१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

यायावर राष्ट्रगान गायक

पोखरामा एउटै मञ्चमा ८० र काठमाडौंमा एक सय देशका राष्ट्रगान गाएर विश्व यात्रामा निस्कने तरखर 
दीपक परियार

पोखरा — विश्व एउटै देश हुँदो हो त राष्ट्रगान पनि एउटै हुन्थ्यो । न पासपोर्ट बनाउनुपर्ने झन्झट, न भिसा लगाउनुपर्ने बाध्यता, न ‘ओभरस्टे’ को कानुनी अड्चन । विश्वचर्चित गायक जोन लेननले आफ्नो गीत ‘इम्याजिन’ मा भनेजस्तै, ‘इम्याजिन देयर इज नो कन्ट्रिज...’ ।

यायावर राष्ट्रगान गायक

देशको सिमानाभित्र नबाँधिएर उन्मुक्त हुन रुचाउने पुस्ताको प्रतिनिधि पात्र हुन्, रामजी नेपाली । उनी १ सय २० देशको राष्ट्रगान गाउन सक्छन् । लय, शब्द सबै कण्ठस्थ । उनै यायावर गायक ती राष्ट्रगान गाउँदै पैतालाले विश्व नाप्दै छन् ।

रामजीको वास्तविक नाम दलबहादुर हो । बागलुङ बजार नजिकैको भीरलांखुरीमा जन्मिएका यी गायक रामजीकै नामबाट चिनिए । ४२ वर्षका उनी राष्ट्रगान गाएर मुलुक चिनाउन विश्वयात्रामा निस्कँदै छन् । विश्वयात्रामा निस्कने सोच भने उनले चार वर्षअघि बनाएका हुन् । बागलुङ सेवा समाजको निम्तोमा उनी सन् २०१७ मा फ्रान्स, नदरल्यान्ड, स्पेन र बेल्जियम घुम्ने मौका पाए । उनी जहाँ–जहाँ सांगीतिक प्रस्तुतिका लागि पुगे, त्यहाँ–त्यहाँ नेपालसहित पाँचवटा देशको राष्ट्रगान सुनाए ।

उनी विश्वयात्रामा निस्किएको पोहोरै हो । भारतका सात प्रान्त घुमिसकेर बंगलादेश जान खोज्दा कोरोना महामारीले बीचैमा रोकिनुपर्‍यो । सिलिगुडीबाट नेपाल फर्किए । त्यतिबेला उनी २५ देशका राष्ट्रगान गाउने भइसकेका थिए । कोरोना महामारी उनका लागि अवसर बन्यो । घरमै बसेर युट्युब चहारे । विभिन्न देशका राष्ट्रगान खोज्दै गाउने अभ्यास गरे । अहिले उनी २ सय ३२ वटै देशका राष्ट्रगान गाउन केन्द्रित छन् । पोखरामा एउटै मञ्चमा ८० र काठमाडौंमा एक सय देशका राष्ट्रगान गाएर विश्वयात्रामा निस्कने तर्खरमा उनी छन् ।

सांगीतिक क्षेत्रमा सफलताको स्वाद चाखेको उनले किशोरावस्थामै हो । १८ वर्षको उमेरमा उनले पहिलो गीत रेकर्ड गराए । उनको आफ्नै स्वर, शब्द र संगीतमा ‘घुम्न जाउँला कान्छी बागलुङ बजार...मिनिबसैमा’ गीत काठमाडौंको सिम्फोनिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भयो । गीतलाई त्यतिबेलाको चर्चित ‘स्काई ब्यान्ड’ ले आफ्नो एल्बम ‘मायाको आधार’ मा समेट्यो । म्युजिक नेपालबाट आएको उक्त एल्बमको ‘ए’ साइडमा ब्यान्डकै गीत थियो, ‘डाँडैमा मेला लागेछ...,’ ‘बी’ साइडमा रामजीको गीत थियो । २०५५ सालमा सार्वजनिक भएको एल्बमका दुवै गीतले मनग्य चर्चा पाए ।

त्यतिबेला गीत रेकर्ड गरेर उनी बागलुङ फर्किए । रेडियो नेपालमा प्रत्येक शनिबार साँझ ६ बजे म्युजिक नेपालको आफ्नै कार्यक्रम बज्थ्यो, ‘संगीत सौगात’ । कार्यक्रम सञ्चालक मीरा आचार्य थिइन् । त्यस दिन कार्यक्रममा रामजीको गीत बज्ने पक्कापक्की थियो । आफ्नै गीत सुन्न उनीसँग रेडियो थिएन । गाउँकै एक जनाले पुरानो रेडियो दिए । उनले ब्याट्री किनेर चलाए । कार्यक्रममा रामकृष्ण ढकालको ‘ओराली लागेको...’ बज्यो । लोकगायक पुरुषोत्तम न्यौपानेको ‘फूलको बासना...’ बज्यो । त्यसपछि बज्यो ‘सररर मिनिबसैमा...’ । गीत सुन्दै घर पुगेको उनले पत्तै पाएनन् । गीत हिट भयो । ‘पहिलो गीत नै हिट भएपछि मलाई निकै अप्ठेरो भयो,’ उनी सम्झन्छन्, ‘६–७ बजेतिर बजार बन्द भएपछि बल्ल बाहिर निस्किएर हिँड्थें ।’

