रानाथारूलाई ‘होरी’ को रौनक- कला - कान्तिपुर समाचार

रानाथारूलाई ‘होरी’ को रौनक

फागु पूर्णिमाका दिन होलिका दहन गरेर एक सातासम्म रमझम
भवानी भट्ट

कञ्चनपुर — एक महिनाअघि बनाइएका गोबरका कुण्डा (गुइँठाजस्तै) सबैले एकै ठाउँमा राख्छन् । यसलाई जिउँदो होरी पनि भनिन्छ । फागु पूर्णिमाको दिन सार्वजनिक स्थलमा लगेर कुण्डा (होलिका दहन) जलाइन्छ । भोलिपल्ट त्यही खरानी लगाएर होरी खेल्न सुरु गरिन्छ । 


अन्यत्र फागु पूर्णिमाका दिन होलीको समापन गरिँदा पश्चिम तराईको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका रानाथारू समुदायमा भने होरी सुरु हुन्छ । यस वर्ष पनि सोमबारदेखि होरी सुरु भएको छ । ‘फागु पूर्णिमाका दिन होलिका दहन गरेपछि एक सातासम्म होरी चल्छ,’ कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाकी प्रेमवती रानाले भनिन्, ‘पूर्णिमाका दिन भलमन्साको घरमा होरी खेलेर सुरु गरिन्छ, दोस्रो दिनदेखि नियमित रूपमा खेल्छौं ।’

‘क्यों दल जोडे बैठी राधिका, तेरे अंगना होरी आइगई, हो मच्चिए गई’

बिहान हरेक घरमा घरबेटी आमालाई यही होरी गीतबाट सम्बोधन गर्दै साँझ खेल्नेबारे जानकारी दिइन्छ । सबै गाउँले पनि होरी खेलिने घरबारे जानकारी पाउँछन् । एक दिनमा एउटा घरमा मात्रै होरी खेलिन्छ । होरी खेल्नेहरूको खानपिनको व्यवस्था त्यही घरमा हुन्छ । ‘होलिका दहन गरेपछि सिधै भलमन्साको घरमा पुगेर एकै पटक खेल्छौं,’ प्रेमवतीले भनिन्, ‘दोस्रो दिन फेरि त्यही खरानी लगाएर भलमन्साकै घरबाट होरी सुरु हुन्छ ।’

‘अंगना झर कुढार राधिका, तेरे अंगना होरी आइगई मच्चिगई’

साँझपख पनि घरबेटीलाई सम्बोधन गर्दै होरी सुरु हुन्छ । एकातिर महिलाहरू, अर्कोतिर पुरुष । गोलो घेराले आँगन पूरै भरिन्छ । होरी नृत्यहरू पनि प्रस्तुत गरिन्छ । जसमा महिला र पुरुष एकआपसमा मिसिन्छन् । ‘पहिले–पहिले साँझदेखि बिहानसम्मै एउटै घरमा होरी खेल्थ्यौं, त्यति बेला होरीको रमाइलो अर्कै हुन्थ्यो,’ भीमदत्त नरगपालिका–१४ नयाँ कटानका चेतराम रानाले भने, ‘तर अहिले त परम्परा जोगाउन मात्रै खेले जस्तो भइरहेको छ, साँझपख दुई/तीन घण्टा मात्रै होरी खेल्छौं ।’ उनका अनुसार अहिले घरबेटीले निम्तो दिएमा वा जसले सबैलाई खुवाउन सक्छ, त्यसैकहाँ मात्रै होरी खेलिन्छ ।

वेदकोटको सिसैयामा १२० परिवार रानाथारू समुदायको बसोबास छ । सबै घरबाट कम्तीमा एक जना होरी खेल्न सहभागी हुन्छन् । विगतमा पालैपालो सबैका घरमा खेलिने भए पनि हालका वर्षमा समुदायका अगुवा, भलमन्साका घरमा मात्रै खेलिन्छ । ‘पहिले पहिले त महिना दिनसम्म होरी खेलिन्थ्यो,’ चेतरामले भने, ‘तर अहिले भने एक साता मात्रै खेल्छौं । यसपटक कोरोनाका कारण एक/दुई घरमा मात्रै खेल्नेछौं ।’

भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा ५०/६० परिवार रानाथारूको बसोबास छ । रानाथारू होमस्टे पनि सञ्चालनमा भएकाले होरीसँगै अन्य सांस्कृतिक कार्यक्रमहरू पनि नियमित रूपमा गरिरहेका हुन्छन् । होरी समापनका दिन सबै घरबाट माटोको गोलो डल्लोसहित एक ठाउँमा भेला भएर फुटाइने गरिन्छ । होरी समापन हुने दिनलाई ‘खखडेरा’ पनि भनिन्छ । सरकारले उक्त दिन सार्वजनिक बिदा पनि दिने गरेको छ । रानाथको होली आगामी सोमबार समापन हुँदै छ ।

प्रकाशित : चैत्र २२, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

मुख्य नाकामै निर्बाध आउजाउ

बेलहिया–सुनौली नाकाको हेल्थ डेस्कमा बिहान ६ देखि राति १० बजेसम्म खटिने स्वास्थ्यकर्मी तीन जना छन् । भारतीय मालवाहक गाडीमात्रै दिनमा ७ सय हाराहारी भित्रिन्छन् । मूल नाकाबाहेक खुला सिमानाबाट हुने आवागमनको कुनै लेखाजोखा छैन । 
माधव ढुंगाना, रूपा गहतराज

भैरहवा/नेपालगन्ज — भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला सीमामा कडाइ गर्नुपर्नेमा मुख्य नाकामै लापरबाही पाइएको छ । मुलुकका अधिकांश जिल्लाबाट भारत आउजाउ हुने रूपन्देहीको बेलहिया–सुनौली नाकामा स्वास्थ्य मापदण्ड पालना निकै कमजोर छ ।

कैलालीकको धनगढीस्थित गौरीफन्टा नाकामा भारतबाट फर्किएका नेपालीको लर्को । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि रोजागरीमा गएका नेपाली फर्कन थालेका छन् । तस्बिरः अर्जुन/कान्तिपुर

यहाँका हेल्थडेस्क औपचारिकताका लागि मात्र राखिएको आभास हुन्छ । भारतबाट आउनेमध्ये केही यात्रुको ज्वरो मापन र विवरण लिने गरिए पनि अधिकांश यात्रु परीक्षण र विवरणबिनै आउने गरेका छन् । भारतबाट आउनेमध्ये ७० प्रतिशतभन्दा धेरै यात्रु परीक्षण नगरी भित्रिने गरेको स्थलगत निरीक्षणबाट देखिन्छ ।

आवागमन संख्याको तुलनामा स्वास्थ्यकर्मी र उपकरण अत्यन्त न्यून छन् । ‘नेपाल आउने सबै यात्रुको ज्वरो मापनसहित कोभिड–१९ लक्षणका बारेमा जाँच भइरहेको छ,’ रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले भने, ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परिचालन गरिएको छ ।’ ज्वरो मापन गर्दा उच्च ज्वरो भेटिएका यात्रुलाई नाकामै कोभिड परीक्षण गर्ने र पोजिटिभ रिपोर्ट आएमा आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाइएको उनले दाबी गरे ।

बेलहिया–सुनौली नाकाबाट यात्रुको आवागमन बिहानदेखि रातिसम्मै हुन्छ । भारतमा रोजगारीमा गएका, उपचार र अध्ययन गरेर फर्किने र सीमावर्ती बजारमा सामान किनमेल गरेर फर्किने नेपालीको ताँती लाग्छ भने दैनिक मजदुरीका लागि सयौंको संख्यामा भारतीय मजदुर नेपालतर्फ आउने गर्छन् । आँखाको उपचारका लागि भारतका विभिन्न स्थानबाट आउने बिरामी, भन्सार प्रयोजनका लागि भित्रने एजेन्ट र तिनका प्रतिनिधिको चाप पनि उत्तिकै हुन्छ । मूल नाकाबाहेक खुला सिमानाबाट हुने आवागमनको त कुनै लेखाजोखा नै छैन ।

