किमाथांकादेखि स्याप्रु नाच्दै- कला - कान्तिपुर समाचार

किमाथांकादेखि स्याप्रु नाच्दै

कान्तिपुर संवाददाता

धनकुटा — किशोरकिशोरी हिमाली भेगमा लगाउने मौलिक पहिरनमा लहरै उभिएर लय मिलाउँदै गाउँदै नाच्न व्यस्त देखिन्थे ।

चीनको सीमावर्ती संखुवासभाको किमाथांकाबाट आएका उनीहरू आफ्नो परम्परागत गीत र नृत्य पस्कँदै थिए । भोजपुरको षडानन्द नगरपालिका दिङ्ला बजारमा आयोजित कार्यक्रममा उनीहरूले ‘ङिमटासी स्याप्रु’ अर्थात् ‘सम्मानमा नाच्ने नृत्य’ प्रस्तुत गरिरहेका थिए ।

१५ वर्षीय छियाङ भोटे, सोही उमेरका पिमा भोटे, फुपू भोटे, छिरिदिच्छिक भोटे, घाङजुङ भोटे, ‘ङिमटासी स्याप्रु’ र आम्जु भोटे प्रस्तुति दिइरहेका थिए । कोरोना महामारीपछि भर्खरै सञ्चालन भएको विद्यालयमा पठनपाठन चलिरहे पनि बिदाको समय मिलाएर मौलिक नृत्य र जातीय चिनारीका लागि उनीहरू जुट्ने गरेको बताउँछन् ।

केही महिना पहिले आधारभूत तहको पढाइ सकेर पहिलो पटक संखुवासभाको खाँदबारीमा ९ कक्षामा पढ्न आएको आम्जुले बताइन् । स्थानीय हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरू लेखपढसँगै फुर्सदको समय संखुवासभा तथा छिमेकी जिल्लाका विभिन्न स्थानमा ‘ङिमटासी स्याप्रु’ लाई चिनाउन जुटेका हुन् । ‘हाम्रो संस्कृति सबै सामु चिनाउन हिँडेको हौं,’ छिवाङले भने, ‘किमाथांका, भोटखोलातिर मात्रै सीमित नाचलाई अब सबैतिर देखाउन मन छ ।’

गाउँ–ठाउँमा विवाह तथा अन्य अवसरमा पुग्ने पाहुनाका स्वागतमा उक्त गायन तथा नृत्य गरिने छियाङ बताउँछन् । केटाले किप्तिन, पाम्दिङ, र केटीले मुगा र हरियो प्वाँलो, रेजीको हारसहित जुत्ता लगाएर नृत्य गर्छन् । हिमाली जिल्ला संखुवासभाको साविक गाविसको हटिया, चेपुवा र पावाखोलाका केही भाग समेटेर भोटखोला गाउँपालिका बनाइएको छ ।

त्यसै क्षेत्रमा स्याप्रु नृत्य लोकप्रिय रहेको हिमालय माविका सहायक प्रधानाध्यापक ताराबहादुर बुढाथोकी बताउँछन् । बुढाथोकीले आफ्ना विद्यालयमा किमाथांकाबाट अध्ययनका लागि आएका बालबालिकालाई त्यस क्षेत्रको गीत तथा नृत्य प्रचार अभियानमा साथ दिएका छन् ।

प्रकाशित : चैत्र २२, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

रानाथारूलाई ‘होरी’ को रौनक

फागु पूर्णिमाका दिन होलिका दहन गरेर एक सातासम्म रमझम
भवानी भट्ट

कञ्चनपुर — एक महिनाअघि बनाइएका गोबरका कुण्डा (गुइँठाजस्तै) सबैले एकै ठाउँमा राख्छन् । यसलाई जिउँदो होरी पनि भनिन्छ । फागु पूर्णिमाको दिन सार्वजनिक स्थलमा लगेर कुण्डा (होलिका दहन) जलाइन्छ । भोलिपल्ट त्यही खरानी लगाएर होरी खेल्न सुरु गरिन्छ । 


