मदनकृष्णले जब गुन्गुनाए ‘फूलबुट्टे सारी...’- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदनकृष्णले जब गुन्गुनाए ‘फूलबुट्टे सारी...’

१२ वर्षपछि आफ्नो गीतलाई नयाँ भर्सनमा ल्याएका सिवाकोटीले मदनकृष्णको स्वरलाई त्यसबेला चयन गरे, जब गीतको ‘चाइल्ड भर्सन’ विमोचनको मौका थियो ।
जनकराज सापकोटा

काठमाडौँ — १२ वर्षमा खोला पनि फर्किन्छ । उखानको खोला फर्कियो कि फर्किएन कसलाई के थाहा ? ‘फूलबुट्टे सारी सपक्कै पारी पछ्यौरी मलमलको...’ गीतका रचयिता तथा संगीतकार राजनराज सिवाकोटीलाई पनि पत्तो छैन ।

राजनको शब्द/संगीतमा मार्मिक लामाले स्वर भरेको यो गीतमा १२ वर्षपछि पाका कलाकार मदनकृष्ण श्रेष्ठको स्वर भरे । मिथिला शर्मा र मदनकृष्णको अभिनयसमेत रहेको यो म्युजिक भिडियो मंगलबार सार्वजनिक भयो ।

गीत सार्वजनिक समारोहमा मदनकृष्णले आफूले गीत गाउनै छाडिसकेको बताउँदै भने, ‘मलाई त गीतमा पुनर्जीवन मिलेजस्तो भएको छ ।’ २०४८ सालतिर आफ्ना जोडी हरिवंश र अन्य साथीसँग मिलेर मदनले सिम्फोनिक स्टुडियोमा लगानी गरेका थिए । त्यही स्टुडियोमा उनले ‘खोलावारि खोलापारि पीपल र बर, हावा चल्यो पात हल्यो माया वरवर...’ र ‘अर्बौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे ...’ जस्ता चर्चित गीतहरू गाएका थिए । गीत/संगीतको यही पुरानो साइनोलाई सम्झिँदै मदनकृष्णले आधुनिक पुस्ताले गाएको गीत एउटा बेग्लै भर्सनमा आफूले गाउँदा गायन यात्रामा फेरि फर्किन्छु कि भनेझैं भएको बताए ।

जसरी मदनकृष्णलाई गायन यात्राको पुरानो दिनको सम्झना भयो, त्यसैगरी राजनलाई पनि मदनकृष्णको स्वरमा पुरानो गीतलाई नयाँ भर्सनमा बाहिर ल्याउँदा पुरानो समयको सम्झना भयो । १२ वर्षअघि ‘फूलबुट्टे’ गीत रेकर्ड गरेपछि उनले सीडीमा कपी गरेर एकाध साथीभाइलाई बाँडेका थिए । त्यतिबेला आफ्‍नो गीत कतिले सुने सुनेनन्, उनले ख्यालै गरेनन् । तर तीन वर्षअघि दमकका प्रतीक गुरुङले ‘फूलबुट्टे सारी’ को कभर सङ गाएपछि यो गीत चर्चामा आयो ।

कभर सङ सामाजिक सञ्जाल टिकटकमा भाइरल बन्न थालेपछि पो राजनले वर्षौं पुरानो आफ्नो गीत कसरी एकाएक चर्चामा आयो भनेर पत्तो पाए । त्यसपछि राजनले गत तिहारको छेको पारेर यही गीत फेरि मार्मिकलाई गाउन लगाए । अनि त यो गीत मन पराउनेहरूको अर्को लर्को थपियो । गीतको चर्चाले पुलकित बनेका राजनले यही गीतमा केही शब्द थपे र मिलन नेवारको स्वरमा यही गीतको फिमेल भर्सन निकाले । राजन यतिमै रोकिएनन् । उनले अरिस्मा सिवाकोटीको स्वरमा यही गीतको चिल्ड्रेन भर्सन पनि निकाले । अनि लिजेन्ड्री भर्सनमा मदनकृष्णको स्वर भरे ।