व्यापारिक दृष्टिले वीरगन्जपछिको दोस्रो ठूलो र भारतसँगको स्थलमार्गबाट हुने आवागमनमा पहिलो रहेको यस नाकाबाट मानिसको आवागमन अत्यधिक छ । भारतबाट व्यापारिक र औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, तरकारीलगायत सामान लिएर भारतीय मालवाहक गाडी दैनिक ६/७ सयको संख्यामा यही नाका भएर आउने गर्छन् । तर बिहान ६ देखि राति १० बजेसम्म दुई अहेब र एक हेल्थ एसिस्टेन्ट पालो मिलाएर हेल्थ डेस्कमा खटिने गरेका छन् । ‘नाकामा खटिने जनशक्ति अति कम भएकाले भनेअनुरूप जिम्मेवारी निभाउन अति कठिन भएको छ,’ सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेलले भनिन् । यो नाका ७७ वटै जिल्लाका मानिसको आवागमन हुने भएकाले प्रदेश र केन्द्रले पनि जिम्मेवारी लिनुपर्ने उनले बताइन् । सिद्धार्थनगर नगरपालिकामा १४ जना स्वास्थ्यकर्मी रहेकामा चारवटा स्वास्थ्य संस्थामा दुई/दुई जनाका दरले ८ जना, एक जना ल्याबमा, दुई जना कार्यालयमा र बाँकी तीन जना नाकामा परिचालन गरिएको उनले सुनाइन् ।

एक जना यात्रुलाई थर्मलगनले तापक्रम लिँदा पाँच/सात जनाले सीमा पार गरिसकेका हुन्छन् । एक जनाको विवरण टिप्न थाल्दा १८/२० जना यात्रु छुटिसकेका हुन्छन् । ‘नाकामा खटिने यो जनशक्तिले आवतजावत गर्ने सबैको ज्वरो मापन र विवरण राख्न सम्भव नै छैन,’ स्वास्थ्यकर्मी विक्रम कुँवरले भने, ‘अहिले खटिएको संख्याको तेब्बर संख्यामा तत्कालै नाकामा जनशक्ति बढाउन जरुरी छ ।’ गत चैत १३ गते भैरहवामा सम्पन्न कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भारतबाट नेपाल आउने प्रत्येक यात्रुलाई ज्वरो मापन गर्नुपर्ने निर्णय गरेको थियो ।

सामान्य लक्षण भए/नभएको हेरेर सिमानामै स्वाब परीक्षण गरी पोजिटिभ रिपोर्ट आए अस्पताल वा होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने भनिएको थियो । बेलहिया–सुनौली नाकामा स्वास्थ्य सुरक्षाको मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गराउन संघीय सरकारले खटाएका तीन जना स्वास्थ्यकर्मीको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । पछिल्लो पटक भारतका विभिन्न स्थानमा फैलिएको कोरोना संक्रमण नेपालमा हुन नदिन र जोखिम न्यूनीकरणका लागि सिमानामा प्रभावकारी रूपमा सतर्कता अपनाउन जरुरी रहेको स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए । ‘सम्बन्धित सबै निकायबीच समन्वय गरेर नाकामा अझ सतर्कता अपनाउन जरुरी छ,’ उनले भने, ‘स्वास्थ्य कार्यालयमा यसका लागि न बजेट छ न त जनशक्ति ।’

नाकामा आवश्यकताअनुरूपको स्वास्थ्य जनशक्ति उपलब्ध गराउन लुम्बिनी प्रदेश स्वास्थ्य विकास मन्त्रालयबाट समेत हुन सकेको छैन । रूपन्देहीका १६ वटा पालिकाबाट एक/एक जना स्वास्थ्यकर्मीको नाकामा परिचालन गर्ने प्रबन्ध मिलाउने हो भने पनि नाकामा स्वास्थ्य व्यवस्थापन गर्न सकिने जानकार बताउँछन् । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले सिमानाबाट नेपाल आउने सबै यात्रुको सुरक्षा मापदण्डअनुरूप स्क्यानिङ गरी व्यवस्थापन गरिँदै आएको बताए । नाकामा प्रारम्भिक जाँच भए/ नभएको र अपनाउनुपर्ने अन्य स्वास्थ्य सुरक्षाबारे अनुगमनका लागि एक/एक दिन बिराएर चिकित्सिकसहितको टोली पठाउने गरिएको उनको भनाइ छ ।

