२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हाेलीसँगै चित्र सिर्जना

सुशीला तामा‌ङ

काठमाडौँ — देशका पहाडी जिल्लामा होलीको रौनक चल्दै गर्दा चित्रकारहरूको एक समूह भने आइतबार चन्द्रागिरि नगरपालिकाको दहचोकतिर लम्कँदै थियो । त्यहाँ पुगेर उनीहरूले होली मात्र मनाएनन्, ती दृश्यलाई क्यानभासमा समेत उतारे ।

हाेलीसँगै चित्र सिर्जना

कलासम्बन्धी संस्था स्पेक्ट्रमले होलीको अवसरमा दहचोकस्थित कालु पाँडे मेमोरियल पार्कमा आयोजना गरेको आर्ट कार्यशालामा इन्द्र श्रेष्ठ, रामकृष्ण थापा, ईशान परियार, दलबहादुर राई, सविता डंगोल, महेश आचार्य, निशा श्रेष्ठ, दीपक महर्जनलगायत चित्रकारले होली मनाउँदै कलाकृतिहरू सिर्जना गरे ।

‘हरेक दिन रङहरूसँग खेल्ने ललितकलाकर्मीहरूका लागि होली अझै विशेष हुन्छ,’ संस्थाका अध्यक्षसमेत रहेका इन्द्र श्रेष्ठले भने, ‘त्यसैले हरेक वर्ष चित्रसँगै होली मनाउँदै आएका छौं ।’

चित्रकारहरू काठमाडौंको भिड छिचोल्दै पार्कमा पुग्दा होलीका लागि पूरै बन्दोबस्त मात्र होइन, कलाकृति सिर्जनाका लागि क्यानभास, कुची र रङहरूसमेत साथमै लिएर गएका थिए । एकअर्कालाई रंग दलेर होलीको शुभकामना बाँडेपछि उनीहरू ती दृश्यलाई क्यानभासमा उतार्न थाले । होलीलाई नै केन्द्रमा राखेर उनीहरूले आफ्ना चित्रमा जीवनको आशा, प्रकृति, सम्पदाजस्ता पक्षहरू समेटे ।

सुदूरपश्चिमको जंगलमा फूल्ने राताम्मे फूलहरूलाई होलीको रङसँगै तुलना गर्दै चित्रकार आचार्यले क्यानभासमा उतारे । त्यस्तै परियारले आफ्नो चित्रमा रङहरूको सम्मिश्रणमा वसन्तपुरमा ठड्याइने होलीको चिरलाई समेटे ।

कलाको माध्यमबाट पर्वको उत्सवसँगै प्रकृति र सम्पदा जोगाऔं भन्ने सन्देश प्रवाह गर्न आर्यशाला आयोजना गरिएको आचार्यले सुनाए । ‘हामीले होली पर्वलाई सिर्जनासँगै अगाडि बढाएका हौं,’ उनले भने, ‘कलाका यस्ता गतिविधिले हाम्रा संस्कृति र सम्पदा सँगसँगै राखेर अगाडि लैजान सकिन्छ ।’

‘होली रंगहरूको पर्व हो । उल्लासमय वातावरणमा चित्रकारहरूबीच बसेर होली मनाउँदै चित्र सिर्जना गर्नुको आनन्द छुट्टै हुन्छ,’ संस्थाका सचिवसमेत रहेका चित्रकार परियारले भने ।

प्रकाशित : चैत्र १७, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?