राणा दरबारमा के पाक्थे ?- कला - कान्तिपुर समाचार

राणा दरबारमा के पाक्थे ?

रोहिणी राणाद्वारा लिखित पाककलाको पुस्तकले राणाकालीन दरबारको खान्की मात्रै चिनाउँदैन, त्यो समयको परम्परा र संस्कृति पनि बुझ्न सघाउँछ ।
जनकराज सापकोटा

काठमाडौँ — राजस्थानको अजमेरस्थित सोफिया कलेजमा स्नातक पढ्दै गर्दा रोहिणी सिंहको बिहे राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति गौरवशमशेर राणासँग हुने पक्का भयो । त्यतिबेला उनकी आमाको एउटै चिन्ता थियो, छोरीको बिहे हुने भइसक्यो तर यसलाई पकाउनै आउन्न !

पाककलाबारे रुचि भए पनि सन् १९७७ मा इन्गेजमेन्टदेखि बिहेबीचका आठ महिनामा रोहिणीले घरमै कन्टिनेन्टल र भारतीय परिकार पकाउन सिकिन् ।

उत्तरप्रदेशको आग्रामा जन्मेकी रोहिणीको हालै ‘द राणा कुक बुक, रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ नामक पुस्तक पेन्गुइन र्‍याडम हाउस भारतबाट प्रकाशित भएको छ । राणा प्रधानमन्त्रीका दरबारमा के पाक्थे ? १०४ वर्ष नेपालमा शासन गरेका राणा खलक के खान्थे ? पकाउने विधि के थियो ? कसले पकाउँथ्यो, कसरी खाइन्थ्यो ? पुस्तकमा जंगबहादुरदेखि मोहनशमशेरसम्मका ९ प्रधानमन्त्रीको दरबारमा पाक्ने १४० परिकार र पाक विधिको वर्णन छ ।

पाककलाप्रति रोहिणीको रुचि बाल्यकालदेखि नै थियो । यो रुचि र सीप बिहेपछिका वर्षमा थप निखारियो । ‘जहाँ गए पनि त्यहाँको खानासम्बन्धी कुक बुक जम्मा गर्ने, फुर्सदमा पढ्ने र नयाँनयाँ परिकार पकाउन सिक्ने मेरो सौख नै भइसक्यो,’ उनले सुनाइन् । पाककलाको यही सौख र अध्ययन अनुसन्धानपछि पुस्तककै रूपमा निकाल्ने योजना भने २८ वर्षअघि जन्मियो । त्यतिबेला उनका श्रीमान् गौरवशमशेर हेटौंडाको सुपारेटार ब्यारेकका गणपति थिए । छोरीहरू भारतमा पढ्थे । परम्परागत राणाकालीन बंगलामा बस्दा उनलाई के गरौं र कसो गरौंको छटपटी हुन्थ्यो । त्यही बेला उनले पाककलासम्बन्धी पुस्तक निकाल्ने योजना बनाइन् । ‘सोच बनाएको वर्षौंपछि मात्रै काम सुरु गर्ने समय मिल्यो,’ उनले भनिन् । कैयन् परिकार यस्ता थिए, ती हराउन लागिसकेका थिए । कति परिकारबारे उनले सुनेकी मात्रै थिइन्, पकाउने विधि थाहा थिएन ।

उनले राणा प्रधानमन्त्री खलकका विभिन्न आफन्तसँग सम्पर्क बढाइन् । दरबारमा पाक्ने खानेकुराको नाम संकलन गरिन् । पकाउने भान्से को थिए भनेर बुझिन् । रोहिणीका अनुसार नेपाली राणा दरबारको खान्कीमा भारतीय पकवानको धेरथोर प्रभाव देखिए पनि यसको बेग्लै स्वाद छ । सन् १८५७ मा भारतमा तत्कालीन ब्रिटिस शासकहरूविरुद्ध बंगाल रेजिमेन्टका सिपाहीले विद्रोह सुरु गरेको इतिहास छ । अंग्रेज सेनामा आबद्ध भारतीय सैनिकले थालेको यो विद्रोह अन्य राज्यमा पनि विस्तारै देखिन थालेपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर नौ हजार सेनाको फौज लिएर सोझै लखनउमा चलिरहेको विद्रोह दबाउन पुगेका थिए । रोहिणीले यही समयपछि काठमाडौंका दरबारमा मुगल कुकहरू भित्रिएको उल्लेख गरेकी छन् ।

