शैलीको भर्चुअल राष्ट्रिय बाल नाटक महोत्सव

काठमाडौँ — लामो समयदेखि बाल रंगमञ्चको क्षेत्रमा सक्रिय शैली थिएटरको भर्चुअल राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ ।

शैलीको भर्चुअल राष्ट्रिय बाल नाटक महोत्सव

बालबालिकाहरुको सर्वाङ्गीण विकाससँगै उनीहरुकै विषय तथा मुद्दालाई रंगमञ्चका माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले महोत्सव सुरु गरिएको हो ।

रंगमञ्चमा शैलीले तेह्र वर्षमा प्रवेश गरेको अवसरमा गरिएको यो १२ औं संस्करणको महोत्सव हो । चैत १ गते चुलाचुली रंगमञ्च इलामको प्रस्तुतिमा नाटक ‘रिट्ठु’को प्रसारणसँगै महोत्सवको थालनी गरिएको छ । सन्तोष गिरीको लेखन तथा चेतन आङथुपोको निर्देशनमा तयार गरिएको नाटकमा १० वर्षे जनयुद्धमा आम मानिस तथा बालकालिकाको भोगाइलाई चित्रण गरिएको छ ।

त्यस्तै महोत्सवको दोस्रो दिन एभरेष्ट एकेडेमी अत्तरिया कैलालीबाट रंगकर्मी पुष्पराज अवस्थीको लेखन तथा निर्देशनमा नाटक ‘भूमिका’ को भिडियो प्रसारण गरियो । सुदूरपश्चिमको भाषा, लय तथा संगीत संयोजनमा प्रस्तुत गरिएको नाटकमा बालिकाको बलात्कारपछि हत्या गरिएको घटनालाई उठान गरिएको थियो । महोत्सवको तेस्रो र चौथो दिन भने क्रमश: मर्निङस्टार इन्टरनेसनल बोर्डिङ स्कुल विरेन्द्रनगर सुर्खेतबाट रञ्जित सिंहको लेखन तथा निर्देशनमा ‘अक्षर’, नवलपरासीबाट सुनिल शर्मा ढुंगानाको लेखन तथा निर्देशनमा ‘भुन्टे’ नाटकका भिडियो प्रस्तुत गरिएको थियो ।

कोरोना महामारी त्रासका कारण भौतिक रुपमा बालबालिकाको उपस्थितिमा नाटक मञ्चन गर्ने माहोल बनिनसकेकाले भर्चुअल महोत्सव गर्ने निर्णय गरिएको महोत्सवका निर्देशक नवराज बुढाथोकीले बताए । देशैभरिबाट प्राप्त भएका बाल नाटकहरुलाई भिडियोमा प्रस्तुत गर्नु परेकोले विगतका नाटक महोत्सवभन्दा यो वर्ष नयाँ अनुभव भएको बुढाथोकीले सुनाए । उनका अनुसार फागुन १५ गतेसम्म देशैभरिबाट प्राप्त झन्डै तीन दर्जन भिडियो नाटकहरुमध्ये २८ प्रतियोगी नाटकलाई महोत्सवमा सहभागी गराइएको छ । सहर केन्द्रित भएर नाटकका गतिविधि सञ्चालन भइरहेको अवस्थामा भर्चुअल माध्यमका कारण देशका सबैजसो क्षेत्रलाई महोत्सवले समेट्न सक्नु सकरात्मक पक्षको रुपमा लिनुपर्ने उनले बताए ।

रंगकर्मी लुनिभा तुलाधर, समालोचक तथा लेखक अशोक थापा निर्णायक रहेको समूहले छनोट गरेका नाटक शैलीले हरेक दिन साँझ ७ बजे आफ्नो अफिसियल युटुब च्यानलमार्फत प्रसारण गरिरहेको छ । निर्णायकहरुको मुल्यांकनको आधारमा उत्कृष्ट ठहरिएका तीन नाटकलाई पुरस्कृत गरिनेछ । महोत्सवको नतिजा भने चैतको तेस्रो साताभित्र प्रकाशित गरिने महोत्सव संयोजक सरस्वती अधिकारीले बताइन् ।

चैत १२ गतेसम्म चल्ने महोत्सवमा ‘के समाज अझै सुध्रिएको हो त’, ‘महिला हिंसा’, ‘इमान्दार दाउरे’ लगायतका नाटकहरु प्रसारण हुनेछन् ।

प्रकाशित : चैत्र ५, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?