क्यानभासमा नेपाल

भूगोल, जातजाति, भाषा र नेपालीका भोगाइलाई कलाकारले उतारे चित्रमा 
सुशीला तामा‌ङ

काठमाडौँ — पहाडको पाखोभित्तो, मधेसको समथर भूभाग तथा हिमालको चुचुरो हाम्रै हुन् । यहाँका विविध भाषा, संस्कृति, रहनसहन, वेशभूषा तथा बहुल सांस्कृतिक मान्यतालाई अँगाली बसेका हामी सबै नेपाली नै हौं भन्ने भावलाई यतिखेर नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान परिसरमा महसुस गर्न सकिन्छ । 

क्यानभासमा नेपाल

प्रतिष्ठानले यसै यसै सातादेखि सुरु गरेको प्रदर्शनीमा राखिएका चित्रमा सिंगो नेपाललाई झल्काइएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ शीर्षक दिएइको प्रदर्शनीमा सात प्रदेशका सातै जना चित्रकार सहभागी छन् । प्रदर्शित १४ वटा चित्रमा सातैवटा प्रदेशका भिन्न भूगोल, बहुल सांस्कृतिक, बहुजाति, बहुभाषी तथा भिन्न जनजीवनलाई देखाउने जमर्को गरिएको छ ।

सहभागी चित्रकारहरूले तराईको जनजीवन तथा सांस्कृतिक मान्यता, हिमाली भेगको संस्कृति, थारू समुदायको झल्को, कर्णाली प्रदेशमा राउटेको वेशभूषा, काठमाडौं उपत्यकाको शिल्पकला तथा मगर र गुरुङ समुदायको मौलिक सौन्दर्यलाई क्यानभासमा उतारिएको छ । चित्रकारहरूले जनजीवनलाई हुबहु उतार्ने मात्र होइन, नेपालीले भोगेको सामाजिक, सांस्कृतिक एवं राजनीतिक पीडालाई पनि देखाउन खोजेका छन् ।

प्रदेश १ बाट सहभागी चित्रकार सन्तोष राईले ‘बिइङ टुगेदर’ शीर्षक चित्रमा नेपालमा बहुजाति, बहुभाषी, बहुल संस्कृति, भिन्न भूगोल भए पनि हामी एक हौं र हुनुपर्छ भन्ने सन्देश छोडेका छन् । त्यस्तै प्रदेश २ बाट हरिओम मेहताले मधेसको सांस्कृतिक तथा सामाजिक कुरीतिलाई कलाका माध्यमबाटै देखाएका छन् । उनले कोरेका चित्रमा दाइजो प्रथा, जाटजटिन जस्ता सांस्कृतिक पक्षको प्रतिबिम्बलाई चित्रण गरेका छन् ।

त्यस्तै सुखको सपना बोक्दै खाडी मुलुकका पसेका कैयौं युवा काठको बाकसमा आउनुपर्ने दुःखद अवस्थालाई उनले चित्रमा जीवन्त रूपमा उतारेका छन् । आफ्ना कलाकृतिहरूबाट तराईको ऐतिहासिक तथा लोपोन्मुख संस्कारलाई ब्युँताउने प्रयास गरिएको मेहता बताउँछन् ।

उनका अनुसार तराईमा खडेरी पर्दा महिलाहरू सुक्खा खेतमा गएर ओखल कुट्दै गीत गाउने परम्परा थियो, जसलाई जाटजटिन भनिन्छ । ओखल कुट्ने क्रममा मुनिबाट भ्यागुता कराएपछि त्यसको आवाजले वर्षा हुन्छ भन्ने सांस्कृतिक मान्यता छ ।

अहिले यसलाई पर्वका रूपमा केहीले मात्र मनाउने प्रचलन रहेकाले इतिहासलाई जोगाउन भए पनि कलामा प्रस्तुत गरिएको उनले बताए । तराईमा कोसेलीका रूपमा सुरुवात भएको सनेस अहिले कुप्रथाका रूपमा आएको बताउँदै उनले यसको विरोधस्वरूप नै कलामा उतारेको सुनाए ।

आफ्नो कलाले तराईको जनजीवनलाई प्रतिनिधित्व गर्दै सिंगो नेपालको अवस्थालाई देखाउन खोजेको उनको भनाइ छ । वाग्मती प्रदेशबाट चित्रकार उद्धवराज रिमाल ‘राउन्ड द क्लक’ शीर्षकको कला लिएर सहभागी भएका छन् । उनले उपत्यकाको सांस्कृतिक सम्पदा र यहाँका बासिन्दाको परम्परागत शिल्पकलालाई झल्काएका छन् ।

गण्डकीबाट सहभागी पकबहादुर थापाको ‘ब्युटी अफ गण्डकी’ शीर्षकमा कोरिएको मगर समुदायकी युवती, लुम्बिनीका विक्कुकुमार थापाको थारू युवती तथा कर्णालीबाट सहभागी कोशल हमालको राउटेको युवाको पोट्रेट चित्र उत्तिकै मनमोहक छन् ।

सुदूरपश्चिम प्रदेशबाट सहभागिता जनाएका चित्रकार प्रदीप पल साउदको ‘थस्ट अफ फ्रिडम’ शीर्षकले भने नेपाल–भारत सिमानाका जनताले भोग्नुपरेको सास्तीलाई देखाएका छन् । सीमा किला क्षेत्रमा उत्रिएका पीडित जनता तथा प्रहरीलाई चित्रमा देख्न सकिन्छ । चित्रकार थापाले नै बनाएको अर्को चित्रमा मुलुकमा भएको राजनीतिक आन्दोलनले आम मानिसमा परेको प्रभाव देख्न सकिन्छ ।

मुलुकमा सातै प्रदेशमा रहेका जातजातिका संस्कृति, परम्परालाई प्रतिनिधित्व गर्दै ती बिम्बहरूलाई कलामा उतार्न प्रादेशिक रूपमा समग्र चित्रकारहरूलाई समावेश गरिएको प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले बताए ।

प्रकाशित : माघ ९, २०७७ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?