कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

क्यानभासमा महिला अनुभूति

चित्रबाट सबलीकरण र सशक्तीकरणको पाटोलाई उठाउने जमर्को
सुशीला तामा‌ङ

काठमाडौँ — ‘जीवन सधैं एकैनासले चल्दैन । समयको विभिन्न उत्तारचढावसँगै आउने हरेक मोडमा अल्झँदै यात्राहरू अगाडि बढ्दै जान्छन् । मानिसको जीवनको बाटो सिधा मात्र कहाँ हुन्छ र ?’ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा फागुन २४ गतेदेखि ‘इन्स्पायर्ड’ शीर्षक दिएर बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी सामूहिक प्रदर्शनीमा राखिएका आफ्ना कलाकृतिका भाव अर्थ्याउँदै थिइन्, चित्रकार संगी श्रेष्ठ ।

क्यानभासमा महिला अनुभूति

अर्ध अमूर्त शैलीमा कोरिएको उनका चित्रहरूमा महिला हुनुको भाव र भोगाइलाई प्रस्तुत गरिएको छ । कालो, रातो, हरियो, नीलो, पहेंलोलगायतका रङलाई उनले जीवनका अनेकौं सकारात्मक तथा नकारात्मक पक्षहरूसँग जोडेर बिम्ब बनाएकी छन् ।

‘मैले क्यानभासमा कालोसँगै रातो, नीलो, पहेंला रङहरू भरेकी छु,’ उनले भनिन्, ‘जीवनका थुप्रै नकारात्मक र अँध्यारा पक्षलाई उज्यालोले ढाक्दै जानुपर्छ भन्ने यसको आशय हो ।’ विशेषगरी उनले कलाकृतिहरूमा खण्ड–खण्ड बाकसहरूमा अर्ध अमूर्त महिला फिगरलाई देखाएकी छन् । विवाहपछि एउटी महिलाको जीवन र सोचाइमा परिवर्तन आउने उनको अनुभवले बताउँछ । यसबारे प्रस्ट्याउँदै उनी थप्छिन्, ‘विवाहपछि महिलाले परिवार, बालबच्चा, आफन्त यी सबैलाई समाल्दै अघि बढ्नुपर्ने हुन्छ । मैले पनि यस्तै अनुभव गर्दै जाँदा अगाडि बढ्ने बाटो सिधा र सजिला थिएनन् ।’ उकालो, ओरालो र अनेक मोडहरूलाई आफ्नै गन्तव्यको बाटोहरूसँग तुलना गर्दै त्यसैलाई बाकसको बिम्ब बनाइएको उनले खुलाइन् ।

हायर ग्राउन्डले गरेको प्रदर्शनीमा संगीसँगै जश्मीन राजभण्डारी, सविता डंगोल, प्रमिला परियार, नम्रता सिंह, कृष्णदेवी महर्जन, रीता मानन्धर, सुनिता राणा, प्रधी राणालगायत चित्रकारहरूले आफ्ना अनेकौं भाव चित्रमा अभिव्यक्त गरेका छन् । एक्रेलिक माध्यममा कलाकृति कोर्दै अधिकांश चित्रकारले महिला र महिलाका विषयलाई केन्द्रमा राखेका छन् । उनीहरूले सिर्जनाबाट महिला सबलीकरण र सशक्तीकरणको पाटोलाई उठान गर्ने जमर्को गरेका छन् ।

चित्रकार जश्मीनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीमा हिन्दु महिलाहरूले शुद्धताको भावले दतिवनले दाँत माझी नुहाउने परम्परादेखि प्रेसर कुकर बनाउन घर–घरमा पुग्ने आम मानिसहरूको दैनिकीलाई चित्रमा देखाएकी छन् । अर्की चित्रकार सविताले भने वैवाहिक जीवन र आत्मीयतालाई युगल जोडीको प्रेमभावलाई क्यानभासमा उतारेकी छन् । उनले आधा दर्जन चित्रमा काइँयो, माछा, फूल जस्ता वस्तुहरूलाई प्रतीकात्मक बिम्ब दिँदै दाम्पत्य जीवनमा आउने अनगिन्ती उत्तरचढावहरूलाई परस्पर समझदारी र प्रेमिल भावले पार लगाउनुपर्ने भाव व्यक्त गरेकी छन् । त्यस्तै चित्रकार प्रमिला, नम्रता, सुनिता, प्रधी र कृष्णदेवीले पनि महिला विषयकै सेरोफेरोमा रहेर अनेक भावहरू चित्रहरूमा पोखेका छन् । कृष्णदेवीको ‘काँचुली’ शीर्षकमा परम्परागत मान्यता र अनेक बन्धनबाट मुक्त भएर बाहिर आउन खोजेकी एउटी महिलाको चित्र निकै अर्थपूर्ण लाग्छ । जहाँ चित्रमा सेतो काँचुलीभित्र रहेकी महिला बाहिर आउन प्रयासरत रहेकी देखाइएको छ । त्यस्तै सुनिता र रीताले जीव र प्रकृतिको परस्पर सम्बन्धलाई चित्रमा नै खोतलेका छन् ।

प्रमिला र नम्रताले चित्रमा आमा र सन्तानको आत्मीय सम्बन्ध, आमालाई सम्पूर्ण प्रकृतिसँग तुलना गर्दै अपार ममताकी देवीकी रूपमा चित्रण गरेका छन् । कमलको फूल, पानी, बादल जस्ता पक्षहरूलाई कलामा इंगित गर्दै प्रमिलाले महिला र पुरुषबीचको होस् या सम्पूर्ण मानव जगत्लाई सकारात्मक सम्बन्ध स्थापित गर्न आग्रह गरेकी छन् । ‘चित्रमार्फत मेरा अनेक भावनाहरू पोख्दै गर्दा मलाई निकै खुसी लाग्छ,’ उनले भनिन्, ‘मेरा भावनाहरूमा म विश्वका महिलाहरूको रूप देख्छु । सबै मानवहरूलाई चित्रबाट नै अगाडि बढ्न सकारात्मक शक्तिको ऊर्जा दिन पाउँदा सन्तुष्ट हुन्छु ।’ कलाले आम मानिस तथा समाजलाई प्रभाव छोड्दै महिलालाई अगाडि बढ्न उत्प्रेरित गर्न सक्ने उनको ठम्याइ छ । प्रदर्शनी चैत १६ गतेसम्म चल्नेछ ।

प्रकाशित : चैत्र ४, २०७७ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?