‘भारतीय परिकारमा बढी चिल्लो, बढी मसला देखिन्छ जबकि नेपाली राणाकालीन खाना कम चिल्लो र कम मसलेदार छ,’ उनले भनिन्, ‘पोषणको मात्रा मिलाउने गरी खाना पस्किने शैली देखिन्छ ।’ उनका अनुसार भारतीय पकावनमा नभेटिने जिम्मु र टिम्मुरको नयाँ स्वाद भने नेपाली राणाकालीन परिकारमा भेटिन्छ । पुस्तक लेख्नुअघि उनले सबै परिकार घरमै अनेक पटक पकाउँदै चाख्दै र चखाउँदै गरिन् ।

कुराकानीका क्रममा छेवैमा रहेका उनका श्रीमान् एवं पूर्वप्रधानसेनापति गौरवशमशेर राणाले मुसुक्क हाँस्दै भने, ‘उनले किताब लेख्ने क्रममा पकाएको खानेकुरा चाख्दाचाख्दै मेरो पनि तौल बढ्यो ।’ उनी खानेकुरा बुझ्न धेरै राणा खलकको घरमै पुगिन् । कतिपयलाई भने पकाउने सबै सरसामग्री जम्मा पारेर घरमै बोलाएर पकाउन लगाइन् । यसरी पाककलाको सबै विधि र प्रक्रिया सिक्दै, आफैंले पकाएर खाँदै गरेपछि मात्र उनलाई कसरी पकाउने, कुन सामग्री कति तौलमा कतिबेला राख्ने भन्ने जानकारी मिल्यो । त्यही जानकारीलाई उनले प्रक्रियासम्मत तरिकाले पुस्तकमा लेखिन् ।

उनका अनुसार केही परम्परागत परिकार पकाउने विधि पुस्तान्तरमा सर्दै गएको थियो भने केही परिकार हराउँदै थिए । ती परिकारमा कति मात्रामा के–के मिसाउने भन्ने पनि अनुमानका भरमा चल्दै आइरहेको थियो । रोहिणीले पुस्तक लेखनअघिको पाककलामा प्रत्येक सामान तौलिँदै पकाउन थालिन् । ‘कुन चिज कति हाल्ने भनेर कतै लेखिएको थिएन,’ उनले भनिन्, ‘अनुमानका भरमा तौलिँदै राख्दै गरेर अथेन्टिक स्वाद निकाल्न खुबै मिहिनेत गरियो ।’

उनको पछिल्लो २ वर्ष पाककलाको अध्ययन, पकाउने, चाख्ने र फेरि पकाउँदै त्यसको मात्रा मिलाउने काममै बित्यो । पुस्तक लेखनका सबै काम सकिएपछि प्रत्येक खानाको फोटो खिच्ने बेलामा फेरि ती परिकार पकाइन् । सकेसम्म प्रत्येक परिकार पहिले जसरी पकाइन्थ्यो त्यही शैलीमा, तिनै भाँडामा पकाइन्, राणाकालीन दरबारकै शैलीमा थालीमा राखेर सजाइन् । यसका लागि पुराना दरबारका भण्डार कोठा चहार्दै क्लासिक शैलीका पुराना भाँडा जम्मा गर्दै हिँडेको उनले बताइन् ।

उनका अनुसार राणाकालीन समयको खानपिन शैलीले त्यतिबेलाको भोजन संस्कार र परम्परा मात्रै बुझाउँदैन, हाम्रो पुर्खाको खाना कति स्वादिष्ट र हाइजिनयुक्त थियो भन्ने पनि बुझाउँछ । गुन्द्रुक, तामाको टुसा, जाम जस्ता सीमित खानेकुरा मात्रै दरबारका घाम नछिर्ने र चिसो भण्डार कोठामा स्टोर गरेर राखिन्थ्यो । ‘पश्चिमेली जस्तो फ्रिजमा राखेर, कैयन् दिनअघि बारीबाट टिपेको खानेकुरा हाम्रोमा देखिन्न,’ उनले भनिन्, ‘जे पनि तुरुन्तै टिप्ने पकाउने गरेको देखिन्छ । घ्युदेखि, मासुसम्म र सागसब्जीदेखि अनाजसम्म सबै फ्रेस देखिन्छ ।’

