घलेगाउँमा राजु र टीकाको दोहोरी

दोहोरीमा मायाप्रेम हुँदै दुःखसुखका कुरा गहिरिँदै जाँदा सुन्न आएका वृद्धवृद्धा मात्रै होइन, स्वयम् गायक–गायिका पनि भावुक बने अनि दुवैको सल्लाहमा गायन रोकियो ।
आश गुरुङ

लमजुङ — घलेगाउँको डाँडामा घमाइलोसँगै चिसो सिरेटो चल्दै थियो । लोकदोहोरी गायक राजु परियार र टीका सानु आउने खबरसँगै उत्तरकन्या आधारभूत विद्यालयको प्रांगण स्थानीय र नयाँ वर्ष मनाउन आएका पाहुना तथा आन्तरिक पर्यटकले भरिभराउ थियो । भीडलाई छिचोल्दै सुरुमा राजु र त्यसपछि टीका मञ्चतर्फ सोझिए ।

घलेगाउँमा राजु र टीकाको दोहोरी

दुईबीच दोहोरी प्रतियोगिता हुने भयो । आयोजक पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले थालमा ५० हजार रुपैयाँ राखे र जित्नेलाई पुरस्कार दिने घोषणा गरे । तीन जनालाई निर्णायक पनि तोकियो । पूर्वसांसद जमीन्द्रमान घलेले ‘झिमझिम सानु’ बोलको गीतमा तुक्का उठाए–

‘शुभ रहोस् सबैको भावना

नयाँ सालको छ शुभकामना ।’

राजुले २३ वर्षपछि दोहोरी गीत प्रतियोगितामा भाग लिएको सुनाए । लोकदोहोरीमा अब्बल मानिने राजुले यस्तो भनिरहँदा थपडीसँगै मञ्च र दर्शकदीर्घामा कानेखुसी चल्यो– उनले दोहोरीमा आफू हार्न पनि सक्ने जनाउ दिए । गाउन थाले ।

‘कस्तो लाग्यो टीकालाई घलेगाउँ

टीका आउँदा झल्मलै बल्यो गाउँ’

टीकाले जवाफ फर्काउँदै भनिन्–

‘सबै कुरा रहस्यमय छ,

घलेगाउँ त स्वर्ग नै रहेछ’

दोहोरी घम्साघम्सी आधा घण्टासम्म चल्यो । पहिलो चरणको दोहोरी सकिएपछि दोस्रो चरण ‘कोदो रोप्दा लाएको पिरती’ बोलमा मायाप्रेममा डुब्यो । राजुले गाए–

‘आजकल मलाई के हुन्छ हुन्छ

डाँडापाखा देख्यो कि मन रुन्छ’

टीकाले केही शंकालु जवाफ फर्काइन्–

‘पक्कै तिम्ले केही कुरा लुका हो

भन राजु के मा मन दुखा हो’

दोहोरीमा मायाप्रेम हुँदै दुःखसुखका कुरा गहिरिँदै जाँदा उपस्थित वृद्धवृद्धा मात्रै होइन, स्वयम् राजु र टीका पनि भावुक बने । दुवैको सल्लाहमा गायन रोकियो । ‘गाउने त धेरै मन थियो तर धेरै पीडा दिन हुँदैन भन्ने हिसाबले गीतलाई बीचमै रोक्यौं,’ राजुले भने ।

लोकदोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले दुवै कलाकारले गहिराइ, भावपूर्ण र उच्चस्तरको दोहोरी प्रस्तुत गरेको बताए । दोहोरीमा राजुलाई साथ दिएका उनले अग्रजबीचको यस्तो प्रतियोगिताले अनुज कलाकारलाई ठूलो हौसला मिल्ने बताए ।

निर्णायक मण्डलका तर्फबाट कृष्णप्रसाद अधिकारीले पुरस्कार टीका सानुको पोल्टामा पुगेको घोषणा गरे । उनलाई पूर्वसांसद घले, पर्यटन समितिका अध्यक्ष घलेलगायतले अबिर, खादा लगाइदिएर ५० हजार रुपैयाँ पुरस्कार दिए ।

‘राजु दाइसँग यसरी दोहोरी गीत गाउने पहिलो अवसर मिल्यो । हामीजस्तै भर्खर सिक्दै गरेकालाई अग्रज दाजुहरूको यस्तै माया, साथ र सहयोगको आवश्यकता छ,’ उनले भनिन् । राजुले जितहारको कुरा नभई लोकदोहोरी क्षेत्रका उदीयमान कलाकारलाई हौसला प्रदान गरेको बताए । ‘प्रतियोगितामा भाग लियौं । कसले जित्यो र हार्‍यो भन्दा पनि टीका बैनीलाई अझै २/३ ठाउँमा यसरी नै जिताउन मन छ अनि मात्रै कलाकारमा हौसला बढ्छ,’ उनले भने । नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानबाट आएका अन्तरिक पर्यटकले दोहोरीको मज्जा लिन पाए ।

प्रकाशित : वैशाख ३, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?