२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

६० वर्ष नाघेपछि संस्कृति सोख

जीवनका ऊर्जाशील समय परिवारको लालनपालनलाई खर्चेकाहरुको फुर्सदिलो उमेर परम्परागत बाजा र नाचगानमा 
मधु शाही

बाँके — फित्ते चप्पल । शिरमा ढाका छोपी र फाटेको दौरा । प्रेमबहादुर रानाक्षत्री पाँच दशकअघि जन्मथलो सुर्खेत छाडेर तराई झर्दा यस्तै हुलियामा थिए । राजा महेन्द्रले बाँके र बर्दियामा पुनर्वास बसाउने योजना ल्याएको उनले आफन्तबाट सुनेपछि भर्खरै जंगल फाँडेर थातबास राख्ने हेतुले एकसरो लुगामा परिवारलाई थाहै नदिई बाँके आएका थिए ।

६० वर्ष नाघेपछि संस्कृति सोख

तर, पुनर्वासको जग्गा पाउन २२ वर्ष उमेर पुगेको हुनुपर्ने थियो । उनले आफन्तकै सल्लाहमा उमेर बढाएर हालको खजुरा गाउँपालिका–२ गौघाटमा चार बिघा जमिन पाए । ‘नयाँ ठाउँमा राजाले बस्न त भने,’ ६५ वर्षीय प्रेमबहादुरले नोस्टाल्जिक हुँदै भने, ‘घर यता छ तर मन उतै हुन्थ्यो ।’

जन्मथलो छाडेर नयाँ समाज निर्माण गर्न सजिलो पक्कै थिएन । फुसको झुप्रोभित्र उनले बिस्तारै भाँडाकुँडा जोडे । एक जोडी बस्तुभाउ पाले । खेतीपाती सुरु गरे । जंगलको मुखमा उराठलाग्दो बस्ती । उनको बसाइ पनि तरकारीमा नुन नपुगेझैं विरसिलो थियो । प्रेमले जन्मथलोदेखि ल्याएको एउटा अमूल्य गहना थियो, संस्कृति । जुन उनले चाहेर पनि पोख्ने थलो पाएका थिएनन् ।

चाडपर्वमा नाचगान गर्ने, पञ्चेबाजा बजाउने, मादल ठोक्नेजस्ता गतिविधि नयाँ बस्तीमा थिएन । प्रेमका अनुसार २०२७ सालमा १ सय ३ घर पुनर्वासमा आएका थिए । जसमध्ये अधिकांश सुर्खेतका हुन् । प्रेमले अनुभव गरेको संस्कृतिबिनाको बिरानोपन अरू छिमेकीले पनि महसुस गरेका रहेछन् । टोलका भीमबहादुर खत्री, नन्दबहादुर खत्री, रघुसिंह ठकुरी, फौदबहादुर ओलीलगायत ६० नाघेका बूढापाका भेटघाट गर्न थाले । आफूले जेजति बाजा बजाउन जानेका छन्, घरघरै जम्मा भएर नाचगान गर्न सुरु गरे ।

चार वर्षअघिसम्म उनीहरू घरेलु भाँडाकुँडामै बाजा बजाएर रमाइलो गर्थे । गाउँको पूजाआजा, दसैं–तिहारमा यो टोली नाचगान गर्न पुगेकै हुन्थ्यो । पुराना सुर्खेतका कुटकुटे गाना, सिंगारु नाच सुनाउँदै हिँड्न थाले । खुसीले दक्षिणास्वरूप दिएको पैसा बटुलेर उनीहरूले बाजा किन्ने निधो गरे । दुई वर्षयता सिंगारु नाच संस्कृति संरक्षण समाज नामक संस्था गाउँपालिकामा दर्ता गराएर उनीहरू औपचारिक वाद्यवादक भएका हुन् ।

संस्थाका ७० वर्षे पाका अध्यक्ष हुन्, भीमबहादुर खत्री । उनी बाजा समूहका मुख्य वादक हुन् । अर्थात् ‘नाइके’ बाजा बजाउन उनी मात्रै सिपालु छन् । उनका अनुसार नाइके बाजाले नै अरू बाजालाई ताल दिने गर्छ । भीमले नाइके बाजा बजाउन कुनै तालिम लिएका होइनन् । सानैमा छिमेकीले बजाएको हेर्दाहेर्दै उनले सिकेका हुन् । ‘उतिबेला दमाईंले बजाउने बाजा छुनु हुँदैन भन्थे,’ उनले भने, ‘अहिले उनीहरूले छोडे, हामीले बजाउन थालेका छौं ।’

खजुरा आएपछि भीमले बाजा, नाचगान, संस्कृति र संस्कारको महत्त्व बुझेको बताए । त्यसैले उनकै अध्यक्षतामा समूह गठन गरी पुर्ख्यौली बाजा, संस्कृति संरक्षणमा लागेका हुन् । ५५ वर्षे नन्दबहादुर खत्री टेम्को बजाउँछन् । उनले टेम्को बजाउन सानैदेखि जानेका थिए । पहिला पहिला गाउँघरमा एक जातिविशेषले बजाएर रमाइलो गर्ने चलन थियो । तर, अहिले उनी आफैंले बजाउन सिकेको सुनाए । ‘आफैंले जानेपछि मान्छे खोज्दै हिँड्न परेन,’ उनले भने, ‘फेरि अचेल बजाउने पनि कहाँ पाइन्छन् र ?’

रघुसिंह ठकुरी स्कुलमा सहयोगीको काम गर्छन् । जागिरे जीवनदेखि फुर्सद मिलाएर उनी बाजा बजाउनमा रमाइलो मान्छन् । समूहमा सिंगारु नाच्न सिपालु मानिने उनी पुर्ख्यौली संस्कृति हराउन लागेकामा चिन्तित छन् । तैपनि गाउँका केही युवालाई बटुलेर पूजा, व्रतबन्ध, विवाह र सांस्कृतिक कार्यक्रममा लिएर हिँड्ने गरेको उनले सुनाए । ६० नाघेका फौदबहादुर वली गीत गाउन माहिर छन् । खासगरी सुदूरपश्चिममा प्रचलित कुटकुटे नाचको गाना गाउन उनलाई आउँछ । उनका अनुसार कुटकुटे गाना निकै पुरानो गायन संस्कृति हो ।

दसैं–तिहारमा टुक्का जुराएर सिंगारु नाच नाच्न यो गीत गाउने गरिन्छ । बाजा बजाउनुअघि भगवान्को आराधना गरी कुटकुटे गानाबाट प्रारम्भ हुने उनको बुझाइ छ । ‘बुढेसकालमा संस्कृति जोगाउने पिरलो छ,’ उनले भने ।

प्रकाशित : पुस २७, २०७७ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?