पुस्तकमा भएका केही परिकार पकाउने तरिका सिक्न भने उनलाई त्यति सजिलो भएन । राणा प्रधानमन्त्री चन्द्रशमशेरका सन्तान नन्दशमशेरबाट उनले चराको काँचो बरीबारे थाहा पाएकी थिइन् । पित्तलको खलमा कुखुराको मासुलाई कुटेर किमाजस्तो बनाउन केही घण्टा खर्चिनुपर्ने र त्यसपछि मरमसला हालेर तोरीको तेल वा घ्युमा राखेर पकाउँदा स्पोन्ज जस्तो भएर फुल्छ । उनको अनुमानमा धेरै समय र मिहिनेत लाग्ने यो परिकार करिबकरिब हराइसकेको छ । अर्को एउटा परिकार थियो, मटन पाई । सिंहमहलमा मुस्लिम समुदायका फ्रान्सिस नामक कुक थिए । यिनै कुकबाट चन्द्रशमशेरकी पनातिनी जया शाहले यो परिकार पकाउन सिकेकी थिइन् । यिनै जयाले रोहणीलाई पकाउन सिकाइन् ।

राणा दरबारमा पाक्ने परिकार समयक्रममा हराउँदै गएको र केही परिकार भने नेपालबाट बसाइँ सरी जानेसँगै भारतका विभिन्न सहर पुगेको उनको निष्कर्ष छ । खसीको मासुको पुलाउ बनाउने तरिका थाहा पाउन उनले बीसौं शताब्दीका सुरुवातमा नेपालबाट भारतको मध्य प्रदेश सरेका जनरल खड्गशमशेरको परिवारसम्म पुग्नुपर्‍यो । खड्ककी पनातिनी खेम राज्यलक्ष्मीका दिल्ली बस्ने छोरा राजेन्द्र सिंह चिनमनबाट उनले यो परिकारबारे थाहा पाइन् । उनकै सहयोगमा खसीको मासुको पुलाउ बनाउन सिकिन् । पुस्तक लेखनका क्रममा रोहिणीले राणाकालीन दरबारमा पाक्ने परिकार मात्रै खोजिनन्, ती परिकार कसरी आए होलान् भन्नेबारे पनि धेरथोर भेउ पाइन् ।

पुस्तकले पुर्खाको खानाको स्वाद अब आउने कैयौं पुस्ताले चाख्न सजिलो बनाउने उनी बताउँछिन् । पहिलो कुकबुकपछि आएको प्रतिक्रियाले उनलाई अब दरबारबाहिर विभिन्न सांस्कृतिक समुदायमा पाक्ने परिकारबारे पनि पुस्तक लेख्ने हुटहुटी जगाएको छ । छेवैका रहेका श्रीमान् गौरवशमशेरले भने, ‘तिमी काम मात्रै सुरु गर । म छँदै छु नि मोटर हाँकेर देशभर घुमाउने । अनेकन स्वाद चाख्ने यात्रामा लैजाने ।’

तस्बिरहरू : बिजु महर्जन/कान्तिपुर

प्रकाशित : चैत्र १३, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

‘बहुत तकलिफ छ सर !’

पछिल्ला दिन नियमित तलब पाउन छाडेका छन् । कम्पनीले दिएकै कोठामा चार साथीसँग बसेका रामभरोस खानेकुरा अभावमा नुन र भात मात्र खान्छन् । ज्वरो र खोकी लागेपछि बुधबार र बिहीबार दुई दिन काममा गएनन् । भने, ‘कुनै जुगाड लगाइदिनू, नेपाल फर्किनुपर्‍यो ।’
जनकराज सापकोटा

काठमाडौँ — २०७२ चैत अन्तिम साताको कुरा हो । महोत्तरी कलुवाबगियाका रामभरोस खत्वे रात्रिबस चढेर झिसमिसेमै काठमाडौं उत्रिएका थिए । गौशालाको धर्मशालाअघि भेट्दा उनको अनुहारमा निराशाको बाक्लो रङ पोतिएको थियो ।

साउदी अरबमा रामभरोस खत्वे र २०७३ वैशाख ४ मा रामभरोसबारे कान्तिपुरमा प्रकाशित सामग्री