कोरोनाकाल अघिसम्म पनि मदनकृष्ण फिल्म, विज्ञापन र अनेकन सामाजिक कामको दौडधुपमा व्यस्त थिए । गायन यात्राको बाटो हुँदै प्रहसन यात्राको मूलधारमा हिँडेका मदनकृष्ण बेलाबेला गीत त गाउँथे तर उनले गीत र संगीतको बाटोमा धेरै हिँड्ने समय नै नपाएजस्तो देखिन्थ्यो । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘कोरोना सुरु भएपछि घरमै बन्धकजस्तै भइयो । अनि त गीत/संगीतमा समय दिन मौका पाएँ ।’ कोरोनाकालमै उनले नीर शाहको शब्द रहेको एउटा गीत र प्रकट पंगेनी शिवको शब्द रहेको अर्को गीतमा स्वर भरे ।

राजनले फूलबुट्टेको चिल्ड्रेन भर्सन गीतको सार्वजनिक गर्ने कार्यक्रममा मदनकृष्णलाई अतिथिका रूपमा बोलाएका थिए । त्यही कार्यक्रममा मदनकृष्णले गीतको मुखडा गाएर सुनाइदिएपछि राजनको मनमा लागिहाल्यो, गीतको अर्को भर्सन मदनकृष्णकै स्वरमा किन ननिकाल्ने । मदनकृष्णले सुनाए, ‘राजनले तपाईंको स्वरमा गीतको नयाँ भर्सन निकाल्ने भनेपछि सुरुमा त म हच्किएँ । तर उनले भनेपछि मैले नाइँ भन्न सकिनँ ।’ मदनकृष्णले गीत गाउने अभ्यासमा सुरुसुरुमा त आफूले सास नै पुर्‍याउन नसकेको तर अभ्यास गर्दै गएपछि फोक्सोले पनि साथ दिएको सुनाए । उनले भने, ‘पुराना दिनहरू फर्किएजस्तो भएको छ ।’

पार्किन्सन्सले गाँजेपछि मदनकृष्ण संगीतको यात्रामा कमै देखिए पनि उनले गीत लेख्न र गाउन चटक्कै छाडेका थिएनन् । यही रोगसँग जुध्न २०७३ मा शल्यक्रिया गरेर छातीमा पेसमेकर राखेका मदनकृष्णले लेखेका दुई गीत उनकी छोरी सरानाले गाएकी थिइन् । उनले भने, ‘भोलिका दिनमा गीत गाउन गाह्रो भए पनि गीत लेख्नचाहिँ छाड्दिनँ ।’

गीत सार्वजनिक समारोहमा महका ‘ह’ अर्थात् हरिवंशले हरेक महिना सालाखाला सयवटा गीत बाहिर आउने तर त्यसमध्ये दुई/चार मात्रै हिट हुने गरेको सन्दर्भ बताउँदै मदनकृष्णको स्वरमा रहेको गीत आम मान्छेले रुचाउने बताए । फूलबुट्टेको नयाँ भर्सनको भिडियोमा मिथिला शर्मा र मदनकृष्णले अभिनय गरेका छन् । हरिवंशले मदनकृष्ण र मिथिला शर्माको जोडी ‘रात’ र ‘सुखदु:ख’ जस्ता फिल्ममा जमेको सम्झना गर्दै यो म्युजिक भिडियोमा पनि जोडी साँच्चै जमेको बताए ।

कार्यक्रममा मिथिला शर्माले यो गीत सुन्दा आफूलाई पनि पुराना दिनको सम्झना भएजस्तो बताइन् । उनले भनिन्, ‘यो गीत २५ वर्षअघि नै मदनकृष्णले गाएजस्तो अनुभव भइरहेको छ ।’

