राज्यमन्त्रीको सांगीतिक कीर्तिमान- कला - कान्तिपुर समाचार

राज्यमन्त्रीको सांगीतिक कीर्तिमान

सिर्जनाको मूल्य नहुँदा कैयौं सर्जक राम्रो गर्दागर्दै पनि पलायन भइरहेको अवस्थाप्रति मानन्धरको चिन्ता
सुशीला तामा‌ङ

काठमाडौँ — बाल्यकालमा बुबाले भजन गाउँदा उनी चाख मानेर सुन्थे र त्यसैको सिको गर्थे । यौवनकालमा टोल छिमेकमा थुप्रै क्लबमा आबद्ध भएर साथीभाइलाई सांगीतिक कार्यक्रम आयोजना गर्न सघाउँथे । संगीत प्रशिक्षणमा पनि उनले अरुलाई हौसला प्रदान गरे ।

फाइल तस्बिर

तर आफू भने प्रत्यक्ष संगीत क्षेत्रमा कहिल्यै अग्रभागमा देखा परेनन् । यद्यपि संगीतलाई केही न केही पाटोबाट माथि उठाउने प्रण थियो, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको ।

सांगीतिक फाँटप्रति रहेको आफ्नो मोहलाई भने उनले एकै पटक विश्व कीर्तिमानीको बाटोमा ल्याएर सार्वजनिक गरिदिए । गत पुस १० मा राजधानीमा सम्पन्न ‘सोलो कन्सर्ट बाई अस्ट्यान्डिङ मिनिस्टर’ कार्यक्रममा उनले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर ‘वर्ल्ड बुक अफ रेकर्ड’ मा विश्व कीर्तिमान राखे । उनले नारायण गोपाल, तारादेवी, अरुणा लामा, दीप श्रेष्ठ, कर्णदासलगायतका ५९ वटा गीत गाएका थिए ।

नेपाली संगीतलाई माथि उठाउने उद्देश्यले आफूले उक्त प्रयास गरेको मानन्धर बताउँछन् । संगीतप्रति उनको मोह त थियो तर यसैमा लागेर कलाकार बन्छु भन्ने कहिल्यै सोचेनन् । उनी हरेक दिन योगकै रूपमा रियाज गर्थे, यो क्रम अहिले पनि जारी छ । ‘संगीतमा मेरो एक किसिमको लगाव पहिलेदेखि नै रहेछ । २०३५ सालतिर देउसी खेलेर जम्मा भएको पैसाले पटनामा गएर दुई सय रुपैयाँको गितार किनेको थिएँ । समय बित्दै जाँदा यो कुरा महसुस नै गरिनँ,’ उनले भने, ‘लकडाउनका बेला संगीतमा विश्व कीर्तिमानका बारेमा अध्ययन गर्दै गएँ । स्टेजमा स्ट्यान्डिङ भएर संगीतमा कीर्तिमानी कायम गरेको देखिनँ । हरेक दिन रियाज गरिरहेकाले गीत गाउन सक्छुजस्तो लागेर रेकर्ड राख्ने अठोट गरेँ ।’

नयाँ दिल्लीमा आयोजित समारोहमा मानन्धरलाई भारतका सामाजिक न्याय तथा राज्यमन्त्री रामदास आठवलेले ‘वर्ल्ड बुक अफ रेकर्ड’ को प्रमाणपत्र हस्तान्तरण गरिसकेका छन् । ‘विश्वमा संगीतबाट रेकर्ड राख्नु नै नेपाली संस्कृति र सांस्कृतिक पहिचानलाई माथि उठाउनु हो । नेपाल अनेक कला, संस्कृति र संगीतमा धनी छ तर कलाकार गरिब छन्,’ मानन्धर भन्छन्, ‘कला र कलाकारलाई राज्यको नीतिगत तह र विश्वमा पुराउनु नै मेरो मुख्य उद्देश्य हो ।’ नेपालमा प्रविधिको विकाससँगै संगीत क्षेत्रमा स्रष्टा मारमा परिरहेको उनले नियालिरहेका छन् । सिर्जनाको मूल्य नहुँदा कैयौं सर्जक राम्रो गर्दागर्दै पनि पलायन भइरहेको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । ‘रेडियो नेपालमा रेकर्ड भएका थुप्रै गीत विभिन्न संस्थाले आफ्नै सम्पत्ति बनाएर बिक्री गरिरहेका छन्,’ उनले भने, ‘यो प्रवृत्ति तत्काल रोक्न जरुरी छ । स्रष्टाको प्रतिलिपि अधिकार स्थापनाका लागि विशेष रूपमा लागिपरेको छु ।’

प्रतिलिपि अधिकारका लागि संगीत रोयल्टी संकलन समाजले प्रभावकारी रूपमा काम गर्न नसकेको उनको गुनासो छ । सबै सिर्जना र स्रष्टाको अभिलेख आधिकारिक रूपमा राख्न नसक्दा समस्या समाधान हुन नसकेको उनले बताए । ‘कुनै गीतमा रचनाकार, संगीतकार तथा गायक उत्तिकै हकदार हुने भएकाले यी तीन पक्षले सिर्जनाको उत्तिकै मूल्य पाउनुपर्छ,’ उनले भने ।