एक लाख १० हजार रुपैयाँ तिरेर ‘लेबर’ काममा कतार पुगेका उनी कम्पनीले गरेको मेडिकल जाँचमा फेल भएपछि फर्किएका थिए । म्यानपावर कम्पनीको स्थानीय एजेन्टले जनकपुरमा गराइदिएको स्वास्थ्य परीक्षणमा कसरी पास भए, कसरी कतारमा गरिएको दोस्रो स्वास्थ्य परीक्षणमा फेल भए, उनले बुझ्न सकेनन् ।

रामभरोसले स्थानीय साहूबाट ३६ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजमिटर फनफनी घुम्न थालेपछि उनी उजुरबाजुर गर्न काठमाडौं आइपुगेका थिए । उनले पाँच दिन काठमाडौंमा दौडधुप गरे । महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान सुरु गरेपछि उनलाई कतार पठाउने बत्तीसपुतलीस्थित सान म्यानपावर कम्पनी बल्लतल्ल एक लाख फिर्ता गर्न तयार भयो ।

नेपाल सरकारले २०७२ असार २१ गतेदेखि लागू हुने गरी ‘फ्रि भिसा, फ्रि टिकट’ को नीतिगत निर्णय गरेको थियो । खाडीका ६ देश र मलेसियामा रोजगारीमा जाने कामदारसँग व्यवसायीले प्रवेशाज्ञा र हवाई टिकटबापत रकम लिन नपाउने र रोजगारदाता कम्पनीले सेवा तथा प्रवर्द्धन खर्च नबेहोर्ने भनेर स्पष्ट तोकिए व्यवसायीले बढीमा १० हजार रुपैयाँसम्म लिन पाइने निर्णय गरेको थियो । सरकारी निर्णय उल्लंघन गरेको समाचार सार्वजनिक भएपछि पनि म्यानपावर व्यवसायीलाई निगरानी गर्न बसेको सरकारी संयन्त्र श्रम विभागले कुनै कदम चालेन । फसेको रकमको १० हजार कम भए पनि जेनतेन पाएपछि त्यतिबेलाका महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले रामभरोसलाई सोधेका थिए, ‘अब फेरि विदेश नै जाने कि के गर्ने ?’

उनले तनक्क तन्किएर आफ्ना दुवै कान समातेर भनेका थिए, ‘माँ कसम सर अब जाँदैन ।’

रकम बुझेर गाउँ फर्किएका रामभरोसले स्थानीय साहूलाई १० हजार बाँकी राखेर अरू रकम तिरे । सदरमुकाम जलेश्वरमा वर्षौंदेखिको रिक्सा चलाउने काम उनले फेरि सुरु गरे । दुई छोरी र दुई छोराका बाबु रामभरोसको १० धुर जग्गामा बनेको फुसको घरबाहेक सम्पत्ति थिएन ।

***

कतारमा कार्यरत सप्तरी, बोदेरबरसाइनका बालकिसुन मण्डलको शव मृत्यु भएको १८ दिनपछि २०७३ मंसिर ७ मा काठमाडौं आइपुग्यो । बालकिसुनका वृद्ध बाबु र श्रीमती सरो काखे छोरी च्यापेर शव लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए । म उनीहरूको शववाहनलाई पछ्याउँदै बोदेरबरसाइन पुगेको थिएँ । त्यही क्रममा रामभरोसलाई भेट्न महोत्तरीको जलेश्वर गएँ । दिनमा एक सय १० रुपैयाँ भाडा तिर्ने गरी रामभरोस रिक्सा पेलिरहेका थिए । त्यहाँ एकाध बिजुली रिक्सा र अटो चल्न थालिसकेका थिए । त्यतैतिर संकेत गरेझैं गरेर उनले भनेका थिए, ‘कमाइ नै हुँदैन, कसरी जहान केटाकेटी पाल्ने ?’