प्रकाशित : फाल्गुन ५, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्

नेकपाको फुट स्थानीय तहसम्मै

तत्कालीन एमालेबाट निर्वाचित प्रमुख–उपप्रमुख दुईतिरै बाँडिएका छन्, माओवादी केन्द्रका भने सबैजसो दाहाल–नेपालपट्टि छन् ।
जनकराज सापकोटा

काठमाडौँ — नेकपा विभाजनको असर देशभरिका स्थानीय तहमा प्रत्यक्ष रूपमा देखिएको छ । पार्टी विभाजनपछि नेकपाका स्थानीय तह प्रमुख र उपप्रमुखहरू दुवैतिर बाँडिएका छन् । नेकपा (साविक एमाले र माओवादी केन्द्र) बाट निर्वाचित ३ सय ८८ पालिका प्रमुख र ४ सय ३८ उपप्रमुखको पक्षधरतालाई कान्तिपुरले विश्लेषण गरेको छ ।

यसले समग्रमा स्थानीय तहमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहभन्दा केपी शर्मा ओली समूहका पक्षमा उभिने प्रमुख र उपप्रमुख बढी देखाएको छ तर कतै खुलिनसकेका २४ प्रमुख र २७ उपप्रमुख जुन पक्षतिर लाग्छन्, त्यो समूह बलियो हुने सम्भावना छ ।

प्रदेशगत रूपमा हेर्ने हो भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पालिका प्रमुखमा ओली समूह बलियो देखिन्छ । प्रदेश २, वाग्मती र कर्णालीमा दाहाल–नेपाल समूहका पालिका प्रमुख बढी छन् । ४ सय ३८ स्थानीय तहमा नेकपाका उपप्रमुख रहेकामा ओली समूह प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मात्रै बलियो छ, प्रदेश २, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा धेरै उपप्रमुख दाहाल–नेपालतिर लागेका छन् ।

नेकपाका ३ सय ८८ पालिका प्रमुखमध्ये १ सय ८९ जना ओली समूहमा र १ सय ७४ जना दाहाल–नेपाल समूहमा देखिएका छन् । २४ जना पालिका प्रमुख कतै खुलेका छैनन् । एक जना पालिका प्रमुख पार्टी एकताका पक्षमा अभियान सुरु गरेका नेता वामदेव गौतमको समूहमा छन् ।

त्यस्तै, ४ सय ३८ स्थानीय तहमा रहेका नेकपाका उपप्रमुखमध्ये २ सय २० जना ओली समूहमा र १ सय ९० जना दाहाल–नेपाल समूहमा देखिएका छन् । २७ जना उपप्रमुख कतै खुलेका छैनन् भने एक जना उपप्रमुख गौतमका पक्षमा उभिएका छन् ।

कान्तिपुरले जिल्ला संवाददाताबाट संकलन गरेको तथ्यांक विश्लेषण गर्दा तत्कालीन एमालेबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुखमध्ये अधिकांश नेकपा विभाजनपछि ओली र दाहाल–नेपाल समूहमा बाँडिएका छन्, ३० जना पालिका प्रमुख भने ‘पर्ख र हेर’ को अवस्थामा छन् तर तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुखमध्ये प्रदेश २ का ४ र लुम्बिनी प्रदेशका १ जनाबाहेक सबैजसो दाहाल–नेपाल समूहमै देखिन्छन् ।

स्थानीय निर्वाचनका बेला तत्कालीन एमालेमा अध्यक्ष ओली टिकट वितरणमा प्रभावी देखिएका थिए । त्यसैले निर्वाचित पालिका प्रमुख र उपप्रमुखमा ओलीको पल्ला भारी भएको हुन सक्छ ।