स्वास्थ्यकर्मी अभाव

संक्रमण रोकथामका लागि नेपालगन्ज उपमहानगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको छ । यहाँ स्वास्थ्य जाँच गरेर मात्र नाका पार गर्न पाइन्छ । ल्याबका दुईसहित चार जना स्वास्थ्यकर्मी परिचालन गरिए पनि नाकाको चाप हेर्दा त्यो संख्या पर्याप्त छैन । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोरोना जाँचका लागि नाकामा स्वाब लिएको १५ मिनेटमा रिपोर्ट निकाल्ने प्रविधिसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याएकाले स्वास्थ्यकर्मी अभाव रहेको बताए । ‘नाकाको चाप र कोरोना रिपोर्ट निकाल्ने प्रविधिका लागि थप स्वास्थ्यकर्मी बढाउने छलफलमा छौं,’ उनले भने, ‘मुम्बई, दिल्ली, महाराष्ट्रलगायत राज्यबाट आएका नेपालीको परीक्षण गर्दा बर्दिया, रोल्पा र दैलेखका चार जनामा पोजिटिभ केस भेटाएका छौं ।’ जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा सरकारले नाकामा हेल्थ डेस्क राखेर कोरोना परीक्षण गर्न निर्देशन दिएपछि काम सुरु गरिएको उनले बताए ।

लकडाउन खुकुलो भएयता नाकामा निर्बाध रूपमा नाकाबाट जाने क्रम नरोकिएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को गत बुधबार बसेको बैठकले भारतीय सीमा बजार रूपैडिहामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको थियो । ‘रूपैडिहा जान रोक लगाउने र मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने गराउने निर्णय भएको छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने, ‘भारतबाट आउने नेपालीलाई स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने निर्णय पनि गरेका छौं ।’

भारतबाट आउने यात्रुको अभिलेख राख्ने, स्वास्थ्य जाँच गर्ने, लक्षण देखिए १० दिन होम क्वारेन्टाइनमा राख्ने, गम्भीर भए भेरी अस्पतालमा उपचारका लागि पठाउने व्यवस्था गरिएको बाँकेका कोभिड फोकल पर्सन तेज ओलीले सुनाए । औपचारिक निर्णय नभए पनि नेपाल–भारत नाकाको जमुनाहमा आउजाउ गर्ने व्यक्तिगत सवारी रोकिए पनि मानिसहरू निर्बाध ओहोरदोहोर गरिरहेका छन् । ‘पछिल्लो निर्णयले नाकामा थप कडाइ गरेका छौं,’ जमुनाहस्थित नाकाका इन्चार्ज तथा प्रहरी नायब निरीक्षक विष्णु गिरीले भने, ‘भित्री नाकाबाट चल्ने सवारीसाधनसहितको आउजाउ रोकेका छौं ।’

कपिलवस्तुमा सीमा नाकाबाट स्वास्थ्य परीक्षण गरेर आवतजावत गर्न दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा समिति बैठक बसेर नाकाबाट आउजाउ गर्नेलाई चैत १३ बाट हेल्थ डेस्क स्थापना गरेर जाँच थालिएको हो । कृष्णनगरस्थित लिंक गेटमा डेस्क राखिएको हो । ‘भारतबाट आउने सबैको तापक्रम नाप्छौं,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले भने, ‘ज्वरो आएकाको स्वाब लिएर तत्कालै कीटले कोरोना भाइरस परीक्षण गर्छौं ।’ कृष्णनगर नगरपालिकाले स्वास्थ्यकर्मी व्यवस्थापन गरेर बिहान ६ देखि साँझ ८ बजेसम्म हेल्थ डेस्क सञ्चालन गर्छ । दिल्ली र मुम्बई सहरसँग सोझो सम्पर्क रहेको कृष्णनगर नाका बढी संवेदनशील मानिन्छ ।

प्रकाशित : चैत्र २२, २०७७ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×