हाेलीसँगै चित्र सिर्जना- कला - कान्तिपुर समाचार

हाेलीसँगै चित्र सिर्जना

सुशीला तामा‌ङ

काठमाडौँ — देशका पहाडी जिल्लामा होलीको रौनक चल्दै गर्दा चित्रकारहरूको एक समूह भने आइतबार चन्द्रागिरि नगरपालिकाको दहचोकतिर लम्कँदै थियो । त्यहाँ पुगेर उनीहरूले होली मात्र मनाएनन्, ती दृश्यलाई क्यानभासमा समेत उतारे ।

कलासम्बन्धी संस्था स्पेक्ट्रमले होलीको अवसरमा दहचोकस्थित कालु पाँडे मेमोरियल पार्कमा आयोजना गरेको आर्ट कार्यशालामा इन्द्र श्रेष्ठ, रामकृष्ण थापा, ईशान परियार, दलबहादुर राई, सविता डंगोल, महेश आचार्य, निशा श्रेष्ठ, दीपक महर्जनलगायत चित्रकारले होली मनाउँदै कलाकृतिहरू सिर्जना गरे ।

‘हरेक दिन रङहरूसँग खेल्ने ललितकलाकर्मीहरूका लागि होली अझै विशेष हुन्छ,’ संस्थाका अध्यक्षसमेत रहेका इन्द्र श्रेष्ठले भने, ‘त्यसैले हरेक वर्ष चित्रसँगै होली मनाउँदै आएका छौं ।’

चित्रकारहरू काठमाडौंको भिड छिचोल्दै पार्कमा पुग्दा होलीका लागि पूरै बन्दोबस्त मात्र होइन, कलाकृति सिर्जनाका लागि क्यानभास, कुची र रङहरूसमेत साथमै लिएर गएका थिए । एकअर्कालाई रंग दलेर होलीको शुभकामना बाँडेपछि उनीहरू ती दृश्यलाई क्यानभासमा उतार्न थाले । होलीलाई नै केन्द्रमा राखेर उनीहरूले आफ्ना चित्रमा जीवनको आशा, प्रकृति, सम्पदाजस्ता पक्षहरू समेटे ।

सुदूरपश्चिमको जंगलमा फूल्ने राताम्मे फूलहरूलाई होलीको रङसँगै तुलना गर्दै चित्रकार आचार्यले क्यानभासमा उतारे । त्यस्तै परियारले आफ्नो चित्रमा रङहरूको सम्मिश्रणमा वसन्तपुरमा ठड्याइने होलीको चिरलाई समेटे ।

कलाको माध्यमबाट पर्वको उत्सवसँगै प्रकृति र सम्पदा जोगाऔं भन्ने सन्देश प्रवाह गर्न आर्यशाला आयोजना गरिएको आचार्यले सुनाए । ‘हामीले होली पर्वलाई सिर्जनासँगै अगाडि बढाएका हौं,’ उनले भने, ‘कलाका यस्ता गतिविधिले हाम्रा संस्कृति र सम्पदा सँगसँगै राखेर अगाडि लैजान सकिन्छ ।’

‘होली रंगहरूको पर्व हो । उल्लासमय वातावरणमा चित्रकारहरूबीच बसेर होली मनाउँदै चित्र सिर्जना गर्नुको आनन्द छुट्टै हुन्छ,’ संस्थाका सचिवसमेत रहेका चित्रकार परियारले भने ।

प्रकाशित : चैत्र १७, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी सरकारलाई राप्ती शिक्षालयको १८ बिघा जमिन

१६ सयभन्दा बढी अध्ययनरत शिक्षालय नजिकका दुईवटा विद्यालयमा सार्ने तयारी, संरचना बने प्रदेशसभाको वर्षे अधिवेशन देउखुरीमै 
घनश्याम गौतम

रुपन्देही — लुम्बिनी प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि संघीय सरकारले दाङको देउखुरीमा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । चैत ५ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयका नाममा रहेको १७ बिघा १९ कट्ठा ४ धुर जग्गा संघीय सरकारले प्रदेश सरकारका नाममा उपलब्ध गराउने भएको हो ।

प्रदेशसभाको हिउँदे अधिवेशन देउखुरीमै राख्ने गरी दुई महिनाअघि नै सभामुख पूर्णबहादुर घर्तीसहितको टोलीले स्थगतल निरीक्षणसमेत गरेको थियो । तत्काल शिक्षालयको भवन उपलब्ध भएको अवस्थामा बैठक राख्न सकिने निष्कर्षसहित प्रदेशसभा सचिवालयले राप्ती प्राविधिक शिक्षालयको जग्गा र सम्पत्ति प्रयोगको अधिकार दिन प्रदेश सरकारमार्फत अनुरोध गरेको थियो । प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले जग्गा र संरचना उपलब्ध गराउने निर्णय गरेको हो ।

