कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

किरणको ‘भर्चुअल’ पुनरागमन

गुमनामजस्तै बनेका किरण प्रधानलाई पुन: सांगीतिक क्षेत्रको मोहले गाँज्यो । अब आनन्दका खातिर फेरि श्रोतासँग जोडिए ।
सुशीला तामा‌ङ

काठमाडौँ — चालिसको दशकतिर नेपाली संगीतमा चर्चा पाउनेमध्येको एउटा सुमधुर आवाजमा श्रोता झुक्किन्थे । स्वरसम्राट नारायण गोपालको समकालीन त्यो स्वरलाई उनैको हो कि भनेर ठान्नेहरू धेरै थिए । तर आवाज थियो– किरण प्रधानको । स्टेजमा गाउँदा उनलाई ‘नारायण गोपालको छोरा’ भनेर पनि दर्शकले ‘हुटिङ’ गर्थे ।

किरणको ‘भर्चुअल’ पुनरागमन

‘भूल हो तेरो’, ‘पत्थरको मुटु’ जस्ता कालजयी गीतहरूमा आवाज दिएका प्रधान त्यसपछि नेपाली संगीत जगतबाट एकाएक गुमनामजस्तै भए ।

तिनै गायक एवं संगीतकार प्रधान यतिबेला पुनः श्रोता र दर्शकसँग जोडिँदै छन् । लकडाउनयता उनले ‘भर्चुअल’ माध्यममा प्रत्यक्ष गायन प्रस्तुति दिइरहेका छन् । भर्चुअल माध्यमबाट उनले नातिकाजी स्मृति दिवसमा विशेष प्रस्तुति दिने तयारीमा पनि छन् । आफ्नो संगीतका गुरु गोपाल योञ्जनको स्मृति दिवसकै दिनदेखि गायन प्रस्तुतिलाई पुनः थालेका उनले महिनामा दुई पटक शुक्रबार पारेर पुराना सर्जक र आफ्नै गीतहरू सुनाउँदै आएका छन् । उनलार्ई अहिले अन्य कामभन्दा गीत साधनाकै चटारो छ ।

बीचका केही वर्ष उनले फेरि संगीतयात्रा थाल्ने कोसिस नगरेका भने होइनन् । तर उनलाई लाग्छ, उदीयमान बनिरहन उपयुक्त सिर्जनामा तालमेल भएन । उनले ६० को दशकको सुरुवातमा आफ्नो छैटौं एल्बम ‘सौगात’ बजारमा ल्याए । २०७० पछि केही एकल साँझमा प्रस्तुत भए । त्यसपछि भने दर्शक/श्रोताले उनको स्वरलाई खासै सुन्न पाएनन् । अहिले उनको भर्चुअल गायनबाट संगीतप्रेमीहरूले ‘योञ्जन र स्वरसम्राटकै तिर्सना मेटाइरहेका’ छन् ।

सांगीतिक करिअरको सुरुवात र अहिलेसम्म पनि श्रोताले आफूमा स्वरसम्राटकै छाप देख्नुलाई उनी सकारात्मक रूपमा नै लिन्छन् । ‘उहाँकै गीतहरू सुनेर गाउँदा–गाउँदै मैले आफूलाई संगीत क्षेत्रमा ढालें,’ उनले प्रस्ट्याए, ‘नारायण गोपाल दाइकै कारणले म गुरु गोपाल योञ्जन, अम्बर गुरुङजस्ता सर्जकहरूसँग जोडिने मौका पाएँ ।’

खासमा भर्चुअल रूपमा दर्शक/श्रोतासँग यति लामो समयसम्म जोडिने भन्ने उनको योजना थिएन । गुरु योञ्जनको स्मृतिमा केही गीतसंगीत प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया आएपछि उनी हौसिए र प्रस्तुतिलाई निरन्तरता दिए । सांगीतिक मैदानमा नदेखिए पनि यो क्षेत्रलाई चटक्कै माया भने नमारेको उनी बताउँछन् ।

बुबाले स्थापना गरेको विद्यालय सञ्चालनको जिम्मेवारीमा रहेका उनी विद्यार्थीलाई सिकाइरहेका छन् । संगीतका लागि पुस्तक प्रकाशन तथा अन्य कामहरू पनि गरिरहेका छन् । उनी मूर्तिकलासँग पनि जोडिएका छन् । नारायण गोपाल, तारादेवी, अरुणा लामालगायतका मूर्ति तयार गरिसकेका छन् । सर्जकहरूको सिर्जनासहित संग्रहालयका रूपमा स्थापना गर्ने सोचेको उनले सुनाए ।

‘म मूर्तिकार भने होइन । मैले संगीत र यस क्षेत्रलाई योगदान दिने व्यक्तित्वहरूलाई सम्मानस्वरूप केही गर्ने प्रयास मात्र गरेको हुँ,’ उनले भने । सांगीतिक क्षेत्रसँग केही समय बनेको दूरीलाई घटाउने प्रयास गर्दै छन् । केही नयाँ गीत सिर्जना र रेकर्डतिर पनि लाग्ने योजना छ उनको । भन्छन्, ‘मेरा लागि संगीत एकखाले नशाजस्तै रहेछ । म यसबाट टाढा हुनै सकिनँ ।’

समयले उनलाई संगीत सिर्जनाको दुई उद्देश्य सिकाएको छ । एक, सर्जक आफ्नै सुखानुभूतिका लागि र अर्को अरूलाई सुनाउन । ‘अरूलाई आफ्नो सिर्जना सुनाउँदा सुखद् प्रतिक्रियाले झन् दोहोरो आनन्द प्राप्त हुँदो रहेछ,’ उनले निकै उत्साहका साथ सुनाए ।

२०५८ तिर न्युरोडबाट वीर अस्पतालको गल्लीतिर राति हिँड्दै गर्दा एक जना अपरिचितले आएर एक्कासि सवालजवाफ गरेको क्षणलाई उनले अझै गम्भीर रूपमा लिएका छन् । ती अपरिचितले सोधका थिए, ‘तपाईं गायक किरण प्रधान होइन ? यति राम्रो गाउँदागाउँदै किन गीत गाउन छोडेको ? तपाईंले साह्रै अपराध गर्नु भो ।’ यति भनेर ती अपरिचित आफ्नो बाटो लागेपछि संगीत क्षेत्रमा आफूलाई प्रशंसकहरूले कुरिरहेको आभास भएको प्रधानले सुनाए ।

‘कवि विप्लव प्रतीकले त मेरै गीतमा लय मिलाउँदै ‘भूल हो, किरण प्रधान संसारदेखि भाग्नु’ भने । अनि यस्तोमा म कसरी संगीतबाट टाढा हुन सक्थें र ?’ उनले भने ।

प्रकाशित : पुस १६, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?