२०७३ वैशाख ४ मा रामभरोसबारे कान्तिपुरमा प्रकाशित सामग्री

रामभरोस दुःखमा कसरी फसे र कसरी उम्किए भनेर उनीबारे समाचार लेखेको करिब दुई वर्षसम्म उनीसँग नियमित संवाद हुन्थ्यो । उनले सुखदुःख साट्थे । टोलका कुरा सुनाउँथे । एक दिन अचानक रामभरोस सम्पर्कविहीन भए । उनको फोन लागेन । मलाई मधेस झर्ने समय मिलेन । गत फागुन २१ मा जनकपुर साहित्य महोत्सवको छेको पारेर जनकपुर पुगेका बेला म सोध्दै खोज्दै कलुवाबगियास्थित उनको घरमै पुगें ।

कलुवाबगियाको सानो बजार छिचोलेर धुलौटो बाटो हुँदै दक्षिण लागेपछि आउने पोखरीलाई दायाँ फन्को मारेर अघि बढ्ने सानो बाटो छेउमा बाँसले बारेको उनको घर थियो । रामभरोस घरमा थिएनन् । जेठा छोरा धीरज भने घरमै भेटिए । ६ कक्षामा पढ्ने उनी स्कुल जान छाडेको तीन महिना भएछ । उनले आफ्नै लवजमा सुनाए, ‘बुबा साउदी गएछ ।’ रामभरोस पत्नी भक्तजनले चढाएको बोकाको मासुको प्रसाद खान नजिकैको मन्दिर गएकी थिइन् । धीरजले इमोमा कल गरेर बाबु रामभरोससँग सम्पर्क गराइदिए ।

मैले माटोले लिपेको भित्तामा अडेस लागेर उनीसँग कुरा गरे । उनले एकै सासमा सुनाए, ‘एक लाख दस हजार अर्जेन्टलाई बुझाएर साउदी आएको । ६ महिनादेखि तलब पाएको छैन । बहुत तकलिफ छ ।’

मैले सोधें, ‘तपाईंले त काठमाडौंमा अब कहिल्यै विदेश जान्नँ भन्नुभएथ्यो । किन जानुभयो त ?’

उनले भने, ‘कान्छी छोरी पनि १८/१९ वर्षको भइसकी । त्यसको बिहेमा मोटरसाइकल दाइजो दिनुपर्छ । त्यही दहेजको पैसा कमाउन आएको ।’

रामभरोससँग कुरा गर्दै गर्दा उनका छिमेकी रामफल मण्डलसँग भेट भयो । मैले आफूबारे बताएपछि उनले रामभरोसको कथा लेख्ने पत्रकारका रूपमा मलाई चिने र भने, ‘रामभरोसको कथा मैले साउदीमा बसेर मोबाइलमा पढेथ्यो ।’

समाचार छापिएकाे केही महिनापछि महाेत्तरीका स्थानीय पत्रकार विक्रम राैनियारले रामभराेसकाे घरमै पुगेर खिचेकाे फाेटो

साउदीमा तीन वर्ष काम गरेर फर्केपछि केही समय घर बसेर फेरि मजदुरी गर्न श्रीलंका पुगेका रामफल केही समयअघि मात्रै श्रीलंकाको कोलम्बोबाट फर्केका रहेछन् । उनले त्यहाँ काम गरेको प्रमाण देखाउन स्क्रिन फुटेको पुरानो मोबाइलमा केही फोटो देखाए । कोलम्बोका बहुतले व्यापारिक भवनहरूका अघिल्तिर उभिएको उनको फोटो थियो । उनले पर्सबाट एक डलरको नोट देखाएर सोधे, ‘एउटा कुरा सोधौं ?’

मैले सहमतिको भाव देखाएपछि उनले भने, ‘यो डलर भन्छ । किन कागजको नोटमा छापेछ सर ?’

रामफलले करिब ४५ टोलको खत्वे टोलमा परिवारका कोही न कोही सदस्य विदेश नगएको घर एकाध मात्रै रहेको सुनाए । रामभरोससँगै केही वर्ष रिक्सा हाँकेका रामफलले साथी कर्जामा डुबेको सुनाए । उनले पनि रामभरोसले इमो संवादमा भनेझैं सुनाए, ‘कम्तीमा पनि साढे तीन लाख कर्जामा डुबेछ रामभरोस ।’ रामभरोसले इमो कुराकानीमा आफूले कर्जा लिएका दस जनाको नाम र कर्जा लिएको सबै रकम पाठ घोकेको विद्यार्थीले झैं खरखरी सुनाए । ती सबैसँग लिएको साँवा रकम मात्रै करिब तीन लाख हाराहारी थियो । जसको ब्याज पनि जोड्दा रामफलले भनेझैं साढे तीन लाख कट्ने देखिन्थ्यो ।

