२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

समुदायमा पुग्ने कला

सुशीला तामा‌ङ

काठमाडौँ — सतेन्द्रकाजी श्रेष्ठले झन्डै साढे तीन दशक पर्यटन व्यवसायको क्षेत्रमा बिताए । आफ्नो आँखै अगाडि सोल्टी होटलमा पर्यटकहरू निदाइरहेको उनले नियालिरहेका थिए । निदाएका पर्यटकलाई ब्युँझाउन भने उनले कला विधालाई रोजे ।

समुदायमा पुग्ने कला

कालीमाटीदेखि सोल्टीमोडसम्मको क्षेत्रलाई पर्यटन बजारका रूपमा विस्तार गर्न श्रेष्ठले सोल्टीमोडको लसतामार्गमा घरमा आर्ट ग्यालरीसँगै क्याफेको सुरुवात गरेका छन् । कलालाई पर्यटन क्षेत्रसँग जोड्न ग्यालरीसँगै क्याफेको अवधारणा अगाडि सारिएको उनले बताए । ‘हामीसँग थुप्रै कलात्मक उत्पादनहरू छन् तर त्यसलाई बाहिर निर्यात गर्न सकेका छैनौं,’ उनले भने, ‘वस्तु निर्यातका लागि मुख्य आधार नै पर्यटन हो । प्लाटिनम, ग्रान्ड, सोल्टीजस्ता होटलमा सुतिरहेका पर्यटकलाई बाहिर निकाल्ने कोसिस गरौं ।’

हरिवंश आचार्य, किरण मानन्धरलगायतका कलाकारहरूको सहभागितामा हालै मात्र सुरु भएको ‘सोभिनियर्स ग्यालरी क्याफे’ मा चित्र, संगीत तथा खानाको स्वादको साथ आनन्द लिन सकिन्छ । ग्यालरी क्याफेको सुरुवातकै दिनदेखि ललितकला चित्रकला विभागका प्रमुख तथा चित्रकार सुष्मा राजभण्डारी, कृष्ण मानन्धर, कृष्णप्रकाश शाह, नेमबहादुर तामाङ, मुकेश श्रेष्ठलगायतका चित्रकारहरूका कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन् । प्रारम्भमा सुरसुधाका कलाकारहरू सुरेन्द्र श्रेष्ठ र प्रेम राणालगायतकाले वाद्यवादन प्रस्तुति दिएका थिए ।

हस्तकला व्यवसायीसँगै कला र कलाकारसँग नजिकको सम्बन्ध बनाएका श्रेष्ठलाई तीन दशकअघि नै आर्ट ग्यालरी नै स्थापना गरेर दर्शक र कलाकारबीचको पुलका रूपमा उभिनुपर्छ भन्ने भावना जागृत भएको थियो । ग्यालरीको अवधारणाअनुसार नै उनले २०४३ सालमा परम्परागत शैलीमा कलात्मक ढंगले घर बनाए । पारिवारिक भेटघाट तथा कार्यक्रममा उनले वास्तुकला, चित्रकलाहरू देखाउँदै आएका थिए । कलात्मक किसिमको घरको डिजाइन तथा कलाको सजावटले नै अनौपचारिक ग्यालरीका रूपमा त्यतिबेला नै सुरुवात गरे पनि नौलो रूपमा कसरी औपचारिक रूपमा जान सकिएला भन्नेबारे उनी सोचमग्न थिए । त्यसैमा उनलाई साथ दिए चित्रकार राजभण्डारीले । श्रेष्ठका अनुसार राजभण्डारीलगायतको सहयोग र समर्थनमा ग्यालरीलाई औपचारिक रूपमा अगाडि ल्याइएको हो ।

ग्यालरी क्याफेमा छिर्नेबित्तिकै सुमधुर संगीतको धुनमा कलात्मक वास्तुकलासँगै चित्रकलाहरू मौलिक खानाको स्वादसँगै अवलोकन गर्न सकिन्छ । जहाँ कलाकार मणिरत्न वज्राचार्यको काष्ठकलादेखि राजभण्डारीको मूर्त तथा अर्धअमूर्त शैलीमा कोरिएको गणेश सिजिरका चित्र, अन्य चित्रकारहरू मानन्धर, शाह, तामाङ, श्रेष्ठका मन्त्रमुग्ध कलाकृतिहरू प्रदर्शन गरिएका छन् । घर निर्माणकै क्रममा पनि कलात्मक काष्ठकलाहरूलाई लाखौं मूल्यमा खरिद गरेर सजाइएको श्रेष्ठले सुनाए ।

