नौमती जोगाउने जमर्को

झापामा रहेको पूर्वेली नौमती बाजा महिला समूहलाई बिहेका लागि धमाधम अर्डर आउन थालेको छ 
पर्वत पोर्तेल

बिर्तामोड — झापा आन्दोलनका योद्धा सहिद रामनाथ दाहालकी जेठी छोरी ६३ वर्षीया शान्ता दाहाल दमाहा बजाउँछिन् । साइँली ५४ वर्षीया शोभा दाहालको गलामा ट्याम्को झुन्डिएको छ । अनि ५२ वर्षीया कान्छी सुशीलाचाहिँ दुवै गाला फुलाउँदै सहनाई फुक्दै छिन् । 

नौमती जोगाउने जमर्को

झापामा कम्युनिस्ट आन्दोलनका अगुवा नेता दाहालका छोरीहरूको स्वभाव बाबुको झैं विद्रोही खालको छ । सधैं समानताको पक्षमा उभिन्छन् । जातले ब्राह्मण कुलका तीन दिदी–बहिनी समाजलाई चुनौती दिँदै नौमती बाजा संरक्षणमा जुटेका छन् । झापा बिर्तामोड–२ मा उनीहरूसहितको पूर्वेली नौमती बाजा महिला समूह छ । यसै समूहमार्फत उनीहरू नौमती बजाउँदै हिँड्छन् । ‘नौमती बजाउँदा जात कसरी जाँदो रहेछ हेर्दै छौं,’ विद्रोहीभावमा शान्ता भन्छिन् । महिला समूहलाई शनिबार बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले निम्त्याएको थियो । उनीहरूले शिक्षक, विद्यार्थी र अभिभावकसामु झ्याइँझ्याइँ नौमती घन्काए । यो देखेर सबै छक्क परे । समूहमा सबै गैरदलित महिलामात्रै छन् ।

नौमती बाजा संरक्षण गर्दै बजाउने जुक्ति निकालेकी हुन् मनीषा सिटौलाले । ‘पाँच वर्षअघिको सोचले बल्ल मूर्त रूप पायो,’ उनले सुनाइन्, ‘यसका लागि धेरै संघर्ष गर्नुपर्‍यो ।’ उनले समूह बनाएर काम गर्ने प्रयत्न थालिन् । तर घरपरिवारबाट सहयोग पाइनन् । समाजले ‘दमिनी’ को ट्याग झुन्ड्याइदेला भन्ने डर परिवारको थियो । त्यही कारण उनी अघि बढ्न सकिनन् । अन्ततः योजना तुहियो । केही वर्षअघि सहारा नेपाल नामक सहकारी संस्थाले नौमती संरक्षण गर्ने महिला समूहलाई वार्षिक अनुदान उपलब्ध गराउने सूचना निकाल्यो । तर, टिम नपुग्दा अनुदान रकम उम्कियो ।

‘वर्ष दिनअघि बल्लतल्ल दिदीबहिनीलाई मनाएर टिम बनाइयो,’ मनीषाले भनिन्, ‘तर, सहाराको परियोजना नै सकिएछ ।’

योजनाको फाइल बोकेर महिला समूह वडा २ कार्यालय गयो । योजना सुनेपछि वडाध्यक्ष नगेन्द्र संग्रौलाले बाजागाजा खरिदका लागि १ लाख रुपैयाँ सहयोग गर्ने निधो गरे । वडाको रकम लिन उनीहरू नगरपालिका कार्यालय पुग्यो । नगरले ‘महिलाहरूले यत्रो साहस गर्नुभएछ’ भनेर ३० हजार थपिदिएपछि उनीहरू अझ उत्साहित बने । गैरदलितले बजाउन हुँदैन, झन् महिलाले त हुँदै हुँदैन भन्ने गलत सोचलाई कसरी हटाउने र संगठित हुने भन्नेमा सुरुमा अन्योल थियो । उनीहरू पछि हटेनन् । स्थानीय सरकारबाट पाएको सहयोगले अघि बढ्न थप सहयोग मिल्यो ।

गत वर्ष बाजा किनेर सिक्न थालेको चार दिनमात्रै भएको थियो, लकडाउन भइदियो । योजना चौपट भयो । ‘बल्लबल्ल टिम बनाइएको थियो । बन्द भएपछि महिलाहरूले फेरि बजाउन मान्नुभएन,’ शान्ताले सुनाइन्, ‘७/८ महिना कोरोनाले खायो । फेरि जुटाउन खोजेको टिम नै तितरवितर भयो ।’ धेरै महिला आफन्तले गाली गरेको भन्दै पन्छिए । तेस्रो प्रयत्नपछि पुनः नयाँ टिम बनाइयो । यही टिम अहिले नौमती संरक्षणमा जुटेको छ ।

सहनाईमा मिरा चम्लागाईं, सुशीला दाहाल, निर्मला प्रसाइँ छन् । मनीषा सिटौला र चन्दा सिटौलालाई नरसिंहाको जिम्मेवारी छ । शोभा दाहाल टेम्को बजाउँछिन् भने दमाहामा शान्ता पौडेल र सिर्जना गौतम छन् । वामतालमा गोमा विमली र अन्जना अर्याल तथा ढोलकीमा कृष्णमाया बुढाथोकी, झ्याम्टामा मीना प्रसाइँ र सावित्रा शिवाकोटी छन् । दुर्गाप्रसाद ठटाल र अमृतबहादुर दर्नालले उनीहरूलाई नौमती बजाउन सिकाएका थिए । ‘नरसिंहा र सहनाई सिक्नचाहिँ एकदम गाह्रो भो,’ मनीषाले सुनाइन्, ‘अरू बाजा त सजिलै लाग्यो ।’ महिलाहरूको यो समूहलाई नौमती बाजाका लागि धमाधम बिहेको अर्डर आउन थालेको छ ।

प्रकाशित : वैशाख १, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?