२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

‘सनैया’ सार्वजनिक

काठमाडौँ — खाडी मुलुक पुगेका श्रमिकहरूको कथा समेटिएको कृति ‘सनैया’ सार्वजनिक भएको छ । कान्तिपुरकर्मी होम कार्कीद्वारा लिखित पुस्तकमा वैदेशिक रोजगारीका क्रममा अरबको मरुभूमिमा कष्ट खेपेर मुलुकलाई रेमिट्यान्स पठाउने नेपाली युवाको जीवन कथा उनिएको छ ।

‘सनैया’ सार्वजनिक

कार्कीले डेढ दशकदेखि परिवारबाट बिछोडिएका पात्रको कथा लेखेपछि स्वदेश फर्किएका बुटवलका यमनाथ चापागाईं र उनकी पत्नी खिमकलाले शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरे ।

‘उहाँ श्रीमान् फर्केर आउनुहुन्न जस्तो लागेको थियो । तपाईंहरूको सहयोगले आउनुभयो,’ खिमकलाले पुस्तक सार्वजनिक गर्दै भनिन्, ‘लामो समय श्रीमान् विदेशमा अलपत्र हुँदा महिलालाई हेर्ने दृष्टिकोण फरक र नराम्रो हुँदोरहेछ ।’ यमनाथले गैरकानुनी रूपमा कतारमा बस्दा जीवनमा धेरै आरोह–अवरोह आएको सुनाए ।

कार्की कान्तिपुर दैनिकको कतार ब्युरो प्रमुखका रूपमा दोहामा चार वर्ष थिए । त्यही बेला कतार, साउदी, यूएई, बहराइन, ओमन र कुवेतमा स्थलगत रिपोर्टिङका सिलसिलामा उनले बटुलेका कथा पुस्तकमा समेटिएका छन् । ‘कार्कीले २८ वर्षको उमेरमा पत्रकारका रूपमा कतार पुगेर आफ्नै उमेरका श्रमिकका कथा लेखेका छन्,’ पुस्तकबारे समाजशास्त्री एवं श्रमविज्ञ गणेश गुरुङले भने, ‘बनावटीभन्दा पनि तथ्य तथ्यांकसहितको कथा दिएर उनले वास्तविकता उजागर गरेका छन् ।’ पुस्तकमा १ सय १८ वटा तथ्यांक रहेको गुरुङले उल्लेख गरे ।

श्रमिक अधिकारका पक्षमा आवाज उठाउँदै आइरहेकी सांसद बिन्दा पाण्डेले पुस्तकमा नेपाली नागरिक वैदेशिक रोजगारीमा जाँदा, अरबमा बस्दा र फिर्दाको त्रासदी कथा रहेको बताइन् । ‘नेपाल सरकारले युवालाई रोजगारीमा पठाउँदा उसको क्षमता, ज्ञान, सीपअनुसारको पेसामा पठाउन नसक्नु कमजोरी हो,’ उनले भनिन्, ‘नेपालमा एउटा पेसा भनिन्छ, अरब पुगेपछि जे पायो त्यही काममा लगाइँदा अनाहकमै ज्यान गुमेर बाकसमा युवाका शव फर्काइएका छन् । सयौं कोमामा छन् ।’

पूर्वसचिव पूर्णचन्द्र भट्टराईले पुस्तकमा वैदेशिक रोजगारीको इतिवृत्तान्त रहेको बताए । ‘सबैभन्दा पहिले सन् १९८७ मा कतार पुगेकादेखि भर्खरै खाडी मुलुक पुगेकाहरूको दु:खसुख समेटिएको छ,’ उनले भने, ‘राज्यको भूमिका कमजोर हुनु र कतिपय अवस्थामा वैदेशिक रोजगारीमा गएका नागरिकले दायित्व पूरा नगर्दा समस्या जेलिएको छ ।’ उनले नेपालीले खाडीमा सस्तो पाखुरी बेच्नुपरेको बाध्यता किताबमा पाएको बताए ।

लेखक कार्कीले कतार बसेर नेपालीका कथा लेख्दा कुनै पनि बेला देश निकालामा परिने मनस्थितिमा पुगेको स्मरण गर्दै पुस्तकमा आफूले देखे, भोगेका नेपालीको यथार्थ कथा समेटेको बताए । पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।

प्रकाशित : चैत्र २१, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?