यसका लागि प्रतिलिपि अधिकार स्थापित गर्न संस्थागत रूपमा अगाडि बढिरहेको मानन्धरले बताए । नीतिगत रूपमा नै प्रस्ताव भइसकेकाले छिट्टै योजनाले मूर्तरूप पाउनेमा उनी विश्वस्त छन् । प्रविधिसँग प्रत्यक्ष जोडेर सर्भर नै खडा गर्ने उनको योजना छ । ‘सर्भरमा लिंक भएपछि कसको रचना कसले प्रयोग गर्‍यो भन्ने यकिन तथ्यांक हुन्छ र स्रष्टाले पाउने मूल्य सीधै प्राप्त हुन्छ,’ उनले भने, ‘यसका लागि प्रत्येक स्रष्टा दर्ता हुनैपर्छ ।’

प्रकाशित : वैशाख ३, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

गर्मी छल्न सोलाभन्ज्याङ

राजकुमार कार्की

सिन्धुली — सिन्धुली बहुमुखी क्याम्पसका प्राध्यापक ईश्वर बस्नेत साताको एक पटक सोलाभन्ज्याङ पुग्छन् । सदरमुकाम सिन्धुलीमाडीको उखरमाउलो गर्मी छल्न उनी २० किमि र उत्तरमा रहेको सोलाभन्ज्याङमा पुगेर आनन्द लिन्छन् ।

‘गर्मी भुल्नका लागि म प्रायजसो सोलाभन्ज्याङ आउँछु, यहाँ बेग्लै आनन्द छ,’ उनी भन्छन्,‘ यो ठाऊँमा १२ महिना नै जाडो हुन्छ ।’ सदरमुकामबाट उत्तरतर्फ र खुर्कोटबाट उकालो लागेपछि उस्तै दूरीमा पुगिने सोलाभन्ज्याङ सिन्धुलीगढी क्षेत्रको प्रवेशद्वार पनि हो ।

फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले सदरमुकाम आवतजावत गर्दा गढी नजिकको सोलाभन्ज्याङमा केही समय बिताउने गर्छन् । सदरमुकाम र आफ्नो गाउँपालिकाको कार्यालय रहेको गढतीर क्षेत्रमा उखरमाउलो गर्मी हुन्छ । गढी क्षेत्र आएपछि गर्मीको समयमा समेत हुने जाडोले आनन्द पाइने अध्यक्ष कार्कीको अनुभव छ ।

कामको चटारो त्यहीमाथि गर्मीले गर्दा धेरै नै थाकिएको हुन्छ, अध्यक्ष कार्कीले भने, ‘सोला आउना साथ बेग्लै आनन्द हुन्छ, फुर्सद छ भने गढी नै उक्लिएर आनन्द लिइन्छ, चटारो छ भने पनि एक, आधा घण्टा यहाँ बिताइन्छ ।’ फिक्कलका अध्यक्ष कार्की मात्र होइन्, गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीको पनि अनुभव उस्तै छ ।

‘तनाव र थकान मेटाउने थलो गढी क्षेत्र हो,’ उनले भने, ‘१२ महिना यहाँ हुस्सु लागेर जाडो भइरहन्छ, झन गर्मीमा स्वर्गीय आनन्द नै प्राप्त हुन्छ ।’ गढी क्षेत्रको बृहत्तर विकास गर्न सके पर्यटकको ओइरो लाग्ने उनको भनाइ छ । गोलन्जोर कै वडा नं ५ रातनचुराले गढी क्षेत्रलाई छोएको र त्यसलाई साइकल जोनको रूपमा विकास गर्न गाउँपालिका लागि परेको अध्यक्ष कार्कीले बताए ।

यी जनप्रतिनिधिहरू मात्रै हैन, संघ तथा प्रदेश सांसद, मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीदेखि लिएर बीपी राजमार्ग हुँदै सवार गर्ने जो कोही पनि सोलाभन्ज्याङ क्षेत्रमा शीतल लिन रोकिन्छन् । गढी क्षेत्रमा बसोबासको राम्रो व्यवस्था हुने हो भने केही दिन बिताउनसमेत पर्यटक आउने सिन्धुलीगढीका अन्वेषणकर्ता सागरकुमार ढकालको भनाइ छ ।

सदरमुकामबाट २० किमि उत्तरतर्फ गएपछि उक्त क्षेत्र पुगिन्छ । गर्मी मौसममा समेत सिन्धुलीगढी क्षेत्रमा जाडो हुने गरेको छ । गर्मी भुलाउन र प्राकृतिक सौन्दर्यको मज्जा लिन तराई क्षेत्रको हब सिन्धुलीगढी क्षेत्र बन्दै गएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ १२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×