संघीय सरकारले प्रदेशका प्रमुख सचिवलाई लेखेको पत्रमा जग्गाको स्वामित्व नेपाल सरकारमै रहने गरी प्रदेश सरकारलाई उपयोग गर्न दिने उल्लेख छ । ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमहरूको गुणस्तरीय प्रशिक्षणलाई वैकल्पिक व्यवस्थाका लागि लुम्बिनी प्रदेश सरकारको स्रोतसाधनसमेत परिचालन गर्ने गरी राप्ती प्राविधिक शिक्षालयको भौतिक संरचना र चर्चेको चार किल्लाभित्र रहेको कित्ता नं १ र १८ को १७ बिघा १९ कट्ठा ४ धुर ऐलानी पर्ती जग्गा तथा त्यसभित्रको भौतिक संरचनाको स्वामित्व नेपाल सरकारमा रहने गरी लुम्बिनी प्रदेश सरकारलाई उपयोग गर्न स्वीकृति दिने’ उल्लेख छ ।

राप्ती स्वास्थ्य प्राविधिक शिक्षालयमा अहिले १ हजार ६ सय बढी विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई स्थानीय सरकारको सहकार्यमा नजिकैको विद्यालयमा स्थानान्तरण गर्ने तयारी पनि सुरु भएको छ । विद्यार्थी व्यवस्थापनका लागि राप्ती र गढवा गाउँपालिकाका दुई विद्यालय आदर्श र सरस्वती मावि रोजिएको छ ।

ती दुई विद्यालयमा २ हजार बढी विद्यार्थी पढ्छन् । ती विद्यार्थीको व्यवस्थापनका लागि गढवाकै गोबरडिहाका प्रसेनि मावि र रात्रि प्राविमा स्थानान्तरण गर्ने तयारी भएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । ‘आवश्यक खर्च स्थानीय सरकारले नै बेहोर्न सक्छन्,’ उनले भने, ‘सरकारले जग्गा र सम्पत्ति दिने निर्णय गरेपछि त्यसपछिको व्यवस्थापन स्थानीय सरकारकै हो ।’

प्रदेश सरकारले देउखुरीमै प्रदेशसभाको बैठक राख्ने गरी अस्थायी संरचना निर्माण गर्न ८ करोड रुपैयाँ लागतको टेन्डर आह्वान पनि गरिसकेको छ । सरकारले असोज २० मा प्रदेशको नामकरण र स्थायी राजधानीको निर्णय गरेको थियो । त्यसयता बैठक बसेको छैन ।

६ महिनापछि चैत १८ मा बस्ने हिउँदे अधिवेशनको बैठक बुटवलमै बस्ने र वर्षे अधिवेशनका लागि देउखुरीमै तयारी गरिएको सभामुखका स्वकीय सचिव ध्रुवविक्रम ओलीले बताए । ‘सभाहलका लागि टेन्डर भइसकेको छ,’ उनले भने, ‘बन्यो भने वर्षे अधिवेशन देउखुरीमैआह्वान गर्ने तयारी छ ।’ सरकारले जग्गा उपलब्ध गराएसँगै र टेन्डरसमेत आह्वान भइसकेकाले आव २०७८/७९ को बजेट देउखुरीबाटै सार्वजनिक हुने सम्भावना बढेको उनको भनाइ छ ।

प्रदेश सरकारले पूर्वाधार विकास प्राधिकरणको कार्यालय देउखुरीमै खोलेको छ । प्राधिकरणले ‘नमुना प्रदेश राजधानी’ निर्माण गर्ने गरी डीपीआरको काम तीव्र पारेको जनाएको छ । प्रदेशसभाको काम र बैठक सञ्चालन स्थायी राजधानीमा अस्थायी संरचना निर्माण गरेर सुरु गरे पनि सरकारका काम केही समय बुटवलबाटै हुने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

‘जग्गा प्राप्तिको निर्णय भएको छ तर जग्गा प्राप्ति हुँदैमा तत्काल सरकारका कामकारबाही देउखुरीबाटै सम्भव छैन,’ उनले भने, ‘सरकारको संरचना निर्माणका लागि डीपीआरको काम बल्ल हुँदै छ ।’ नयाँ संरचना तयार भएपछि मात्र देउखुरीबाट प्रदेश सरकार सञ्चालन हुने उनले बताए ।

प्रकाशित : चैत्र १७, २०७७ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×