अन्यत्र फागु पूर्णिमाका दिन होलीको समापन गरिँदा पश्चिम तराईको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका रानाथारू समुदायमा भने होरी सुरु हुन्छ । यस वर्ष पनि सोमबारदेखि होरी सुरु भएको छ । ‘फागु पूर्णिमाका दिन होलिका दहन गरेपछि एक सातासम्म होरी चल्छ,’ कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाकी प्रेमवती रानाले भनिन्, ‘पूर्णिमाका दिन भलमन्साको घरमा होरी खेलेर सुरु गरिन्छ, दोस्रो दिनदेखि नियमित रूपमा खेल्छौं ।’

‘क्यों दल जोडे बैठी राधिका, तेरे अंगना होरी आइगई, हो मच्चिए गई’

बिहान हरेक घरमा घरबेटी आमालाई यही होरी गीतबाट सम्बोधन गर्दै साँझ खेल्नेबारे जानकारी दिइन्छ । सबै गाउँले पनि होरी खेलिने घरबारे जानकारी पाउँछन् । एक दिनमा एउटा घरमा मात्रै होरी खेलिन्छ । होरी खेल्नेहरूको खानपिनको व्यवस्था त्यही घरमा हुन्छ । ‘होलिका दहन गरेपछि सिधै भलमन्साको घरमा पुगेर एकै पटक खेल्छौं,’ प्रेमवतीले भनिन्, ‘दोस्रो दिन फेरि त्यही खरानी लगाएर भलमन्साकै घरबाट होरी सुरु हुन्छ ।’

‘अंगना झर कुढार राधिका, तेरे अंगना होरी आइगई मच्चिगई’

साँझपख पनि घरबेटीलाई सम्बोधन गर्दै होरी सुरु हुन्छ । एकातिर महिलाहरू, अर्कोतिर पुरुष । गोलो घेराले आँगन पूरै भरिन्छ । होरी नृत्यहरू पनि प्रस्तुत गरिन्छ । जसमा महिला र पुरुष एकआपसमा मिसिन्छन् । ‘पहिले–पहिले साँझदेखि बिहानसम्मै एउटै घरमा होरी खेल्थ्यौं, त्यति बेला होरीको रमाइलो अर्कै हुन्थ्यो,’ भीमदत्त नरगपालिका–१४ नयाँ कटानका चेतराम रानाले भने, ‘तर अहिले त परम्परा जोगाउन मात्रै खेले जस्तो भइरहेको छ, साँझपख दुई/तीन घण्टा मात्रै होरी खेल्छौं ।’ उनका अनुसार अहिले घरबेटीले निम्तो दिएमा वा जसले सबैलाई खुवाउन सक्छ, त्यसैकहाँ मात्रै होरी खेलिन्छ ।

वेदकोटको सिसैयामा १२० परिवार रानाथारू समुदायको बसोबास छ । सबै घरबाट कम्तीमा एक जना होरी खेल्न सहभागी हुन्छन् । विगतमा पालैपालो सबैका घरमा खेलिने भए पनि हालका वर्षमा समुदायका अगुवा, भलमन्साका घरमा मात्रै खेलिन्छ । ‘पहिले पहिले त महिना दिनसम्म होरी खेलिन्थ्यो,’ चेतरामले भने, ‘तर अहिले भने एक साता मात्रै खेल्छौं । यसपटक कोरोनाका कारण एक/दुई घरमा मात्रै खेल्नेछौं ।’

भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा ५०/६० परिवार रानाथारूको बसोबास छ । रानाथारू होमस्टे पनि सञ्चालनमा भएकाले होरीसँगै अन्य सांस्कृतिक कार्यक्रमहरू पनि नियमित रूपमा गरिरहेका हुन्छन् । होरी समापनका दिन सबै घरबाट माटोको गोलो डल्लोसहित एक ठाउँमा भेला भएर फुटाइने गरिन्छ । होरी समापन हुने दिनलाई ‘खखडेरा’ पनि भनिन्छ । सरकारले उक्त दिन सार्वजनिक बिदा पनि दिने गरेको छ । रानाथको होली आगामी सोमबार समापन हुँदै छ ।

प्रकाशित : चैत्र २२, २०७७ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×