पालिका प्रमुख र उपप्रमुख दुवै नेकपाका भएका केही स्थानीय तहमा प्रमुख एउटा र उपप्रमुख अर्को पक्षमा विभाजित छन् । जस्तो कि पाँचथरको याङवरक गाउँपालिकाका प्रमुख र उपप्रमुख दुवै नेकपाका थिए । विभाजनपछि प्रमुख दाहाल–नेपाल पक्षमा उभिए भने उपप्रमुख ओली पक्षमा छन् ।

पार्टी विभाजनको असर स्थानीय तहमा देखिएको अर्को प्रतिनिधि उदाहरण नुवाकोट हो । उक्त जिल्लाको तारकेश्वर गाउँपालिकाका प्रमुख र उपप्रमुख दुवैमा तत्कालीन एमालेले जितेको थियो तर अहिले प्रमुख ओली र उपप्रमुख दाहाल–नेपाल पक्षमा विभाजित भए । अर्को त्यस्तै उदाहरण हो बझाङको जयपृथ्वी नगरपालिका । त्यहाँ तत्कालीन एमालेबाट निर्वाचित प्रमुख वीरेन्द्रबहादुर श्रेष्ठ दाहाल–नेपाल समूहमा लागे भने उपप्रमुख जुनाकुमारी जाग्री ओली पक्षमा छिन् । यस्तो उदाहरणले विभाजित राजनीतिको अनेकन प्रभाव स्थानीय तहको निर्णय प्रक्रियामा प्रत्यक्ष पर्ने देखाउँछ ।

प्रदेश १

यो प्रदेशका स्थानीय तहमा नेकपाका ७५ जना निर्वाचित प्रमुख छन् । तीमध्ये ६६ जना तत्कालीन एमालेबाट र ९ जना तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुन् । पार्टी विभाजन सुरु भएपछि उनीहरूमध्ये ४१ जना ओली समूहमा र ३१ जना दाहाल–नेपाल समूहमा देखिएका छन् ।

तत्कालीन एमालेबाट निर्वाचित ३ जना प्रमुखले कित्ता प्रस्ट पारेका छैनन् । यो प्रदेशका स्थानीय तहमा नेकपाका ९२ जना उपप्रमुख छन् । तीमध्ये ५९ जना ओली समूहमा उभिएका छन् भने २६ जना दाहाल–नेपाल समूहमा देखिन्छन् । ७ जना भने तटस्थ छन् ।

प्रदेश २

यो प्रदेशको स्थानीय तहमा नेकपाका निर्वाचित ४० जना प्रमुख छन् । यसमध्ये १६ जना ओली समूहमा लागेका छन् भने १९ जना दाहाल–नेपाल समूहमा । ५ जना स्थानीय तह प्रमुख भने कतै खुलिसकेका छैनन् । तीमध्ये तत्कालीन एमालेबाट निर्वाचित ४ जना र तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित १ जना छन् । त्यस्तै, नेकपाका निर्वाचित ४४ उपप्रमुखमध्ये १८ जना ओली र २२ जना दाहाल–नेपाल समूहमा लागेका छन् । ४ जना उपप्रमुख कतै खुलिसकेका छैनन् ।

स्थानीय तहका निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित भएकाहरू पछिल्लो विभाजनपछि एकअर्को समूहमा मिसिएका देखिन्छन् । तत्कालीन एमालेबाट निर्वाचित ३ पालिका प्रमुख अहिले दाहाल–नेपाल पक्षमा उभिएका छन् भने माओवादी केन्द्रबाट निर्वाचित ४ जना पालिका प्रमुख ओली समूहमा छन् । तत्कालीन एमालेबाट निर्वाचित २० पालिका उपप्रमुखमध्ये ३ जना तटस्थ छन् भने १० जना ओली समूहमा लागेका छन् । ७ पालिका उपप्रमुख दाहाल–नेपाल पक्षमा छन् । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित ८ पालिका उपप्रमुख भने दाहाललाई छाडेर ओली समूहमा उभिन पुगेका छन् । यसरी उभिने उपप्रमुखमध्ये रौतहटका मात्रै ५ जना छन् ।

