कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘कलालाई व्यावसायिक रूपमा लैजानुपर्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा चित्रकला विधाले अन्य कलाका विधामा जसरी फड्को मार्न रुचि र सोखभन्दा व्यापारिक रूपमा जानुपर्ने व्यवसायी तथा लेखक जीवा लामिछानेको धारणा छ ।

‘कलालाई व्यावसायिक रूपमा लैजानुपर्छ’

धुम्बाराहीस्थित होटल अकामामा शनिबार अन्तर्राष्ट्रिय जलरंग समाज (आईडब्लूएस) नेपालले गरेको ‘कोरौं मुहार चित्र’ अभियानमा आफ्नो पोट्रेट कोराउन सहभागी लामिछानेले चित्रकला विधाको आर्थिक उत्थानका लागि उक्त विचार व्यक्त गरेका हुन् ।

‘युरोपतिर कला क्षेत्रमा कमर्सियलाइजेसन भएको हामी पाउन सक्छौं,’ उनले भने, ‘हाम्रो रुचि र सौखका रूपमा कलालाई दिने प्रचलन छ । रुचिका लागि आफ्नो ठाउँ छ । तर यसमा दिगो हुनका लागि व्यावसायिक हुन जरुरी छ ।’ युरोपतिर राजा–महाराजाहरू र राजकुमारीको पोट्रेट कोर्ने व्यापक प्रचलन रहेको खुलाउँदै उनले विशेष गरी कुलीन वर्गमा यसको एक किसिमको प्रतिस्पर्धा नै रहेको बताए । साहित्यजस्तै चित्रकला विधामा आफ्नो रुचि रहेकाले मुहार चित्र कोराउने अवसरलाई उनले सुखद संयोग भएको सुनाए । साहित्य, गीतसंगीतलाई जस्तै चित्रकला विधालाई पनि सँगसँगै राखेर अन्तर्राष्ट्रियस्तरमा लैजान मिलेर काम गर्न सक्ने सम्भावना रहेको उनले सुनाए । चित्रकला क्षेत्रको विस्तार तथा विकासका लागि राज्य तथा निजी तहले सहकार्य गर्नुपर्ने उल्लेख गर्दै उनले आफ्नोतर्फबाट सक्ने सहयोग र समर्थन गर्ने अठोट गरे ।

कोरोना महामारीपछि आईडब्लूएस नेपालले सुरु गरेको दोस्रो चरणको मुहार चित्र कोर्ने अभियानमा चित्रकारहरू आलोक गुरुङ, ओम गुरुङ, डिराम पाल्पाली, डीबी राई, पकबहादुर थापा, किरण सिंहलगायतकाले लामिछानेको लाइभ पोट्रेट चित्र क्यानभासमा उतारे । चित्रकारहरूले लामिछानेको चरित्र तथा भावलाई जलरंग तथा एक्रेलिक माध्यममा जीवन्त रूपमा क्यानभासमा उतार्ने जमर्को गरेका थिए ।

मुहारचित्र कोर्ने परम्परा पुरानै भए पनि यसले नेपालमा खासै गति लिन नसकेको चित्रकारहरूले सुनाए । मुहारचित्र आफैंमा चुनौतीपूर्ण कार्यका रूपमा लिन्छन्, चित्रकार डिराम पाल्पाली । मुहार चित्रमा व्यक्तिको मुहारसँगै उसको चरित्र झल्कनुपर्ने पाल्पालीको भनाइ छ । उनले भने, ‘मुहार चित्र आफैंमा जटिल विधा हो । अझ खुला ठाउँमा भीडभाड हुने भएकाले ध्यान त्यतातिर जाँदा चित्रमा व्यक्तिको खास क्यारेक्टर ल्याउन कठिन हुन्छ ।’

कलालाई बाहिर ल्याउन र जनमानसमा पुर्‍याउन अभियानले ठूलो भूमिका खेल्ने कार्यक्रमा सहभागी कला समीक्षक रमेश खनालले ठहर गरे । ‘यसले हाम्रो कला र कलाकारलाई आर्थिक पाटोतिर लैजान एक अभियानका रूपमा काम गर्न सक्छ’ उनले भने ।

नेपालमा अझै पनि कला सिर्जनामा लागेकाहरूको आर्थिक स्थिति बलियो नरहेको तथ्य खुलाउँदै उनले कला बाँच्न पहिले कलाकार स्वयं बाँच्नुपर्ने बताए । कला सिर्जनालाई बन्द ग्यालरीभन्दा बाहिरी संसारमा ल्याएर आममानिसलाई चिनाउनु संस्थाको उद्देश्य रहेको समाजका अध्यक्ष तथा चित्रकार एनबी गुरुङले बताए ।

प्रकाशित : फाल्गुन १७, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?