केही नजिक भएर आफ्नो बाटो लाग्छन् ।

असहाय र पीडामा परेकाहरूलाई आफ्नो कलाकारितामार्फत सहायता गर्ने उनको सोख छ तर अनुहार बाहिर सार्वजनिक गर्न रहर छैन । अहिले समाजसेवाको नाममा सामाजिक सञ्जालमा प्रचारका होडबाजीबाट उनी सतर्क छन् । उनी मिडियामा त आउँछन् तर कामबारे मात्र बोल्छन् । ‘मेरो परिचय नै मेरो कला र समाजसेवा हो । म अनुहार अगाडि ल्याएर मेरो बाहिरी रूपलाई प्रचार गर्न सक्दिनँ,’ उनी भन्छन्, ‘मेरो व्यक्तिगत रूपमा जे जति गर्न सक्छु काम नै गरेर देखाउँछु भन्ने सोच हो ।’

विगत पाँच वर्षदेखि उनी नृत्यको क्षेत्रमा छन् । रोबोट मात्र नभएर हिपअप, नेपाली, कथक नृत्यमा उनको खुबी छ । आफ्नो दैनिकी चलाउन उनले नृत्य प्रशिक्षण कक्षा पनि सञ्चालन गरेका छन् । हप्ताको दुई दिन भने उनी समाजसेवाका लागि सडकमा नृत्य गर्छन् । उनले भने, ‘हरेक हप्ता फरक लोकेसन र बिरामीहरू खोज्ने मेरो अर्को काम हो । सोसल मिडिया र चिनेजानेका साथीभाइहरूबाट बिरामी पत्ता लागेपछि उहाँहरूसँग भेटघाट गर्छु र कार्यक्रमका लागि अनुमति लिन्छु ।’ यो हप्ता भने खराब मौसम र कोरोना संक्रमणको दोस्रो लहरले वातावरण प्रतिकूल बन्दै गएकाले कार्यक्रम गर्ने स्थान र कुन बिरामीलाई सहायता गर्ने उनले टुंगो लगाउन सकेका छैनन् । ‘होली खेल्ने क्रममा एकजना नानी घाइते भएर उपचार गराइरहेको पत्ता लागेको छ र फेरि वसन्तपुरमा नै कार्यक्रम नै गर्ने सोचेको छु तर निश्चित भने भएको छैन,’ उनले भने । उनले मच्छेगाउँस्थित स्थानीय वडा कार्यालयमा पनि अनुमति लिएका छन् । केही पीडित व्यक्तिहरूलाई सडक नृत्य गरेर सहयोग जुटाउँछु भनेपछि किसनलाई स्वीकृति दिइएको वडाध्यक्ष देवेन्द्र महर्जनले बताए ।

समाजसेवामा रुचि राख्ने किसनलाई अहिले थोरै भए पनि सहयोग गर्न पाउँदा निकै सन्तुष्टि मिलेको छ । पाँच वर्षअघि सडकमा बेवारिसे वृद्धलाई सहयोग गर्दा मनमा आएको समाजसेवाको भावनालाई अहिले निरन्तरता दिएको उनको भनाइ छ ।

कला र समाजसेवालाई सँगसँगै लैजान पाउँदा झन् उनी दंग छन् । कला नै समाजसेवाका लागि काम गर्ने आधार भएको उनको बुझाइ छ । यसमा उनले उही कला र उनको काम देखाउने उनको प्रण छ । उनको यो सानो प्रयासले तत्काल कसैको घाउको मलमपट्टी बनिदिओस् भन्ने कुरामा भने उनी सदैव तत्पर छन् ।

प्रकाशित : वैशाख ५, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहको पुँजीगत खर्च निराशाजनक

घनश्याम खड्का

म्याग्दी — जिल्लाका सबै स्थानीय तहको दोस्रो चौमासिकसम्मको पुँजीगत खर्च निराशाजनक देखिएको छ । पुरातन शैली, संस्कार र प्रवृत्तिलाई त्याग्न नसक्दा पुँजीगत खर्च २५ प्रतिशतभन्दा कम भएको हो । 

संघीय तथा प्रदेश सरकारबाट स्थानीय तहसम्म बजेट निकासामा ढिलाइ हुने र समयमै योजना सम्झौता तथा कार्यान्वयन नहुने समस्याको पुनरावृत्तिले दोस्रो चौमासिकसम्म पनि खर्च न्यून भएको स्थानीय तहले जनाएका छन् ।

अन्नपूर्ण गाउँपालिकाले जम्माजम्मी १५ प्रतिशतमात्र खर्च गरेको छ । पुँजीगततर्फको १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बजेटको जम्मा १५.११ प्रतिशत मात्र खर्च भएको छ भने चालुतर्फ ३२ प्रतिशत खर्च भएको छ । लेखा अधिकृत जयप्रसाद सुवेदीका अनुसार, प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा छनौट भएका योजना सम्झौता भै अधिकांश सम्पन्न भएपनि भुक्तानी रोकिदाँ भौतिक प्रगति न्यून देखिएको हो । ‘काम र भुक्तानी गर्ने मुख्य समयमा २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत रिक्त रह्यो, अव प्रगति बढ्छ’ सुवेदीले भने, ‘हाम्रो मात्र होईन देशभरी नै चैत–असार योजना निर्माणमा हतारोको सिजन हो ।’

मंगला गाउँपालिकाले फागुन मसान्तसम्म पुँजीगततर्फ १६ प्रतिशत खर्च गरेको छ । चालुतर्फ भने ४१ प्रतिशत खर्च छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले गापाभित्रका सवै ५ वटै वडासचिव रिक्त रहेकोले योजना कार्यान्वयनमा समस्या भएको बताए । मालिका गाउँपालिकाले चालुवर्ष छनौट गरेका २ सय १५ मध्ये दोस्रो चौमासिकसम्म १ सय ३९ योजनामात्र सम्झैता भएको छ । गाउँपालिकाले १५ वेड क्षमताको दरवाङ अस्पतालसहित ३१ योजना सम्पन्न गर्दा पुँजीगततर्फ २१.८१ प्रतिशत र चालुतर्फ ३७.७९ प्रतिशत बजेट खर्च भएको छ । जिल्लाको करिव धवलागिरी गाउँपालिकाले पुँजीगततर्फ १४ करोड २३ लाख रुपैयाँमध्य २४.२९ प्रतिशत खर्च गरेको जनाएको छ । त्यस्तै, चालुतर्फको २५ करोड ४० लाख मध्ये ३२.६ प्रतिशत खर्च गरेको छ । रघुगंगा गाउँपालिकाले दोस्रो चौमासिकसम्म पुँजीगततर्फ १३ करोड ८७ लाख मध्ये २३ प्रतिशत मात्र खर्च गर्न सकेको छ । चालुतर्फ २८ करोड ३७ लाख रुपैयाँमध्ये ३७.५७ प्रतिशत खर्च गर्न सकेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । बेनी नगरपालिकाले पुँजीगततर्फको २० करोड ८७ लाख मध्ये ३५.ं९१ प्रतिशत र चालुतर्फ ४२ करोड २९ लाखमध्ये ५१ं.१८ प्रतिशत खर्च भएको लेखापाल रत्न केसीले बताए ।

प्रकाशित : वैशाख ५, २०७८ १०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×