ग्यालरीको एक कोठाको भित्तामा प्रदर्शित शाहका चित्रहरूले बजिरहेको संगीतको धुनलाई सुर मिलाइरहेको भान हुन्छ । मानसिक आनन्द र शान्तिका लागि संगीतको धुनजस्तै रंगहरूमार्फत कला सिर्जना गरिएको शाहले खुलाए । अमूर्त शैलीमा तयार गरिएको उनको चित्रमा कुनै वस्तुको रूप त छैन तर अवलोकन गर्नेले आफ्नै हिसाबले रङभित्र छिरेर रङको भाषा अर्थ्याउन सक्ने उनको दाबी छ । ग्यालरीमा एक महिनापश्चात् अर्को कलाकृति प्रदर्शन हुनेछन् ।

कलालाई आम जनसमुदायमा पुर्‍याउन निजी तहबाट धमाधम ग्यालरीहरू सञ्चालनको अभ्यास पुरानै हो । सिद्धार्थ आर्ट ग्यालरी, मिथिला येन आर्ट ग्यालरी, क्लासिक आर्ट ग्यालरी, एम क्युब, दलाई ला आर्ट, तारागाउँ म्युजियमजस्ता दर्जनको हारहारीमा रहेका ग्यालरीहरूले निरन्तर रूपमा कला प्रदर्शनीहरू गर्दै आइरहेका छन् । चित्रकला तथा शिल्पकलालाई क्यानभास, रङ, कुची तथा अनेकौं माध्यममा व्यक्त गर्ने कलाकारहरू आ–आफ्नै निजी ग्यालरी सञ्चालनमा अग्रसर देखिन्छन् । पछिल्लो समय भने ग्यालरीसँगै क्याफेको अवधारणा निकै अगाडि बढेको कला समीक्षक रमेश खनालको बुझाइ छ । बाह्य मुलुकमा क्याफेसँगै आर्ट ग्यालरीको मान्यता भएको खनालले सुनाए ।

खनालको भनाइमा सहमत हुँदै शाहले भने, ‘कलालाई ठूलो ग्यालरीमा नै प्रदर्शन गर्नुपर्छ भन्ने मान्यतालाई तोड्डै हामी कलाकार अब आम समुदायमा आउनुपर्छ । संगीतजस्तै चित्रकलालगायतका अन्य विधाहरू पनि अब सजिलै समुदायको पहुँचमा पुग्न जरुरी छ ।’ मानिसले जेजति मिहिनेत र दुःख गर्छ, आनन्दको प्राप्तिकै लागि गर्ने जिकिर गर्दै शाहले ग्यालरीमा चित्र, संगीतको धुन र खानाको स्वादसँगै तीन वटा चीज एकै ठाउँमा मिल्ने बताए । ग्यालरीले दर्शक र कलाकारबीच सम्बन्ध विस्तार हुनुका साथै सजिलोसँग आम जनसमुदायमा कलाको पहुँच बढ्ने आशा राखेका छन् । मुलुकमा सिर्जना गरिएका कलाकृतिहरू बाहिर पुग्न सकेमा विश्व बजारको पहुँचले चित्रकार तथा कलाकारको जीवनस्तर माथि जाने शाहको बुझाइ छ ।

राजभण्डारीले नेपाल खुला संग्रहालयका रूपमा चिनिए पनि देशभित्र र अन्तर्राष्ट्रिय बजारको पहुँचमा कला अगाडि बढ्न नसकेको बताइन् । निजी तहमा खुलेका ग्यालरीहरूले त्यो अभावलाई पूर्ति गर्ने उनको धारणा छ । आजको कला बजारलाई पर्यटन क्षेत्रसँग जोड्न नै यो प्रयासको थालनी गरिएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?