कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘जुन फूल मैले चाहेको थिएँ...’

आफ्ना सिर्जनाले चर्चा नपाउँदा पनि लेख्ने क्रमलाई भैरवनाथ रिमाल ‘कदम’ ले बिसाएका थिएनन् । 
सुशीला तामा‌ङ

काठमाडौँ — मान्छेका वेदनालाई गीतमा जीवन्त रूपमा प्रयोग गर्न सक्ने खुबी भएका गीतकार भैरवनाथ रिमाल ‘कदम’ ले आफैं भने आफ्ना सिर्जनालाई सुन्न सक्दैनथे । कानले सुन्न नसके पनि मुटुको गहिराइको आवाजलाई चनाखो राख्दै उनले गीत तथा साहित्यिक लेखनलाई निरन्तरता दिइरहे ।

‘जुन फूल मैले चाहेको थिएँ...’

नेपाली संगीत तथा साहित्यका तिनै साधक रिमालको शनिबार ८६ वर्षको उमेरमा निधन भएको छ । भौतिक शरीरको अवसानसँगै उनले ऊर्जाशील लेखनलाई बिसाएर गए ।

रिमाल केही महिनादेखि अस्वस्थ भई थलिएका थिए । उनी गीतकारका साथै नेपाली साहित्यमा कविका रूपमा परिचित थिए । वि.सं. २००८ मै लेख रचना छापेका रिमालले २०११ सालमा नै पहिलो कृति ‘भैचम्पा’ खण्डकाव्य प्रकाशित गरेका थिए । उनका ‘बिन्दु,’ ‘माटो रम्छ,’ ‘दर्शन’ र ‘शैलजा’ लगायतका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।

‘जुन फूल मैले चाहेको थिएँ,’ ‘उदास मेरो जीवनकथा,’ ‘हुँ यात्री रुमल्ली हिँड्ने’ र ‘तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको’ लगायत उनले लेखेका स्रोतका लागि गीत सदाबहार छन् । नेपाली संगीतमा सिर्जनामा अत्यन्तै लगावका साथ लागेको स्रष्टाका रूपमा गीतकार राजेन्द्र थापा रिमाललाई स्मरण गर्छन् । थापाले रिमाललाई जागिरे जीवनकै क्रममा २०२८ सालतिर नै भेटेका थिए ।

त्यतिबेला रिमाल तत्कालीन नेपाली सेनाको रक्षा कन्ट्रोलमा कर्मचारीका रूपमा कार्यरत थिए । रिमालले आफ्ना रचनाहरू पढ्न दिएको सम्झँदै उनले भने, ‘उहाँ त्यतिबेलादेखि नै कान सुन्नु हुन्नथ्यो । आफूले लेखेका लेख तथा रचनाहरू हामीलाई पढ्न दिनुहुन्थ्यो ।’ रिमाललाई गीतकारका रूपमा भने केही वर्षपछि मात्र चिनिएको थापाले सुनाए । रिमालले रचना गरेका कैयौं गीतहरूमा तीनताक थुप्रै गायक–गायिकाहरूले स्वरबद्ध गरे पनि नारायण गोपाल र अरुणा लामाको स्वरले उनलाई गीतकारका रूपमा चर्चित बनाएको थापा ठहर गर्छन् । संगीतमा सिर्जनाका लागि निरन्तर रूपमा लाग्ने एक अथक स्रष्टाका रूपमा उनी रिमाललाई लिन्छन् ।

आफ्नो सिर्जना गीतका रूपमा चले पनि नचले पनि रिमालले लेख्ने क्रम बिसाएका थिएनन् । यसैमा धेरै आर्थिक लगानीसमेत गरे । त्यतिबेला सिर्जनामा गीतकारको नाम नै उल्लेख नगर्ने परिपाटीले उनको कैयौं सिर्जनाहरू ओझेलमा परेकोमा उनको दुर्भाग्यका रूपमा साबित भएको थापाको दाबी छ । गीत लेखन क्रमको भेटमा रिमालले आफ्नो सिर्जना जनमानसमा स्थापित हुन नसकेको गुनासो पोखेको उनलाई अझै याद छ ।

गीत लेखनमा रिमाललाई नारायण गोपालपछिको पुस्ता दीप श्रेष्ठको गायकीले अझै चिनाएको थियो । श्रेष्ठले उनको रचनामा एक दर्जनभन्दा बढी गीतहरूमा स्वर दिएका छन् । रिमालको रचनामा ‘आफ्नै कथा जिन्दगीको,’ ‘झस्किएछ मन मेरो’ र ‘हुँ यात्री’ जस्ता श्रेष्ठका स्वरबद्ध गीतहरू चर्चित छन् ।

रिमालद्वारा सिर्जना गरिएका आफ्ना केही पुराना गीतहरूलाई पुनः रेकर्ड गरेर उनलाई सुनाउने श्रेष्ठको धोको थियो । छिट्टै नै रेकर्ड गरी रिमाललाई सरप्राइज दिने सोचेका उनी रिमालको निधनको खबरले स्तब्ध छन् । उनले भने, ‘मैले उहाँलाई पुनः रेकर्ड गरी गीत सरप्राइज दिने सोच्दै थिएँ । उहाँले पो मलाई अत्यन्तै दुःखित बनाउने सरप्राइज दिएर जानुभो ।’

प्रकाशित : पुस २७, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?