रामफललाई मैले ‘साउदीमा ३ वर्ष र श्रीलंकामा २ वर्ष काम गरेर कमाएको पैसाले के गर्नुभयो ?’ भनेर सोधे । उनले उता कमाएको पैसा विदेश जाँदा लागेको कर्जा तिरेको र बाँकी रकम छोरीको बिहेमा दहेजमा खर्च गरेको सुनाए । उनले भने, ‘ठूली छोरीको बिहे गर्दा लागेको करिब ५० हजार कर्जा तिर्न अझै सदाएका छैन ।’

रामभराेसका छिमेकी रामफल मण्डल श्रीलंकामा मजदुरी गरेर कमाएकाे डलर देखाउँदै

उनले गाउँका सबैजसो तन्नेरी विदेश गएको तर पैसा बचाउन पटक्कै नसकेको सुनाए । किन त ? उनले भने, ‘कर्जाको ब्याज सदाउँदा–सदाउँदै पैसा गइहाल्छ । कोहीले छोरीको बिहेमा धेरै दाइजो दिन्छ । कोहीले रमाइलो गरेर पैसा सक्छ । अनि फेरि कर्जामा डुबिहाल्छ ।’

काठमाडौं फर्केपछि रामभरोससँग इमोबाट नियमित कुराकानी भयो । त्यहींबाट मैले थाहा पाएँ, कतार जाँदा फसेको पैसा उठेपछि रामभरोसले केही महिना जलेश्वरमै रिक्सा चलाएछन् । केही महिना सडक निर्माणमा मजदुरीको काम गरेछन् । एक वर्ष जति भने नजिकैको धान, चामल र चिउरा भुट्ने मिलमा उनले मासिक १५ हजार तलबमा काम गरेछन् ।

साउदी जानुअघि उनले सीमावर्ती भारतीय गाउँ सुरसन्डका केटासँग जेठी छोरीको बिहे गरिदिएछन् । एक लाख १० हजार खर्चेर मोटरसाइकल, ९० हजारको कुर्सी पलङ र ५० हजार भारु नगदै दाइजो दिएछन । बिहेमा सबै गरेर रामभरोसले ७ लाख जति खर्चेछन् ।

उनले सुनाए, ‘दाइजो नदिई त कसैले छोरी नै लिँदैन त के गर्नु ?’

‘१५ हजार तलबको काम छाडेर किन साउदी जानुभएको ?’ मैले सोधें ।

उनले गाउँको कमाइले नुनतेल, दुई छोराको पढाई खर्च, जेठी छोरीको बिहेमा लागेको कर्जाको ब्याज तिर्न पनि गाह्रो भएको सुनाए । उनले भने, ‘जति गरे पनि कर्जा सदाउन नसकिने ! स्कुल नै नटेकेकी कान्छी छोरीको पनि बिहे गर्ने बेला भइसक्यो । अनि त कुनै उपाय भएन ।’

कर्जाको पीरले छटपटिएका बेला उनले छिमेकी गाउँ बखरीका एजेन्टको काम गर्ने भजनी ठाकुरलाई भेटेछन् । भजनीलाई एक लाख १० हजार नगदै हातमा बुझाएर उनी साउदी उडेका रहेछन् ।

कुराकानी सकिएपछि उनले आफू साउदी जाँदाका कागजात पठाइदिए । कागजातअनुसार उनी २०७५ जेठ १२ गते साउदी अरब उडेका रहेछन् । अल मसरियु नामक साउदी कम्पनीको जेद्दास्थित सडक निर्माणको परियोजनामा रामभरोस काम गर्न पुगे । उनलाई मासिक ८ सय साउदी रियाल (करिब २५ हजार रुपैयाँ) र २ सय रियाल खाना खर्च दिने काममा लगाइएको रहेछ । सरकारले फ्रि भिसा फ्रि टिकट भने पनि उनी किन एक लाख दस हजार तिर्न तयार भए ? उनले भने, ‘हामी गाउँको आदमीलाई के थाहा ? अर्जेन्टले त्यति पैसा नतिरी जान मिल्दैन भनेपछि के गर्नु त ?’ उनले म्यानपावरका स्थानीय एजेन्टलाई अर्जेन्ट भनेका थिए ।