वाग्मती

यो प्रदेशमा नेकपाबाट निर्वाचित ८१ पालिका प्रमुखमध्ये ३६ जना ओली समूहमा, ३७ जना दाहाल–नेपाल समूहमा र १ जना गौतमको एकता अभियानका पक्षमा उभिएका छन् । तटस्थ बताउने ७ जना पालिका प्रमुख जुन समूहमा खुलेर लाग्छन्, वाग्मती प्रदेशमा उही समूह स्थानीय तहमा प्रभावी हुने देखिन्छ । यो प्रदेशमा नेकपाका ८५ जना पालिका उपप्रमुख छन्, जसमध्ये ३८ जना ओली समूहमा र ४४ जना दाहाल–नेपाल समूहमा र ३ जना नखुलेका देखिन्छन् ।

नेकपा एकताअघिको तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तह प्रमुख र उपप्रमुखलाई छुट्याएर हेर्दा विभाजन कसरी तल्लो तहमा परेको छ भन्ने प्रस्ट बुझिन्छ । यस प्रदेशमा तत्कालीन एमालेबाट निर्वाचित ६४ पालिका प्रमुखमध्ये ३६ जना ओली समूहमा खुलेका छन् । ८ जना तटस्थ र अन्य २० जना दाहाल–नेपाल पक्षमा लागेका छन् ।

एमालेबाट निर्वाचित ६९ उपप्रमुखमध्ये ३८ जना ओली पक्षमा र २७ दाहाल–नेपाल पक्षमा छन् । ३ जना तटस्थ छन् भने एक पद रिक्त छ । तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि विभाजित भए पनि तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुख एक ढिक्का देखिन्छन् । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित १७ पालिका प्रमुख र १७ उपप्रमुख सबै दाहाल–नेपाल पक्षमा खुलेका हुन् ।

गण्डकी

गण्डकी प्रदेशमा ओली समूह बलियो देखिन्छ । यो प्रदेशमा नेकपाका ३९ पालिका प्रमुखमध्ये ओली समूहमा २८ र दाहाल–नेपाल समूहमा ८ जना खुलेका छन् । ३ पालिका प्रमुख भने कतै लागेका छैनन् ।

त्यस्तै, नेकपाका ४३ पालिका उपप्रमुखमध्ये ३२ जना ओली र ९ जना दाहाल–नेपाल समूहमा खुलेर लागेका छन् । ३ जना उपप्रमुख खुलेका छैनन् भने १ जना गौतमका साथमा लागेका छन् ।

यस प्रदेशमा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित ५ पालिका प्रमुख र ७ उपप्रमुख सबै दाहाल–नेपाल समूहमा लागेका छन् तर तत्कालीन एमालेबाट निर्वाचित ३४ पालिका प्रमुखमध्ये २८ जना ओली समूहमा, ३ जना दाहाल–नेपाल समूहमा र ३ जना तटस्थ छन् । त्यस्तै तत्कालीन एमालेबाट निर्वाचित ३६ उपप्रमुखमध्ये ३० जना ओली समूहसँग र २ जना दाहाल–नेपाल समूहमा छन् ।

लुम्बिनी

यस प्रदेशमा नेकपाका ६२ जना पालिका प्रमुख छन् । विभाजनपछि ३५ जना ओली समूहमा र २५ जना दाहाल–नेपाल समूहमा विभाजित भएका छन् । २ प्रमुख तटस्थ देखिन्छन् । त्यस्तै, नेकपाका ६५ उपप्रमुखमध्ये ३० जना ओली समूहमा, ३१ जना दाहाल–नेपाल समूहमा र ४ जना तटस्थ देखिन्छन् । यस प्रदेशमा पनि तत्कालीन एमालेबाट निर्वाचित ४३ जना पालिका प्रमुखमध्ये ३४ जना ओली समूहमा, ७ जना दाहाल–नपाल समूहमा र २ जना तटस्थ देखिएका छन् । तत्कालीन माओवादी केन्द्रबाट १९ जना पालिका प्रमुख निर्वाचित भएका थिए । तीमध्ये एक जना ओली समूहमा गएका छन् भने १८ जना दाहाल–नेपाल समूहमै देखिन्छन् ।

