लयमा फर्कंदै ग्यालरी

धमाधम एकल तथा सामूहिक कला प्रदर्शनी
सुशीला तामा‌ङ

काठमाडौँ — कोरोना महामारीले झन्डै एक वर्षदेखि बन्द आर्ट ग्यालरी धमाधम खुल्न थालेका छन् । ग्यालरी खुलेसँगै कला क्षेत्रमा फेरि चहलपहल सुरु भएको छ । लामो समय घरभित्रै कला सिर्जनामा तल्लीन कलाकार पनि कार्यथलोमा फर्किन थालेका छन् ।

लयमा फर्कंदै ग्यालरी

अहिले अधिकांश कलाकार एकल तथा सामूहिक कला प्रदर्शनीमा सहभागी भइरहेका छन् भने कोही आफ्ना कलाकृति बाहिर ल्याउने तयारीमा व्यस्त छन् । सबैजसो क्षेत्रमा जनजीवन सामान्य बन्दै गएकाले कला क्षेत्र पनि जागरुक बन्नुपर्ने बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक संगीता थापा बताउँछिन् ।

लकडाउनसँगै भर्चुअल प्रदर्शनीतिर जमेको कला क्षेत्र र कलाकारलाई पुनः सामान्य अवस्थामा फर्काउन उनले मंसिरको अन्त्यतिर जोखिम मोलेर भए पनि ग्यालरीको ढोका खोलेकी थिइन् । ‘सुरुमा त कला अवलोकनका लागि दर्शक नै हुन्नन् कि भन्ने चिन्ता थियो । फेरि कतिन्जेल डराएर बस्ने भन्ने सोच आयो,’ उनले भनिन्, ‘पछि फाट्टफुट्ट सहभागी दर्शकबाट राम्रो रेस्पोन्स पाएँ ।’

मंसिरयता उनको ग्यालरीले दुईवटा प्रदर्शनी गरिसकेको छ भने हाल चित्रकार कविराज लामाको एकल चित्रकला प्रदर्शनी जारी छ । प्रदर्शनीमा दर्शकको उपस्थिति उत्साहजनक रहेको लामाले बताए । बबरमलस्थित नेपाल आर्ट काउन्सिलले पनि भौतिक प्रदर्शनी थालिसकेको छ । चित्रकार नरबहादुर बिकेले आर्ट क्लब नेपालको प्रस्तुतिमा ‘स्प्रिङ सिरिज’ शीर्षकमा प्रदर्शनी सम्पन्न गरिसकेका छन् । काउन्सिलमै ‘एक्स्जिबिसन फर प्रपोज’ शीर्षकको सामूहिक कला प्रदर्शनी भइसकेको छ भने ‘एमबी श्रेष्ठ मेमोरियल फाउन्डेसन’को प्रस्तुतिमा सुरु गरिएको ‘लिगेसी’ सामूहिक प्रदर्शनी आइतबार मात्र सकिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले कलाबाट समाजमा परेका भ्रष्टाचारका नकारात्मक प्रभावलाई निर्मूल पार्ने र सदाचारको भावना दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित आइतबार आर्ट काउन्सिलमा एकदिने प्रदर्शनी गरिसकेको छ । प्रदर्शनीमा पृथ्वी श्रेष्ठ, सुरेश बस्नेत, प्रवीन श्रेष्ठ, जस्मिन राजभण्डारी, सौरगंगा दर्शनधारीलगायत एक दर्जन चित्रकार सहभागी थिए । भर्चुअल प्रदर्शनीले कला र कलाकारलाई अन्तर्राष्ट्रियस्तरमा जोड्न सघाउ पुर्‍याए पनि कला पारखीलाई सिर्जनाको वास्तविक स्वाद चखाउन भौतिक ग्यालरी नै चाहिने चित्रकार पृथ्वी श्रेष्ठको बुझाइ छ । उनी अहिलेको समयलाई फुर्सदमा सिर्जना गरिएका कलाकृतिलाई बाहिर ल्याउने अवसरका रूपमा लिन्छन् ।

ललितपुरको पाटनढोका चाकुपाटस्थित एम क्युब ग्यालरीले भौतिक प्रदर्शनी सुरु गरिसकेको छ भने क्लासिक आर्ट ग्यालरी प्रदर्शनीको तयारीमा छ । पाटनढोका छेउकै क्याफेस्थित भ्यान गो ग्यालरीमा चित्रकार कैलाश श्रेष्ठले हालै मात्र कोभिड, लकडाउन र मुलुकको राजनीतिक अवस्थालाई दर्साउने गरी ‘आइसोलेसन’ शीर्षकमा आफ्ना कलाकृति प्रदर्शन गरेका छन् । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको चित्रकला विभागले अहिले देशका प्रतिष्ठित व्यक्तित्वहरूको मुहार चित्र कोर्ने अभियानलाई अगाडि बढाइरहेको छ । यसअघि प्रतिष्ठानले भौतिक रूपमै ‘समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकमा प्रदर्शनी गरिसकेको छ ।

ग्यालरीसँगै अहिले धमाधम चित्रकला कार्यशाला भइरहेका छन् । अन्तर्राष्ट्रिय जलरंग समाज नेपालले लाइभ मुहार चित्रको दोस्रो चरणको अभियानलाई गत शनिबारदेखि अगाडि बढाइसकेको छ । कला क्षेत्रमा भइरहेका यी गतिविधिले कलाकारलाई आर्थिक रूपमा पनि राहत मिल्ने ग्यालरी सञ्चालक थापाको मत छ । कोभिडकालमा सिर्जना भएका कलाकृति लिएर कलाकार बाहिर आउनुपर्ने कला समीक्षक रमेश खनालको धारणा छ ।

यो अवधिलाई सुनौलो अवसरका रूपमा लिएर कला क्षेत्रलाई नयाँ मोडमा लैजानुपर्ने उनले सुझाव दिए । ‘भर्चुअल प्रदर्शनीले हामीलाई नयाँ टेक्नोलजीसँग नजिक हुन सिकायो । कला विस्तारका लागि यसलाई पनि सँगसँगै आधार बनाएर अब हामी सामान्य अवस्थामा फर्कनु नै पर्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?