रामभरोसका अनुसार कम्पनीले उनलाई निर्माण क्षेत्रमा ट्वाइलेटको पानी ढलमा निकास गर्नका लागि खाल्डो खन्ने, पाइप फिट गर्ने र पिच गर्ने काम लगाएको छ । कामको सुरुवाती दिनमा कम्पनीले तलब दिए पनि पछिल्ला दिनमा उनले नियमित तलब पाउन छाडेको बताए । कम्पनीले दिएकै कोठामा अन्य चार कामदार साथीसँग बसेका रामभरोसले केही सातायता खानेकुराको अभावमा नुन र भात मात्रै खाइरहेको सुनाए । ‘बहुत तकलिफ छ सर !’ उनले भने ।

ज्वरो र खोकी आएपछि बुधबार र बिहीबार उनी दुई दिन काममा गएनन् । उनले भने, ‘कुनै जुगाड लगाइदिनु मलाई । नेपाल फर्किनुपर्‍यो ।’

रामभरोससँगै बस्ने केही साथी भने बेला–बेला स्थानीय साउदीको घरमा गएर लुकीछिपी काम गरेर केही पैसा जम्मा गर्दा रहेछन् । रामभरोससँगै काम गर्ने एकले कान्तिपुरसँग भने, ‘लुकीछिपी काम गरेको पैसाले नुन–चामल किनेर खाइरहेका छौं ।’

बाबु रामभराेसँग इमाेमा कुराकानी गर्दै जेठो छाेरा

रामभरोसका अनुसार मदिना छेउको अलहमद भन्ने ठाउँमा काम सुरु गरेपछि कम्पनीले पहिलो तलब नै तीन महिना बितेपछि दियो । त्यसपछि पनि उनीहरूले समयमै तलब पाएनन् । रामभरोसले भने, ‘कोरोनाकालभरि पनि काम लगाए । तर तलब दिएनन् ।’

सिरहाको लहान घर भएका रामभरोसका सहकर्मी स्वराज ठाकुर दनुवारको कथा पनि उनकै जस्तो रहेछ । नेपालमा स्वास्थ्य परीक्षण पास भइवरी एक लाख ५ हजार तिरेर मलेसिया पुगे पनि दोस्रो स्वास्थ्य परीक्षणमा फेल भएपछि तीन महिनामै उनी नेपाल फर्किएका रहेछन् । नेपाल फर्किएको तीन महिनापछि उनी गोलबजारकै एक एजेन्ट विनोद राईलाई ५५ हजार र काठमाडौंको लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस नामक म्यानपावरलाई ४५ हजार बुझाएर साउदी उडेका रहेछन् ।

कम्पनीले नियमितजसो काममा लगाए पनि तलब दिन आनाकानी गरिरहेको उनले सुनाए । ‘तलब कहिले आउँछ भनेर सोध्यो भने भोलि भन्छ । तर म्यानेजरले भनेको भोलि कहिल्यै आउन्न,’ २२ वर्षीय उनले भने । उनका अनुसार कम्पनीको उक्त साइटमा करिब ३५ नेपाली, केही पाकिस्तानी र भारतीय कामदार कार्यरत छन् । उनले भने, ‘अरू देशका कामदारले पनि तलब पाइरहेका छैनन् ।’

रामभरोसले शुक्रबारको कुराकानीमा आफूहरू चामल र नुनको भरमा कतिन्जेल बाँच्ने भन्ने टुंगो नभएको बताए । ‘दिनको एक छाक भातको भरमा बाँचिरहेका छौं,’

उनले भने, ‘दुई छाक नै खान त कहाँ पुग्छ ?’ उनले दिनभर भोलि के खाने होला भन्ने चिन्तामा आफू बाँचिरहेको बताए ।

काम गरेर पनि तलब नपाउँदा र आफू खाइनखाई बसेको थाहा पाएर घरमा श्रीमती पनि रोइरहेको सुनाउँदै उनले घरमा फोन गरेर सम्झाइदिन आग्रह गरे । ४६ वर्षीय उनले उदासी मिसिएको स्वरमा भने, ‘अहिले एक पटकलाई मेरो समस्या हल गरिदिनुस् । म अब कहिल्यै विदेश आउँदिनँ । अब त म बूढो पनि भइसकें । छोरीको सादी गर्ने चिन्ता मात्रै नभएको भए कस्सम आउँन्थेन ।’

प्रकाशित : चैत्र ७, २०७७ ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×