त्यसपछि उनी विभिन्न मेला, पर्व, सामाजिक कार्यक्रममा गीत गाउँदै हिँडे । २०५७ मा उनी काठमाडौं पुगे । संगीत सिके । रेडियो नेपालले आयोजना गरेको स्वेदश गान प्रतियोगितामा भाग लिए । उनी उत्कृष्ट १० भित्र परे । त्यही वर्ष उनले म्युजिक नेपालबाटै एकल एल्बम ‘रिमझिम’ ल्याए । त्यतिबेला अहिलेजस्तो एउटा गीत मात्रै रेकर्ड गर्न पाइने थिएन । ‘७–८ वटा गीत नभएसम्म एल्बमको रूपमा निकाल्न पाइन्थेन,’ उनले भने, ‘नवप्रतिभालाई साथ सहयोग थिएन ।’ एल्बमको ‘यानीमाया’ गीतले राम्रै चर्चा पायो ।

२०५८ को अन्तिमतिरबाट भने उनले केही लोकदोहोरी गीत लेखन, संगीत, गायन, संगीत संयोजनमा संलग्न भए । ‘जवानीमा तानेको गाँजा...’ र ‘टीयू कीर्तिपुर..’ त्यतिबेलाका उनका चलेका गीत हुन् । २०६२/६३ को जनआन्दोलनमा उनी कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेहरूसँगै आन्दोलनमा होमिए । ‘गणतन्त्र नेपाल पक्कै आउँछ...’ बोलको गीत रेडियो नेपालले बजाउन मानेन ।

अहिले उनी विश्वभर नेपाल चिनाउने अभियानमा छन् । ‘विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’ उनको विश्वयात्राको नारा हो । ‘विश्वका सबै देश पुगेर त्यहाँका नागरिकलाई एकपल्ट नेपाल घुम्न आउनुस् भन्न मन छ,’ पोखरामा भेटिएका उनले भने, ‘यहाँको सांस्कृतिक पर्यटनमार्फत त्यो सम्भव छ ।’ सन् २०२५ भित्र विश्वयात्रा सकाउने उनको लक्ष्य थियो । कोरोना महामारीले अवरोध पुर्‍यायो ।

उनले आफ्नो यात्रामा संस्थागत सहयोग कतैबाट लिएका छैनन् । न सरकारले एक सुको सहयोग गरेको छ । यात्राका क्रममा भेटिने मनकारी व्यक्तिको सहयोगले हिँडिरहेको उनी बताउँछन् । सन् २०१९ मा उनी भारतको गोरखपुरबाट रेलमा लखनउ जाने क्रममा झोलाबाटै क्यामेरा, ल्यापटप, ५० हजार भारतीय रुपैयाँ चोरी भयो । उनी बेखर्ची भए । एक मनकारी भारतीयले देहरादूनसम्म पुर्‍याइदिए । देहरादूनमा उनले घर बनाउने काम गरे । दिनको ३ सय भारुका दरले ५ दिन काम गरे । १५ सय भारु लिएर उनी दक्षिण भारतको चेन्नेई गए । ‘सिक्ने र हिँड्ने काम छोडेको छैन, यात्रा चलिरहन्छ,’ उनी भन्छन्, ‘हिँड्ने म एक्लै देखिए पनि धेरैको उद्देश्य मसँगै छ ।’

उनी बुबा, आमा, श्रीमती र छोरीसँग काठमाडौं बस्छन् । श्रीमती कृष्णा परियार पनि चल्तीकी लोकदोहोरी गायिका हुन् । सरकारले सहयोग गरे/नगरे पनि जिम्मेवार नागरिकका हिसाबले आफ्नो दायित्व पूरा गर्ने आत्मविश्वास उनीसँग छ । ‘दुःख छ । उद्देश्यसँग एकीकृत भएपछि धेरै कुरालाई तिलाञ्जली दिनुपर्छ,’ उनी भन्छन्, ‘अहिले सहयोग माग्ने बेला भएकै छैन । कुनै दिन सरकारले महत्त्व बुझ्ला ।’

स्वरकल्पना नै सही, ‘एक विश्व, एक देश’ को अभियान कुनै भूगोलबाट, कुनै युवा समूहले पक्कै सुरु गर्नेछन् । त्यतिबेला रामजीहरूले स्वरमा स्वर मिसाउने छन् । त्यतिबेला बन्नेछ, विश्वकै एक राष्ट्रगान ।

प्रकाशित : चैत्र २७, २०७७ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?