त्यस्तै, तत्कालीन एमालेबाट निर्वाचित ४३ उपप्रमुखमध्ये ३० जना ओली समूहमा, १० जना दाहाल–नेपाल समूहमा लागेका छन् भने ३ जना खुलिसकेका छैनन् । तत्कालीन माओवादी केन्द्रबाट २२ जना उपप्रमुखमा निर्वाचित भएका थिए । तीमध्ये २१ जना दाहाल–नेपाल समूहमा र १ जना तटस्थ छन् ।

कर्णाली

यस प्रदेशमा नेकपाका ५२ पालिका प्रमुख छन् । तीमध्ये १४ जना मात्रै ओली समूहमा देखिएका छन् । ३६ जना दाहाल–नेपाल समूहमा र २ जना तटस्थ देखिन्छन् । नेकपाका ५८ उपप्रमुखमध्ये १७ जना ओली समूहमा, ३८ जना दाहाल–नेपाल समूहमा र २ जना तटस्थ छन् । एक उपप्रमुख नेपालबाहिर छिन् ।

तत्कालीन एमालेबाट २८ जना पालिका प्रमुखमा निर्वाचित भएका थिए । पार्टी विभाजनपछि १४ जना ओली समूहमा, १२ जना दाहाल–नेपाल समूहमा र २ जना तटस्थ देखिएका छन् । त्यस्तै, तत्कालीन एमालेबाट निर्वाचित ३१ उपप्रमुखमध्ये १७ जना ओली समूहमा छन् भने १२ जना दाहाल–नेपाल समूहमा र २ जना तटस्थ छन् । तत्कालीन माओवादी केन्द्रबाट २४ जना पालिका प्रमुख निर्वाचित भएका थिए, जसमध्ये २३ जना दाहाल–नेपाल समूहमै छन् भने एक जना तटस्थ देखिन्छन् । त्यस्तै, तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित २७ उपप्रमुखमध्ये २६ जना दाहाल–नेपाल समूहमै छन् भने एक जना नेपालबाहिर छिन् ।

सुदूरपश्चिम

यस प्रदेशमा नेकपाका ३९ जना पालिका प्रमुखमध्ये १९ जना ओली समूहमा, १८ जना दाहाल–नेपाल समूहमा र २ जना तटस्थ देखिएका छन् । ५१ जना उपप्रमुखमध्ये २६ जना ओली समूहमा, २० जना दाहाल–नेपाल समूहमा र ५ जना तटस्थ छन् ।

यस प्रदेशमा तत्कालीन एमालेबाट ३९ जना पालिका प्रमुख निर्वाचित भएका थिए, जसमध्ये १९ ओली र १८ जना दाहाल–नेपाल समूहमा लागेका छन् भने २ जना तटस्थ छन् । त्यस्तै, तत्कालीन एमालेबाट निर्वाचित ४२ उपप्रमुखमध्ये २४ जना ओली समूहमा र १३ जना दाहाल–नेपाल समूहमा लागेका छन् । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित १० पालिका प्रमुख सबै दाहाल–नेपाल पक्षमा उभिएका छन् भने ९ उपप्रमुखमध्ये २ जना ओली पक्षमा र अरू दाहाल–नेपाल पक्षमै छन् ।

(कान्तिपुरका जिल्ला संवाददाताहरूले विवरण संकलन गर्दाको पक्षधरतालाई आधार मानेर तथ्यांक प्रशोधन गरिएको हो ।)

प्रकाशित : फाल्गुन १, २०७७ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×